Saturday 18 February 2017

सपना बेचेर जिन्दगी गुजार्ने ठाउँ हो प्रवास

Click & Like Page - नेरुता मोक्तान तामाङ

निकै लामो समयदेखि म बिरानो प्रवासमा बस्दै आएकी छु । यो सहरको भिडमा जति सुकै मान्छे देखे पनि जति सुकैसंग हाँस्दै हात मिलाए पनि म संधै एउटा तितो यथार्थमा दु:खी भएर हिड्ने गर्छु । जब भिड्भाडबाट अलि पर पुग्छु, एक्लोपनले असाध्यै सताउँछ । उदास उदास हुँदै पुराना ती स्मृतिहरुलाई एक पछि अर्को गर्दै केलाउदै टोलाउने गर्छु । तर पनि कसरी कसरी यति लामो समय बिताई सकेछु ।


नेरुता मोक्तान तामाङ
समय जति सुकै पार भएता पनि आफु जन्मेकी हुर्केकी जन्मथलोको माया त्यहाँ मैले बिताएकी अनुकुल समयहरु स्मृतिका पाना-पाना भेटि रहन्छ । घर पारीको हरियो घनजंगल, जंगलको तलतिर सितल झरना अनि ति झरनाको नजिकै बनतिर स्कूल बिदाको दिन हातमा एउटा किताब च्यापेर बाख्रा चराउदै गर्दाको क्षणहरु असाध्यै प्रिय बनेर मेरा आँखाका वरिपरी घुमी रहन्छ । बिरानो प्रवासमा आफुले जस्तो अवस्था झेल्नु परे पनि जतिसुकै समयलाई पार गरे पनि मातृभुमिको माया एक चिम्टी पनि घट्दैन रहेछ । अझ भनौ बालपनका ति मिठा स्मृतिलाई कहाँ खोजौं कहाँ खोजौ लाग्दो रहेछ । प्रवासीको हाल त कसरी व्यख्या गरौं?

सपना बेचेर जिन्दागी गुजार्ने ठाँउ हो प्रवास । सपनै बोकेर आएका हुन्छन्। सबैले त्यही सपना बेचेर खान्छन् र फर्कन्छन्। सबै आफ्नै सपना बेचेर खाँदा खादै पनि फर्किने मात्रै होईन कति पाए बाकसमा फर्किन्छन् । सपना संधै तितो यथार्थमा लुकेको हुँदो रहेछ ।

म आज त्यही तितो यथार्थको दिल खोलेर वर्णन गर्न चाहान्छु । आफन्तजन र साथी भाइले विदेशमा पैसा फल्ने रुख पाइन्छ जस्तै सोच्छन्। लाहुरे भन्छन् जिस्क्याउछन्, कतिले रगतसंग साटेको धनमाथी गिद्धे नजरसम्म लाउँछन् । यसको एउटा उदाहरणका पात्र म पनि हुँ । संघर्ष मेरो थियो, फल कसैले प्राप्त गरेका छन । यथार्थमा सपना साकार भएको कतै कतै मात्र भेटिन्छन्, किनकी मान्छेले देखेका हर सपनाहरु मान्छेले नै तोडिदिन्छन्। सपना जस्तो भए पनि यथार्थ त्यो भन्दा नितान्त फरक हुदोरहेछ । कठै त्यसमाथी पनि विदेशिएका युवा-युवतिहरुका सपना । लगभग विदेशिएका ६० लाख युवाहरु मध्येमा धेरैको भए दश हजार युवाको सपना साकार भएका होलान्। बाँकी सबै आफ्नै सपनालाई सराप्दै रुँदै दिन काट्नेहरुको भिडमा पर्छन्। जस्तो भएपनि जिन्दागी अनवरत रुपमा पाइला चाली रहनु पर्दोरहेछ । जसले जस्तो शहर ठाने पनि जति सुन्दर,शान्दार शहर सोचे पनि विदेश एउटा अलपत्र हल जस्तै हुन । यो सहरको चोक चोक गल्लि गल्लिमा हजारौ लाखौ अलपत्र पर्ने गर्छन्।

तर जबसम्म हामी आफ्नो घरभित्र रहन्छौ । यी कुराहरुलाई हामीले कल्पना पनि गरेको हुदैन । केवल विदेश गएर धन कमाउने ठुला निजी निवास खडा गर्ने सपना मै व्यस्त हुन्छौ । तर त्यहाँ कसरी पुग्न सकिन्छ भन्नेबारे थोरै सम्म पनि अध्ययन गरेको हुदैन । सबैको दिमाग ,मस्तिष्कमा बाेलि बाेलिमा पासपोर्ट बनाउने र विदेश जाने यस्तै शब्दहरु प्रयोग भएको पाइन्छ । आफ्नो क्षमतालाई अरुको क्षमतासंग देखासेखी गरेर मात्रै हुदैन । आफुले त्यो ठाँउ चुम्न, उसले जति नै संघर्ष गर्नु पर्छ भन्ने कुरालाइ बिर्सिनु हुन्न । उदाहरणका लागी आज म लामो समय प्रवासमा खुसिसंग बिताएकी छिन् भनेर मेरो देखासेखीमा विदेश जान खोज्छौ भने त्यो भन्दा पहिले मलाई सोध आठ बर्षको भोगाइ कस्तो रह्यो भनेर ? उदाहरण मात्रै दिएकी हुँ मलाई नै सोध्नुपर्छ भन्ने छैन विदेशिएका जो कसैलाई सोधी हेर ।

अझ सकिन्छ भने दलालको प्रलोभनमा बेचिएका युवा-युवतीहरुलाई सोधेर हेर विदेश के हो ? यो एक्काइसौं शताब्दीमा आएर पनि नेपाली चेलीहरु दलालको फन्दामा एकपछि अर्को किन फसि रहेछन् ? नेपालको बिडम्वना बेरोजगार र गरिबीपन त छंदैछ तर यो जमनामा हातमा मोबाइल नबोक्ने मान्छे कमै होला ? गाउँमा शिक्षाको अभावका कारण जवान जवान युवा-युवतीलाई पढ्न, लेख्न आउदैनन् तर रेडियो खोल्न त पक्कै आउँछन् ? अनि म सानी छँदा देखि नै रेडियोमा खबर सुन्ने गर्थे बम्बैमा आज यति चेली बेचिए उति बेचिए त्यो बेला मलाइ असाध्यै डर लाग्थ्यो । तर मलाई समय र परिस्थितीले ठगे पछि डरले छेकेनन् । कम्मर कसेर २००६ मा मैले मातृभुमि छोडेकी हु, देशमा जोड तोडले जनआन्दोलन चर्कि रहेको थियो ।

धन्न मेरो भाग्य शक्तिशालि रहेछ र तिर्नै नपर्ने रकम दलाललाई तिरेर आउनु परे पनि तोके बमोजिम काम तलव पाएँ । त्यो भन्दा असल मैले मेरो साहु पाएँ र उसकै साहरामा चार चोटीसम्म युरोप घुम्ने अवसरहरु मिल्यो । सुरु सुरुमा मलाई रोमानियन भाषा सारै गाह्राे लाग्ने गर्थ्यो । म सानैदेखी हरेक कुरा दिमागमा टिप्न सिपालु थिए । बिरानो यो ठाउँमा पुगेको पाँच दिन भित्र यति भाषा जाने ( बुनाचिवा – सुभबिहानी ) पा- बाइ / दा – हो । ५ दिन भित्र तिनको भाषामा यति शब्द फर्काउदा खैरेनिहरुले तालि बजाएको दिन आजै जस्तै लाग्छ । काम भाषा त बिस्तारै सिके तर आफु हिडेको ठाउमा भेटिनेहरुको दुख कष्ट देख्दा धिक्कार लाग्थ्यो । म तहस नहस भएको महसुस गर्थे। त्यो दुख कष्टमा सहयोग गर्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो ।

यसै क्रममा गर्मी छल्न तीन महिनाको छुट्टीमा लेबनोन आएका थियौ हामी । यहाँ हामी बस्ने घरमा चार तला माथि एउटी नेपाली दिदी रहेछिन । एक दिन हाम्रो लिफ्टमा भेट भयो र कुरा गर्‍यो । उनको आँखाको डिलमा निलो डाम देखे अनि मैले सोधे के भएको दिदी ? उसले आँखाभरि आँसु पार्दै भनिन् मलाई बच्चा फकाउन नसकेको भन्दै अफिसमा लगेर साहुनीले कुटेको बताइन् । मैले उनलाई अर्को दिन भेट्न आग्रह गरे उनले आफ्नो साहुनी दश बजेपछि अफिस जाने र उनि गएपछि पार्कीङमा भेट्ने बाचा गरिन् । दोस्रो दिन हामी भेट्यौं, त्यसपछि उनि मसंग धेरै रोईन । पटक पटक कुटपिट गरेको अनि खानामा बन्देज लगाएको इत्यादि । नेपाल घर काभ्रे भन्नु भएको थियो । नेपाली अक्षर पनि राम्रो नचिन्ने माया लामा नाम तर दलालले अरुकै पासपोर्टमा पठाएका रहेछ उनलाई । नेपालमा एउटा छोरा भएको आफु विदेश हिडेपछि श्रीमानले दोश्रो बिवाह गरेको बताइन्। उनले भाषाको प्रभावको कारण यो कुरा उनको साहुनीलाई थाहा नभएको बताइन्। त्यसपछि मैले यी सबै कुरा मेरो साहुलाई बताई दिएँ । किनकी उनको साहुलाई चिन्दो रहेछ मेरो साहुले । म कुरा गर्दिन्छु भन्नु भयो मेरो साहुले मैले नेपालमा उनको श्रीमान् बितेको तत्काल नेपाल जानुपर्ने तर जति भने पनि नबुझेर हो वा बुझेर पनि नेपाल फर्किन नदिएको हो भनि कुरा बनाई भनी दिए मेरो साहुलाई नभन्दै मेरो साहुले यो कुरा सबै उनको साहुलाई बताई दिएछन् । त्यसको एक महिनापछि उनलाई नेपाल फर्काइयो । मैले हामी रोमानिय फर्केपछि कोहि आएर तपाईको श्रीमान् मरेको हो भन्यो भने हो । भन्दिनु रोई दिनु भनि सिकाइदिएको थिए तर म हुदै उनि नेपाल फर्किने पक्का भयो उनलाई मैले केही कपडा पनि किनिदिएँ। मलाई अंगालोमा बाधेर रुदै छुटेका थियौं।

२००९ तिरको कुरा हो, मैले उनको गाउको नाम बिर्सिएछु। काभ्रेकी दिदी हुन माया लामा यति मात्रै याद छ । सायद उनले पनि मलाई बिर्सेकी छैनन् होलि यदी बाच्दै छिन् भने । यस्तो हजारौं लाखौ कति छन् कति? स–साना झगडामा जेलमा सडेका छन । कति मानसिक यातनाका शिकार भएका छन् भने यो आँखाले देखेका ति दर्दनाक घटनाहरुमा अझै पनि कमि आउनुको सट्टा बढ्दै गएका छन्। अहिले त झन भारत , श्रीलंका, नेपाल , सिरिया , इजिप्टका दलालहरुको जमात जोडिएका छन् । यसलार्इ साना-तिना क्रान्तिले रोक्न नसक्ने स्थितिमा छौँ । नेपाली चेलीहरु गित संगित सुन्न र फोटो खिच्न मात्रै लागि मोबाइलको अविस्कार भएको होईन समाचारहरु सुन्ने गर्नु । पढ्न आउदैन भने रेडियोमा समाचार सुन त्यहाँबाट केहि सिक सचेत बन । दलालको प्रलोभनमा विस्वास गर्ने काम बन्द गर । ठुलो घर सुन्दर भविश्य तिमीले बिदेशमा देख्छौ। तर दलालले तिमीमा देख्छ तिनको भबिष्य एक जना बेच्न पाए कम्तिमा पाँच सात लाख आउने थियो भन्ने हुन्छ उनीहरुलाई। यो एक्काइसौं शताब्दीमा आएर पनि दलालको प्रलोभनमा फस्नु हामी चेलीहरुको पनि कमजोरी हो । उदाहरणको लागी पाँच लाख तिरेर कोरिया जानु झै पाच लाखमा बाख्रा किनेर पालना गर तिमीले नै जित्छौ ।
पन्ध्र बर्षकै उमेरमा बिवाह गर्ने सपनामा नफस्नु उमेर अनुसार चल्न सिक्नुपर्छ । महिलाहरु बच्चा जन्माउने मसिन मात्रै होईन जमाना परिबर्तनको छ । नयाँ नयाँ कुरामा चासो राख प्रेम गित सुन्दै सिरानी भिजाउनु मात्रै जिन्दागी होईन यो कलियुगको प्रेमले तिमीलाई बलिको बोका बनाउछन् । चेतनामुलक कुराहरु सिक र यस लेख जसले देखे पनि आफ्नो नजिकको चेलीहरुलाई पढेर सुनाइदिनु हुन म विनम्र अनुरोध गर्दछु । बेचिएका दुइचार जना चेलीलाई उद्धार गर्दैमा चेलीबेटी बेचबिखन समाप्त हुदैन। दलालको पातो कस्न तपाई हामीले समाजमा चेतना जगाउनु पर्छ । महिला मात्र होईन लाखौ पुरुष पनि खाडीमा बेचिएका छन । फरक यति नै हो महिलाहरुलाई यौन शोषण र पुरुषहरुलाई मानसिक यातना बढी हुन्छन । यो विदेश हो, करोडौ नेपालीकाे आँखाले देखेको सपना विदेशीहरुले खुट्टाले कुल्ची दिन्छन्। यति थाहा हुदाहुदै पनि जानु हुन्छ भने म केहि भन्न सक्तिन । यदि बेचिनु भो भने नेपालका डलर फाउण्डेसनलहरुले उद्धार गर्ने कोसिस त गर्लान् तर जब तिमीले नेपालको सिमा रेखा नागी सकेको हुन्छ त्यो बेला तिमीलाई उद्धार गर्न ढिला भै सकेको हुन्छ ।

- नेरुता मोक्तान तामाङ (हाल : प्रबास बाट)
ये लेख ई-समता डटकमबाट लिइएको छ

No comments:

Post a Comment