Saturday 2 March 2019

माङ्गेन्ना हेरिसकेपछी - खगेन्द्र पंधाक लिम्बू


Nepal International Theatre Festival 2019(INTF) को ‘माङ्गेना’ को एक दृश्य


यो हप्ता नाटक महोत्सव चलिरहेको छ । नायिका तथा रङ्कगर्मी सिर्जना सुब्बा लगायत धेरै रङ्गकर्मीहरूले निम्तो दिरहनु भएको हो । तर व्यस्तताको वाबजुद नियमित नाटक हेर्न सकिरहेको छैन ।
तर, माङ्गेना चार कारणले हेरियो । पहिलो कारण –आफू पनि रङ्गकर्मबाट चलचित्रसम्मको यात्रामा निस्किएको । दोस्रो– मलाई नाटक हेर्न खुब मन पर्छ । तेस्रो माङ्गेनाका लेखक मेरो भतिज साहित्यकार जितेन पन्धाकको अनुरोध र चौथो– मोफसलको नाटक काठमाडौमा हेर्ने उत्कट चाहना । नाटक ६ः०० बजे साँझ चल्ने भनिएता पनि झण्डै ६ः३० मात्र अन्तिम घण्टी बज्यो । घण्टी बजाएर नाटक सुरु गर्ने मण्डला थिएटरको आफ्नै शैली हो । हलको आयतन लगभग १२० जनाको हुनुपर्छ । खाली सिट देखिएन । स्वयमसेवकहरू उभिरहेका थिए ।

लेखक

नाटक चल्नुभन्दा अगाडि दिईने ब्रिफिङ सुनियो । प्रायः सबैले फोन साईलेन्ट मोडमा राखे र हल्ला न्युनिकरण भयो । हल अँध्यारोले छायो । नाटक सुरु भयो । यतिन्जेल टिकटसँग दिइएको ब्राउस पढिभ्याएको थिएँ । साथमा नायिका सुमी लिम्बू हुनुहुन्थ्यो । २–३ जना विदेशी दर्शक पनि देखें । चलचित्रका दर्शकभन्दा अलि फरक गेटअपमा दर्शक देखें । कपाल लामो पालेका, जुङ्गा चुस्स पालेका सामान्य लाग्ने पुरुष र साधारण गेटअपमा महिलाहरू ! नेपालको वर्तमान नाटकका एक नक्षत्र सुनिल पोख्रेल पनि सधैंभन्दा चिटिक्क र गजक्क भई बसिरहेका ।
नाटक सुरु भयो । प्रायः हरेक दृष्यमा लिम्बू सांस्कृतिपरक सजावट । लिम्बू संस्कृतिपरक आँगन, घर, अनुहार, भेषभुषा र लवज । आधा लिम्बू भाषा र आधा खस नेपाली भाषा । आधा उपलब्ध प्रोपर्टीको प्रयोग र आधा साङ्केतिक ।
लिम्बूहरूको सांस्कृतिक दर्शनको पक्षबाट सोचिएको, लेखिएको, निर्माण गरिएको र अभिनय गरिएको माङ्गेन्ना म लिम्बू स्वयमलाई पनि रमाईलो त लाग्यो नै । अन्य जाति–भाषीलाई यसको यो नविनतम पक्ष रमाईलो नहुने कुरै भएन ।
नाटक सुरु हुनपूर्व नै माङ्गेनाको अर्थ सोचिरहेथें । केहि कुरा ब्राउसर पनि उल्लेख थियो नै । र, मलाई थाहा थियो– माङ्गेना विशेषतः लिम्बू नारीहरूको ढलेको शीर (अपमान)लाई उठाउने कृतज्ञपूर्ण क्षमा माग पनि हो ।


माङ्गेनामा च्याब्रुङ, पालाम, याराक (धाननाच), हाक्पारे, ख्यालीसम्म सुन्न देख्न पाईन्छ । अझ, थेबा–युमाहरूले बजाउने काँसको थालको आवाजसम्म सुन्न पाईन्छ । नाटक हेर्न बाँकी हुनेहरूलाई ध्यानमा राखेर यहाँ कथा र यसको सम्पूर्ण बेली बिस्तार म लेख्दिनँ । मात्र केहि नाटकका बारेमा अपडेट राख्छु ।

नाटक जीवन अभिव्यक्तिको लय हो । लयसँग ताल र सुर हुन्छ । मिठासपन हुन्छ । भाईब्रेसन हुन्छ । गति हुन्छ । सौन्दर्य हुन्छ । दर्शन हुन्छ । कला हुन्छ । जो म खोजिरहेथें नाटकभर !
लिम्बूहरू सङ्गीतसँग नजिक छन् । पालाम, ख्याली, हाक्पारे, लवज आदि यिनिहरूको मूख्य लय हो । यि लयहरूको भरपूर प्रयोग छ नाटकमा । लयसँग ताल हुन्छ । यति–गति हुन्छ । च्याब्रुङ बजेको छ । कासको थाल बजेको छ । बोल्दा–हिँड्दा, उठ्डा–बस्दा, काम गर्दा, खाँदा–पिउँदा सबैमा यति–गतिको तालमेल छ ।
नाटक मोफसलका रङ्गकर्मीहरुको प्रस्तुति भए पनि केन्द्रको भन्दा कमसल लाग्दैन । अभिनय, विषयवस्तु, प्रस्तुति, सम्वाद सबै सशक्त छ । केहि कमजोरी पनि छन् । जस्तो कि पालाम गाउन सुरु गर्दा पुरुष र नारीले एकै चोटी म्युजिक ट्र्याकमा गीत उठाए जस्तो एकैचोटी सुरु हुँदैन । अर्को विषयवस्तुमा सिधै प्रवेष नगरी अन्त्यतिर मात्र माङ्गेनाको विषयमा केन्द्रित छ । धेरै गायन चरित्रसँग सम्बन्धित हुनाले गायनसँग सुमधुर गला–कला भएका कलाकार सामेल पनि भए अझ राम्रो हुनेथियो । थिएटरको समस्याले पनि होला, दृष्य परिवर्तनमा समय लाग्ने र भने जस्तो सज्जावट नपुगेको भान हुन्छ ।
नाटकले सत्तेहाङपन्थीको विषयको पनि उठान गरेको छ । सत्तेहाङपन्थीहरूले गर्दा वास्तविक लिम्बू संस्कारमा धक्का पर्छ । मगनी जाँदा सत्तेहाङपन्थीको तरिकाले गरिएको कारण मगनी गरिएकी लिम्बूनीको माईतीलाई अपमानाभाष हुन्छ र उसले ठेट लिम्बू संस्कृतिको सुर्केपङ नदेखेपछि रिसाएर खेदाउँछ । यसरी चेलीहरूको मगनीमा आएका पाहुनाहरूलाई खेदाउनु चेलीहरूको अपमान हो भन्ने लिम्बू संस्कृतिमा व्याप्त मान्यता छ । र, चेलीको झुकेको शीरलाई उठाउन माईतीले फेरि माङ्गेना गरेपछि नाटक सकिन्छ । यो लिम्बूहरूको महान दर्शन हो । नारीवादी कृतज्ञता हो ।
अर्कोतर्फ, लिम्बूनीहरूले स्वेच्छाले अरु जात–धर्मकासँग बिहे गरे पनि माईतीहरूले स्वीकार्ने दर्शनलाई पनि झल्क्याईएको छ । सहनाई बजाउने दमाईसँग भागेर जाने चेलीलाई समेत सईज्जत खोजेर मनाउने–मान्ने आशय नाटकले दिएकोछ ।
यो सालाखाला टिपोट मात्र हो । बसेरै हेर्दा नाटकमा हुने रस रिभ्यूबाट प्राप्त गर्न सम्भव हुँदैन । ईलामको दक्षिण भेगका चुलाचुली थिएटरका निर्देशक चेतन आङथुपोले ५० मिनेटको नाटकमा आफ्ना कलाकारलाई सफलपूर्वक उभ्याएका छन् । नाटकको प्राण लेखन हो, जो सफल छ । जसलाई सबैले सजीव बनाएका छन् ।
साभार: नयाँ अनलाईन डटकम  

झापाको बोर्डिङ स्कुलमा ऐच्छिक बिषय लिम्बु भाषा पढाइन्दै


आवाज लिम्वु कक्षा ३ का विद्यार्थी हुन । उनि झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर १० स्थीत माईधारको मेची ईलिस वोर्डिङ्ग स्कुलमा अध्ययनरत छन । उनका अभिभावकले विश्वव्यापी रुपमा चल्दै आएको अंग्रेजी भाषाकै लागि सो विद्यालयमा भर्ना गराए । अंग्रेजीमा पढ्न र लेख्नमा त आवाज अव्वल नै वने । यो संगै विद्यालयले लिम्वु भाषाको ऐच्छीक विषयमा पनि अध्ययन अध्यापन गर्नथालेपछि उक्त भाषामा पनि आवाज अरु भन्दा अव्बल वनेका छन ।
आवाजको परिवारमा यतिवेला खुसी छाएको छ । अग्रेजी पढ्न पठाएको छोराले लिम्वु भाषा सिकेर कुरा गर्न थालेपछि उनको परिवारमा खुसी छाएको हो । उनकी हजुुरआमा (बजु) दिलकुमारी लिम्वुले भनिन्, ‘वोर्डिङ्गले पनि स्थानिय मात्रृभाषामा पढाउन थालेपछि नामेट हुन लागेको लिम्वु समुदायको भाषा र लिपिको जगेर्ना भएको छ ।’ आवाजले सानै उमेरमा लिम्वु भाषा सिकेर गाँउ घरमा कुरा गर्दा उनका आफन्त छक्क पर्छन । उनि लिम्वु भाषामा जस्तो सुकै कुरा गर्न सक्ने भएका छन ।
आवाजको जस्तै मिसेकहाङ्ग चेम्जोङ्ग पनि लिम्वु भाषामा अव्वल छन । उनले पनि मेची ईलिस वोर्डिङ्ग स्कुलमै लिम्वु भाषा सिकेका हुन । सातामा दुई दिन सोमबार र मंगलवार श्रीजंघा लिपीको पढाईहुने लिम्वु भाषा कक्षामा ३ र ४ का गरि २० जना विद्यार्थी अध्ययनरत छन । जनक शिक्षा सामाग्री केन्द्रले स्वीकृत गरेको परिमार्जीत ०६४ को पुस्तक विद्यालयमा अध्ययन अध्यापन हुने गरेको छ ।
लिम्वु जातिको भाषा र लिपि संरक्षण गर्ने उद्धेश्यले मेचि ईंलिस वोर्डिङ्ग स्कुलले ५० पुर्णाङ्कको ऐच्छिक विषय अन्र्तर्गत लिम्वु भाषामा अध्यापन गराएको विद्यालयका प्रिन्सीपल भिमप्रसाद भट्टराईले वताए । उनले भने, ‘आउदा पुस्ताले मात्रृ भाषा नसिकेकैले प्रयोग गर्न नजान्दा यो भाषा नामेट हुनवाट वचाउन लिम्वु भाषामा अध्ययन अध्यापन गराईएको हो ।’ विद्यालयले अघिल्लै शैक्षिक सत्र देखि लिम्वु भाषामा पढाई गर्ने योजना वनाएको थियो । तर, शिक्षक शिक्षीका नपाउदा विद्यालयको योजनाले मुर्तरुप पाउन सकेको थिएन । प्रिन्सीपल भट्टराई भन्छन,‘हामिले दक्ष शिक्षीका पाएपछि विद्यालयमा पठन पाठन शुरु भएको हो ।’
सात जना मध्ये १ जना लिम्वु समुदायका संचालक छन । वाँकी सवै ब्राम्मण समुदायका संचालक हुन । विद्यालयका संचालक समेत रहेका शिक्षक वालकृष्ण चेम्जोङ्ग भन्छन, ‘भावि पुस्तालाई लिम्वु समुदायको भाषा र लिपी नसिकाउदा ति पुस्ताले पछि धिकार्नेहुदाँ लिम्वु भाषाको पढाई हुन थालेको हो ।’ विद्यालयमा करिव ५० प्रतिसत मंगोलियन समुदायका विद्यार्थी अध्ययनरत छन । चेम्जोङले भने, जस्को वाहुल्यता जँहा छ त्यहाँ त्यै भाषाको पढाई हुनु पर्छ ।’ कहर कापमा भन्दा पनि आवस्यक्तालाई हेरेर विद्यालयमा लिम्वु भाषाको पढाई हुन थालेको उनले वताए ।
झापामा ४ सयको हाराहारीमा संस्थागत विद्यालय छन भने ३ सय ६५ को संख्यामा सामुदायिक विद्यालय छन । तर, मात्रृ भाषाको पढाई भने एकाध सामुदायिक विद्यालय वाहेक भएका छैनन । स्थानिय अभिभावक भन्छन, ‘ ‘वाहुन समुदायका संचालक भएको निजि विद्यालयमा लिम्वु भाषाको पढाईले जात र भाषा दुवैको सद्भाव वढाएको छ ।’ हिमाल र पहाडी भेगका केहि सामुदायिक विद्यालयमा मात्रृ भाषामा पढाई हुने गरेको छ । तर, तराईका सामुदायिक विद्यालयमा मात्रृभाषामा पढाई कमै भएको जानकार वताउछन । शिवसताक्षीकै लिम्वु भाषाका जानकार नन्दराज योङहाङले भने, ‘नाफा कमाउने उद्धेश्यले स्थापना भएको विद्यालयले लिम्वु भाषाको उत्थानका लागि विद्यालयमा अध्ययन अध्यापन गराउनुले जात र भाषामा एक आपसमा सद्धभाव वढाएको छ ।’ उनका अनुसार सामुदायीक विद्यालयमा पनि मातृभाषामा पढाइहुनुपर्छ ।
अर्जुनधारा नगरपालिकाका शिक्षा अधिकारी तोया रेग्मी ले प्राथमिक तहमा मात्रृ भाषाको पढाई विद्यार्थीको नैसर्गिक अधिकार भएको वताए । उनले भने, ‘लिम्वु मात्र होईन राई, तामाङ, मगर,गुरुङ, राजंवशी लगायतका भाषामा अध्ययन अध्यापन गर्न गराउन नेपाल सरकारले प्राथमिक तहमा अधिकार प्रत्यायोजन गरेको छ ।’यता सामुदायिक विद्यालयले भने शिक्षक र विद्यार्थी अभावका कारण मातृभाषामा पढाई हुन नसकेको वताउदै आएको छ । शिवसताक्षी नगरपालिकाको झिलझिले स्थीत झिलझिले माध्यमिक विद्यालयका प्रधानाध्यापक दिपक न्यौपानेले राज्यले मात्रृभाषा अध्ययन अध्यापन गर्ने निति वनाएपनि योग्य शिक्षक नदिदा मात्रृ भाषामा पढाई हुन नसकेको वताए । झापाको मेचि नगरपालिका वडा नम्बर ७ मा रहेको स्वरस्वति प्राथमिक विद्यालयमा स्थानिय राजवंशी भाषामा पढाई हुने गरेको छ । सो विद्यालयमा ९९ प्रतिसत राजवंशी समुदायकै विद्यार्थी अध्ययनरत छन । विद्यालयले राजंवशी भाषाकै लागि छुट्टै व्यवस्था गरेको छैन । तर, सो समुदायका शिक्षक विद्यालयमा कार्यरत रहेकाले सो भाषामा अध्ययन अध्यापन हुने गरेको स्थानिय अभिभावकले वताए ।

समाचार साभार: रातो कलम डटकम

Monday 11 February 2019

विज्ञान भन्छ – वैवाहिक जीवनभन्दा एकल जीवन उत्तम हुन्छ


सामुदायिक मूल्य मान्यता पालना गर्नुपर्ने यो समाजमा ‘एकल व्यक्ति’ जहिले पनि जिज्ञासाको विषय बन्न पुग्छ। अनि एकल व्यक्तिलाई यो समाजले हेर्ने दृश्टिकोण पनि फरक हुन्छ! एकातर्फ इन्टरनेटभरी नै एक्लै हुनेहरूले गुनासो गरिरहेका छन् भने अर्कोतर्फ सारा विश्व नै भ्यालेन्टाइन दिवसलाई भव्य रूपले मनाउने तरखर गरिरहेका छन्। यसैक्रममा, ‘साइकोलोजी टुडे’मा प्रकाशन भएको अनुसन्धानको एक रिपोर्टले भने एकल हुनुका केहि फाइदाहरूलाई टिपोट गरेको छ।

एकल व्यक्तिहरू अरूभन्दा लचिलो हुन सक्छन्”

विज्ञहरू भन्छन्, एकल व्यक्तिहरूले कुनै पनि जटिल मुद्दामामलालाई विवाहित व्यक्तिले भन्दा सजिलो तरिकाले हल गर्न सक्दछन्। सायद यो कुरा ठीकै हुन सक्छ, किनभने विवाहितले जस्तो एकल व्यक्तिले भावनात्मक झञ्झटलाई बेहोर्नुपर्दैन र वैकल्पिक ढङ्गले जुनकुनै अवस्थालाई पनि सामना गर्न सक्दछ।

एकल व्यक्तिहरू सामाजिक क्रियाकलापमा बढि अग्रसर हुन्छन्

हुन पनि हो, अधिकांश विवाहित व्यक्तिहरू आफ्नै परिवारको उत्तरदायित्व निर्वाह गर्नमै व्यस्त हुने गर्छन्। पुराना साथीहरू अनि परिवारका जेष्ठ सदस्यहरूसँग समय बिताउन पाउँदैनन्। तर ठ्याक्कै विपरीत, एकल व्यक्तिलाई पारिवारिक बोझले ओगटेको हुँदैन।

“एकल व्याक्तिको व्यक्तिगत सम्बन्ध सच्चा हुन्छ”

हुन त एकल व्यक्तिका साथीको जमात त्यति ठूलो हुँदैन, तर जति पनि साथीसङ्गी हुन्छन्, उनीहरूसँगको नाता एकदमै प्रगाढ हुन्छ। “अधिकांश एकल व्यक्तिहरू रचनात्मकता र मौलिकतामा ध्यान दिने खालका हुन्छन्” शान्त वातावरण रुचाउने एकल व्यक्तिले आफ्नो समयलाई कुनै रचनात्मक तथा बौद्धिक काममा लगाउने गर्छन्, जसले गर्दा उनीहरूको जीवन हरेक पक्षबाट समृद्ध हुन्छ।

“कसैको अनुमतीबिना नै स्वतन्त्र भएर हिँड्न पाउने व्यक्ति भनेको एकल व्यक्ति नै हो” ल मानौँ, एक दिन तपाईँलाई कुम्लोकाम्लो बोकेर कतै यात्रा गर्न मन लाग्यो, अनि तपाईँ विवाहित हुनुहुन्छ। अब भन्नुहोस्, के तपाईँले त्यस्तो गर्ने स्वतन्त्रता पाउनुहुन्छ? तर यदि तपाईँ एक्लो हुनुहुन्छ भने तपा‌ईँलाई कसले रोक्न सक्छ र?

एकल जीवन बिताउन पाउनु एक प्रकारको आशिर्वाद नै मान्न सकिन्छ। तर समाजले यो कुरा बुझ्दैन। सम्भावनाको सुनौलो अवसरले भरिएको यो जीवनलाई अझै खोतल्दै जाने मौका हो भन्न सकिन्छ एकल जीवनलाई।
साभार: राष्ट्रिय पत्रिका डटकम