Sunday 14 October 2018

ढाका कपडा पहिचानको उद्यम, - सुम्निमा चाम्लिङ







ढाका कपडा पहिचानको उद्यम
–सुम्निमा चाम्लिङ

धरानः व्यापार, व्यवसाय तथा उद्यम गर्नेहरु धेरैको उदेश्य केवल मुनाफा कमाउने र सम्पती जोड्ने मात्र हुनसक्छ । यसक्षेत्रका थोरैले मात्र आफ्नो समुदाय र मुलुकको मौलिक पहिचान लाई उद्यमको रुप दिएर त्यस्लाई देश, विदेशमा फैल्याउने र त्यसैबाट आम्दामी पनि गर्ने फराकिलो उदेश्य राखेका हुन्छन् । उद्यमी र व्यवसायीका भिडमा त्यस्ता सोच भएकाहरु छुट्याउन गाह्रै हुन्छ । यसैविचमा यमुना तुम्सा लिम्बु (२८) ले उनको उद्यममा आउनेहरु विच वेग्लै उद्यमी महिलाको परिचय बनाएकी छिन् ।
 धरान–१२ चतरा लाइनमा चौविसे सम्यक ढाका वुटिक सञ्चालन गर्दै आएकी धनकुटा चौविसेकी यमुनाको सोच फराकिले छ । उनि आफुले सञ्चालन गर्दै आएको उद्यम लाई नेपालको पहिचान मान्छिन् । ढाका उद्योग संचालन गरेर मौलिकता संरक्षण गर्ने काम गरिहेकी मान्छिन् । आफ्नौ समुदायले परापूर्वकाल देखी मौलिक पहिरनको रुपमा लगाउँदै आएको ढाका आफै बुन्ने परम्परा लाई आफुले व्यवासय बनाएकोले समुदायको पहिचानका लागि पनि केही गरिरहेकी छु भन्नेमा उनलाई गर्व छ । ढाका कपडाको लोकप्रियता फैलदैं गएर यस्को अन्तर्राष्ट्रिय बजार बढ्ने र त्यस्लो मुलुकको अर्थतन्त्रमा समेत योगदान पु¥याउने कुरामा सचेत छिन् । भन्छिन् ‘त्यसैले सबै भन्दा राम्रो उद्यम र व्यवसाय     यही लाग्न थालेको छ ।’ उनले मौलिक ढाकाको उत्पादनलाई प्रर्वद्धन गर्ने भनि गएको वर्ष देखी धरान १२ चतरालाईनमा चौबिसे सम्यक ढाका बुटिक संचालन गरेकी हुन् । आफ्नो मौलिक संस्कार सस्कृति र पहिचानलाई जोगाउनुपर्दछ भन्ने मान्यता राख्ने उनले ढाका उद्योग स्थापना गर्छु भन्ने सोचेकी भने थिइनन् । ढाका उद्योग संचालन गर्नुअघि उनी स्नातकोत्तर डिग्री अध्ययन गर्दै थिइन् ।


करिब दुई वर्ष अघि किरात लिम्बु जातीको महान चाड चासोक तङनामको समयमा लिम्बु जातीको मौलिक पहिरन मेख्ली लगाउने उनको इच्छा अधुरो रह्यो । पुर्वको विभिन्न शहरमा ढाकाको मेख्ली बनाउने स्थान खोजेपनी नपाएपछी नै उनी व्यवसायी बनेकी हुन् । ढाका कपडाको अभावलाई थोरै भएपनी पुरा गर्ने उदेश्यले उनी करिब तिन महिना ढाका बुन्ने तालीम सिकीन् । सीप आर्जन गरेपछी उनले ढाका उद्योग स्थापना गरेकी हुन् । कक्षा १२ सकाएपछी रिजल्ट आउने समयमा उनले हेन्डीक्राफ्ट अन्तर्गत कुरुसले बनेको सामानहरु र टेलरको ज्ञान हासील गरेको हुनाले उनलाई ढाका बुन्ने काम पनी सजिलो गरी सिकेको उनले बताईन् । आधारभुत ज्ञान पाएपछी विभिन्न बुटाहरु बनाउन सकिने उनको अनुभव रहेको छ ।अहिले त उनी  झारपात,फुल,हरेक चिजमा बुटाहरु देख्ने गरेको उनी सुनाउछीन् ।मास्टर्स डिग्री सकाएकी उनले विभिन्न ठाउंमा जागिर खाने सक्थिन् तर उनले भने हराउदै गएको मौलीकतालाई जोगाउदै आर्थीक उपार्जन गर्ने अठोट गरीन् । आफु संगै कयौ महिलाहरुलाई स्वावलम्बी बनाउने काम समेत गरेकी छिन् । ढाका उद्योगलाई आधुनीकीकरण गरेर उत्पादन गर्न सके युवाहरुलाई आर्कषण गर्न सकिने उनको बुझाई छ ।
उनको उद्योगमा ढाका साडी, रुमाल, टाई, चप्पल, ब्याग, गलबन्दी, टोपी, लिम्बु जातीको पहिरन (मेख्ली, तागाबा दौरा सुरुवाल, सिलामसाक्मा साथै लिम्बु गरगहना) लगायत अर्डर अनुसारको सामानहरु उत्पादन हुने गरेको छ । उनको उद्योगमा न्युनतम ५० रुपैयादेखी २५ हजार रुपैयाको सामाानहरु रहेको छ । काठ वा बाँसको तानको प्रयोग गरेर बनाईएको ढाका मौलिकतासँगै जोडिएका कारण पनि यसको माग बढ्दै गएको उनको भनाई छ । १ लाख रुपैया लगानीमा दुई वटा तान,धागो र एउटा मेशिन खरिद गरी सुरु गरेको व्यवसाय अहिले २० लाखको लगानी बढाउन सफल भएकी छिन् । उद्योग संचालन संगै तालीम समेत प्रदान गर्दै आएकी छिन् । सोचेको भन्दा राम्रो आम्दानी गर्दै आएको उनले सुनाईन् । अर्डरहरु धेरै आउने हुनाले काम थेग्न मुस्किल समेत हुने गरेको उनी बताउछीन् । माग अनुसारको उत्पादन र्पुयाउन नसक्दा व्यवसायीले सोचेजति आम्दानीसमेत गर्न नसकेको उनको अनुभव छ ।


स्वदेशमा मात्र नभएर विदेशमा समेत उत्पादीत सामान निर्यात गर्दै आएकी छिन् । ढाका उत्पादनबाट उनले अहिले मासिक लाखौ आम्दानी गर्दै आएकी छिन् । ढाका कपडा उत्पादन गर्ने महिलाहरुले न्यूनतम ६ हजारदेखि १५ हजार रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् । उद्योगमा सिकेका महिलाहरुले अहिले आफ्नै घरमा तान बुनेर मासिक आम्दानी गर्दै आएका छन् । उनीहरुले बुनेको तानलाई उद्योगले खरिद गरीदिने गरेको लिम्बुले बताईन् । पछिल्लो समय युवतीहरुदेखी महिलाहरु समेतको यो क्षेत्रमा आर्कषण बढ्दै गएको छ । उद्योगको व्यवसायीक रुपमा प्रचारप्रसार नगरेपनी यो उद्योगमा स्वत ग्राहकहरु भने बढ्दै गएको उनले बताईन् । पछिल्लो समय भने उनले सामाजीक संचालको माध्यमबाट आफेनो प्रचारप्रसार गरिरहेकी छिन् । यस मार्फत देश तथा विदेशबाट माग आउने गरेकोले उनी निकै उत्साहीत छिन् । पढाई संगै व्यवसायलाई लान सकेकाले थप सहज भएको उनले सुनाईन् ।

ढाकाको माग उच्च भएपनी आवश्यक कच्चा पदार्थ पुर्वमा नपाइने भएकाले राजधानी पुग्नुपर्ने बाध्यता भने रहेको छ । आवश्यक कच्चा पदार्थको अभाव हुदा अर्डर अनुसारको काम गर्न अप्ठ्यारो हुने गरेको छ । ढाकाको कपडा बनाउन सजिलो नहुने भएकाले जनशक्तीको भने अभाव रहेको छ । हातले बुन्नुपर्ने हुनाले ढाकाको सामान थोरै मूल्य बढी हुने गरेको छ । स्नातकोत्तर तह अध्ययन गरेकाले पनी ढाका उद्योग संचालन गरेकोमा उनलाई धेरैले हौसला प्रदान गरेकाले अझ उत्साहीत छन् । महिलाहरु घरको कामसंगै आर्थीक रुपमा समेत सक्षम हुन जरुरी रहेको उनी बताउछीन् । विपन्न महिला,एकल महिलाहरुलाई शुल्कमा विशेष छुट प्रदान गरी यस क्षेत्रमा प्रोत्साहन गर्दै आएको उनले बताईन् । गत साउनमा हङकङमा लिम्बु जातीको फेसन प्रतियोगीतामा उनले बनाएको पहिरन उत्कृष्ट समेत भएको थियो । यसले उनलाई थप उचाईमा पुर्याउने काम भएको छ । यस पेशाले उनलाई देश तथा अन्तराष्ट्रिय स्तरसम्म महिला उद्यामीको रुपमा चिनीने गरेको छ ।
मौलीक भेषभुषा संरक्षण संगै आर्थीक रुपमा समेत सबल हुन पाएकोमा गर्व गर्छीन् । आगामी दिनमा थप उत्पादन बढाउने र प्रचारप्रचार गर्दै यो क्षेत्रलाई निरन्तरता दिने उनको योजना छ । देशको मौलीक पहिचान रहेको ढाकालाई संरक्षण र प्रर्वद्धन गर्न सकनुपर्दछ । राज्यले ढाका कपडा उद्योगका लागी प्रोत्साहन स्वरुप अनुदान तथा क्रणहरु सहज रुपमा उपलब्ध गराए यस क्षेत्रमा आउन प्रोत्साहन मिल्ने थियो । ढाका कपडामा आधुनीकरण गर्दै युवा पुस्तामा आर्कषण बढाउन सक्नुपर्दछ ।

समाचार साभार: Morningtimes Daily