Saturday 25 February 2017

हुलाक टिकटमा किराती

  • हुलाक सेवाको १३८ वर्षे इतिहासमा किरात समुदायका सात अनुहार हुलाक टिकटमा अटाएका छन् :
  • गणेश राई
  • फाल्गुन १४, २०७३- नेपालमा हुलाक घरको स्थापना १९३५ सालमा भएको हो । हुलाक सेवाको इतिहास यहीँ सुरु हुन्छ । हुलाक ऐन, २०१९ कार्यान्वयनमा आएपछि हुलाक सेवा विभागले कार्यसम्पादन गर्दै आएको छ । सन् १८८१ देखि सन् २०१६ सम्ममा १ हजार १ सय ८७ प्रकारका हुलाक टिकट प्रकाशन भएका छन् । ती टिकटमा धर्म, विज्ञान, कला, साहित्य, संस्कृति, पुरातात्त्विक महत्त्वका वस्तु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त व्यक्ति, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संगठन, सभा, सम्मेलन, समारोह, खेलकुद आदि क्षेत्र समेटिएका छन् । त्यसमा राजामहाराजसँगै सर्वसाधारण पनि परेका छन् । किरात (राई, लिम्बू, याक्खा र सुनुवार) समुदायका भने सात जनाको नाममा हुलाक टिकट प्रकाशित छ । 
  • १. सिरिजंगा 
  • किरात लिम्बू जातिको भाषा, किरात लिपिका उन्नयनकर्ता हुन्, तेअङ्सी सिरिजंगा (सिरिजंगासिङ थेबे) । उनको जन्म १९६१ सालमा ताप्लेजुङमा भएको थियो । उनले नवौं शताब्दीमा सिरिजंगा हाङ नामका राजाले आविष्कार गरेको किरात लिपिलाई १८औं शताब्दीमा पुन:उत्थान गरेका हुन् । किरात लिपिको पुनरुत्थानमा अतुलनीय योगदान गरेकाले उनको सम्मान त्यस लिपिलाई नै ‘सिरिजंगा लिपि’ भन्न थालियो । लिम्बू भाषामा प्रचलित उक्त लिपिमा अन्य किराती भाषा लिपिबद्ध गर्ने गरिएको छ । तेअङ्सी सिरिजंगा भाषा, लिपि र मुन्धुमको प्रचारप्रसारका क्रममा सिक्किम पुगेका थिए । उनको कार्यलाई अनुदार बौद्ध धर्मावलम्बीले मन पराएका थिएनन् । त्यहाँस्थित साङ्गछोलिङ गुम्बाका थासाङ लामा समूहको निर्देशनमा १७९८ सालमा उनको हत्या भएको भन्ने गरिन्छ । उनै तेअङ्सी सिरिजंगालाई मातृभाषा, लिपि, धर्मका पहिलो सहिद मानिन्छ । उनको सम्मानमा सरकारले २०४९ सालमा एक रुपैयाँ मूल्यको हुलाक टिकट प्रकाशन गरेको हो । 
  • २. फाल्गुनन्द
  • धर्मगुरु फाल्गुनन्द (फलामसिं लिङ्देन लिम्बू) राष्ट्रिय विभूति हुन् । उनको जन्म १९४२ कात्तिक २५ गतेका इलामको इभाङ, चुक्चिनाम्बामा भएको थियो । फाल्गुनन्दले १० लिम्बूवान १७ थुमका लिम्बूहरूमा महत्त्वपूर्ण समाज सुधार काम गरेका थिए । किरात धर्मका प्रवर्तक फाल्गुनन्द समाजसुधारक धर्मगुरु तथा दार्शनिकका रूपमा मानिन्छन् । उनले १९८८ वैशाख २५ गते पाँचथरको लब्रेकुटीमा बृहत् चुम्लुङ (सभा) गरी किरात लिम्बू समुदायमा व्याप्त सामाजिक विसंगति सुधारका लागि १० बुँदे लिखित सत्यधर्म मुचुल्का बनाएका थिए । त्यसो गरेप्रति राज्यले फौजदारी अभियोग लगाएर फाल्गुनन्दलाई पक्राउ गरी जेल सजायसमेत दिएको थियो । उनले बलिपूजाको सट्टा फलफूल र नैवेद्यबाट पूजाआजा गर्ने चलन बसाए । छोरीचेलीलाई विवाह गरी पठाउँदा सोतरीत खाने प्रचलन हटाउन भने । मुन्धुमलाई लिपिवद्ध गर्ने चलन त्यही बेला सुरु भएको हो । उनले छोरीको मृत्यु र सुतक तीन दिनसम्म बार्नु, छोराको ४ दिन र किरियापुत्रीले ९ दिनसम्म बार्नुपर्ने थिति बसाले । उनी स्त्री पहिरन धारण गर्थे । उनको निधन २००५ चैत २२ गते भयो । सरकारले २०५० सालमा पन्ध्र रुपैयाँ मूल्यको ‘फाल्गुनन्द’ हुलाक टिकट प्रकाशन गरेको छ । योगदानको कदर गर्दै सरकारले २०६६ सालमा फाल्गुनन्दलाई राष्ट्रिय विभूति घोषणा गरेको हो । उनी १७ औं राष्ट्रिय विभूति हुन् ।
  • ३. इमानसिंह चेम्जोङ
  • इतिहासविद् इमानसिंह चेम्जोङका ‘किरात इतिहास’, ‘किरात मुन्धुम’ (किरातको वेद), ‘किरात मुन्धुम खाहुन्’ (शिक्षा), ‘हिस्ट्री एन्ड कल्चर अफ किरात पिपल’, ‘विजयपुरको संक्षिप्त इतिहास’, ‘किरात दर्शनको सारांश’, ‘किरात व्याकरण’ आदि पुस्तक प्रकाशित छन् । उनले करिब ५१ वर्ष खोज–अनुसन्धान गरी दुई सय वर्षदेखि हराएका सिरिजङ्गा लिपि, आफ्नै जातिको इतिहास, संस्कृति, धर्म आदि पुस्तककृतिका रूपमा दस्तावेजीकरण गरिदिएका हुन् । इमानसिङले मुलुकको जेठो त्रिभुवन विश्वविद्यालयमा किरातोलोजिस्ट (किरात भाषा र इतिहासको विशेषज्ञ, १९६१–१९७५) पदमा काम गरे । 
  • ‘किरातीहरू जंगली हुन्छन्’ भन्ने वाक्य जब पढे, त्यही नै इमान सिंहका निम्ति विष वृक्ष बन्यो । (तमोट, राष्ट्रिय प्रतिभा, पृ.३६) जुन वृक्ष ढाल्न सफलता प्राप्त गरेकैले उनी ‘किरातोलोजिस्ट’ बने । उनी सन् १९२५ देखि किरात लिपिको खोजीमा जुटेका थिए । उनले लालसोर सेन्दाङबाट सिरिजङ्गा लिपि लेख्न र पढ्न सिके । लिम्बूवान आठराईतिर लिपिको प्रचारमा लाग्दा उनलाई राजद्रोहको अभियोग लाग्यो । त्यसपछि उनले भारतको दार्जीलिङ, सिक्किमतिर किरात भाषा, साहित्य, संस्कृतिको खोजी र लिपि प्रचारप्रसार खटिए । 
  • इमानसिंहको जन्म सन् १९०४ जनवरी १ मा भारतको कालिम्पोङको रिङकेबुङमा भएको हो । उनको मृत्यु सन् १९७६ अक्टोबर ८ मा दार्जिलिङमा भयो । सरकारले उनको योगदानको कदर गर्दै २०५५ सालमा ‘भाषा तथा संस्कृतिविद् इमानसिंह चेम्जोङ’ मुहार अंकित एक रुपैयाँको हुलाक टिकट प्रकाशन गरेको छ । 
  • ४. रामप्रसाद राई
  • रामप्रसाद राईको जन्म १९६५ फागुन १८ गते माझकिरात भोजपुरको बासिखोरामा भएको थियो । उनी जमदार ध्वजवीर राई र रत्नमायाका कान्छो छोरा थिए । उनी १९७८ सालमा ब्रिटिस–इन्डिया आर्मीमा भर्ती भएका थिए । नौ वर्ष सेवापछि नाम काटिएर स्वदेश फर्किए । त्यसलगत्तै नेपाली सेना मिलिसियाका सुबेदार जेठा दाजु जर्नसिंह राईका साथ लागेर राजधानी काठमाडौं छिरे । 
  • उतिखेर टुँडिखेलमा घोडेजात्रा चलिरहेको थियो । अचानक एउटा घोडा उम्केर जताततै दौडियो । रामप्रसादले त्यो घोडा नियन्त्रणमा लिएर एकफन्को टुँडिखेल घुमाए । तत्कालीन प्रधानमन्त्री भीमशमशेरले ‘बिनाबर्दीको त्यो को हो ? यहाँ ल्याऊ’ भनेर अराए । ‘तिमी को हौ ?’ भनेर सोध्दा ‘म माझकिरातको भूपू सेना रामप्रसाद राई हुँ’ भनेर परिचय दिए । ‘लौ तिमी सुबेदारको जागिर खाऊ’ भनेर ठाडो आदेशमा नेपाली सेनामा जागिर सुरु गरे । भीमशमशेरको निधनपछिका प्रधानमन्त्री जुद्धशमशेर कालमा उनी ओखलढुंगा र खोटाङका बिजन दर्ता अधिकारी भए । भोजपुरको सहायक बडाहाकिम, छोटी हुलाकको लप्टन हुँदै बडाहाकिम बने । राणाविरोधी राजनीतिक गतिविधिमा संलग्न रहेको सुइँको पाएपछि २००६ सालमा जागिर खोसियो । 
  • सुरुमा नेपाल प्रजा परिषद्मा संलग्न रामप्रसादपछि कांग्रेसमा संगठित भएर बैरगनिया सम्मेलनमा सहभागी थिए । उनी विचार दृष्टिले कम्युनिस्ट पार्टी निकट थिए । जनमुक्ति सेनाका कमान्डर उनले भोजपुरलगायत पूर्व २, ३ र ४ नम्बर प्रशासनिक क्षेत्र कब्जा गरे । दिल्ली सम्झौताको प्रखर विरोधी उनलाई सिंहदरबार विद्रोह (२००८) का नायकका रूपमा लिइन्छ । सिंहदरबार विद्रोह असफल भएपछि रामप्रसाद राई र डा. केआई सिंह उपत्यकाबाट भागेर तिब्बततर्फ लागे । त्यस क्रममा षडयन्त्रपूर्वक रामप्रसाद मारिए कि लेक लागेर मृत्युवरण गरे भन्नेमा एकमत छैन । प्रजातान्त्रिक योद्धा उनलाई मुलुकको पहिलो बेपत्ता नागरिकका रूपमा लिने गरिन्छ । सरकारले २०५५ सालमा ७५ पैसा मूल्यको ‘प्रजातान्त्रिक योद्धा रामप्रसाद राई १९६५–२००८’ हुलाक टिकट प्रकाशन गरेको छ । 
  • ५. बलबहादुर राई
  • बलबहादुर राई आवास तथा भौतिक योजनामन्त्री छँदा खुबै चर्चाको विषय थियो– मेलम्ची खानेपानी आयोजना । उतिखेरका मन्त्री बलबहादुरले लिखित भाषणमा ‘मेलम्ची खानेपानी’ भन्नुपर्नेमा ‘मेलम्ची रवानेपानी’ भनेर उच्चारण गर्दा हाँसोको विषय बनेको थियो । 
  • बलबहादुरको जन्म १९७७ फागुन ६ गते ओखलढुंगाको मोली–३ मा भएको हो । २००४ सालदेखि जारी राणाशासनविरुद्धको भूमिगत आन्दोलनमा उनी संलग्न थिए । बलबहादुरले प्रजातन्त्रको निम्ति जेल, नेल मात्र भोगेनन्, सर्वस्वसहित भारततर्फ निर्वासनको जीवन पनि व्यतीत गरे । २०१५ सालको आमनिर्वाचनमा नेपाली कांग्रेस पार्टीका उनी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए । 
  • बलबहादुर राणाशासन, निर्दलीय पञ्चायत, राजतन्त्रदेखि गणतन्त्रसम्मका हरेक राजनीतिक घटनामा नेतृत्वकर्ता थिए । उनी ०४८ सालपछि दुई पटक निर्वाचित सांसद र एक पटक राष्ट्रिय सभाका सदस्य बने । तीन पटक मन्त्री तथा मन्त्रिमण्डलको ज्येष्ठताका आधारमा १९ पटक कार्यबाहक प्रधानमन्त्री भए । २०६२ सालमा राजा ज्ञानेन्द्र शाहको पतनपछि पुन:स्थापित संसद्मा उनले ज्येष्ठ सदस्यको हैसियतले सभामुखको जिम्मेवारी निर्वाह गरेका थिए । २०६७ असार २० गते नेता बलबहादुरको निधन भयो । उनको सम्मानमा सरकारले २०७३ सालमा दस रुपैयाँ मूल्यको हुलाक टिकट ‘बलबहादुर राई, राजनीतिज्ञ (विसं १९७७–२०६७)’ प्रकाशन गरेको छ ।
  • ६. रत्नकुमार बान्तवा
  • पुलिन्टिन्ने गरिबाच्यो छुकछुकडा बान कक्टिन्कि
  • जमिन्दाराचि खोक्याङ्सा आन हाङ टात्मालि...
  • (गरिब हो उठौं, हातहातमा हतियार लिएर,
  • जमिनदारलाई समाप्त पारी लिऊँ आफ्नो भूमि...)
  • नेपालको प्रगतिशील राजनीतिक वृत्तमा चम्किरहेका तारा हुन्– रत्नकुमार बान्तवा । उनका रचनाहरूले जमिनदारका विरुद्ध धावा बोल्छन् । नेपाली कम्युनिस्ट आन्दोलनका प्रवद्र्धक रत्नकुमारले राजनीतिको झन्डा जसरी समाते, त्यसरी नै किरात राई बान्तवा भाषा साहित्यमा पनि सिर्जनाको बीउ छरे । उनी लेखेरै, गाएरै जनताको घरआँगन पुगे । उनी तत्कालीन पञ्चायत शासकको तारो बने । पुलिस प्रशासनले जनविद्रोहका क्रान्ति नायकहरूलाई खोजीखोजी सिध्याउँथ्यो । त्यहीं भुमरीमा २०३५ चैत २७ गते रत्नकुमार पनि परे । 
  • रत्नकुमारको जन्म २००८ चैत २७ गते इलामको चमैता–७ मा भएको थियो । उनी गर्जमान राई र पुष्पमायाको चौथो सन्तान थिए । दाहिने र देब्रे दुवै हातले कलम चलाउन सक्ने उनले बीएडसम्म पढेका थिए । उनी राजनीतिकर्मी, संस्कृतिकर्मी, देशभक्त, जनवादी, क्रान्तिकारी गायक, रचनाकार, संगीतकार थिए । सरकारले उनको कदर गर्दै २०७३ सालमा दस रुपैयाँ मूल्यको ‘सहिद रत्नकुमार बान्तवा, विसं २००८–२०३५’ हुलाक टिकट प्रकाशन गरेको छ ।
  • ७. अगनसिंह राई
  • दोस्रो विश्वयुद्धमा ब्रिटिस–गोर्खा पल्टनबाट शत्रुलाई परास्त गरी बहादुरीको तक्मा भिक्टोरिया क्रस (भीसी) प्राप्त गरेका १३ नेपालीमध्ये अगनसिंह राई एक हुन् । उनी ओखलढुंगाको आपस्वारा गाउँमा १९७७ वैशाखमा जन्मिएका थिए । 
  • उनी सन् १९४१ मा ब्रिटिस–इन्डिया सैनिकमा भर्ती भए । १९४४ जुन २६ मा बर्माको बिसेनपुरमा शत्रुको गोलाबारीमाझ लडाइँको नेतृत्व अगनसिंहले गरेका थिए । शत्रुको मोर्चामा आक्रमण गरी पराजित गर्ने अदम्य साहस प्रदर्शन गरेवापत उनी सर्वोच्च पदक भीसीबाट सम्मानित भएका थिए । २०५७ जेठ १४ मा उनको निधन भयो । बहादुरीको सम्मानमा बेलायत सरकारले अगनसिंहको मुहारअंकित हुलाक टिकट प्रकाशन गरेको छ । 
  • सम्झिनुपर्ने केही नाम
  • प्रसिद्ध कलाकार तथा साहित्यकार लैनसिंह बाङ्देलको ‘स्टोलन इमेजेज अफ नेपाल’ पुस्तक प्रकाशन भएपछि चोरेर विदेशी संग्रहालयमा पुर्‍याइएका मूर्तिहरू नेपाल फर्काइएको जगजाहेर छ । त्यसैगरी डा. स्वामी प्रपन्नाचार्य (काले राई) ले हिन्दु धर्मशास्त्रमा अतुलनीय योगदान दिएका छन् । अगमसिंह देउसा राईले थुलुङ राई भाषाका शब्दहरू लेखेर ‘आशालच्छी शिक्षा’ नामक पुस्तक प्रकाशन गरे । यो पुस्तक करिब २८ वटा राई भाषामध्ये पहिलो कृति हो । उनैले ‘आशालच्छी प्रेस’ चलाएर नेपाली भाषा प्रकाशन इतिहासमा योगदान गरेका छन् । 
  • किरात इतिहासविद् दुर्गाहाङ याक्खा राईले नेपाली आदिवासी जनजाति पहिचानको खरो इतिहास लेखेका छन् । आधुनिक लिम्बू भाषा, साहित्य सिर्जना तथा सिरिजंगा लिपि प्रवद्र्धनमा अविस्मरणीय नाम हो, पुष्प थाम्सुहाङ । लिम्बू जातिको पहिलो इतिहासकार मानिने जोभानसिं फागोको योगदान बिर्सिन मिल्दैन । ब्रायन हुटन हज्सनलाई पाण्डुलिपि (हज्सन पाण्डुलिपि) संकलन क्रममा उनले लिम्बू जातिका विषयमा पाण्डुलिपि उपलब्ध गराएका थिए । त्यस्तै, इमानसिंह चेम्जोङलाई मार्गदर्शन गर्ने जसहाङ मादेन (खेवा) र सिरिजंगा लिपि प्रवद्र्धन तथा भाषा लिपिबद्ध गरेकै कारण विस्थापित लालस्वर सेन्दाङको योगदान कम छैन । कोइँच (सुनुवार) भाषा र लिपिका प्रवद्र्धक जेंतिच कर्णबहादुर सुनुवार हुन् । 
  • ०७ सालका प्रजातान्त्रिक आन्दोलनका मुक्तियोद्धा नारदमुनि थुलुङ ०८ सालयता तीन पटक मन्त्री भए भने उनको साहित्यक योगदान पनि छ । त्यसैगरी ०७ सालको प्रजातान्त्रिक आन्दोलनका मुक्तियोद्धा तथा साहित्यकार देवानसिं राईलाई बीपी कोइरालाको ‘सुम्निमा’ उपन्यासका सूत्राधारका रूपमा लिइन्छ । ०७ सालको प्रजातान्त्रिक आन्दोलनका मुक्तियोद्धा जीबी याक्थुम्बा र मुक्तियोद्धाकै सेवामा समर्पित चिकित्सक डा. भूदेव राईको योगदानलाई बिर्सिन हुन्न भन्ने इतिहासविद्को मत छ । रणधीर सुब्बा राजनीतिक इतिहासमा २०१५ देखि तीन पटक मन्त्री भए । उनले मुलुकको जेठो त्रिभुवन विश्वविद्यालयको उपकुलपतिसमेत बनेर योगदान गरे । काजीमान कन्दङ्वाको राजनीति र साहित्यमा देन छ । 
  • किराती समुदायमा ‘किरात येले संवत्’ प्रचलनमा छ । यसलाई येले तङ्बे, येले दोङ, येले थोचे पनि भनिन्छ । इतिहाविद्को मतानुसार नेपालको संगठित राज्य व्यवस्थाका संस्थापक हाङ यलम्बर अर्थात् पहिलो किराती राजा यलम्बर हुन् । चार किरात संस्थाले यलम्बरलाई राष्ट्रिय विभूतिका रूपमा लिएर उनको स्मृतिमा यो संवत् प्रचलनमा ल्याएका हुन् । त्यसैगरी किरात राज्यका अन्तिम युवराज तथा अवज्ञपर्वका नायक अटलसिं खम्बूलाई पनि इतिहास पुरुषका रूपमा लिने गरिन्छ । नेपाल एकीकरणका क्रममा लिम्बुवानका साहसिक योद्धा काङसोरेको योगदानलाई बिर्सन मिल्दैन । 
  • तस्बिर स्रोत : हुलाक सेवा विभाग फिलाटेलिक ब्युरो र एजेन्सी
  • प्रकाशित: फाल्गुन १४, २०७३
  • यो लेख ई-कान्तिपुरबाट साभार गरीएको छ

No comments:

Post a Comment