Tuesday 21 February 2017

हजारको नोट

हजारको नोट
- हाङयुग अज्ञात
------------------
मेरो निधारमा
"यो बोक्नेलाई यति दिन्छु" भनेर
कसम छापेपछि
सुरु भयो मेरो यात्रा
पोहोर दशैंमा जस्तो लाग्छ
सुरु गरेको मैले यो अनौठो यात्रा
सरकारी हाकिमले
मेरो पुरानो साथीसँग साट्यो मलाई
र कोटको भित्री खल्तीमा बोकेर घर पुर्‍यायो
उसको घरमा तिहारसम्म बसें
चुपचाप उसको स्टीलको दराजमा
देउसुरे खेल्न आएका
एक हुल मान्छेहरूले मागेपछि
मलाई दक्षिणाका रूपमा दिए
अनि देउसुरे खेल्ने मान्छेहरूले मलाई झोलामा
सास थुन्ने गरी कोचे
पिकनिक खानु थियो उनीहरूलाई
तिहार सकिएपछि म खसी बजार पुगें
खसी बेपारीले
बारबार थुक दल्दै गन्यो मलाई
मजस्तै अरु थुप्रैहरूसँग च्यापेर
खसी बेपारीको ब्यागबाट
म पुगें किराना पसल
रिचार्ज कार्ड चाहिएको रहेछ उसलाई
र किराना पसलेले सागसब्जी किन्यो
सागसब्जी बेच्ने दिदीले
आफ्नो छोराको बोर्डिङ स्कुलमा पुर्‍याइन् मलाई
बोर्डिङ स्कुलको प्रीन्सिपलले
मलाई मन्त्रीको क्वाटरमा पुर्‍यायो
मन्त्रीको छोरोले मलाई दामी होटलमा पुर्‍यायो
होटेलको मालिकले
मलाई प्रहरीको हाकिमसम्म पुर्‍यायो
प्रहरीको हाकिमले मलाई नेतासम्म पुर्‍यायो
(नेताजीलाई एकचोटि नमस्कार गरें मैले
गाउँमा पुर्‍याउनुस् मलाई भनें तर सुनेन)
फेरि म कार्यकर्ताको गोजीमा पुगें
अनि राजधानी शहरका भट्टीपसलहरूमा घुम्दै बसें
म दु:खी आत्मा नै हुँ केरे
मलाई -
खैनी खाएका हातहरूले छोए
सिंगान फ्यालेका हातहरूले छोए
लिपिस्टिक-पाउडरहरूले छोए
जुवाडेका हातहरूले छोए
दलालका हातहरूले छोए
एक वर्षमा
म कताकता पुगें
मलाई कस्ताकस्ताले बोके
कतिले कुच्याए
कतिले प्रेम गरे
कतिले थुके
कतिले चुमे
कुनै हिसाब छैन यार !
म हजारको पुरानो नोट हुँ
आफूलाई आफै गनाउन थालेको छु
गुहुमा पनि खसाए होला कतिले त मलाई
अहिले जुवाको खालमा छु
कसको दाउ लागेको छ कुन्नी ?

यो कविता लेखेक को फेसबुक वालबाट साभार गरिएको छ ।  अन्य कविता बाचन सुन्न हेर्न  चाहनु हुन्छ भने यहाँ हाङयुग अज्ञात नाममा क्लिक गर्नुहोला।

No comments:

Post a Comment