Tuesday 21 February 2017

उपचारमा लापरबाही प्रकरणः सशस्त्र प्रहरीको घेरामा हस्पिटल (भिडियाेसहित)


- भोजराज श्रेष्ठ

धरान / पेट दुखेर आएका बिरामीको उपचारको क्रममा मृत्यु भएपछि  तनावग्रस्त बनेकाे विजयपुर अस्पताल परिषरमा उच्च सुरक्षा सर्तकता बढाइएकाे छ ।

सशस्त्र तथा जनपथ प्रहरीहरुको बाक्लो उपस्थिति छ भने मृतकका आफन्तहरुले धरान–९ पुतलीलाइनस्थित विजयपुर हस्पिटल नजिकै गाडीसमेत चल्न दिएका छैनन् । अहिले सवारीहरु बैकल्पिक मार्गमार्फत् ओहोरदोहोर गरिरहेका छन् ।
सोमबार बिहानको राति १ बजेतिर धरान–१७ का ३१ वर्षीय अमित जोसी एक्कासी पेट दुखेर चेकअपका लागि एक्लै हस्पिटल आएको आफन्तहरुले बताएका छन् । तर, उनलाई एपेन्डिक्स साइट भएको चिकित्सकहरुले बताएपछि उनी बेड भर्ना भएका थिए । सोमबार साँझ करिव ७ बजेतिर अपरेशन थिएटरमा हुलिएको थियो । तर, करिव २ घण्टाको अप्रेसनपछि उनलाई निकालेर बेड भर्ना गरिएको थियो । त्यसबेलादेखि नै उनी गम्भिर हुन थालेको श्रीमती संगीताले बताइन् ।
संगीताका अनुसार अमितलाई एक्कासी मुखबाट फिज निकाल्न थालेपछि डाक्टरहरु बोलाउँदासमेत हत्तपत्त नआएको र आएपछि पनि सामान्य हो भन्दै टारेको बताइन् । तर, डाक्टरहरुले यो घटनालाई सुरुमा सामान्य रुपमा लिएका थिए । मृत्यु पछि भने आफन्तहरुलाई एस्पिरेसन (फोक्सोमा खाना वा पानीको मात्रा भरिएर स्वासप्रस्वासमा समस्या आउनु) भएको बताएका थिए ।
चिकित्सक सर्जन डा. रोशन खतिवडाले सुरुमा आउँदा बिरामीको अवस्था सामान्य रहेको कुरालाई नकारेनन् । सामान्य ज्वरो आएको र त्यो ज्वरो एपेन्डिक्सका कारणले आएको उनले बताए । सबै ठिकठाक हुँदाहुँदै पनि बिरामीको मृत्यु हुनु एस्पिरेशनकै कारण हुन सक्ने एनेस्थेसियाका डा. ललितकुमार राजवंशीले आफन्तका अघि दाबी गरे । अस्पताल प्रशासनले बिरामीको मृत्यु भएसके पनि के भएको हो भन्ने बारेमा जानकारी तत्काल नदिँदा आक्रोसित भिडले हस्पिटल तोडफोड सुरु गरेका थिए । तर, तोडफोड पूर्व नै प्रहरी प्रशासनलाई बोलाएपछि घटनाले अर्को मोड लिएको थियो ।
नियतबस नै मारिएको आशंका गरेका आफन्तहरुले पटक पटक अस्पताल तोडफोडको प्रयास गरेका थिए । अस्पतालको अघिल्तिरको सिसाहरु पूर्ण रुपमा क्षति पुगेको छ । अस्पताल प्रशासन प्रमुख पंकज खतिवडाले भने बिरामीका आफन्तहरु आक्रोसित भएपछि सुरक्षाको लागि प्रहरी प्रशासन बोलाएको दाबी गरेका थिए ।
घटनापछि सुरक्षा थ्रेट हुँने भन्दै थप सुरक्षाकर्मी बोलाइएको थियो । सशस्त्र प्रहरी बलले यो समाचार तयार पारिञ्जेलसम्म सुरक्षा प्रदान गरिरहेको थियो । यस अघि पनि मृगौलाको समस्या लिएर आएका धरान–१७ कै एक बिरामीको आन्द्रा काटिएपछि गुपचुप रुपमा विरामीका आफन्तलाई दवाव दिएर उपचारको लागि काठमाडौं पठाइएको थियो । जसको लागि खर्चसमेत अस्पतालले नै बेहोरेको थियो । उक्त विरामीको अवस्था अहिले के छ भन्ने बारेमा पुष्ट समाचार आइसकेको छैन् । जुन उपचारमा सर्जन डा. खतिवडा नै संलग्न रहेको विशेष स्रोतले जनाएको छ ।
तीनबुँदे सहमति हुने सम्भावना
बिरामीको मृत्यु भएपछि प्रहरी प्रशासनको रहोबरमा अस्पताल प्रशासन र धरान–१७ का स्थानीयबासीबीच तीनबुँदे सहमति हुने सम्भावना बढेर गएको छ । अहिले अस्पताल प्रशासनबीचमा स्थानीयबासीको छलफल चलिरहेको छ । मृतकका आफन्त तथा स्थानीयबासीहरुले छानविन समिति गठन गर्नुपर्ने, मृतकका आफन्तलाई क्षतिपूर्ति दिनुपर्ने र घटनाको विषयमा अस्पताल प्रशासनले गहिरो दुःख व्यक्त गर्दै विज्ञप्ति प्रकाशित गर्नु पर्ने माग राखेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडाले बताए ।
तर, छलफलमा बसेका धरान–१७ का स्थानीय मनोज भट्टराईले भने ती माथिका तीनवटा बुँदामा सहमति बनिसकेको बताए । यता सहमति भए/नभएको बारेमा अस्पताल प्रशासनका प्रमुख खतिवडालाई फोनमा बुझ्ने प्रयास गर्दा फोन उठेन् ।
यो समाचार ब्लाष्ट दैनिकबाट साभार गरीएकोछ

No comments:

Post a Comment