Saturday 4 February 2017

शान्ता चौधरीकाे अनवरत क्यान्सर-युद्ध -


‘काठमाडौंबाट दिल्ली जाउञ्जेल त म फ्रेस थिएँ । जब नयाँदिल्लीको राजीव गान्धी क्यान्सर अस्पताल प्रवेश गरेँ, म ‘होपलेस' भएँ । मलाई अब मर्छु जस्तो लाग्यो । डाक्टर आउनुभो, म रुन थालेँ । मलाई बाँच्छु भन्ने त मनको कुनै कुनामा पनि थिएन । डाक्टरलाई भनेँ- म मर्छु होला डाक्टर साप । उहाँले सहज रूपमा लिँदै भन्नुभो- मर्न त मर्छेऊ । रोगले हैन, टेन्सनले मर्छेऊ ।'

Madhav_dhungel2जीवनको पल्लोछेउमा पुगेको महसुस गरेकी शान्ता चौधरीले आफू क्यान्सरको उपचारका लागि पहिलोपटक दिल्ली पुग्दाको त्यो क्षण सुनाइन् । नयाँदिल्लीमा ६-६ महिनामा गरिने ‘फलोअप' गरेर फर्केको एक दिनपछि उनले ६ वर्ष पुरानो क्षणको स्मरण गरिन्, ‘अब मर्दैछु भन्ने बेलामा एउटै मात्र कुरा सम्झेँ- मेरा बच्चाले दुःख पाउने भए । कसैले तेरो बच्चा पाल्छु भनिदिने हो भने सजिलै सास जान्थ्यो ।'
जब उनी नयाँदिल्लीस्थित क्यान्सर अस्पताल भर्ना भइन्, उनको मानसिक तनावको उपचारमा ध्यान दिए डाक्टरले । क्यान्सरका थरीथरीका बिरामी देखाए । ‘नेपाली बिरामी नै धेरै जाने रहेछन् त्यहाँ', उनले स्मरण गरिन्, ‘सबैभन्दा फ्रेस त मै थिएँ । डाक्टरले भन्नुभो- तिमी भाग्यमानी रहिछौ । बेलैमा आयौं । त्यसपछि पैसा भयो भने त म बाँच्छु भन्ने आशा जाग्यो ।'

कमलरीदेखि सभापति

शान्ता चौधरी पूर्वकमलरी हुन् । २०६२/६३ को जनआन्दोलन अघिसम्म न्यून ज्यालामा अरूको भाँडा माझ्नु, घाँस काट्नु, घर पोत्नु उनको दैनिकी थियो । गरिबीले गाँजेको थियो उनलाई । उनलाई पाइलैपिच्छे हेप्ने ‘जमिनदार' पनि भेटिन्थे । पुस्तौंदेखि अमानवीय व्यवहार सहँदै, हेपिँदै आएकी उनलाई त्यत्तिको चित्त पनि दुख्दैनथ्यो ।
कारण, सानैदेखि भोग्दै आएकोले यो उनको लागि सामान्य नै थियो । २०६२ सालमा भूमिअधिकार मञ्च, दाङको अध्यक्ष चुनिइन्- कमलरी काम गर्दागर्दै । गाउँमा उनलाई खिसी गर्ने पनि निस्किए- ‘नेतागिरी गर्ने भएकी' भनेर ।
दाङको लक्ष्मीपुर गाविस-४, डाँडागाउँका गरिब कमैयाकी छोरी शान्ता । आठ वर्षको उमेरदेखि जीवनका १८ वर्ष उनले कमलरी बनेर बिताइन् । आठ परिवार अधिकारी थरका जमिनदार रिझाइन् । उनीहरूका शोषण, कुटपिट, हेपाइ, दुव्र्यवहार र कठोर श्रम नै त्यसबेलाको दैनिकी थियो । कमलरी हुँदा उनको दैनिकी थियो- बिहान ४ बजे नै जमिनदारको घर गयो । उज्यालो नहुँदै दैलो पोत्यो ।
भान्सामा भएका जुठाभाँडा निकालेर माझ्यो । घरको कसिंगर बढार्‍यो । मलसोत्तर गर्‍यो । त्यसपछि गाग्रो/घैंटा लिएर खोलामा गयो । माझ्यो, पानी लिएर आयो । त्यसपछि निरन्तर जे जे आइपर्छ, काम गर्‍यो । ‘मालिक'का छोराछोरी बोकेर स्कुल पुर्‍याएपछि पालो आउँथ्यो- बस्तुभाउ चराउन जाने ।
बस्तु बाँधेपछि एक भारी घाँस काटेर ल्याउने अनि फेरि बेलुकाको घरधन्दा । त्यति काम सक्दा राति भ्याए आफ्नो घर गयो, नभए जमिनदारकै दलानमा गुन्द्री ओछ्याएर रात गुजार्‍यो । यस्तो कठोर दैनिकी उनले १८ वर्षसम्म व्यहोरिन् ।
२०३७ सालमा जन्मेकी हुन् शान्ता । साल पनि पछि थाहा भएको । एकजना जमिनदारकी छोरीसँग एकै साल जन्मेकीले यो पनि थाहा भएको हो । उनले सुनाएकी थिइन्, ‘आमाले मकै छर्ने साल जन्मेकी भन्नुहुन्छ ।' उनी जन्मिदा बुवा कमैया थिए रे, आमा कमलरी ।
२०५४ सालमा बिहे भयो हरिलाल चौधरीसँग । उनी पल्लो गाउँ चौघेरामा कमैया थिए । २०५७ सालमा कमैया मुक्तिको घोषणा भयो तर शान्ता र हरिलाललाई थाहा भएन । २०६० सालमा काम छाडी मुक्त भए । मुक्त कमैयाको गणनामा पनि परेनन् । तीन वर्षपछिसम्म कमलरी÷कमैया नै बसे । सुत्केरीमा भोकै सुतेको भोगाइ पनि छ उनको ।
छोराछोरीलाई खुवाउने सामल नहुँदा कैयौं रात फकाएर भोकै सुताउनुपरेको दुःख पनि भोगेकी छन् उनले । आफूले खान नपाउँदा भन्दा पनि छोराछोरीले दुःख पाएको देख्दा झन् दुःखी हुन्थिन् उनी । तर, सधैं पीडा ढाक्ने गरी हाँस्न सक्ने शान्त स्वभावले उनको सामाजिक उचाइ बढाइरहेको छ । आत्मविश्वास र संघर्ष नै उनको पहिचान बनेको छ ।
आठ वर्षको उमेरमा गाउँकै खेतुलाल अधिकारीको घरबाट उनको कमलरी पेसा सुरु भएको थियो । कमलरी छाडेको तीन वर्षपछि नै पहिलो संविधानसभा सदस्य भइन् । त्यसबेला नेपाली सावाँ अक्षर मुस्किलले फुटाउन सक्थिन् । सभासद् भएको आठौं महिनामा संसद्को प्राकृतिक स्रोत र साधन समितिको सभापति चुनिइन्, जुन ‘राज्यमन्त्री' सरह हैसियतको हो ।
दुःखका लामा नदी पार गरेर यो बिन्दुमा आइपुगेकी हुन् शान्ता । बीचमै आइपुग्यो क्यान्सर, बाटो छेक्न । तर, उनीसँग अहिले छ मस्त आत्मविश्वास, जसको सहाराले उनले जित्नु छ- क्यान्सरलाई र उक्लिनु छ आधारशिविर माथि ।
सभापति भएकै बेला उनको एउटा भोगाइ अचम्मको छ । भूमिहीनका मुद्दाबारे छलफल गर्न समितिको बैठक डाकेकी थिइन् । भूमिहीनलाई हेप्ने गरी केही सहभागीले कुरा राखे । बैठकको सभापतित्व गरिरहेकी उनी बैठक चलाउँदा चलाउँदै रोइन् । ‘गरिबलाई हेपेको देख्दा मन नै थामिएन', उनले त्यसबेला पंक्तिकारलाई भनेकी थिइन् ।
जमिनदारका छोरी र शान्ताको उमेर उस्तै थियो तर जमिनदारकी छोरीलाई बोकेर स्कुल लैजानुपथ्र्यो शान्ताले । शान्ताका आमा, बुवा, दाजु-दिदी जम्मैले श्रम गर्थे । आफ्नो जमिन थिएन । अर्काको जमिन अधियाँ कमाउन छोरीलाई कमलरी राखिदिन्थे । सानो उमेरमा कमलरी बस्दा त किताब छोयो कि लौरोले हान्थे हातमा । अहिले त्यही तिर्सना मेटाउन दाङकै एउटा सरकारी विद्यालयकी नियमित विद्यार्थी भएकी छिन् शान्ता ।
उनी कक्षा ९ की नियमित छात्रा हुन् । पढ्न नपाएकोमा सबैभन्दा बढी पश्चाताप महसुस गरिरहेकी शान्ता गत वर्ष कक्षा ८ मा भर्ना भएकी हुन् । ‘अहिले त नेपाली पढ्न/लेख्न सक्छु, अंग्रेजी पनि अलि-अलि सिक्दैछु', उनले भनिन्, ‘भ्याएसम्म नियमित स्कुल गएँ, धेरै कुरा सिकेँ ।'
क्यान्सरको दोहोरो आक्रमण २०६७ सालतिरकै कुरा हो । उनी सभापति नै थिइन् । उनलाई स्तन क्यान्सर भयो । ‘स्तनमा गाँठो थियो, त्यो कहिले घट्ने, कहिले बढ्ने गरिराख्थ्यो । शिक्षण अस्पतालमा देखाएँ, डाक्टरले हर्मोनको कारण घट्ने-बढ्ने गर्छ भन्नुभो', उनले भनिन्, ‘भिटामिन ‘ई'को कमीले हुनसक्छ भन्नुभो । ५-६ महिना औषधि खाएँ । खानेबेला घट्यो । फेरि जस्ताको तस्तै । पछि क्यान्सर हो भन्ने भयो । अपरेसन गरेपछि ठीक भयो ।'
स्तन क्यान्सरको उपचार गर्दागर्दै अर्को समस्या देखापर्‍यो । ‘रजस्वलाको बेला सेतो पानी बग्न सुरु भयो, मैले त सानैमा बिहे भो, बच्चा भए, त्यसैले होला भन्ने सोचेँ । डा. ज्योति अग्रवाललाई जँचाएँ, उहाँले सेक्नुपर्छ भन्नुभो', उनी भन्छिन्, ‘त्यसबाट पनि ठीक भएन ।
संसद्कै डाक्टर सापलाई देखाएँ, सभामुख (सुवास नेम्बाङ) जीलाई पनि समस्या बताएँ । उहाँले तुरुन्तै नयाँदिल्ली जानूस्, म उपचारको पहल गर्छु भन्नुभो ।' सभामुखकै पहलमा सरकारले उपचारका लागि तीन लाख रुपैयाँ दिने भयो । शान्ताले नयाँ दिल्ली गएर परीक्षण गराइन् ।
२१-२१ दिनको अन्तरमा तीनपटक सामान्य किमो दिएको शान्ता बताउँछिन् । ‘तीन मात्रा किमो चलाए, केही इन्जेक्सन पनि दिए । कपाल झर्‍यो तर पूरै मुडुलो भएन । सामान्य किमो दिएकोले होला', उनले भनिन् । अहिले पनि ६-६ महिनामा नियमित रूपमा स्वास्थ्यपरीक्षण गर्छिन् । दिल्लीबाट फर्केको एकदिनपछि उनले भनिन्, ‘यसपटक अब ठीक भो, नियमित परीक्षण गर्न दिल्ली नै आउनुपर्दैन, नेपालमै जँचाए पनि हुन्छ भन्नुभएको छ, डाक्टरले ।'

पहुँचवालाको उपचार खर्च र आलोचना <<< Click here and Suscribe me Please

नेपालमा नेताको उपचारको नाममा राष्ट्रिय ढुकुटीबाट रकम खर्च गरेकोबारे चर्को आलोचना हुने गरेको छ । पिता प्रधानमन्त्री भएको बेलामा राजनीतिक शक्तिको दुरुपयोग गरी धन कमाएको भन्दै आलोचना व्यहोरेकी सुजाता कोइरालाजस्ता आर्थिक हैसियत भएकालाई पैसा दिएकोबारे सबैभन्दा बढी सामाजिक सञ्जालमा आलोचना भएको छ ।
तर, कमलरीबाट माथि उठेकी शान्ता एउटी यस्ती अपवाद हुन्, जसले क्यान्सर उपचारबाट बँचेको भन्दै दुई लाख चार हजार रुपैयाँ सरकारलाई फिर्ता गरिदिइन् । ‘मैले यो प्रचारका लागि फिर्ता गरेकी होइन, यो विषय सार्वजनिक नहोस् भन्ने चाहन्थेँ । कर्णालीलगायत देशका दुर्गम भागमा सिटामोल पनि खान नपाएर मान्छे मरेको देखेकी छु ।
मैले फिर्ता गरे कोही गरिबको उपचार होला भनेर फर्काएकी हुँ', उनले भनिन् । उनको उपचारका लागि बेलायतबाट सुष्मा दिदीलगायत स्वदेशबाट पनि सहयोग जुट्यो । उसबेला आफू सभासद् भएकोले त्यसको पारि श्रमिक पनि आउँदा उपचारमा सरकारले दिएको सबै सहयोग प्रयोग नभएकाले फर्काएको शान्ताले बताइन् ।
‘मेरो उदाहरण दिएर सुजाताजीलाई सामाजिक सञ्जालमा गाली गरेको देख्दा दुःख लाग्यो । उहाँको क्यान्सर मेरोजस्तो मात्र नहुन पनि सक्छ', उनले भनिन्, ‘औषधोपचारमा राजनीति भएको देख्दा दुःख लाग्छ । पहुँचवालालाई मात्र भयो, उपचार । पहुँचवालाले मात्र पाउने भए उपचार सुविधा । यस्तो भइसक्यो- गाउँमा बस्ने जनतालाई त नेताको औषधि राज्यले नै गर्छ भन्ने पनि थाहा छैन ।'
नेता र विशिष्ट व्यक्तिको उपचारका लागि राज्य कोषबाट खर्च बाँड्नुको साटो देशमै उपचार गर्ने अस्पतालको व्यवस्था गर्न शान्ताले सुझाव दिइन् । उनले भनिन्, ‘अहिले जे भइरहेको छ, त्यो गलत छ । उपचारै गर्न हुन्न भन्ने हैन । सिस्टम बसाएर लानुपर्छ । नेताहरू जनताप्रति उत्तरदायी हुनुप¥यो । यहाँ अवस्था ठ्याक्कै उल्टो छ । जनताले देशमा गणतन्त्र स्थापना भएको, लोकतन्त्र आएको महसुस गर्न पाउनुपर्‍यो ।'

क्यान्सरभन्दा ठूलो रोग धोका <<< यहाँ क्लिक गरेर Suscribe मा OK गरि दिनुहोला

चुनाव लड्दा लिएको ऋणले बल्लतल्ल बनाएको दाङको सानो घर पनि डुबाइसकेको छ । तर, पनि उनको आँखाका दुई नानी छन्- छोरा र छोरी । छोरा मदन भण्डारी स्कुलमा कक्षा १० मा पढ्छन्, छोरी जेभियर एकेडेमीकी ८ कक्षाकी छात्रा हुन् । शान्ताको चिन्ता र आशा यिनै छोराछोरीमाथि अडिएको छ । रोगसँग चर्को संघर्ष गरिरहेका बेला उनका पति हरिलालले उनलाई पीडामात्रै दिए । अर्कै महिलासँग ‘प्रेमविवाह' गरे र शान्तासँग अलग भए । शान्ता र छोराछोरीलाई दुःखी बनाए ।
पतिले दिएको धोकाले उनलाई क्यान्सरले भन्दा पनि बढी पीडा दिएको छ । निजी पारिवारिक विषयमा उति खुल्न चाहिनन् । भनिन्, ‘रोग त औषधि गर्‍यो भने निको हुँदोरहेछ । पैसो भयो भने त मान्छे बाँच्दोरहेछ । यो रोग सामान्य हो मेरो लागि, पारिवारिक प्रसंग व्यक्तिगत कुरा हो । धेरै खुलाउनु ठीक हुँदैन तर यत्ति धेरै पीडा हुँदो रहेछ- म कसरी व्यक्त गरौं र !' (उनी भावुक भइन् ।)
आफ्नो समुदायप्रतिको उनको प्रतिबद्धता र लगाव अगाध छ । ‘औषधि गरिरहँदा पनि म बाँच्नुपर्छ । त्यो पनि मेरो समुदायले मप्रति धेरै अपेक्षा गर्नुभएको छ भन्ने लागेर अलि आत्मबल बढेको छ । मैले धेरै गर्नु छ', उनले भनिन्, ‘अहिले थारू समुदायमा त्यो पनि कमैया-कमलरी समुदायमा मभन्दा क्षमतावान् धेरै हुनुहोला तर यो तहसम्म पुग्नुभएको छैन । मैले विगतमा भन्दा जनताप्रति अझ बढी उत्तरदायी भएर काम गर्नुपर्छ भन्ने लाग्छ ।'
अहिले पनि थाइराइड र डाइबेटिज देखिएको छ शान्तालाई । अरू बिरामी हुँदा पनि कतै फेरि क्यान्सर नै त बल्झेन भनेर डर लाग्ने गरेको बताउँदै उनले भनिन्, ‘डाक्टरले त औषधि दिनेमात्र हो । सबैभन्दा ठूलो औषधि आफूसँग छ । डर त लाग्छ तर आफूले केही गर्न सक्छु भन्ने सम्भव नभएको कुरासँग कति डराउनु ? म धेरै नै छिटो सञ्चो भएँ । हिजोभन्दा जनताप्रतिको दायित्व बढी बोध गर्छु । हिजो मरेको भए त अहिले कहाँ हुन्थेँ ।'
गरिबी छ शान्तासँग । अभाव छ । दुःखका थाक पनि छन् । तर, उनको पोल्टोमा खुसी छ- दुई निर्दोष छोराछोरी जो छन्, ती छोराछोरीमार्फत उनी सपना देख्छिन् जीवनको लामो यात्राको । दुःखका लामा नदी पार गरेर यो बिन्दुमा आइपुगेकी हुन् शान्ता । राजनीतिको ‘आधारशिविर'बाट उकालो लागेकी पनि हुन् । बीचमै आइपुग्यो क्यान्सर, बाटो छेक्न ।
तर, उनीसँग छ मस्त आत्मविश्वास, जसको सहाराले उनले जित्नु छ- क्यान्सरलाई र उक्लिनु छ आधारशिविरमाथि । डाक्टरले भनेकै थिए- तिमी रोगले होइन, टेन्सनले मनेर्छौ । तर, अहिले शान्ताको शान्त र निर्दोष अनुहारमा क्यान्सरले थोपरेको तनावका कुनै चिन्ह देखिँदैनन् (सायद उनी देखाउँदिनन्) ।
बरू उनका आँखामा देखिन्छन्- विश्वास र उत्साहका सपना । थारू समुदाय जहाँबाट उनी आइन्, त्यो समुदायको सुन्दर भविष्यको लागि पनि उनी बाँच्नुपर्छ, आफ्ना दुई सन्तानका उन्नति देख्नुपर्छ । र, त उनमा पलाएको छ व्यापक आत्मविश्वास ।

No comments:

Post a Comment