Saturday 11 February 2017

लिम्बूवानमा लिम्बू जातिको योगदान


No automatic alt text available.
-सरोज कुमार ढकाल
बेग्लै मौलिक पहिचान र चिनारी भएको लिम्बु आदिवासी किराती जाति हो। मौलिक भाषा, धर्म, संस्कृति, रीतिरिवाज, साहित्य, लिपि र भेषभूषा भएका लिम्बुहरू नेपालको पल्लो किरात वा अरुण नदी पूर्वको पहाडी भू-भागमा बसोबास गर्दछन्। नेपालमा ३५ लाख नौ हजार तीन सय ८९ जनसंख्या भएको यो जाति भारत, बेलायत, हङकङ, ब्रुनाई, सिंगापुर लगायत विभिन्न ठाउँहरूमा छरिएर रहेका छन्। आफ्नै सामाजिक, आर्थिक, राजनैतिक र सांस्कृतिक स्वरूप बोकेको यो जाति हाल अस्तित्व साथै हक अधिकारको लागि प्रयासरत छ। मुन्धुममा आधारित किरात धर्म मौलिक धर्म हो भने भाषा, लिपि, साहित्य र संस्कृति हाक्पारे, पालाम, ख्याली, मेरिङ साम्लो, तुम्याहाङ साम्लो, मिक्वा साम्लो, मेखिम साम्लो, केलाङ आदि चिनारीका माध्यमहरू हुन्। त्यस्तै, धार्मिक अनुष्ठान सम्पन्न गर्ने मुख्यतः फेदाङमा, साम्बा, येबा तथा सेवासाबाहरू हुने गर्दछन्।
लिम्बु जातिले आफ्नो अस्तित्वको निमित्त ऐतिहासिक यात्रा तय गरेको पाइन्छ। मानवशास्त्री र इतिहासविद्हरूका अनुसार मानव एक चलायमान जाति हो। यिनीहरू एक ठाउँबाट अर्को ठाउँमा अस्तित्वको निमित्त संघर्ष गर्दै, घुमन्ते फिरन्ते अवस्था पार गर्दै, पशुपालन र कृषियुग हुँदै आधुनिक युगमा प्रवेश गरेका हुन्। यही क्रममा लिम्बुहरू चीनको युआन प्रान्तको शिचुवान प्रदेशमा बसोबास गर्ने शान मकवान जातिका थिए, र तिनै जातिका मानिसहरू थाइल्याण्ड, भियतनाम हुँदै म्यानमारको उत्तरी भागमा बसाईं सरे, जुन ठाउँलाई मङकवान भनिन्छ। म्यानमारको मेकङ नदी आसपासको उपत्यकामा विरोधीहरूसँगको भीषण युद्धमा धेरै जिउधनको नोक्सानी व्यहोरेपछि बाँकी दश जना युद्ध सरदारहरू आसामको कमरूप हुँदै आजको किरात प्रदेशमा बसोबास गर्न थालेका हुन्।
तथापि, यिनीहरू चिनियाँ मूलका नभएर तिब्बत बर्मेली परिवारका सबैभन्दा पूराना जातिहरू हुन्। उनीहरू मंगोलियन नश्लका भएपनि चिनियाँ जातिसँग नजीकको सम्बन्ध छैन। इण्डो-मंगोलोइड नश्लका किरातीहरूको आगमन नेपालमा उत्तर तथा उत्तर-पूर्वी दिशाबाट भएको र अन्य जनजाति वा सम्प्रदायभन्दा पहिले आएका थिए। किरातीहरूले पश्चिममा काठमाडौं उपत्यकासम्म आर्थिक, सामाजिक गतिविधिहरू सञ्चालन गरेका थिए। विशेषतः पूर्वी पहाडी इलाकाहरू तामाकोशी, अरुणकोशी, तमोर उपत्यकाहरूमा भस्मे फाँडी मलिलो जग्गाहरूमा खेतीपाती गर्थे। अन्नपातका बीउविजन, भैसी, सुँगुर र अन्य जनावरहरू घरेलुकरण गर्दै कृषि युगमा प्रवेश गरेका थिए। काठमाडौंको गोकर्ण केन्द्र बनाई उपत्यकाभित्र पनि खेतीपाती गरेका थिए। यही समयमा काठमाडौं उपत्यकामा खसहरू गाई, बाख्रा, भेडासहित घुमन्ते, फिरन्ते अवस्थामा मातातीर्थ केन्द्रित भइरहने गर्थे, जो इण्डो-आर्यन भाषा बोल्दथे। उपत्यका भित्र किराती गोत्रका भोट बर्मेली भाषा बोल्नेहरू र खसहरूबीच सामाजिक सम्बन्ध सुमधुर थियो। खसहरू (गोपालवंशी पनि भनिन्छ)ले किरातीसँग खेतीपाती गर्न सिकेका थिए। यसरी, उपत्यकाभित्र दुबै जातिले खेतीपाती र जनावरहरू घरेलुकरण गरेकाले पहिलोपटक नयाँ किसिमको राजनैतिक, आर्थिक, सामाजिक व्यवस्था शुरुवात भएको हो।
यही क्रममा गोपाल वंशीअनुसार ३२ पुस्ता, कर्कपेट्रिक वंशावलीअनुसार २७ पुस्ता, डेनियल राइट वंशावली अनुसार २९ पुस्ता, इतिहास प्रकाशनअनुसार २५ पुस्ता, प्रेमबहादर माबोहाङका अनुसार ३३ पुस्तासम्म किराती राजाहरूले काठमाडौं उपत्यकामा शासन गरेका थिए। बौद्ध दर्शनबाट किराती राजाहरू प्रभावित भएका थिए। सातौं किराती राजा जितेदास्तीको पालामा स्वयम्भु चैत्य र मञ्जुश्री चैत्यको दर्शन गर्न गौतम बुद्ध आई १३५० शिष्यहरू बनाएको भनिन्छ। किरात वंशलाई लिच्छवीहरूले धपाएपछि पूर्वतिर लागेका हुन्। यसरी पूर्व लाग्नेहरू राई, लिम्बु, याक्खा, धिमाल, मेचे, कोचे, सुनुवार आदि हुन्। त्यसताका काठमाडौं एउटै किरात प्रदेश थियो। वल्लो किरात, माझकिरात, पल्लोकिरात भनि भू-भाग विभाजन गर्ने काम गोरखा राज्यको विस्तार क्रममा भएको पाइन्छ। किराती शब्द समूहवाचक वा राजकीय हो भने विभिन्न मूल्य, मान्यता, भौगोलिक, सांस्कृतिक स्थिति, भाषिकरूपले गर्दा खम्बु, लिम्बु, याक्खा, सुनुवार, जिरेल, सुरेल, मेचे, कोचे र धिमालको रूपमा विभाजित भएका हुन्। तर, धेरै सामाजिक मूल्य, मान्यतामा सामिप्यता रहेको छ। यसरी, अरुण नदी पूर्व रहेका किरातीहरूमध्ये लिम्बु जातिहरूमा आफ्नो छुट्टै सामाजिक, आर्थिक, सांस्कृतिक र राजनैतिक संरचना रहन गएको हो। उनीहरूमा बौद्ध धर्मदर्शनले कुनै प्रभाव नपारेको पाइन्छ, किनकि आफ्नै मुन्धुम दर्शनबाट निर्देशित सामाजिक अवस्था र स्वायत्त कृषि प्रणाली हुनुको साथै आपुंगी राजनैतिक प्रणाली वा विभिन्न सरदारी प्रथा वा प्रणाली रहेको थियो। जसमध्ये विजयपुर गढी सबभन्दा शक्तिशाली रूपमा रहेको थियो। विभिन्न समयमा विभिन्न थुमका प्रमुखहरूलाई लालमोहर प्रदान गरेको पनि पाइन्छ। तमर खोला, माइ खोला, मेवा खोला, याङरूप, आठराय, पान्थर, फेदाप, चारखाल, चौबीस, छथर जस्ता थुमहरूले विजयपुरमा सम्बन्ध राखी आफ्ना थुमहरूमा आपुंगी राज गरेको र सम्बन्धन प्राप्तिको लालमोहर लिने गरेको र लिम्बुवान संघीय प्रणाली अनुरूप सञ्चालन भएको पाइन्छ।
लिम्बुवानमा धेरै समयसम्म उत्तरको भोट क्षेत्रबाट र पूर्वको सिक्किमबाट कयौंपटक आक्रमण भएको थियो, फलतः सामाजिक, आर्थिक, राजनैतिक अवस्था कमजोर हुन पुग्यो। भनिन्छ, भोटबाट आउने लामाहरूले किराती पुरुषहरूलाई खोजीखोजी मार्ने गर्दथे, र धेरै समयसम्म किराती नारीहरूले आफ्ना पुरुषहरूलाई लुकाएर बचाएका हुन्। लामाहरूको भेषमा डमरु र घण्टी बजाउँदै घरघर चहारेको भन्ने मत रहेको छ। त्यस्तै, सिक्किमका लाप्चाहरूले पनि धेरैपटक आक्रमण गरेको पाइन्छ। तथापि, समय समयमा भोटसँग व्यापारिक र वैवाहिक सम्बन्धहरू भएका थिए। त्यसताका वस्तु विनिमय प्रणाली थियो। लिम्बुवानमा कपासबाट धागो बनाई लुगा बनाउने, प्रशस्त कृषि उत्पादन गर्ने र पशुपालनजस्ता मुख्य आर्थिक गतिविधिहरू हुन्थे।
लिम्बुवानको सामाजिक व्यवस्था पूर्णतः मौलिक थियो। मुन्धुम मुख्य स्रोत वा अलिखित कानून सरह थियो। यसलाई येत्हाङहरूले समय समयमा परिभाषित गरेको अनुमान छ। येत्हाङहरूको थिए भन्ने प्रश्न रहेपनि सोधुङगेन लेप्मुहाङ, कान्देनहाङ, माबोहाङ, सिरीजंगाहाङ, मुहिगुम अङसीमाङ फाल्गुनन्द लिङ्देन आदि किरात दर्शनका मुख्य प्रवर्तकहरू हुन्। सामाजिक व्यवस्थापनका निमित्त गरिने सम्मान, पुरस्कार, दण्ड, सजाय, प्राकृतिक श्रोत साधनको व्यवस्थापन, थिति थाम्ने, नीति, नियम निर्माण गर्ने कार्य तुम्याहाङहरूको निर्णयमा आधारित हुन्थ्यो। यदि एक जना तुम्याहाङले अस्वीकार गरेमा निर्णय असम्भव हुन्थ्यो।
इशाको एघारौं शताब्दीमा लिच्छवी राज्य टुक्रेर धेरै राज्यहरू बन्न थाले। चौधौं शताब्दीमा मल्लहरूले काठमाडौं कब्जा गरे। यहीबेला मल्ल राजा जयस्थिति मल्लले हिन्दु दर्शनबाट प्रभावित भई समाजलाई पेशागत आधारमा ब्राह्मण, क्षेत्री, वैश्य र शुद्र गरी चार जातमा विभाजन गरे। चौधौं शताब्दीमा भारतमा ईश्लाम धर्मको जेहादका कारण पहिलोपटक ब्राम्हण, ठकुरीहरू नेपालको पश्चिम कर्णाली इलाकाहरूमा खसहरूसँग शरण लिई लुक्न थाले। त्यस्तै, द्रव्य शाहको राज्य प्राप्तिसँगै गोरखा राज्यको स्थापना भयो, र काठमाडौं उपत्यकाको शासक भए पश्चात् चौबीसे बाइसे र किरात प्रदेशहरूको समेत महाराजा हुने चाहनाले क्रमशः मकवानपुर हुँदै बाइसे, चौबीसे, चौदण्डी, विजयपुर हात पारेपछि लिम्बुवान पनि हात पारे। कतिपय थुमहरूले सम्झौता गरे भने कयौंपटक लिम्बुवानसँग हार खानु पर्‍यो। यही क्रममा चैनपुरमा गोरखासँग भीषण लडाइँ भएको थियो।
लिम्बुवानका सेनापति काङसोरे थिए भने गोरखातर्फा रघुवीर राणा थिए। रघुवीर राणा र काङसोरेबीच भएको लडाईंमा रघुवीर मारिए। अन्त्यमा, हारजीत नभएपछि सम्पूर्ण सेनाहरू बिनाहतियार उपस्थित भए। तर, तत्कालै गोरखा सेनाहरूले बालुवामा लुकाई राखेको तरवार झिकी काङसोरे मारियो। र, पुनः भीषण युद्ध भयो। यसरी, विभिन्न कारणवश वि.सं. १७७४मा लिम्बुवान नेपालमा गाभियो। त्यसताका हिन्दुकरण नमानी आफ्नै येत्हाङ थितिमा चल्ने आधारमा किपट प्रणाली अन्तर्गत सम्झौता भएको थियो। जसमा लिम्बुवान भूमिमाथि लिम्बु जातिको मात्र अधिकार रहेको थियो। उनीहरूले दक्षिणपूर्वी र पूर्वी भागबाट हुने आक्रमणको प्रतिरोध गर्नुपर्ने शर्तमा लिम्बुवान गाभिएको थियो। न्यूनरूपमा कर शाहवंशी राजालाई बुझाउनु पर्दथ्यो। तत्पश्चात् लिम्बुवानमा पहिलोपटक बाहुन, क्षेत्री, मगर, गुरुङहरू चौबीसे, गोरखा, मकवानपुरबाट बसाईं सरे, र नयाँ सामाजिक संरचना सुरूवात भयो। विभिन्न प्रलोभनहरू देखाई लिम्बुवान समाजलाई टुक्राउने क्रम जारी रह्यो, लिम्बुवानमा सुब्बा नियुक्ति गर्ने प्रचलन ल्याइयो। जसमा ६० मुरी फल्ने जग्गा रैकर गराएपछि सुब्बा नियुक्त गरिन्थ्यो, र सुब्बाहरूले आफ्नो रैती राखी तिरो कर उठाउने प्रचलन सुरूवात भयो।
यसरी धेरै लिम्बुहरू सुब्बा हुने सुरमा आफ्नो किपट भूमि रैकर बनाई गुमाए। लिम्बुवानमा पछि पनि सिक्किमबाट आक्रमण भइरह्यो। त्यहीबेला पाचथरका ५२ सुब्बाहरू योङहाङ सुब्बाको नेतृत्वमा काठमाडौं आई राजा रणबहादुर शाहसँग युद्ध गर्न हतियार माग गरे। रणबहादुरले ढाल, तरवार, त्रिशुल, नगरा, निशान, बन्दुक, शङ्ख, नरसिंगा मौलो थापी दशैको नवमीको दिन बलि चढाउनु पर्ने शर्तमा दिई पठाए। यो पहिलो पटकको सांस्कृतिक अतिक्रमण थियो। दशैको कर पनि असुल्न थालियो। मौलो काटेको पञ्जाको निशानको लागि लिम्बुवानमा धेरैपटक तिलिंगा आतंक मच्चाइयो। वि.सं. १९१०मा जंगबहादुर राणाद्वारा ल्याइएको मुलुकी ऐनमा अपमान जनकरूपमा नमासिन्या मतवाली लिम्बु जाति भन्दै व्याख्या गरिएको र गाई हत्या मानव हत्यासरह अपराध हुने कानून ल्याइए पश्चात् नेपाली समाजमा असमानपूर्ण व्यवहार जातको आधारमा गरीन थालियो। छथर थुमका आठ पहरिया राईहरूले दशै नमान्ने भनी प्रतिरोध गरे, र विद्रोह गरेपछि रामलीहाङ र दीक्षमा मारिए।
२००७ सालमा जहानियाँ राणा शासनविरुद्धको जनक्रान्तिमा जि.वि. याक्थुङबा, बि. बि. चेम्जोङ र रामप्रसाद राई जस्ता जनसेनानीहरूले क्रान्तिको अगुवाई गरेका थिए। तर, उनीहरूलाई केवल सत्ता हत्याउन प्रयोग गरी अन्त्यमा फालिएको थियो। राणा शासनकालमा भाषा, धर्म, साहित्य, संस्कृतिको जगेर्ना र विकासको प्रश्न गम्भीर अपराध सरह थियो। तथापि, दोस्रो विश्वयुद्धताका इमानसिं चेम्जोङ, मुहिगुम अङसीमाङ फाल्गुनन्द लिङ्देन र त्येअङसी सिरीजंगाबाट उल्लेखनीय कार्यहरू भएका छन्। इमानसिं चेम्जोङद्वारा गरिएको इतिहास, भाषा, साहित्य प्रतिको योगदान, लिम्बुवान सुधार संघ, फाल्गुनन्दद्वारा गरिएको किरात धर्मदर्शन, सत्य धर्म मुचुल्का र विभिन्न योगदान, त्येअङसी सिरीजङगा सिंथेबेबाट गरिएको भाषा प्रचार प्रसार र सम्बर्दन सम्बन्धी योगदान लिम्बु जातिको पहिचान र अस्तित्वसँग जोडिएको छ।

No comments:

Post a Comment