Thursday 22 June 2017

‘उपचार खर्च छैन तर बाँच्न चाहन्छु- दुर्गामाया ठकुरी, स्तन क्यान्सर पीडित



‘क्यान्सर भएको बायाँ स्तनबाट पीप बगिरहन्छ । घाउ दुखेर निकै गाह्रो भएको छ । तीन महिनायता जँचाउन अस्पताल गएको छैन । ४ वर्षकी छोरीलाई लिएर डेरामा बस्छु । श्रीमानबाट केही सहयोग पाएकी छैन । छोरीकै लागि भएपनि बाँच्न चाहन्छुु तर मसँग उपचार खर्च छैन ।’

– दुर्गामाया ठकुरी, क्यान्सर पीडित

मेरो माइतीघर मोरङ हो । १० वर्ष अघि म बिदेश जाने भनेर काठमाडौँ आएकी थिएँ । त्यति बेला सिन्धुपाल्चोक पुरानो घर बताउने चितवन नारायणघाटका सुरेन्द्रकुमार लामासँग मेरो भेट भयो । काठमाडौ रहँदा उहाँले सहयोग पनि गर्नुभयो । त्यतिबेलै हाम्रो माया बस्यो । त्यस लगत्तै म कुवेत गएँ । त्यहाँ २ वर्ष बसें । कुबेतमा राम्रो कमाई नभएपछि नेपाल आएर दुबई गएँ । दुबई जानुअघि सुरेन्द्रसँग मेरो बिहे भई सकेको थियो । बिहे भएको पनि अहिले ७ वर्ष भइसक्यो ।

दुबईमा पनि राम्रो कमाई नभएपछि २ वर्षमा नेपाल फर्किएँ । त्यतिबेला श्रीमान् कतार जानुभएको थियो । श्रीमान्ले घरपरिवारसँग चिनजान नगराएकाले म श्रीमान्को घर नगई माईती गएँ । म माईतीमै भएको बेला श्रीमान् नेपाल आउनु भयो । मलाई भेट्न मोरङ आउनु भयो तर घर लैजानु भएन । उहाँ आए पछि म माइतीकै छेउमा कोठा लिएर बस्न थालें ।

हाम्रो बिहे अन्र्तजातीय हो । म ठकुरीको छोरी, उहाँ तामाङको छोरा । त्यसैले पनि बुवा आमाको खुसीका लागि भन्दै मलाई घरमा लैजान मान्नु हुन्थेन । करिव डेड महिना मोरङमा सँगै बसेपछि उहाँ आमा बाबालाई भेट्छु भन्दै नारायणघाट जानु भयो । त्यसदिन देखि हाम्रो भेट सधैका लागि टुंगियो । म गर्भवती थिएँ । उहाँले बिहे गरेको खवर सुने । म धेरै रोएँ ।

गर्भवती भएको यस्तै ५ महिना हुँदा म बिरामी परेर तीन महिनासम्म थला परे । तर उहाँ फर्केर पनि आउनु भएन । उल्टै फोनमा ‘तेरो बाटो तँ गर मेरो बाटो म गर्छु’ भनेर झपार्नुभयो । यतिसम्म की मेरो पेटमा हुर्कदै गरेको बच्चा फाल्नका लागि दबाब दिनु भयो । तर म जिन्दगीमा पहिलो पटक आमा बन्ने सौभाग्य गुमाउन चाहान्न थिएँ । त्यसैले एक्लै आँट गरेर बच्चा जन्माउने निर्णयमा पुगें ।

दिनदिनै मेरो पेट बढ्दै थियो । गाँउलेहरु कुरा काट्थे । श्रीमान् पनि छैन । कसको बच्चा होला भनेर कुरा काट्नेहरुको कुनै कमी थिएन । गाउँलेहरुले कुरा काट्छन भनेर म साँझ परेपछि मात्र बाहिर निस्किन्थे । नौ महिना यसैगरि बित्यो । सुत्केरी ब्यथाले च्याप्न थालेपछि जे भए पनि आफ्नो पति हुन भनेर उहाँलाई फोन गरेर बोलाउन खोजें । आउछु भनेर पटकपटक झुट बोल्दै मलाई झुक्याउँदै गर्नु भयो ।

ब्याथा लागेको ५ दिनमा बिराटनगरको कोशी अंचल अस्पतालमा छोरीलाई जन्म दिएँ । सुत्केरी भएको बेला मेरो आमा र भाउजुले सहयोग गर्नु भएको थियो । छोरी जन्मेको १५ दिनपछि बल्ल उहाँ आउनु भएको थियोे । तर मलाई केही सहयोग गरेन ।

विदेशमा कमाएको अलिअलि पैसा पनि सुत्केरी हुँदा सकियो । सुत्केरी भएको केही दिनमा म मेलापात गर्न थालें । मैले बाख्रा र कुखुरा पनि पालेकी थिएँ । कुरा २०७० साल बैशाख तिरको हो । घाँस काट्न जंगल गएकी थिए । घाँस काट्दै गर्दा लडेर ढुङ्गामा बजाारिएँ । मेरो छातीको दाहिने पट्टी गहिरो चोट लागेको रैछ । मेरो दाहिने स्तनमा निलो भएको थियो । घाँसको भारी त्यही छोडेर म अस्पताल गएँ । डाक्टरले खासै त्यस्तो केही भएको छैन । आफै ठिक हुन्छ भन्नुभएको थियो । तर, घाउ निको हुने छाँटकाँटै देखिएन ।

ठोक्किएको ठाउँमा मकैको दाना जस्तै डल्ला डल्ला निस्कियो । छाम्दा बाहिर बाटै थाहा हुन्थ्यो । मेडिकलमा जचाँउदा डाक्टरले केही पनि हुँदैन औषधी खाएर ठीक हुन्छ, डराउनु पर्दैन भन्नुभयो । औषधि पनि खाएँ । तर निको भएन । २ वर्ष पछि त्यो डल्ला बढ्दै गएर आलुको दाना जस्तै भयो । भित्र भित्र चस्किने, पोल्ने हुन थाल्यो ।

धरानको घोपा अस्पताल गएर जँचाएँ । त्यहाँ थाहा भयो कि मेरो छातीमा क्यासरको डल्ला रहेछ । डाक्टरले काटेर फाल्नु पर्छ भन्नु भएको थियो । तर मसंग पैसा थिएन । मैले कुबेतमा हुनुभएको श्रीमान्लाई फोन गरेर आफ्नो रोग बारे सुनाए । अप्रेशनका लागि पैसा पठाइदिन भने । तर उहाँ एकदमै रिसाउनु भयो । मसंग पैसाको कुरै नगर । पैसा छैन । म आफै आउँछु त्यस पछि जे गरे पनि गरम्ला भन्नुभयो ।

क्यान्सर भएको थाहा पाउदाँ म एकदम डराएकी थिए । मलाई छोरीको एकदमै चिन्ता हुन थाल्यो । म मरे भने मेरी छोरीको हालत के होला ? भर्खर बोल्न र हिँड्न थालेकी छोरीलाई देखेर बाँच्नका लागि उत्साहित हुन्थें । तर, छातीमा बढिरहेको घाउ अनि उपचारका लागि पैसा नहुँदा एकै छिनमा बाँच्ने आशा मथ्र्यो ।

२०७३ माघ १ गते श्रीमान् नेपाल आउनु भयो भन्ने थाहा पाएँ । यस्तो अवस्थामा मलाई भेट्न आउनु हुन्छ की भन्ने ठुलो आशा लागेको थियो । तर उहाँ आउनु भएन । फोन गर्दा उल्टै गाली खाए । यस्तो रोग लागेको मान्छे त बाँच्दैन । तँ पनि मर्छेस् अब भन्नु हुन्थ्यो । उहाँ नआए पछि म आफै उहाँलाई भेट्न काठमाडौँ आएँ । उहाँको आमा बुवा काठमाडौँको मुलपानीमा गाई पालेर बस्न थाल्नु भएको रहेछ । म खोज्दै त्यँही पुगे ।

मलाई सहयोग होला भनेको उल्टै अपमान मात्रै भयो । उपचार त परै जाओस्, म घरमा काम गर्ने नोकर भन्दा कम भइन । गाईलाई घाँस काट्ने, गोबर सोहोर्ने, भाँडा माझ्ने खाना बनाउने काम सबै आफै गर्नुपथ्यो । बिरामी अवस्थामा शरीरले आराम खोज्थ्यो तर मैले आराम पाईन । एक दिन मलाई घाउ दुखेर ज्यादै गाह्रो भयो । मैले उहाँलाई ‘अस्पतााल जाऔँ न मलाई धेरै गाह्रो भयो’ भने । मेरै करमा वीर अस्पताल लिएर जानु भयो । डाक्टरले ‘मेमोग्राफी’(स्तनको अल्ट्रसाउण्ड) गराउनुपर्छ भनिएको थियो । तर मेरो घाउमा पानी भएकाले मेमोग्राफी संभव भएन । त्यसपछि टिचिङ्ग गएँ । त्यहाँ किमो चढाउनु पर्छ भनेको थियो । तर म अत्यन्तै कमजोर भएका कारण किमो चढाउदा मेरो शरीरले थेग्न नसक्ने भएपछि त्यो पनि सम्भव भएन ।

रोगले त जरा गाडेकै थियो । त्यस माथि श्रीमान् र परिवारको वचनको चोटले सहनै नसकिने भएकी थिए । त्यसैले एक्लै बस्ने निर्णय गरें । मुलपानीमा २५ सय रुपैयाको कोठा भाडामा लिएर बसेको डेढ महिना भयो । ४ वर्षकी छोरीलाई लिएर त्यही कोठामा बस्छु । तर श्रीमान्बाट मैले केही सहयोग पाएकी छैन । म बाँच्न चाहन्छुु तर मसँग उपचारका लागि पैसा छैन ।

तीन महिनाअघि उहाँ फेरि कुबेत जानुभयो । अहिले कुबेतमै हुनुहुन्छ । हाम्रो सम्पर्क छैन । उहाँले मलाई फेसबुकबाट पनि हटाइदिनु भयो । गएको महिना मेरो दिदीले ‘फलफुल खानु’ भनेर दिएकोे ५ हजार रुपैयाँले भाडा तिरे । अब औषधि उपचारको त कुरै छाडौं बिहान बेलुकी हातमुख जोर्नलाई पनि पैसा छैन ।

मलाई भक्तपुरको क्यान्सर अस्पतालले उपचार गराइदिने पनि भनेको थियो । तर मेरो श्रीमानसँगको नाता प्रमाणित भएको कागज पत्र चाहिने भएकाले उपचार हुन पाएन । मेरो बिवाह दर्ता पनि भएको छैन । अप्रेशन गर्नका लागि पनि श्रीमान्को हस्ताक्षर भएको मन्जुरी नामापत्र चाहिने रैछ तर श्रीमान्ले मान्नुभएन ।

३ महिनायता म उपचारको लागि अस्पताल गएको छैन । मेरो घाउबाट पीप बगिरहन्छ । घाउ दुखेर निकै गाह्रो भएको छ । सरकारले १ लाख रुपैयाँ उपचार खर्च दिन्छ भनेको सुनेको छु । त्यो पैसा लिन पनि सिफारिस चाहिन्छ रे । बिहे दर्ता नै नभएपछि सिफारिस ल्याउन पनि सकेको छैन । अस्पतालले उपचारमा ७ लाख खर्च लाग्छ भनेको थियो । मसँग कत्ति पनि पैसा छैन । तर, म बाँच्न चाहान्छुु ।

(क्यान्सर पीडित दुर्गामायासँग पत्रकार रीता बुढाथोकीले गर्नुभएको कुराकानीमा आधारित)
Ekal Silwal · 
दुर्गाको मोबाइल नम्बर 9811348984.

Wednesday 21 June 2017

राम रेप्चुङ राइको शब्द रहेको नया नेपाली लोक पप गीत छाइ देउ तिमी मेरो जीवनमा गीतको म्युजिक भिडियो गीत सार्वजनिक….




नेपाली सांगीतिक छेत्रमा कैयौ दुख-सुख , संघर्षका पाईलाहरु चाल्दै एक व्यावसायिक गीतकारको रुपमा आफुलाई चिनाउन सफल गीतकार हुन् राम  रेप्चुङ्ग राई । २०६२ साल देखि गीतकार छेत्रमा सक्रिय रहेका गीतकार राम रेप्चुङ्ग राईले अहिले सम्ममा २०० भन्दा बढी गीतहरु रचिसकेका छन सबै रचनाहरु रेकर्ड पनि भईसकेका छन् ।
यसै क्रममा म्युजिक भिडियो निर्देशक गम्भीर बिष्टको निर्देशनमा गीत रचनाकार राम रेप्चुङ्ग राईले  रचेका नया नेपाली गीत रचना पनि म्युजिक भिडियोको रुपमा दर्शक-श्रोता माझ आएका छन् । गीतकार राम रेप्चुन राइको एकल रचनात्मक शब्द , संगीतकार नरेश लिंग्देनको संगीतमा गायक एकदेव लिम्बु र गायिका सुनिता थेगिम लिम्बुको संयुक्त स्वर  रहेको नया नेपाली लोक पप गीत छाइ देउ तिमी मेरो जीवनमा बोलको गीतको म्युजिक भिडियो गीत सार्वजनिक भएको छ ।
म्युजिक भिडियो सम्पादक नबिन निरौलाको सम्पदान , क्यामेरामेन नबराज उप्रेतीले खिचेको यस म्युजिक भिडियोमा सुन्दर मोडल नानी हंग राई र सुष्मिता ढकालको सुन्दर प्रस्तुति रहेको छ । गीतलाई गोदावरीको सुन्दर बातावरण र सुन्दर स्थलहरुमा छायांकन गरिएको छ ।
साभार: MMNEPAL

१८४८ सालको त्यो लिम्बू विद्रोह (भाग २)

राजकुमार दिक्पाल




- राजकुमार दिक्पाल --

-- राजकुमार दिक्पाल --

लिम्बू विद्रोहबारे ऐतिहासिक पत्रहरु
त्यसबेला हस्तलिखित पत्र र मानिसद्वारा आदान प्रदान गरिने मौखिक खबर नै सञ्चार साधनको रुपमा प्रचलित थियो । राजदरबारबाट पठाइने पत्रहरुलाई रुक्का वा लालमोहर भनिन्थ्यो ।
वि.सं. १८४८ मा चैनपुरमा नेपालको तिब्बत र सिक्किमसँग भएको युद्धमा लिम्बूहरुले विद्रोह गरी सिक्किमको साथ दिएका थिए भन्ने प्रमाणका रुपमा दुई वटा रुक्का ऐतिहासिक पत्रका रुपमा प्राप्त भएका छन् । यस्तै वि.सं. १८४८ अघि पनि लिम्बुवान क्षेत्र अशान्त थियो र त्यसमा लिम्बुवानबाट सिक्किम गएका सुब्बाहरुको हात थियो भन्ने संकेत गरिएको अर्को ऐतिहासिक पत्र पनि प्राप्त भएको छ । सिक्किमसँग मिलेर भए पनि आफ्नो गुमेको राज्य पुन प्राप्त गर्ने नै लिम्बूहरुको विद्रोहको प्रमुख कारण हो भन्न सकिन्छ । यस लेखमा ती पत्रहरुमा लेखिएको भाका प्रस्तुत गरिएको छ ः

(पत्र संख्या ः १)

स्वस्तिश्री मन्मंहाराजाधिराज कस्य रुक्का ——————————————————
आगे. फागु. सिर्देउराईके. तेरो वावु. वराज्युका पालादेषिको किपटजिमिन. तेरा भाई विरादार. मुसा पर्जा. अठचालिस सालमा कुल हुँदा. भागि. ठडियाका. प्रजा. थामिबक्स्यौं. भोट. मधेश गयाका. झिकि. बस्ति बसाई. भोग्य गर. इति सम्वत १८५२ साल मिति अधिके भाद्र शुदि ७ रोज ६ कांतिपुर सुभम्———————————

मैवाखोलाका प्रभावशाली सुब्बा सिर्देउ रायलाई राज्यका तर्फबाट प्रदान गरिएको यो रुक्काले वि.सं. १८४८ मा लिम्बूहरुले विद्रोह गरेको स्पष्ट संकेत गरेको छ । लिम्बूहरुले विद्रोह गरेको चार वर्षपछि प्रदान गरिएको यो रुक्कामा सिर्देउ रायका भाईबन्धु लगायत पर्जा (लिम्बू)हरु विद्रोह हुँदा कतिपय भागिगएका भए तापनि उनीहरुको किपट जमिन थामिएको स्पष्टै उल्लेख छ । साथै भोट तथा मधेशतिर भागि जानेलाई भिकाएर बस्ती बसाई जग्गा जमिन उपभोग गर्न भनी सिर्देउलाई जिम्मा दिइएको छ ।

यसअघि रणबहादुर शाहले विजयपुरमा प्रशासन चलाएर बसेका सुब्बा पूर्णानन्द उपाध्ययलाई लेखेको लालमोहरको भाकाअनुसार लिम्बूहरुले विद्रोह गर्ने गरेको स्पष्ट संकेत प्राप्त हुन्छ । वि.सं. १८५० आषाढ सुदि ७ मा लेखेको पत्रअनुसार पूर्णानन्दले राजदरबारमा खबर गरेअनुसार गान्तोकका छत्रजीत (सत्रजीत?) ले लिम्बूहरुलाई विद्रोह गर्न सल्लाह दिने गरेका थिए । यता रणबहादुर शाहले पूर्णानन्द उपाध्ययलाई सिक्किमका भोटेलाई मात्र नभई लिम्बूहरुलाई पनि विश्वास नगर्न आदेश दिएका छन् (रेग्मी, सन् १९७१ ) ।

(पत्र संख्या ः २)
स्वस्तीश्री मन्माहाराजधिराज कस्य रुक्का ——
आगे फागु सिरदेव रायेप्रति अघि तिमिहरुले सुषिमसित मिली कुल गरेर ल्याये पनि हारेउ सुब्बाहरुले दांड लीया कुल ग¥याको सासना भयाको छैन. येस साल फिरी पूर्वतिर काज अडिव सवै लीम्बुका नाउमा मोहर जान्छ मोहर बमोजिम हात हतियार सित सुबा पगरी कुरिया प्रजा झारा भै सुव्वा पूर्नानन्द उपाध्याको सामील हौ येताबाट जान्या भारदार औ सुव्वाका सल्लाहले जतातिर खटाउछन् उसैमुख जाई काज गर अघिका जस्तो कुलचुल परिपंच ग¥या सास्ना दुःख पाउला सोझो निपिकन काजमा वस्या तम्रो मीहेनत सेवा माफिक गौरव रीस्ति गरि वक्सौंला इति सम्वत १८४८ साल भाद्र शुदि २ रोज २ शुभम्——

यस रुक्कामा पनि राज्यले सिरदेउ (सिर्देउ) रायलाई नै सम्बोधन गरेको छ । यस रुक्काबाट वि.सं. १८४८ को फागुन चैतमा भएको विद्रोहअघि पनि लिम्बूहरुले सिक्किमसँग मिलेर विद्रोह गरेको स्पष्ट उल्लेख गरेको छ । चैनपुरको युद्धभन्दा ६ महिनाअघि दिइएको यो रुक्कामा उल्लेख छ । अघिल्ला विद्रोहमा लिम्बू सुब्बाहरुले विद्रोह गरेको भए तापनि कारवाही नगरिएको उल्लेख गर्दै रुक्कामा फेरि पनि लिम्बूहरुको नाममा लालमोहर जारी गरिने हात हतियार पनि उपलब्ध गरिने उल्लेख छ । साथै त्यसबेला विजयपुरमा रहेर पल्लो किरातको प्रशासन चलाइरहेका सुब्बा पूर्णानन्द उपाध्ययको टोलीमा झारासहित सामेल हुन र राजधानीबाट खटिएर जाने भारदार र सुब्बाले जता खटाउँछन् त्यतै खट्न आदेश दिदै फेरि पनि विद्रोह गरे कारवाही गरिने चेतावनी पनि दिइएको छ । तर यस्तो चेतावनीबाट विचलित नभई लिम्बूहरु वि.सं. १८४८को विद्रोहमा सहभागी भएका थिए ।

(पत्र संख्या ः ३)
स्वस्ति श्री गिरिराज चक्रमुडामणि नरनारायणेत्यादि विविध विरुदावलि विराजमान मानोन्नत श्रीमन महाराजाधिराज रणबहादुर शाह देवानाम सदा समर विजयिनाम .............
स्वस्ति श्री सर्वोपमायोग्य श्री देवपति राय थामावुं राय श्री बहीनामसा राय श्री फेन्दुवा राय श्री शाभामुधा राय श्री थेवेसिं राय श्री जसमुषा राय श्री गोथिम राय श्री सां राय श्री नामसाहां राय श्री इगुमसेदी राय श्री पोतवा राय श्री ओङदेवा राय श्री फोवोहांग्या राय श्री यंवा राय श्री षिंभिदिंग राय श्री पात्लुवा रायके आशिषपूर्वक पत्रमिदं यहाँ कुशल ताहाँ कुशल चाहिये आगे यहाँको समाचार भलो छ उप्रान्त जीहाको निमिष खायाको थियो सेवकको गर्नु निमिष सक्दो गर्नुछ ग¥यौ आज हाम्रो पाव भनी आयौ त तम्रो पिछा लियौ बस्र्दास्ती गरौला हिजो तिमीहरुले पारि बसी लुटपीट गोवध खतछित् ग¥याको सब माफगरिबक्यौं हाम्रा पिछा प¥यापछि गोवध नगर्नु पारी हुँदा ग¥याको षत वापत तिमीहरुलाई कसैले दराउतम्बी ग¥या अप्सरिया होला निमिषको साझो गरी टहलमा रुझु रहु तिमी सुबा सुबाहरुको षातिरजामासित पजनी भेटाई आज तम्रो खायन पायन जस्को जस्तो जस्तो छ जाँची बुझि लाजिमा माफिक बनाइबक्सौंला सर्वथा चाँडो गरी आज ढिलाइ नगर उप्रान्त तम्रो ज्या लुटपिट ग¥याकोमा हामीले माफ गरिबक्स्याकोछ जस्ले लुटपिट लियाको छ मागी लेउ. तिमीले माग्दामा नदिया अप्सरिया हुनेछ तसर्थ तिमीहरु चाडो गरी आयापछि सबै कुराको बन्दबस्त गरिबक्सौंला । इति सम्वत १८४३ जेष्ठ सुदी रोज २ शुभम्...

वि.सं. १८३१ मा पल्लोकिरात लिम्बुवान गोरखा राज्यका गाभिएपछि कतिपय लिम्बू सुब्बाहरु सिक्किम पलायन भएका थिए । रणबहादुर शाहले वि.सं. १८४३ मा सिक्किम पलायन भएका १७ जना लिम्बू सुब्बाको नाममा जारी गरेको यो लालमोहरले पनि सिक्किमतिर पलायन भई गएका लिम्बू सुब्बाहरुलाई नेपाल बोलाइएको छ । उनीहरु प्रायः तमोर पारीका छन् । सिक्किम पलायन भएका लिम्बू सुब्बाहरुले सिमाक्षेत्रमा विभिन्न प्रकारका लुटपाट गरी असन्तुष्टि जनाएका थिए । यसरी सिमा क्षेत्रमा बसेर लुटपिट गरेको तथा गाई मारी खाएकोमा माफ दिदै चाँडोभन्दा चाँडो नेपाल आउन पनि आह्वान गरिएको छ ।
यी ऐतिहासिक पत्रहरुले पल्लो किरात लिम्बूवान क्षेत्रमा पटक पटक लिम्बूहरुले आफ्नो राज्य गोरखा राज्यमा गाभिइसकेपछि असन्तुष्टि जाहेर गरेका र विद्रोह मच्चाएको प्रमाणित गर्छ ।

अहिले जातीय पहिचानको आन्दोलनमा लिम्बू संस्था र लिम्बुवानवादी राजनीतिक दलहरुको सक्रियता निक्कै ठूलो छ । उनीहरुको यस्तो माग र माग पुरा गराउन जारी आन्दोलन सशक्त हुनुमा उनीहरुको पुर्खाको इतिहासको विरासत, लिम्बुवानको सिमान्त र संवेदनशील भूगोलको भूमिका ठूलो छ । इतिहासमा कोहि गोरखा राज्यसँग मिल्ने र कोही युद्ध लड्ने देखियो । युद्धमा हारे भए सिमानापारीको सिक्किममा जाने र त्यहाँ बसी असन्तुष्टि जनाउने र गुमेको राज्यका लागि विद्रोह सामेल भइरहने गरेको पनि देखियो । यसैको सेरोफेरोमा नेपाल र सिक्किमबीच वि.सं. १८४८ मा युद्ध हुँदा विद्रोह गरी लिम्बूहरुले सिक्किमको पक्ष लिएका हुन् ।


सन्दर्भ सामग्री

पुस्तकहरू
१. आचार्य, बाबुराम । (२०६३) । नेपालको संक्षिप्त वृत्तान्त । काठमाडौं ः प्रा. श्रीकृष्ण आचार्य ।
२. चेम्जोङ, इमानसिंह । (२०६१) । किरात इतिहास । ललितपुर ः किरात याक्थुङ चुम्लुङ, केन्द्रीय कार्यालय ।
३. चेम्जोङ, इमानसिंह । (सन् २००३) । किरातकालिन विजयपुरको संक्षिप्त इतिहास । ललितपुर ः किरात याक्थुङ चुम्लुङ, केन्द्रीय कार्यालय ।
४. चेम्जोङ, इमानसिंह । (२०६३) । किरात इतिहास र सँस्कृति । ताप्लेजुङ ः डिल्लीबहादुर लिवाङ र अरु ।
५. योगी, नरहरिनाथ । (२०५५) । इतिहास प्रकाशमा सन्धिपत्र संग्रह । रोल्पा ः बालाराम घर्ती मगर ।
६. वनेम, देवेन्द्र कुमार । (२०७०) । सिन्धोलुङ फागो वनेम वंशावली, इतिहास र मुन्धुम । धरान ः वनेम कल्याण संस्था ।
७. श्रेष्ठ, शिवकुमार । (२०६८) । लिम्बूवानको ऐतिहासिक अध्ययन । ललितपुर ः साझा प्रकाशन ।

पत्रिका तथा जर्नल
१. आचार्य, बाबुराम । (२०३८ भाद्र) । नेपाल राज्यको स्थापना । पूर्णिमा (पूर्णाङ्क ५०) । काठमाडौं ः संशोधन मण्डलद्वारा देवीप्रसाद भण्डारी । पृ. २२
२. आचार्य, बाबुराम । (२०४१ चैत्र ) । बहादुर शाहको मुखत्यारी (३) भोटमा फेरि युद्ध, सुखिममा अधिकार र चिनियाको आक्रमण । पूर्णिमा (पूर्णाङ्क ६३) । काठमाडौं ः संशोधन मण्डलद्वारा देवीप्रसाद भण्डारी । पृ. १३
३. ढुङ्गेल, रमेश । (२०४६ भदौ–असोज) । पल्लो किरातको चैनपुर ः एक महत्वपूर्ण ऐतिहासिक प्रदेश । प्राचीन नेपाल (संख्या ११३) । काठमाडौं ः पुरातत्व विभाग । पृ.४ र १०
४. ढुङ्गेल, डा. रमेशकुमार । (२०६९ असोज) । लिम्बू कि याक्थुङ । हिमाल असोज १–१४ । ललितपुर ः हिमाल मिडिया प्रा. लि. । पृ. २२
५. थापा, रमेशजंग (सम्पा.) । (२०३० श्रावण ) । नेपाल देशको इतिहास । प्राचीन नेपाल (संख्या २४) । काठमाडौं ः पुरातत्व विभाग । पृ. २
६. पन्त, दिनेशराज । (२०४० चैत्र) । श्री ५ रणबहादुर शाहका नौवटा अप्रकाशित लालमोहर । पूर्णिमा (पूर्णाङ्क ५८) । काठमाडौं ः संशोधन मण्डलद्वारा देवीप्रसाद भण्डारी । पृ.३२
७. राजवंशी, शंकरमान । (२०२५ वैशाख) । श्री ५ पृथ्वीनारायण शाहका लालमोहर र धैबुङको अभिलेख । प्राचीन नेपाल (संख्या ३) पृ. २९–३०


अखबार
१. चेम्जोङ, डम्बर (२०६७, वैशाख २) लिम्बुवान नामको राजनीतिक पक्ष । कान्तिपुर, पृ. ७

अनुसन्धान श्रृंखला
१. रेग्मी, महेशचन्द्र (सम्पा.) । (डिसेम्बर, १९७१) । नेपाल सिक्किम र इस्ट इन्डिया कम्पनी सन् १७९३ । रेग्मी रिसर्च सेरिज (वर्ष ३ अंक १२)। काठमाडौं ः रेग्मी रिसर्च सेन्टर । पृ.२७८–२७९

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको जर्नल “आदिवासी जनजाति जर्नल” (असोज २०७३) मा लेख राजकुमार सुब्बाको नाममा प्रकाशित गरिएको छ ।

१८४८ सालको त्यो लिम्बू विद्रोह (भाग १)

- राजकुमार दिक्पाल





- राजकुमार दिक्पाल --
हालः सशक्त रुपमा जातीय पहिचान माग गर्ने नेपालका आदिवासी जनजातिमध्ये लिम्बूहरुले वि.सं. १८४८ मा राज्यविरुद्ध विद्रोह गरे । अहिले पनि लिम्बूहरु जातीय पहिचानको आन्दोलनमा सशक्त छन्, यसमा उनीहरुसँग रहेको ऐतिहासिक विरासतको भूमिका निक्कै महत्वपूर्ण छ । पृथ्वीनारायण शाहको राज्य विस्तार अभियानका क्रममा गोरखालीहरु पल्लो किरात लिम्बुवानमा पुग्दा कतिपय लिम्बूहरु लडे, कतिपयले गोरखालीहरुसँग सम्झौता गरे । लिम्बुवान भूमीमा लड्दा हार खाएका लिम्बूहरु सिक्किम पसे र त्यहाँबाट पनि गोरखालीहरुसँग लड्न छाडेनन् । त्यसैले पल्लो किरात लिम्बुवानमा शान्ति कायम हुन निक्कै वर्ष लाग्यो । लिम्बूहरुले आफ्नो गुमेको राज्यका लागि गोरखाली शासकसँग पटक पटक विद्रोह गरेको इतिहास पाइन्छ । लिम्बूहरुले सिक्किमको पक्षमा लागेर निक्कै ठूलो विद्रोह यो विद्रोहलाई पुष्टि गर्ने ऐतिहासिक कागज पत्र पाइएकाछन् । तिनै ऐतिहासिक पत्रहरुका आधारमा वि.सं. १८४८को लिम्बू विद्रोहको इतिहास खोतल्ने प्रयास गरिएको छ ।

लिम्बू शब्दको प्रयोग
“लिम्बू” शब्दको अर्थ धनुबाण र यसबाट प्राप्त बिजयसँग पनि जोड्न खोजिएको छ । इतिहासकार इमानसिंह चेम्जोङले लिम्बू शब्दलाई यसरी अथ्र्याएका छन् । आठ आपुंगी राजालाई १० सरदारले युद्धमा जितेपछि धनुर्वाणको सहयताले जितेको हुनाले त्यसको नाम लिम्बुवान राखियो । “लि”को अर्थ धनु, “आबु”को अर्थ हान्ने (हान्यो) र वानको अर्थ नाम लगाउने अर्थात किराती भाषामा धनुर्वाणले जितेको देश लिम्बुवान हुन पुग्यो (चेम्जोङ, २०५९)।

लिम्बूहरुले आफैले चाहिँ आफूलाई याक्थुङ्वा भन्ने गर्छन् । “याक्थुङ्वा” याक्थुङ् भाषाको “यक” र “थुङ्वा” वा “थुम्वा” मिलेर बनेको छ । ‘यक’ को अर्थ गढी किल्ला अँग्रेजीमा फोर्ट हो भने “थङ”को अर्थ “सुरक्षा” वा “सामथ्र्य” हुन्छ । यसरी शब्द ब्यूत्पतिका आधारमा याक्थुङ्वाहरु कुनै खास विशेष गढी अन्तर्गत संरक्षित, सम्बन्धित र त्यस गढीको सामथ्र्य राख्नेहरु हुन् (चेम्जोङ, २०६७)।

लिम्बूभन्दा पहिले याक्थुङ्वाहरुले आफ्नो नामको पछाडी राय पद्वी राख्ने गरेको पाइन्छ । मोरङका राजा साङलाइङपछि उनका छोरा पुङलाइङ राजा भए । उनले हिन्दु मत ग्रहण गरी आफ्नो नामलाई अमर राय पदले सुशोभित गरे । उनको छैटौँ पुस्तामा विजयनारायण राय राजा भए । राजा विजयनारायणले फेदाप थुमका मुरेहाङसँग मित्रता गाँसी आफ्नो राज्यमा बोलाई चौतारिया बनाए । मुरेहाङले पनि पनि आफ्नो नामलाई “राय” पदबाट सुशोभित गरेपछि (चेम्जोङ, सन् २००३) लिम्बू सुब्बाहरुको नामपछाडी राय वा राई पद्वी रहन थालेको पाइन्छ ।

लिम्बू शब्दको प्रयोगको इतिहास हेर्दा वि.सं. १८३१ भन्दा उता जादैन । गोरखा राज्य विस्तार अभियानका क्रममा पल्लो किरात अम्बल गर्दा पृथ्वीनारायण शाहले लिम्बू सुब्बाहरुलाई १८३१ साउन २७ गते सोमबार दिएको लालमोहरमा लिम्बू र लिम्बुवान शब्द परेको छ (राजवंशी, २०२५)।

यस्तै रणबहादुर शाहको नामबाट जोगनारायण मल्लको नाममा जारी गरिएको वि.सं. १८३५ वैशाख बदि ४ को लालमोहर (पन्त, २०४०)मा पनि “काज परिआया भनि लिम्बूहरु भन्न आया र भोट्या र लिम्बू पाट्याको ता हाम्रो सबै हो भन्या जस्तो लाग्या र हान भनि वचन दिऔं भनि लेष्याछौ.सुन्यौ. लिम्बू र भोट्या फोर्नु हाम्रो सब्यै हो” लेखिएकोले हज्जन पाण्डुलिपीको अनुवाद पृष्ठ ११० अनुसार वैरागी काँइलाले भनेजस्तै लिम्बूहरुले आफूलाई याक्थुङ्वा, पर्वते ले लिम्बू र लाप्चाले चोङ भन्ने गरेको (वनेम, २०७०) स्पष्ट हुन आउँछ ।

बरु सिमानामा बस्ने भएकोले याक्थुङ्वाहरुलाई अरुले लिम्बू भनेको देखिन्छ । जीव र चिकित्सा विज्ञानको शब्दकोशमा “लिम्बस”को अर्थ बोर्डर जोन हुने र ल्याटिन भाषामा पनि “लिम्बस” भनेको प्रदेश हो । यो प्रसँगलाई याक्थुङ्वाहरुको बसोबासको वास्तविक भौगोलिक क्षेत्रसमेत नेपाल, सिक्किम र ब्रिटिश भारतको फ्रन्टियरसँग गाँस्दैै त्यसको राजनीतिक प्रासँगिकतासँग जोडेर हेर्न सकिन्छ (चेम्जोङ, २०६७)।

याक्थुङ्वाहरुलाई तिब्बतीहरुले “लिङ्स–पो वा लिङ्स–वो” शब्दबाट सम्वोधन गरेको बिषयमा पनि विचार गर्न सकिन्छ । तिब्बती लेखाईमा “लिङ्स–पो वा लिङ्स–वो”को अर्थ टाढिएको, सीमान्त क्षेत्र वा अनकन्टार जंगल इलाकामा शिकारी भई पसेर हराएको भन्ने लाग्छ (ढुङ्गेल, २०६९)।

हुन पनि लिम्बूहरुको बसोबास त्यसबेला तिब्बत, सिक्किम, ब्रिटिश भारत र भुटान सँग निकट सिमानामा रहेकोले सिमानाको बासिन्दाको अर्थमा याक्थुङ्वाहरुलाई गोरखाली शासकहरुले लिम्बू भनेका हुन् ।

लिम्बू सुब्बामा फुट र केहीको सिक्किम पलायन
पल्लो किरात लिम्बुवान गोरखा राज्यमा गामिनुअघि विजयपुरका सेनहरुलाई लिम्बूहरुले राजा मान्थे । तर सेन राजाहरुको राजनीतिक अधिकार आदर्शको रुपमा मात्र किरात प्रदेशमा कायम भए तापनि त्यस क्षेत्रका स्थानीय सामन्तको रुपमा पहिलेदेखि नै पुस्तौनी रुपमा कार्यरत किरात दिवान राय तथा हाङहरुको नै स्थानीय शासनमा हात हुन्थ्यो । पल्लो किरातमा पनि लिम्बूहरुका दश जना दलपति “हाङ”हरुले नै बास्तविक शासन चलाउँथे । त्यसै हुनाले पल्लो किरातलाई दस लिम्बुवान भनिने चलन रहेको हो (ढुङ्गेल, २०४६)।

पृथ्वीनारायण शाहले राज्य विस्तार अभियान गर्दै जाँदा गोरखाली सेना वि.सं. १८३० चैतमा चैनपुर पुग्यो (आचार्य, २०३८) । त्यसबेला १० लिम्बू १७ थुममा १२ जना नामी सुब्बाहरु थिए । तीमध्ये फेदापको आतहाङको नेतृत्वमा तम्बरखोलाको शुभवन्त राय, मैवाखोलाका श्रीदेव राय र मेवाखोलाका रैनसिंह राय गोरखासँग मिले । आठराईका श्रीजंग राय, पाँचथरका फुङ (कुम) राय र चौविसका जमुन रायलाई पनि लालमोहर दिएर पृथ्वीनारायण शाहले उनीहरुसँग सम्झौता गरे । चैनपुरमा घमासान युद्ध हुँदा त्यहाँ सुब्बा हार खाई सिक्किमतिर पसे । यता गोरखालीसँग नमिल्ने छथरका सुनुहाङ राय, याङरोकका योङ्याहाङ राय र चारखोलाका आसदेव राय आ–आफ्नो गढमा बसी लड्दै रहे । तर हातहतियारको अभावले उनीहरुले हार स्वीकार गर्नुपर्यो । आफ्नो देश छाडी सिक्किम पसे तापनि शत्रु सेनासित लड्न उनीहरुले छाडेनन् (चेम्जोङ, २०५९)।

पल्लो किरात लिम्बुवान आफ्नो अधिकारमा ल्याइसकेपछि पृथ्वीनारायण शाहले आफ्नो विजयको बारेमा भगवन्तनाथदेवलाई वि.सं. १८३१ भाद्र सुदि ६ रोज ६ मा लेखेको पत्रमा “किरात अम्बल भएको मधेशमा कन्काइ नदी, पहाडमा सभाखोला तमोर नदीको साँध लागेको ८५ जनाभन्दा बढि काटिएको, कति भागेर मुगलान र कति सुखिमतिर गएको” भन्ने (योगी, २०५५) परेकोबाट युद्धमा हारेका वा बाँचेर गोरखासँग बदला लिने मनसुवा भएका लिम्बू सुब्बाहरु सिक्किमतिर गएको प्रष्ट हुन्छ ।

चैनपुरको युद्ध र लिम्बू विद्रोह
नेपाल र तिब्बतबीच युद्ध चलिरहेको बेला वि.सं. १८४८ मा सिक्किमले फेरि चैनपुरमाथि कब्जा जमायो । सिक्किमका पक्षमा लागेर लिम्बूहरुले विद्रोह नै मच्चाएका थिए । त्यसबेला सिक्किमले चैनपुर किल्ला र त्यसअन्तर्गतको सिद्धिपुर किल्ला पनि कब्जामा लिइदियो । भोटे र सिक्किमेहरुले चैनपुर फिर्ता लिएपछि गोरखा पक्षका सैन्य र जनता भागेर अरुण पश्चिम जानु परेको थियो । तर पछि गोरखा पक्षका मानिस मरेमा मृतकको शब भने चैनपुरमै ल्याउनुपर्ने परम्परा रहेको कुरा गरी शब गाड्न चाहिँ चैनपुरमै लग्ने भन्ने बाहना पारी त्यसका निम्ति भोटे र सिक्किमेसँग स्वीकृति लिई हातहतियारको मुर्दा बनाउँदै चैनपुर खलङ्गाको बनभित्र थुपार्ने चलाखी स्थानीय योद्धाहरुले गरेका थिए (ढुङ्गेल, २०४६)। किरात प्रदेशमा सिक्किमे सैनिकहरुले आक्रमण गर्द त्यहाँ घरबास भएका केही लिम्बूहरु विपक्ष सैनिकसँग मिलेका थिए (आचार्य, २०६३)।

चैनपुरको युद्ध र लिम्बूहरुको विद्रोहका बारेमा तत्कालिन राजा रणबहादुर शाहको नामबाट जाजरकोटी राजा गजेन्द्र शाहलाई युद्ध सकिनासाथ वि.सं. १८४८ साल चैत्र शुक्ल २ रोज ६मा लेखेको पत्र (योगी, २०५५ः)मा चैनपुर युद्ध र लिम्बूहरुको संलग्नताबारे बुझ्न सकिन्छ । पत्रअनुसार गोरखालीपक्षबाट चैनपुर युद्धको दृश्य यस्तो छ ः

विजयपुरतिर अरुण नदीपार सुखिम चैनपुरमा चिनिया भोटेसमेत आए । लिम्बूवान लाप्चालाई भित्र खर्च दिएर विद्रोह गरी एक दुई जग्गा लिएको थियो । पाँच सात हजार वैरी आएका रहेछन् । विजयपुरका सुब्बा पूर्णानन्द उपाध्यायले पठाएको एक दुई कम्पनी फौज सामेल भई सिद्धपोखरीमा तीन ठूला ठूला खलंगा बारी बसेको बैरीलाई दुईतिरबाट छेकेर आक्रमण गरियो । बैरी पक्ष एकै जना पनि उम्कन नपाई काटिए । खलंगाभित्रै पाँच सय वैरीका गीड पुगेको थियो । करुवाङसहित काजी काटिए । अरु दुई चार जना पनि काटिए । यो थाहा पाएपछि हामीले बढाईं गर्यौ, त्यतितिर पनि बढाईं गर्नुहोस । यो युद्ध वि.सं. १८४८ साल फागुन–चैतमा भएको थियो (आचार्य, २०४१ः१३)।

यस युद्धको प्रसँग “प्राचीन नेपाल” (श्रावण २०३०)मा प्रकाशित “नेपाल देशको इतिहास” मा पनि परेको छ । यसमा उल्लेख भएअनुसार शाके १७१३ किराती मूलुकमा लिम्बूहरुले कुल गर्दा सरदार बदलसिंह बस्नेत, सुब्बा पूर्ण पाध्या र सुब्बा अदल सैन्य लिएर विजयपुर गएका र वैरीको लस्कर ठूलो छ भन्ने खबर आउँदा काजी देवदत्त थापाको नेतृत्वमा काठमाडौंबाट फौज पठाइएको र सिद्धिपुरमा ठूलो लडाई हुँदा वैरी फौजलाई साफसँग काट्दै धपाएर कनकामा खाँडो पखाली कद्रुहीमा आइ बसेको उल्लेख छ ।
विद्रोहबारे यस्तो लेखिएको छ ः

शाकै १७१३ मा किराती मुलुकमा लिम्ब्रहरुले कुल गर्दा अघि सरदार बदलसिंह बस्नेत सुब्बा पूर्ण पाध्या र सुब्बा अदलज्यू कम्पनी समेत लिई विजयपुर गएका थिए । वैरीको लश्कर भारी छ भन्ने अर्जी आउंंदा श्री ५ सरकारबाट काजी देवदत्त थापा, सरदार प्रतिमन राना, सुब्बा निधिरत्नज्यू, कोसत आले।, श्रीनाथको सुबेदार बक्ताबरसिंह बस्नेत, पुराना गोरखको सुबेदार अम्भोज खवास, वरखको सुबेदार अम्बरसिंह थापा र रणभीमको सबेदार दशरथ खत्री खटिए । उनीहरु फौजको साथ लिई अघि गएका लस्करमा सामेल हुन पुगे । सिद्धिपुरमा दुई तर्फको ठूलो लडाई हुंदा वैरीका फौजलाई साफसंग काट्दै धपाई कनकामा खाडो पखालेर कद्रुहीमा आइ बसेका थिए ।

बाँकी लेख क्रमश >>>>>>>>>>>>>>>>>>>>>>>

Sunday 18 June 2017

यो Linguicide भनेको के हो? -Bikram Subba


(दार्जिलिङमा चलिरहेको वंगाली भाषा लाद्ने सरकारी नीतिको विरुद्ध चलिरहेको भाषा आन्दोलनमा ऐक्यवद्धता जनाउँदै -)
आज फुटानी चोकमा एकजना भाषा शास्त्रीलाई जिज्ञासुले सोध्यो – ‘यो Linguicide भनेको के हो?’ भनेर सोध्यो । जसको जवाफमा भाषाशास्त्री बोल्यो –
भाषा शास्त्रका अध्येताहरू अनुसार “जब कुनै एक भाषा बोल्ने अन्तिम व्यक्तीको पनि मृत्यू हुन्छ तब एउटा भाषाको मृत्यू हुन्छ ।“ भारतको कुरा गरौँ; हालैको सर्भे अनुसार अहिले पनि करीव ९०० भाषाहरू भारतमा ज्युँदैछन् । भारतका २२० भाषाहरू बिगत सिरिफ ५० वर्षमा मरेर गएछन् । आगामी ५० वर्षमा भारतका थप १५० भाषाहरू मरेर जानेछन् भनेर प्रक्षेपण गरिएकोछ । भारतमै बोलिने अन्य १०० भाषाहरूलाई अल्पसंख्यकले बोल्ने भनेर गणना नै गरिन्न ।
नेपालमा गएको ५० वर्षमा कति जनजातिका भाषाहरू मरेर गए कति भाषा मर्ने अवस्थामा छन्? कुनै व्यक्ती वा कुनै सँस्थाले अध्ययन गरेको छैन वा जरुरी ठानिएको पनि छैन । सरकार त अरु सबै भाषाहरू मरेर गए खस भाषाको राज चल्ने थियो भनेर खुशी हुने किसिमको छ । मानिस मार्नु मात्र हत्या होइन कुनै जातिको भाषा-सँस्कृतिको नाश गर्नु झन ठुलो हत्यारो कार्य हो ।
भाषाहरू कसरी मर्छन या मारिन्छन्?: कुनै भाषा समुहका मानिस जब अर्को ठाउँमा बसाइँ सर्छन् वा सारिन्छन् तब उनिहरूको भाषालाई उनको आफ्नै गाउँघर-वासस्थानमा जस्तै सहज रुपमा बचाएर राख्न कठिन हुन्छ; परम्परागत प्रविधीमा बाँचेका मानिस अब नयाँ प्रविधीतिर लागे भने पनि भाषा मर्न थाल्छ । जस्तैः अहिले बिजुलीले चल्ने जाँतो (Grinder) आएपछि नेपालगंजका पत्थरकट्टाहरूले बनाउँने ढुंगाको जाँतो, सिलौटा-लोहरा बनाउँनेहरू त्यो काम छोडेर रिक्सा चलाउँन थालेपछि नयाँ पेसा र प्रविधीले नयाँ-नौला भाषा बोल्नेहरूसँग उठबस गराउँन थाल्यो र उनले बिस्तारै आफ्नो भाषाहरू बोल्न छोडे वा छोड्दैछन् । उनका नयाँ पुस्ताले आफ्नो भाषा झनै बिर्सनेछन् । यसरी भाषा २-३ पुस्तामा मर्छ ।
बृटिश-भारतका बेला एउटा खुँखार the Criminal Tribes Act, 1871 (Rescinded in 1952) कानुन बनेको थियो जुन कानुनले धेरै घुमन्ते जनजातिहरूलाई “जन्मँदै अपराधी (Criminal) को दर्जा” दिन्थ्यो । यो कानुनबाट बच्नको निम्ती धेरै जनजातिले आफ्नो जात फेरे, आफ्नो भाषा बोल्न छोडे, नयाँ भाषा सिक्न थाले । यसरी सरकारले कानुन बनाएर पनि भाषाहरूको हत्या गर्छन् जसलाई भाषा-संहार (Linguicide) भनिन्छ ।
भनिन्छ पपुवान्यूगिनीमा ११०० भाषाहरु बोलिन्छन् । ईन्डोनेशियामा ८०० भाषाहरू बोलिन्छन् । नाईजेरियामा ३५० भाषाहरू बोलिन्छन् । किन यस्तो संभव भयो? किनभने त्यहाँ सरकारले नै भाषाहरूको संरक्षण गर्ने काम गर्दछन् । किन सरकारहरूले भाषाहरूको संरक्षण गर्दछन्? किनभने ती भाषाहरूलाई हाम्रो मुलुक चिनाउँने पहिचानका तत्व भनेर महत्व दिएकाछन् ।
ईतिहासमा धेरै समृध्द भाषाहरू पनि मरेर गएकाछन् । जस्तैः सँस्कृत भाषा, ग्रीक भाषा, आदि । कुनै भाषा समृध्द भएर पनि मर्छन् । भारतमा कुनै कुनै भाषागत राज्य (Linguistic states)हरू बनाइए । जस्तैः बंगली भाषा बोलिने भएकोले (पश्चिम) बंगाल, पंजाबी भाषा बोलिने भएकोले पंजाब, कन्नड बोलिने कर्नाटक, आदि । तर कतिपय राज्यमा एकभन्दा बढी भाषा पनि बोलिन्छ । जस्तै: बिहारमा मैथली र भोजपुरी । आसाममा खसीया र बंगाली, आसामी र बोडो । पश्चिम बंगालमा बंगाली, सन्थाल, मुण्डा, ओराओ, भूमिज, लोधा, कोल, टोटो र (खस) नेपाली, आदि । तथापि राज्यमा बोलिने पहिलो भाषाले दोस्रो वा तेस्रो प्रगतिशील भाषालाई सेपमा पार्दो रहेछ । जस्तै: भोजपुरी भाषा धेरै प्रगती गरिरहेको भाषा थियो तर भोजपुरा (छुट्टै) राज्य नहुँदा राज्यबाट भोजपुरी भाषाले प्रोत्साहन नपाउँने भयो र खुईलिँदै जान बाध्य भयो । जस्ले गर्दा, नयाँ उपाए नगरिए, भोजपुरी भाषा कालान्तरमा (१००-२०० वर्षमा) मरेर जान सक्छ । जानिजानि कसैले भोजपुरी भाषा मार्न खोजेको होइन भनिएला तर ऐतिहासिक रुपमा राजनैतिक विकास क्रमका अनेक कारणले गर्दा उत्तर प्रदेशमा भोजपुरी भाषा नबाँच्ने अवस्था सृजना हुन सक्दैन भन्न सकिन्न ।
ठीक यही कुरा नेपालमा हुन लागेकोछ । नेपालका राज्यहरूको नाम लिम्बुवान, खम्बुवान, ताम्सालिङ, नेवा, तमुवान, मगरात, खसान, थारुवान, मिथला, भोजपुरा, अवध नराखेपछि यी सबै भाषाका वक्ताले गौरव गुमाउँछन्, प्रचलनमा ल्याउँन नपरेपछि सरकारी भाषाले पेल्दै लैजान्छ । गौरव गुमाएको भाषा ख्याउटे भएर, कुपोषित भएर केही सताब्दी बाँच्लान तर मर्दा नेपालकै पहिचानको एक अंग पनि आफुसँगै लैजानेछन् । नेपालमा बिभिन्न जनजातिका भाषाहरू मार्न पाए हुन्थ्यो भन्नेहरूले त्यसो भए "खस" भाषा अघि बढ्छ र १ नंबर बनाउँछौँ भन्ने सोचाई राख्ने पनि होलान् तर उनिहरूले के बुझिरहेका छैनन् भने "खस" भाषालाई "हिन्दी" र "अंग्रेजी" (अहिले आएर) "कोरियन", "हिब्रु", "चाईनिज" भाषाहरुले घेरिसकेकाछन् । नेपालका अन्य भाषाहरूलाई निमिट्यान्न पार्ने सिध्दान्त अनुसार चल्नेले आफ्नो "खस" भाषालाई अरुले खाँदैजाँदा पनि चुपचाप सहने स्थिती आउँदै गईरहेकोछ ।
खस भाषामाथि ‘खतरा’को छनक अहिले नै देखिँदैछ । धेरै खस भाषाका वक्ताहरू आर्थिक रुपले (तुलनात्मक रुपमा) सम्पन्न छन् । उनले आफ्ना छोरा-छोरी राम्रो र महंगो अंग्रेजी, स्वदेशी-विदेशी, स्कुलमाहरू पढाएकाछन् र पढाईरहेछन् । अहिले नै ती बालबालिकाहरू भेट्दा आपसमा अंग्रेजीमा बोल्दा आफु स्टेण्डर्डको भएकोजस्तो गौरब ठान्छन् र अंग्रेजी नबुझ्ने जोतिष बाहुनलाई ‘कोदे’ भनेर हेला गर्छन्, उडाउँछन् । त्यो भनेको अंग्रेजी भाषा प्रति (नजाँनिँदो किसिमले) भक्ती र "खस" भाषाप्रति (नजानिँदो किसिमले) तुच्छ ठान्ने ‘दासत्व’ भावनाको सृजना हो । दाशले के गर्छ? आफुभन्दा बलियोको गुलामी गर्छ र आफुभन्दा कमजोरलाई गुलाम बनाउँन चाहन्छ । यो क्रम अब ५० वर्ष नेपालमा चल्ने हो भने "खस" भाषाको नै बेहाल होला । अर्थात, "लिम्बु, राई, शेर्पा, तामाङ, नेवार, गुरुङ, मगर, मैथिली, भोजपुरी, थारु, आदि भाषालाई मार्छु आफु मात्र बाँच्छु" भन्ने हुँदैन । अरुका भाषालाई हेप्ने “अवधारणा” भनेको प्रकारान्तरले "आफ्नै भाषा"लाई पनि हेप्ने अवधारणा हो । अरुको आमालाई हेप्नेले विस्तारै आफ्नै आमालाई हेप्ने सँस्कार आफुभित्र विकास गर्छ र कुनै दिन आफ्नै आमालाई बलात्का गर्दा पनि समान्य ठान्ने वा आमालाई नै घरबाट निकालिदिने कामलाई पनि सामान्य ठान्ने सम्बेदनहीन पशु हुन पुग्छ ।
तेस्तै, भाषाकै कुरा गर्दा - चोरहरूको भाषा, हिजडाहरुको भाषा, भ्रष्ठहरूको भाषा, डाकाहरूको भाषा, काला बजारीयाहरूको भाषा, घुस्याहाको भाषा, मसाज पार्लरवालाका भाषा, सिआईडीका भाषा, युध्दका बेला सेनाका भाषा (Code words), क्रान्तीका बेला क्रान्तिकारीका भाषा(Code words), खातेका भाषा, ड्राइबर-खलासिका भाषा, बहिराका भाषा, कोठी र वेश्याहरूका भाषा, पिम्पहरूका भाषा, जुवाडेका भाषा, जँड्याहाका भाषा, बोडरमा स्मगलिङ गर्नेका भाषा फरक हुँदा रहेछन् । शब्द त तिनले पनि त्यही प्रयोग गरिरहेका हुन्छन् तर तेसको अर्थ उनिहरूको सन्दर्भमा फरक हुँदा रहेछन् । यी फरक-फरक पेशागत भाषाहरु विस्तारै मानक (Standard) बन्छन् र शब्दकोशमा पसेर एउटा मुलुकको भाषालाई धनी वा मुल्यवान बनाईरहेका हुन्छन् । जसरी हिन्दी भाषाका वरिपरि १२६ भाषाहरू बोलिन्छन् जुन भाषाहरूले हिन्दी शब्दकोशको ढुकुटी भर्ने Feeder languages को काम गर्छन् । यदि अन्य भाषाको ढुकुटीहरू सबै रित्तो हुने हो भने हिन्दी भाषाको ढुकुटी पनि बिस्तारै खोक्रो र गरीब हुन्छ ।
नेपालका अनेक भाषा र खस भाषाको संबन्ध पनि, अनेक कारणले, चाहेर होस वा नचाहेर यस्तै रहेकोछ । जस्तै: राजाको दरवारको नाम नै "नारायण हिटी" राखियो । "हिटी" शब्द त नेवारी शब्द ढुकुटीबाट आयो । "नारायण" शब्द सँस्कृत हुँदै खास भाषाबाट आयो । यसरी एकले अर्को भाषा सँस्कृतीलाई समृद्ध गर्ने काम गरिराखेको देखिन्छ । अंग्रेजी भाषामा पनि “लाठी चार्ज” शब्दलाई हेर्ने हो भने अंग्रेजीको “चार्ज”मा हिन्दी Feeder language बनेर “लाठी” शब्द सप्लाई गरिदिएकोछ । एउटा जंगलमा सिरिफ एउटा रुख मात्र काट्दा वा रोपेर हुर्काउँदा जंगलको Eco-system मा परिवर्तन आउँन थाल्छ भन्ने कुरा बुझ्नेले भाषाहरूले पनि एकापसलाई पोषिरहेका हुन्छन् ।
तसर्थ, मुलुकका सबै भाषाको संरक्षण गर्नु भनेको राष्ट्रिय निकुंजहरूको संरक्षण गर्नु जस्तै हो - बनजंगल र जनावरका स्पेसिजहरू समाजमा मास्सिएर सिध्दिएभने राष्ट्रिय निकुन्जबाट फेरि लिएर आएर मानिसको हितको निम्ती डोमेष्टिकेट गरौँला । जस्तै केही वर्ष अघिसम्म "बँदेल" र "हरिण" पाल्नु गैर कानुनी थियो तर अब जनताको आयआर्जनको निम्ती "बँदेल" र "हरिण" Income generation का निम्ती पाल्न पाईने कानुन बन्यो । राष्ट्रिय निकुन्जमा बँदेलै नहुने वा हरिणै नहुने अवस्था सृजना गर्नु भनेको त सबै भाषाहरुलाई मार्ने नीति लिनु जस्तै हो । जंगलै मासेपछि त कुनै दिन जडिबुटी कहाँबाट ल्याउँने? मकैको पुरानो जात नष्ट भए नयाँ जात कहाँबाट ल्याउँने? धानको पुरानो जात नष्ट भए नयाँ जातको धान कहाँबाट ल्याउँने? भयानक र डरलाग्दो क्राईसिस हुनेछ । सभ्यताको मरुभूमिकरण हुनेछ ।
भनिन्छ, अमेरिकामा धेरै बर्षदेखि GMO खाँदै आएकोले अहिले तेहाँका कैयौँ महिला र पुरुषहरू बच्चा जन्माउँन अक्षम (Infertile) भईसके । परिणाम स्वरुप अन्य मुलुकबाट प्रजनन् शक्ती भएका मानिस (DV कार्यक्रम मार्फत) आयात गर्ने काम गरेर अमेरिकालाई मानव-मरुभूमिकरण हुनबाट देशलाई जोगिई रहेकोछ । तर सन्सारभरिकै मानिस बच्चा जन्माउँन नसक्ने (Infertility) भए हालत के होला?
अर्थात, नेपालका राज्यहरूको नाम लिम्बुवान, खम्बुवान, ताम्सालिङ, नेवा, तमुवान, मगरात, खसान, थारुवान, मिथला, भोजपुरा, अवध राखे आकाश खस्ने थिएन बरु यी सबै भाषाहरुको गौरवमय विकस हुँदै जाने र ती प्रकृयाले सिंगो नेपालकै पहिचानमा थप्ने काम गर्नेथिए । Feeder identity हरू भएनन् भने नेपालको identity नै कुपोषित हुने पक्काछ । अर्थात, अरुको पहिचान नष्ट गर्नेले आफ्नो पहिचानलाई पनि मरन्च्याँसे बनाउँनेछ । नेपाल र भारतको दार्जिलिङ लगायत अनेक राज्यहरूमा एउटा (सरकारी) भाषाले अर्को भाषालाई नष्ट गर्ने (Linguicide) चलिरहेछ । तर, ‘माया बाँड्नेले माया नै पाउँनेछ’ भनेजस्तै अरुको भाषाको हत्या गर्ने कर्म गर्नेले पनि उसको भाषाको हत्या भएको देख्नु, भुग्नु पर्नेछ । सबैलाई पेल्न खोज्नेलाई कुनै दिन “सबै”ले मिलेर “पेले” भने समाजमा अशान्तिको जड “पेल्न” थाल्ने पक्ष नै हुनेछ । यही हो देशद्रोह नत्र देशद्रोहीको अनौठो सिङ-पुच्छर हुँदैन ।
साभार: