Saturday 18 February 2017

मेरो आमाको नाम


कविताबारे कवि- उपेन्द्र सुब्बाको कविताबारे
-सरस्वती प्रतीक्षा



गायिका झुमा लिम्बुले एकदिन कुरैकुरामा एउटा घतलाग्दो कुरा भनिन्। उनको सिरानीमुनि जहिले पनि उपेन्द्र सुब्बाको कविता संग्रह ‘खोलाको गीत र अन्य कविताहरु’ हुन्छ रे। जबजब अल्छी लाग्छ, सिरानीमुनिबाट त्यही किताब निकारेर पढ्छिन् अनि आफैंलाई फ्रेस महसुस गर्छिन् रे!

कसैले कवि उपेन्द्र सुब्बाको कविताको शक्ति के हो? भनि सोधे भने झुमाले सुनाएका यिनै दुई लाइनमा सारा जवाफ भेट्न सकिन्छ। भनिन्छ नि, धेरै किताब ¥याकमै थन्किन्छन्। थोरै प्रिय र भाग्यमानी किताबहरुले मात्र मान्छेको सिरानीसम्म पुग्न सक्ने सामथ्र्य राख्दछन्। सिरानीसम्म आख्यानको किताब पुग्नुलाई त स्वभाविक रुपमा लिन सकिन्छ किनभने कथा, उपन्याकोस बहावमा बहन सजिलो हुन्छ। तर कुनै पाठकको सिरानीसम्म कुनै कविको किताब पुग्नचाहिँ कवितामा खास गुरुत्व हुनैपर्छ। सानोतिनो गुरुत्व भएको कविताको किताब सिरानीसम्मको यात्रा तय गर्ने सामथ्र्य राख्दैन। उपेन्द्र सुब्बाका कविताहरु त्यस्तै खास कविताहरु हुन्, अग्र्यानिक कविताहरु। उनका कविता पढ्दा कविले जबरजस्ती लेखे जस्तो लाग्दैन, कविताले नै कविलाई ‘मलाई लेख’ भनेर अह्राए जस्ता स्वभाविक कविताहरु लाग्छन्।

कथाकार उपेन्द्र सुब्बालाई अक्सर एउटा आरोप लाग्ने गर्छ, उनका अधिकांश सबै कथाहरुको केन्द्रमा पुरुष पात्र हुन्छन्। महिलालाई केन्द्रिय पात्र बनाएर विरलै कथा लेख्छन् सुब्बा। तिनै उपेन्द्र सुब्बा कवितामा चाहिँ बडो महिलामैत्री लाग्छन्। छोरीका लागि लेखिएका कविताहरु हुन् वा आमाका लागि, हजुरनीको यादमा लेखेको कविता होस् वा कान्छीको झुम्के बुलाकीलाई सम्झेर लेखिएको कविता– नारीलाई केन्द्रमा राखेर मुलायम कविता रच्न खप्पीस छन् उपेन्द्र सुब्बा।

नारी–केन्द्रित उनका कवितामध्ये मलाई सबैभन्दा बढी मन पर्ने कविता हो, ‘मेरो आमाको नाम।’ उनका सम्पूर्ण कवितामध्ये अब्बल कविता कुन हो भन्दा अंग्रपंक्तिमा यही कविता राख्छु म।

एउटा छोरा, जसले आमालाई सधैं आमा भनेर सम्बोधन गर्यो, उसलाई आफ्नै आमाको नाम थाहा हुँदैन। न नागरिकता, न सर्टिफिकेट, न अन्य पूर्जाहरुमा नै कतै उल्लेख छ आमाको नाम। कसैका निम्ति फूलमाया, कसैका निम्त माङ्धाने कान्छी, कसैका निम्ति कालुकी आमा–टुक्राटुक्रा सम्बोधनमा खण्डित एउटा सम्बोधन। यही सम्बोधन जस्तै खण्डित हुन्छ, एउटी स्वास्नीमान्छेको अस्तित्व पनि। खण्डित अस्तित्व–टुक्राटुक्रामा विभाजित अस्तित्व। यही जीवनदर्शनको कवितात्मक स्वर हो– मेरो आमाको नाम।

पचासको दशकमा लेखिएको लक्ष्मी मालीको कविता ‘आमा, तिम्रो नाम के हो?’ र सत्तरीको दशकमा लेखिएको उपेन्द्र सुब्बाको कविता ‘मेरो आमाको नाम’को भावभूमि एउटै छ। शीर्षकको तारतम्यता मिल्नु, भाव मिल्नु संजोग मात्र हो वा संजोगभन्दा बढी केही कुन्नि?

जे होस्, नभने जस्तो गरेर खास कुरा भन्नु उपेन्द्र सुब्बाका कविताहरुको विशेषता नै हो। नजाने जस्तो गरेर अधिक जान्नेहरुको मन–मष्तिष्क हँुडलिने गरी काव्यिक प्रक्षेपण गर्नु उपेन्द्र सुब्बाका कविताहरुको मौलिकता हो। हास्यरस मिसाएर कविता पढ्दापढ्दै यति हँसाउनु कि हाँस्दै गर्दा लाग्छ, एउटा पाठक खुसीको हाँसो हाँसिरहेछ। अन्तमा हाँसिसकेपछि जुन आँसु आउँछ, त्यो दुःखको आँसु हुन्छ। दुःखलाई पनि खित्का छोडेर हाँस्न बाध्य पार्ने गरी कविताको प्याकेजिङ गर्ने कला कसैसँग छ भने त्यो उपेन्द्र सुब्बासँग मात्र छ। यसरी पाठकलाई हँसाउँदै हसाउँदै झुक्याएर रुवाउने कविको नाम हो, उपेन्द्र सुब्बा।

भलै ‘मेरो आमाको नाम’ कविता उनका आफ्नै हँसाउने र हँसाउँदा हसाउँदै रुवाउने कविताको दायरामा नपर्ने कविता हो। यो कविताको सुगन्ध खाँट्टी पूर्वेली किराती सुगन्ध हो। आमालाई सेवारो भन्दै उदाउने घाम पूर्वतिरको घाम मात्र हुनसक्छ। आमाचाहिँ सबैको आमा हुन्, यसमा कुनै शंका छैन।

प्रत्येक घरकी आमा एउटा परिवार मात्र अड्याएर बस्दिन, एउटा ब्रम्हाण्ड अड्याएर बसेकी हुन्छे। सबैलाई नाम दिएकी हुन्छे। जब कि, उसको आफ्नो नाम तिनै नामहरुको भीडमा कतै कच्याककुचुक भएर बसेको हुन्छ। सबैको ख्याल गर्छे। जब कि, उसले आफूलाई ख्याल गर्नुपर्छ भन्ने सत्यसमेत भुलेकी हुन्छे।

आमाको नाममा संसारमा आजसम्म करोडौ कविताहरु लेखिए होलान्। तिनै मध्येको एक कविता उपेन्द्र सुब्बाले लेख्यो त के भयो? प्रश्न यसरी पनि गर्न सकिन्छ। अँ साँच्ची, त्यसरी लेखिएका आमासम्बन्धी कवितामध्ये कति कविताहरु याद छन् तपाईंलाई? एकछिन तपाईंले यो प्रश्नको जवाफमा गम्दै गर्दा एउटा कुरामा ठोकुवा गरेर भन्न सकिन्छ, जसले एकपटक उपेन्द्र सुब्बाको ‘आमाको नाम’ कविता पढ्छ, उसको मनमा यो कविता सधैंको निम्ति बस्छ। बालुवामा लेखिएको लेखोट जस्तो होइन यो कविता, जो भर्खरको भर्खर मेटिएको जान्छ। यो त शीलालेखमा लेखिएको लेखोट जस्तो कविता हो, जो वर्षौंवर्ष बाँचिरहन्छ।

सरल छ, यति सरल कि भर्खर स्कुल पढ्दै गरेको बच्चाले पनि बुझ्छ यो कविता। सँगसँगै गम्भीर पनि छ। फेरि, यति गम्भीर कि यही एउटा कवितामाथि विश्वविद्यालयको सिंगो थेसिस लेख्न सकिन्छ। विषयवस्तुका हिसाबले यो बिल्कुलै फरक कविता नहोला, तर भावको गहनताले गर्दा अबको कैयन् वर्षपछि पनि कुनै पाठकले यो कविता पढ्दै गर्दा यो कविताको अनुहारमा आफ्नी आमाको अनुहार भेट्नेछ। जसरी सिमोन द बुआले दशकौंअघि लेखेको ‘द सेकेण्ड सेक्स’को सान्दर्भिकता आज पनि जस्ताको तस्तै मेल खान्छ, त्यसरी नै उपेन्द्र सुब्बाको ‘मेरो आमाको नाम’ कविताको सान्दर्भिकता पनि संसारमा आमाहरु र आमाका उत्सर्गहरु रहुञ्जेल कायमै रहन्छ।

आज छ, भोलि छैन– यो कुनै घाँस कविता होइन। एक सिजनमा मात्र गाढा गहिरो हुने, अर्को सिजनमा हराइ जाने झार कविता होइन। यो त एक रुख कविता हो, बलियो जरासहितको। यो एक सदावहार कविता हो।

मेरो आमाको नाम

उपेन्द्र सुब्बा

चाप्पती?
फूलमती?
दिलमती?
वा, खाओती, नाममोती, लाओती?
मेरो आमाको नाम के होला
खरो बार भन्छन् क्यार मङ्गलबार
मङ्गलबार जन्मेकाले मङ्गली पो हो कि?
असारमा जन्मेकाले आसारी पो हो कि?
पाँच दिदी, दुई बहिनी बीच जन्मेकाले
खन्तरी पो हो कि?
साँच्ची,
मेरो आमाको नाम के होला?
मेला–बजार तरेबाहरुले नाम सोध्दा
फूलजस्तै राम्री छु भन्ने घमण्डमा
मेरो आमाले आफ्नो नाम फूलमाया भनिन् होला
फूलमायाबाट थपक्क फूल चोरेर
माङ्धाने कान्छाले आफ्नो कोटको देब्रे खल्तीमा सजाएपछि
मेरो आमालाई माङ्धाने कान्छी भनेका होलान्।
लेकको बारीमा
डल्ला फोर्दै गीत गाउँदा बाउआमा
सिला आलुजस्तै म भेटिएको अरे!
तबदेखि भन्न थालेका होलान्–
कालुकी आमा।
यति धेरै सम्भावित नामहरुमा
मेरो आमाको नाम के होला?
मेरो नागरिकता, सर्टिफिकेट, अन्य पूर्जाहरुमा
कहीँ कतै उल्लेख छैन
अब म
मेरो आमालाई के नाम दिऊँ?
के उपमा दिउँ?
त्यस्तो कुन फूल होला र सुहाउँदो
मेरो आमाको वैंशसँग दाँज्न मिल्ने?
हरेक पूर्णेको रात
मेरो आमासँग जून दाँजिन आउँछ
मेरो आमाको एक हाँसोसँगै एक टुक्रा खस्छ
र औँसीमा हराउँछ
हरेक बिहान लजाउँदै उदाउँछ घाम
र मेरो आमालाई सेवारो गर्दै
डाँडामाथि हाम्फाली मर्छ।
मेरो आमालाई सम्बोधन गर्न योग्य शब्द
कुन शब्दकोशमा होला र?
आमाको पनि कुनै नाम हुन्छ र?
ए! मेरो आमाको नाम त आमा नै पो होला।

प्रकाशित मिति: शनिबार, फाल्गुण ७, २०७३ ११:४५:३९
यो लेख र तस्वीर सेतोपाटी डटकमबाट साभार गरीएको छ l

No comments:

Post a Comment