सहयोगी मनकारी मेवाहाङ्मा आशिका

Image may contain: 1 person

आशिका मेवाहाङ् राइ

यिनि हुन Ashika Mewahang वहाँको उमेर लगभग २०-२२  मात्र होला, उहाको र मेरो परिचय सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र हस्पिटलमा मिति २०७३ चैत्र ७  गते भएको थियो। त्यो दिन मेरो दाई भिम लिम्बू जीवन र मृत्युको दोसाँधमा घिटी घिटी अन्तिम श्वास लिई रहनु भएको थियो । डाक्टरहरुको सुझाप र सरसल्लाह बमोजिम वहाँलाई तुरुन्त ओपन हार्ड सर्जरी (अपेसन) गर्नु पर्ने भयो ।
अन्तिम श्वास घिटी घिटी, डाक्टरहरु आत्ती रहेको अवस्था, घडिको सुईले डिलो भैइसकेको सङकेत दिई रहेको, सबै तयारी भयो, डाक्टर ,पैसा, चाहिने समाग्री, दबै पानी, ब्लड पनि तर एउटा अन्तिम फ्रेस (ताजा) ब्लट जुगाड  भएन, मैले चिने जति र मेरो साथिहरुले चिने जति सबै साथिभाईहरुलाई AB+ve ब्लट खोज्न र दिन गुहार मागे मागियो तर बिडम्बना मिल्न सकेन, डाक्टरले अन्तिम बिकल्प दिन थाल्यो यदि फ्रेस ब्लड जुगार गरिएन भने सर्जरी मात्र होईन दाईको ज्यानै गुमाउनु पर्ने अन्तिम बिकल्प सुजाए म तनावमा तड्पिए तर मसंग आत्तिनु हतासिनु भन्दा अरु उपाय थिएन ।
यहि बखत यी बहिनि आशिका बहिनी मार्फत ४ जना मानव रुपी भगवानहरु दाईको पुनरजिवन प्राप्तिको निम्ति हाजिर हुनु भयो, आशिका बहिनी मार्फत उहाहरुको सहयोगले मेरो दाईले पुनरजन्म पाउनु भयो ।
यी बहिनीलाई क्रमश भोली पर्सि हुँदै दैनिक देख्न भेट्न थाले यहि हस्पिटलमा अनि सोधें किन बहिनी यहाँ दैनिक, उनको जवाफ सरल र सिम्पल यहाँ धेरै बिरामीहरु फ्रेस ब्लडको अभावमा आतुर हुन्छन सो म वहाँहरुलाई सहयोग गर्छु ।
हजारौ ब्याक्तिले सहयोगी संघ संस्थाको नाममा लाखौ अरबौ रकम हडपी रहेका छन तर यी बहिनी संग न संस्था न पैसा न कुनै कोष, वहांसंग छ त सिरिप दया र सहयोग मात्र ।
उहाको निस्वार्थ कार्य देखेर वहाँको कार्यलाई संस्थागत गरेर अझ सेवामुलक हुन सकोस भन्ने उदेश्यले मेरो हितैसी मित्र झिवा तिमाले तामाङ र मैले एउटा कोष (फण्ड) खडा गरि दिउन ताकी उहाले सहज र सरल तवरले काम गर्न सकुन भनी कोशिष गरिरहेका छौ । तपाईहरु पनि वहाँको कार्यलाई सकारात्मक ठान्नु हुन्छ भने हातेमालोमा सामेल हुनुहुन्छ भन्ने बिश्वास र अनुरोध गर्दछु ।

Wednesday 8 March 2017

संघीयतावारे छलफल


हाम्रो नेपालमा संघीयता बारे एकदमै कम छलफल हुने गर्छ । पढे लेखेका धेरै विद्वानहरू छन् उनीहरू संघीयता बारे छलफल नै गर्न चाहादैनन् । संघीयता बारे उत्सुक एउटा ठूलो जनसमुदाय छ, उनीहरू संघीयता बारे जान्न, बुझन चाहान्छन् । छलफल र बहस गर्न रूचाउँछन् तर उनीहरूले भेऊ नै पाउदैनन् । नेपालमा संघीयता सम्बन्धी लेख, रचना, पुस्तकहरू एकदमै कम मात्रामा पाईन्छ । पंचालयतकालमा त्रिभुवन विश्व विद्यालयको राजनीतिशास्त्र विभागको पाठ्यपुस्तकबाट विश्वका संघीय संविधान भन्ने पाठ रातारात हर्टाईयो र त्रि.वि. को केन्द्रीय पुस्तकालयबाट संघीयता सम्बन्धी पुस्तकहरू नियोजित तरिकाले लुकाईएको तितो घटनाहरू छन् । यो देशका एकात्मक सत्ताधारीहरू के चाहान्थे भने( नेपालका उत्पिडित जनताहरूले संघीयता सम्बन्धी केहि थाहा नपाउन् । किनकि संघीयता सम्बन्धी जनताले राम्ररी थाहा पाए भने त एकात्मक सत्ता उड्छ र यो देशका सबै जाति, भाषी र क्षेत्रका जनताहरूले सत्तामा साझेदारी राख्न सक्छन् । 


एकात्मक सत्ताधारीहरूले सोचे जस्तै हामी नेपाली जनताहरू पनि खुब अलमलियौ । आजभन्दा २५० बर्षअघि नै अमेरिकामा संघीय शासन सुचारू भएको कुरा, २०० बर्षअघि स्वीजरल्याण्डमा विश्वकै सुन्दर संघीय व्यवस्था लागु भएको कुरा हामीले भुसुक्कै विस्र्यौ । हामीलाई जर्मनीमा जन्मेको कालमार्क्सको कुरा खुब पढाइयो, घोकाईयो तर त्यही जर्मनी अहिले संघीय गणतन्त्र जर्मनी बनेको कुरा कसैले भनेन । हामीलाई लेनिनको थुप्रै पुस्तकहरू पर्ढाईयो तर त्यहि लेलिनले सन् १९१७ मा १४ वटा संघीय गणराज्यहरू मिलाएर सोभियत संघ बनाएको बारे कसैले बोलेन । हामीलाई गान्धी बारे खुब अर्ति उपदेश दिए तर त्यही गान्धीहरूले भारतमा संघीय शासन लागु गरेको बारे कसैले चुँ सम्म बहस गरेन । अनि संघीयता सम्बन्धी ज्ञानहरू विरालोले दिशा लुकाए झै लुकाउने कथित विद्वान र नेताहरूलाई नै हामीले सर्वोपरि नेता, नेतृत्व मान्दै आयौं । त्यो हाम्रो गल्ति थियो, त्यसमा हामीले प्रायश्चित गर्नुपर्छ र एउटा नयाँ संघीय यात्रा शुरू गर्नुपर्छ । 


विश्वका निम्न देशहरूमा संघीय राज्य प्रणाली छनः- अर्जेन्टिना, अष्ट्रेलिया, अष्ट्रिया, बेल्जियम, बोस्निया र हर्जगोभिना, ब्राजिल, क्यानाडा, कोमोरस, इथियोपिया, माइक्रोनेसिया, जर्मनी, भारत, इराक, मलेसिया, मेक्सिको, नाईजेरिया, पपुवा न्यू गिनी, पाकिस्तान, रूस, सेन्ट किट्स र नेभिस, स्पेन, दक्षिण अप्रिmका, स्वीट्जरल्याण्ड, युनाईटेड अरब इमिरेट्स, संयुक्त राज्य अमेरिका र भेनेजुएला छन् । 


सेन्ट किट्स र नेभिस त्यस्तो संघीय राज्य प्रणाली भएको मुलुक हो जसको कुल क्षेत्रफल जम्मा २६१ वर्ग किलोमिटर र जनसंख्या मुस्किलले ४३ हजार मात्र पुग्छ । 


विश्वमा संघीय राज्यहरूको निर्माण दुइ किसिमबाट भएको पाईन्छ । पहिलो, विभिन्न स्वतन्त्र राज्यहरूले आपसमा सम्झौता, समझदारी, सन्धी गरेर संघ निर्माण गर्छन् । यसलाई राज्यहरूसँगै आउने विधि Coming Together भनिन्छ । संयुक्त राज्य अमेरिका, स्वीट्जरल्याण्ड, अस्ट्रेलिया लगायतका पुराना संघीय राज्यहरूको निर्माण यसरी भएको हो । सन् १७७६ मा अमेरिकाका १३ वटा राज्यहरू मिलेर बेलायती उपनिवेशका विरूद्ध युद्ध गरी स्वतन्त्रता प्राप्त गरे । ति १३ राज्यहरूले साझा सुरक्षा र प्रगतिको लागि महासंघको व्यवस्था गरेर सँगै बसे । पछि १७८७ मा त्यहि महासंघको विकसित रूप अहिलेको संघीय अमेरिका बन्यो । स्वीट्जरल्याण्ड निर्माणको कथा पनि रोचक छ । यसका साना-साना क्यान्टोनहरू सन् १२९१ देखि नै कुनै न कुनै रूपमा साझा संजालमा काम गरिरहेका थिए र सन् १८४८ मा त्यहि क्यान्टोनहरू मिलेर आजको संघीय स्वीट्जरल्याण्ड निर्माण भयो । लेलिनको पालाको सोभियत रूस पनि यहि कमिङ्ग टुगेदर विधिद्वारा निर्माण भयो । 



संघीय राज्य बन्ने दोस्रो विधि हो विविधता धेरै भएको राज्यलाई सँगै राख्ने Honding Together विधि । लामो समय सम्म एकात्मक शासनमा रहेको देशलाई त्यहाँको विविधताहरूको संवोधन गर्न संघीय ढाँचाको राज्यमा लाने विधिलाई होल्डिङ टुगेदर भनिन्छ । भारत, बेल्जियम, स्पेन, अष्ट्रिया आदि देशहरूको संघीय संरचना यहि होल्डिटङ टुगेदर विधिबाट निर्माण भएको हो । नेपालको संघीय संरचना पनि यहि होल्डिङ टुगेदर विधिद्वारा निर्माण हुन गई रहेको छ । 


धेरै जाति र भाषीहरू भएको देशमा सबैलाई सत्तामा साझेदारी गराउनको लागि संघीय राज्य प्रणाली अपनाउने गरिन्छ । सिङ्गो मुलुकमा एउटै मात्र जाति एउटै मात्र भाषीले हालीमुहाली गर्ने हो भने त्यहाँ गृहयुद्ध शुरू हुन्छ र देश टुक्रा-टुक्रा हुन्छ । देश टुक्रिनबाट बचाउनको लागि संघीय राज्य प्रणाली अपनाईन्छ । जस्तोः- भारतमा हेरौं, त्यहाँको केन्द्रमा गान्धीहरूको पकडको सरकार बने पनि कम्तिमा विहारमा यादवहरूले राज्य सरकार चलाएका छन्, कम्तिमा नागाल्याण्डमा नागा र सिक्किममा पवन चाम्लिङ, नर बहादुर भण्डारी र सन्चमान सुब्बाहरूले मुख्यमन्त्री हुने अवसर पाएका छन् । भारत जस्तो विशाल देशमा एउटा चाम्लिङकको छोरा, एउटा लिम्बूको छोरा मुख्यमन्त्री हुन सक्ने तर चाम्लिङहरू, लिम्बूहरू, तामाङहरूको उदगम थलो नेपालमा ति चाम्लिङहरू, लिम्बूहरू, तामाङहरू कहिल्यै सत्तामा नपुग्नुको प्रमूख कारण के हो - प्रमुख कारण हो नेपालको एकात्मक सत्ता । अब नेपाल संघीय ढाँचामा गईसकेपछि केन्द्रीय सत्तामा पुग्न समय लागे पनि कम्तिमा लिम्बुवान, खम्बुवान, तामाङशालिङ, नेवाः राज्य, तमुवान, मगरात आदिमा त्यहाँका आदिवासी सत्तामा पुग्न सक्छन् र नेपाल सबैको हुन्छ । 


नेपाली जनताहरूको मुक्ति मार्क्सवाद, लेलिनवाद, माओवाद, विपिवाद, महेन्द्रवाद आदि वादहरूबाट भन्दा पनि संघीयवादबाट मात्र सम्भव छ भनेर हामीले हिजो देखि भनिरहेका छौं । यी माथिका वादहरू भनेको त राजनैतिक/ वैचारिक विऊहरू मात्र हुन् । जमिन नै छैन भने विऊ कहाँ रोप्ने - पहिले जमिन/विऊको सुनिश्चित हुनु पर्‍यो । संघीयवादले भूमिको सुनिश्चितता गर्दछ । लिम्बुवान आफैंमा अरूण पूर्वको भूमिको नाऊ हो । हिजो अस्तिसम्म हामी नेपालीहरू विऊ खोज्ने वा रोज्ने क्रममा धेरै लागि पर्याै तर त्यो विऊ लिएर रोप्ने हाम्रो भूमि सुरक्षित जमिनहरू थियो । तर यहाँको लिम्बू, खम्बू, तामाङ, गुरूङ, मगर, धिमाल, नेवार आदि जातिहरूको भूमि खोई - जहिले दोस्रो दर्जाको नागरिक भएर बाँच्नु पर्ने - ति जातीहरूले आफ्नो भूमिको सुरक्षाको लागि उठ्नु पर्‍यो । तर, ति जातीका केहि अग्रजहरू आफूलाई मार्क्स, लेलिन, माओ नै ठान्छन् र वैचारिक विऊको पछि कुद्छन् तर आफ्नो जमीनको बारेमा सधै अनुत्तरित हुन्छन् । लिम्बुवान आन्दोलन अहिले सम्मको राजनीतिलाई चुनौती पनि हो । लिम्बुवान आन्दोलनले भन्छ- पहिले आफू अडिने जमीन सुरक्षित गरौं । संघीयवादले ऐतिहासिक जमीनहरूको सुरक्षाको बारेमा बोल्छ, ति जमीनहरूको सह-अस्तित्वको खाका कोर्छ । 


संघीय राज्य प्रणालीमा केन्द्रीय सरकार र राज्य सरकार हुन्छ । केन्द्रीय सरकारलाई संघीय सरकार भनिन्छ तर राज्य सरकारलाई विभिन्न देशमा विभिन्न नामहरूले चिनिन्छ । जस्तैः- अमेरिका, भारत, अस्ट्रेलिया र भेनेजुएलामा राज्य State भनिन्छ भने क्यानाडामा प्रान्त Province, जर्मनी र अष्ट्रियामा लैन्डर Lander, स्वीट्जरल्याण्डमा केन्टोन Canton र बेल्जियममा क्षेत्र Reigon भनिन्छ । 



संघीय मुलुकहरूमा सामान्यतया संघ र संघीय राज्यहरूको अलग-अलग संविधान हुने गर्छ । भन्नुको अर्थ, केन्द्रको भिन्नै संविधान र प्रान्तहरूको भिन्नै संविधान हुन्छ । संयुक्त राज्य अमेरिका, स्वीट्जरल्याण्ड, क्यानाडा, अष्ट्रिया, अस्टे्रलिया, रूस, दक्षिण अफ्रिकी आदि देशहरूमा केन्द्र र संघीय राज्यहरूको बेग्लाबेग्लै संविधान छन् । लिम्बुवानले पनि चाहेको यस्तै हो । केन्द्रको आफ्नै संविधान होस् र लिम्बुवानको आफ्नै संविधान होस् । तर भारत, पाकिस्तान, मलेसिया, स्पेन, बेल्जियममा केन्द्रको संविधानमा नै प्रान्तको संविधान पनि समावेस गरिएको हुन्छ । लिम्बुवानले चाहेको यस्तो होइन पहिलो जस्तै हो । 



कतिपय संघीय देशहरूमा केन्द्रले बढी हस्तक्षेप गर्छ । त्यस्तो मुलुकलाई अर्ध संघात्मक Quasi Federal देश भन्ने गरिन्छ । जस्तैः- भारत, पाकिस्तान, मलेशिया आदि देशहरू अर्ध संघात्मक देशहरू हुन् । भारतमा केन्द्रले राज्य सरकार भङ्ग गरेर सिधै राष्ट्रपति शासन लागु गर्न सक्छ । लिम्बुवानले खोजेको यस्तो अर्ध संघात्मक होइन । लिम्बुवानले खोजेको स्वीट्जरल्याण्ड जस्तो पूर्व संघात्मक हो । जहाँ, केन्द्रले लिम्बुवानको राज्य सरकार भङ्ग गर्न नसकोस् । 


संघीय देश भित्र स्वायत्त राज्यहरूलाई दिइने अधिकारलाई आधार मानेर हेर्दा दुइ प्रकारको संघीय हुन्छ । पहिलो, समान संघवाद Systematic Federal हो । समान संघवादमा संघीय देशभित्रका सबै राज्यहरूको अधिकार समान हुन्छ । तर, कतिपय देशहरूमा विशिष्ट इतिहास भएका राज्य वा भूमिहरूलाई समेटेर राख्नको लागि उक्त राज्य वा भू-क्षेत्रलाई विशिष्ट अधिकारहरू दिईएको हुन्छ । जस्तो-भारतमा जम्मु एण्ड काश्मीर, सिक्किम, नागाल्याण्ड आदिको स्तर अन्य राज्यहरूको भन्दा बढी छ । किनकि यी तीनवटा राज्यहरूको इतिहास भारतको अन्य राज्यहरूको इतिहास भन्दा फरक छ । जस्तै, क्यानाडामा पृथकतावादको भावना अत्यधिक भएको फ्रेन्चभाषी क्यूवेक प्रान्तको हैसियत अरू प्रान्तको भन्दा फरक छ । उक्त क्यूवेक प्रान्तको आफ्नै अन्तराष्ट्रिय सम्बन्ध मन्त्रालय छ । यसले २५ भन्दा बढी मुलुकहरूमा आफ्नो प्रतिनिधिहरू राखेको छ । यो क्यूवेक प्रान्तले फ्रान्ससँग कायम गरेको विशेष सम्बन्धलाई क्यानाडाको केन्द्रीय (संघीय) सरकारले समेत स्वीकारेको छ । पपुवा न्यू गिनीमा वगेन्चेल भन्ने प्रान्तलाई पूर्ण संघीय राज्य सरहको हैसियत र शासन संरचना दिइए तापनि बाँकी भाग भने एकात्मक संरचनाअर्न्तर्गत शासित छन् । यसरी एउटै संघीय देशभित्र पनि कुनै भू-भागलाई विशिस्ट अधिकार दिएर विखण्डन र विभाजन रोक्ने सिद्धान्तलाई असमान संघीयवाद Asymetric Federalism भनिन्छ । नेपाल भित्र पनि अरू क्षेत्रको र लिम्बुवानको इतिहास फरक छ । लिम्बुवानको इतिहास विशिष्ट छ, लिम्बुवानमा स्वायत्तताको लामो इतिहास छ, एकप्रकारले भन्ने हो भने नहारेको भूमि हो । वि.सं. १८३१ मा लिम्बुवान र गोर्खा बिच सन्धी भएर लिम्बुवान नेपालमा सहभागि भएको हो, त्यसैले नयाँ संघीय नेपालमा लिम्बुवानको ऐतिहासिक महत्वलाई सम्बोधन गर्ने गरि विशिष्ट अधिकार सहितको लिम्बुवान स्वायत्त राज्य हुनुपर्दछ । यसको अर्थ नेपालमा पनि असमान संघीयवाद लागु गर्नुपर्ने अवस्था छ । जो विश्वका धेरै संघीय मुलुकहरू लागु भएको छ । 



विश्वको विभिन्न देशहरूको राज्य संरचनाहरू हेर्दा अचम्म परिन्छ । किनभने कुनै पनि भू-भाग र त्यहाँका जनताहरूलाई खुशि बनाउन राज्यले अनेक राजनैतिक सहुलियतहरू दिएको हुन्छ । तर, हाम्रो नेपालमा यहाँका उत्पिडित जातीहरूलाई सहुलियत दिनुको सट्टा जरा उखालेर फ्याक्ने षडयन्त्र हुँदा पनि हामी थाहा पाउँदैनौं, वा थाहा पाएर पनि चुप बस्छौं वा हाम्रै जरा उखेल्नेहरूलाई साथ दिन्छौं । संघीय व्यवस्था त संघीय भइहाल्यो एकात्मक व्यवस्थामा पनि विश्वका धेरै देशहरूले निश्चित भू-भागलाई अनेकौं राजनैतिक सहुलियत दिएका छन् । जस्तैः- चीन एकात्मक राज्य भए पनि हङकङ र मकाउको लागि छुट्टै राजनीतिक व्यवस्था लागु छ । एक देश दुइ शासन व्यवस्था पनि गर्दा त हुदो रहेछ । बेलायत एकात्मक राज्य भए पनि यस अर्न्तर्गतको स्कटल्याण्ड, वेल्स र उत्तरी आयरल्याण्डका लागि छुट्टै कार्यपालिका र संसदको व्यवस्था छ र त्यहाँ स्थानीय पैसा (मुद्रा) पनि चल्छ । यो चाहि ०२१ साल अघि लिम्बुवान जस्तै रहेछ । ०२१ साल तिर सम्पूर्ण नेपाल एकात्मक राज्य भएता पनि लिम्बुवानमा चाहि स्वायत्तता थियो नि । त्यसैगरि फिनल्याण्डले अल्पसंख्यक जनजाति क्षेत्र हल्याण्डको लागि, डेनमार्कले ग्रीनल्याण्ड र फ्री आईल्याण्डको लागि छुट्टै प्रकारको राजनीतिक संरचना कोरेर समेटेको छ । 



हामी नेपालीहरूको मुक्तिको बाटो राजनैतिक वादहरू भन्दा पनि राज्यको पुनःसंरचना रहेछ भनेर हामीले धेरै ढिलोमात्र बुझयौं । त्यसैले २०६२ मंसिर २६/२७ गते नयाँ पार्टी जन्म दिदा हामीले यसको नाम संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र सम्वद्ध संघीय लिम्बुवान राज्य परिषद राख्यौं । हामीले संघीय लोकतन्त्र चाहेको र त्यस अर्न्तर्गत लिम्बुवान राज्य चाहेको हो भने अब बन्ने पार्टीीको नाम पनि त्यस्तै हुनुपर्छ अनिमात्र हामी लक्ष्यमा पुग्न सक्छौं भन्ने हो । मञ्च सम्वद्ध संघीय लिम्बुवान राज्य परिषद भन्नाले नामले नै प्रस्ट हुन्छ कि हामी नेपालमा संघीय व्यवस्था चाहान्छौं, उक्त संघीय नेपालमा लिम्बुवान राज्य चाहान्छौं र लिम्बुवान राज्य पाई सकेपछि लोकतान्त्रिक विधिद्वारा निर्वाचित भएर लिम्बुवान राज्य चलाउने परिषद निर्माण गर्न चाहान्छौं । निश्चय पनि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्वद्ध संघीय लिम्बुवान राज्य परिषदको स्थापना पछि नेपालमा संघीयता र लिम्बुवान स्वायत्तताको वहस चर्किएर गएको छ । 


संयुक्त राज्य अमेरिका, मेक्सिको, ब्राजिल, अर्जेन्टिना लगायत अमेरिकी महाद्विपका प्रायः सबै देशहरू र नाईजेरियामा राष्ट्रपतिय प्रणाली छ । क्यानाडा, भारत, अस्टे्रलिया, जर्मनी लगायतका देशहरूमा बेलायती मोडेलको संसदीय शासन प्रणाली छ । रूसमा राष्ट्रपति र प्रधानमन्त्री दुवैको कार्यकारी भूमिका भएको अर्थात एक प्रकारको अर्ध-राष्ट्रपतीय प्रणाली छ । दक्षिण अफ्रिकामा संसदीय शासनप्रणाली भए पनि प्रधानमन्त्रीको प्रावधान छैन, राष्ट्रपति नै कार्यकारी प्रमुख हुने व्यवस्था छ । स्वीट्जरल्याण्डमा सहमतिको शासनप्रणाली छ । त्यहाँ सात जनाको एउटा कार्यकारी परिषद छ, जसलाई मन्त्रीमण्डल पनि भन्न सकिन्छ। यसका प्रत्येक सदस्यले पालैपालो हरेक बर्षराष्ट्रप्रमुखका रूपमा राष्ट्रपतिको जिम्मेवारी वहन गर्दछन् तथापि यी अभ्यासहरूका आ-आफ्नै मौलिकता पनि हुन्छन् । 


अब संघीय नेपालको शासकिय ढाँचा कस्तो हुने - भनि गम्भीर बहस चलाउनु जरूरी छ । अमेरिकाको जस्तो राष्ट्रपतिय प्रणाली वा भारतको जस्तो संसदिय प्रधानमन्त्री प्रणाली वा रूसको जस्तो मिश्रति वा स्वीट्जरल्याण्डको जस्तो सहमतिय प्रणाली हुने सवाल गम्भीर छ । नेपालमा विविध जातजातिहरू भएकोले राष्ट्रपति पदलाई सेरेमोनियल बनाएर त्यसमा सबैलाई प्रतिनिधित्व गराउदै प्रधानमन्त्री पदलाई कार्यकारिणी अधिकार दिने भन्ने कुरामा जनमत बढ्दै गएको छ । त्यसमा पनि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र यो सम्वद्ध संघीय लिम्बुवान राज्य परिषदले राखेको राष्ट्रपति मण्डलको अवधारणाले राष्ट्रिय चर्चा पाएको छ । राष्ट्रपति मण्डलमा ५ सदस्यीय रहने जसमा क्षेत्री वाहुन-१, दलित -१, मधेशी-१, महिला-१ र आदिवासी जनजाति-१ रहने छन् । उनीहरूले बर्षौ पिच्छे राष्ट्रपतिको पद ग्रहण गर्नेछन् । त्यसो गर्दा यो देशको सबै समुदायले आफ्नो प्रतिनिधित्व भएको महसुस गर्नेछन् । अर्को , हामी शक्तिशाली प्रधानमन्त्री पद्दतिमा जादैछौं तर प्रधानमन्त्रीलाई संसदले चुन्ने कि सिधै जनताले चुन्ने भन्ने बारेमा गहिरिएर वहश गरि निचोडमा पुग्न जुरूरी छ । त्यसरी नै राज्य -प्रान्त) को मुख्यमन्त्री राज्य -प्रान्त)को संसदले चुन्ने कि सिधै त्यस राज्य -प्रान्त)को जनताले चुन्ने कुन पद्दति अपनाउने बारेमा पनि वहश हुनु जरूरी छ । 



संघीय देशमा न्यायलय (अदालत) को महतवपूर्ण भूमिका हुनेछ । तर, संघीय भारतमा न्यायलय एकात्मक ढाँचाको छ । तल्लो अदालतले गरेको निर्णयलााई भारतको सर्वोच्च अदालतले पुनराअवलोकन गर्न सक्छ । यसो हुँदा सम्पूर्ण देशभरि हरेक विषयमा त्यो सर्वोच्च अदालत नै सुपर हुनसक्छ, यो एकात्मक ढाँचाको भयो । स्वीट्जरल्याण्ड र अमेरिकामा अदालतहरू पनि स्वायत्त हुन्छन् । लिम्बुवानले स्वीट्जरल्याण्ड जस्तै स्वायत्त अदालत भएको न्याय प्रणाली खोजेको हो । लिम्बुवानमा भएका सबै समस्याहरूको बारेमा अन्तिम टुङ्गो लिम्बुवानको अदालतले नै लगाउन सकोस् । लिम्बुवानको अदालतले गरेको निर्णय काठमाडौंमा रहेको सर्वोच्च अदालतले बदर गर्न नसकोस् । सर्वोच्च अदालतलाई संघीय सर्वोच्च अदालत भनियोस् । संघीय सर्वोच्च अदालतले लिम्बुवान र अन्य राज्यहरू बिचको मुद्दाहरूलाई मात्र हेरोस् । 



संघीय (केन्द्रीय) र राज्य (प्रान्त) सरकार बिचको अधिकार बाँडफाड सबैभन्दा महत्वपूर्ण विषय हुनेछ । हामी रक्षा, परराष्ट्र र मुद्रा केन्द्रलाई बाँकी सम्पूर्ण अधिकार लिम्बुवान स्वायत्त राज्यलाई भनि रहेका छौं । तर काठमाण्डुमा रक्षा, परराष्ट्र, मुद्रा बाहेक न्यायलय, शिक्षा, जलस्रोत, बनजङ्गल, सडक आदि विषयहरू केन्द्रले नै चलाउने भनेर षडयन्त्र भईरहेको छ । फेरि पनि हाम्रो अरूण नदी, हाम्रो तमोर नदीको जलस्रोत उत्पादन सम्बन्धि सम्पर्ूण्ा अधिकार काठमाण्डुले लान खोज्दैछ, यस बारेमा सचेत हुनर्ुपर्छ । हामीले खोक्रो र नाम मात्रको लिम्बुवान मागेको होइन । हामीले मजवुत र अधिकार सम्पन्न लिम्बुवानको कुरा उर्ठाई रहेका छौं । हाम्रो प्राकृतिक स्रोत साधानहरूलाई बेचेर काठमाण्डुमा जुका जस्तै मोटाएर बस्ने एकात्मक पद्दति र चिन्तन अब तोडिनु पर्छ, लिम्बुवानको प्राकृतिक स्रोत साधनमा लिम्बुवानवासी कै अन्तिम निर्णय हुनुपर्छ । 


यो स्वायत्त राज्य (प्रान्त) हरू निर्माण हुने क्रममा विश्वका केही उदाहरणहरू लिन सकिन्छ । जस्तोः- छिमेकी देश भारत । भारत सन् १९४७ मा अंग्रेजको हातबाट स्वतन्त्र भयो र स्वतन्त्र भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरू भए । तर नेहरू भारतलाई भाषिक आधारमा होइन क्षेत्रीय आधारमा मात्र संघीय वनाउन चाहान्थे । नेहरूको यो विचारको विरूद्धमा भारतमा ठूलो-ठूलो हिंसात्मक आन्दोलन भयो र अन्तमा, भारतलाई भाषिक तथा क्षेत्रको आधारमा संघीयमा लान कर लाग्यो । भारतको दक्षिणी क्षेत्रका तमिलहरूले तमिलभाषीको प्रान्त बनाउनको लागि आन्दोलन चलाए । उनीहरूको विचारमा तलिम भाषा संस्कृतमा आधारित नभई ट्रमिडिएन परिवारको हो । हुनत, भारतीय कांग्रेस पार्टी बन्नु भन्दा पहिले दक्षिणमा तमिलभाषीहरूले जस्टिस पार्टी मार्फत आफ्नो आन्दोलन अघि बर्ढाई रहेका थिए । कांग्रेस पार्टीी प्रायजसो भारतीय व्राम्हणहरूको बर्चस्व थियो । तमिलहरू आफूलाई ब्राम्हण भन्दा फरक ठान्दथे । तमिलभाषीहरूको आन्दोलन धेरै अगाडि बढ्यो, भारतको राष्ट्रिय झण्डा च्यात्ने, जलाउने मात्र होइन पुरै संविधान जलाउने र ट्रमिडियनहरूको पृथक ट्रमिस्टानको माग सम्म पुग्यो । तमिलभाषी ट्रमिडिएनहरूको यो आन्दोलनलाई देखेर सन् १९५६ मा नेहरूहरू तमिलनाडु लगायत अन्य भाषिक राज्यहरू दिन बाध्य भए । तमिलहरूले ब्राम्हणहरूको पकडमा रहेको कांग्रेसको एकछत्र राजनीतिलाई समाप्त गर्न "ड्रमिड मुन्नेत्रा काजाधाम -डि.एम.के.)" पार्टी गीठन गरे र भूमिसुधार कार्यक्रम लागु गर्नका साथै जातीप्रथालाई समाप्त गरे । तमिल भाषालाई अरू दुइटा भाषाहरू (अंग्रेजी र हिन्दी) समान बनाईयो । यसरी डि.एम.के.ले धेरै लोकप्रियता हासिल गर्नुका साथै कांग्रेसलाई तमिलनाडुको राजनीतिबाट पुरै हात धुन बाध्य बनायो । 


संविधान सभाले संघीय संविधान बनाउने यो १७ महिनाको अवधिमा हामी लिम्बुवानवासीहरू अति सजग हुनुपर्छ । प्रत्येक लिम्बुवानवासीले दुइ भारी दाउरा तयारी अवस्थामा राख्नु पर्छ । नयाँ नेपालको संविधानमा लिम्बुवान स्वायत्त राज्य परेन भने पहिलो भारी दाउराले उक्त नयाँ संविधान तुरून्तै जलाउनु पर्छ र दोस्रो भारी दाउराले एकात्मक सत्ताको सबै शाखा प्रशाखाहरूलाई जलाएर खाक बनाउनु पर्छ । 

 अन्तमा, एउटै सन्देश छ- एकात्मकवादीहरू लिम्बुवानसँग जिस्किने दुस्प्रयास नगरून, सबै डढेर खरानी हुनेछन् । 

 - KUMAR LINGDEN "MIRAK"

future

सरकारी स्कुलमा पढेर कार बनाएका बागलुङका १८ वर्षीय भीम, जसले ईन्जिनियरिङ पढ्न पाएनन् (भिडियो)


बाग्लुङका भीम सुनार कक्षा ६ मा पढ्दै थिए । पहिलो पटक उनको गाउँमा बाटो खन्ने मेसिन आयो । बाग्लुङको जिल्लाको विकट गाउँमा त्यो मेसिन नयाँ थियो । भीमलाई अनौठौ लाग्यो । यो के मेसिन रहेछ जान्ने ईच्छा जाग्यो । बुझ्दा थाहा पाए गाउँमा बाटो बनाउन आएको मेसिनको नाम डोजर रहेछ । पहिलो पटक डोजर देखेपछि उनी घोरिन थाले । यो कसरी बन्यो होला भन्ने प्रश्नले उनलाई घोचिरह्यो ।
साथीहरुसँग दिनहुँ विद्यालय जान्थे । विद्यालयमामा पनि उनी डोजरकै सोचमा डुबिरहेका हुन्थे । साथीहरु फुटवल खेल्न जान्थे । उनी घरमै घोरिएर बस्थे । यसरी घरमै धुम्धुम्ती बसेको देख्दा उनलाई ‘यो त बौलाएछ कि क्या हो’ भन्नेहरु धेरै थिए । जसले जे भनेपनि उनलाई कुनै मतलब थिएन । ‘कसरी बन्यो ? कसले बनायो ? ’ पहिलोपटक डोजर देखेपछि उनले यही सोचिरहे ।
अन्त्यः उनको सोचले मूर्त रुप लियो । त्यसपछि उनले डोजर बनाए । डोजरपछि उनले हेलिकप्टर पनि बनाए । उनी यतिमा सिमित भएनन् । पानीजहाज र अन्य सानातिना खैलौनाहरुसमेत बनाए । उनले बोल्ने रोबोटसमेत बनाएर आफ्नो साथीहरुलाई चकित पनि पारे । यति धेरै यन्त्रहरु बनाइसक्दा उनी स्कुल पढ्दै थिए ।
माधव घिमिरेको कविता ‘सिर्जना शक्ति संसारमा कहिल्लै विफल हुदैन ।’ भन्ने भावलाई भीमले प्रमाणित गरेर देखाइदिए । उनी बाग्लुङको सामान्य परिवारमा जन्मिएका हुन् । उनको बुवाले फर्निचर व्यावसाय गरेर परिवार धानेका छन् ।
भीम आफ्नै गाउँको सरकारी विद्यालय देवकोटा निम्न माध्यमिकबाट कक्षा ८ सम्मको अध्ययन सके । सधैँभरी स्कुल नगएपनि गाली गर्ने कोही थिएनन् । पढाईमा अब्बल नभएकाले पनि उनी हप्तामा एक–दुइ पटकभन्दा बढी विद्यालय जाँदैनथे । ८ कक्षाभन्दा माथिको पढाई त्यहाँ थिएन । त्यसपछि उनी सिरिशे उच्च माविमा गए । त्यहाँ अहिले उनी कक्षा १२ मा शिक्षा संकायमा पढ्दैछन् ।
उनी साईन्सका विद्यार्थी हैनन् र कुनै प्राविधिक तालिम पनि लिएका छैनन् । सरकारी विद्यालयमा पढ्दै गरेका उनीसँग त्यससम्बन्धि कुनै पुस्तक पनि छैन । परिवारिक आर्थिक अवस्था कम्जोर भएकाले ईन्जिनियरिङ विषय पढ्न सकेनन् । तैपनि उनले एकपछि अर्को यन्त्रहरु बनाउदै गए ।
गाउँमा उनले बनाएको खैलौना हेलिकप्टर टावरको वरिपरि उड्थ्यो । डोजर ब्याट्री र पानीबाट चल्थयो । कपडा सिलाउने मेसिनबाट आफ्नै डिजाईनमा तरकारी काट्ने मेसिन बनाएका थिए । उनले बनाएका चित्रहरु देखेर विद्यालयका साथी तथा गाउँका सबै दंग पर्थे ।
विद्यालय पढ्दा बनाएका ससाना खैलौना देख्दा सबैले भीमलाई हौसला दिन्थे । त्यसपछि उनमा म जे पनि बनाउन सक्छु भन्ने आत्मविश्वास जाग्थ्यो । गाउँमै बसेर ठूलो मेसिन बनाउन सम्भव थिएन । सामान र खर्च जोहो गर्न गाह्रो थियो । ‘अब ससाना मात्र हैन ठूलो मेसिन बनाएरै छोड्छु ।’ यही लक्ष्यले उनलाई काम गर्न प्रेरणा दिएको थियो ।
भीम आफ्नै आइडियाको गाडी बनाउने लक्ष्य लिएर एकमहिना अघि मात्रै काठमाडौं आएका हुन् । काठमाडौं छिर्दा उनीसंग लक्ष्य बाहेक अरु केही थिएन । त्यसैले गाडी बनाउनका लागि धेरै ठाउँमा सहयोग मागे । तर, उनलाई धेरैले पागल भने । पागल बनेको कारणले नै गाडी बनाउन सकेको बताउछन् ।
उनले फागुनको पहिलो हप्ता ‘ओशियन’ नामक गाडी बनाएर सार्वजानिक गरे । ८० हजार लागतको गाडी बन्न एक महिना लागेको थियो । गाडी सार्वजानिक गरेपछि उनको चर्चा चुलियो । काठमाडौंबाट ओझेल परेका उनी काठमाडौंमा पनि चिनिए ।
उनले बनाएको ‘ओशियन’ गाडीमा फलाम, काठ र मोटरसाईकलको ईन्जिन जोडिएको छ । उनी त्यो गाडीलाई सोलारबाट चल्ने बनाउने योजनामा थिए । खर्चको कारण त्यो सम्भव भएन । ओशियन गाडी ब्याट्री र पेट्रोल दुबैबाट चल्छ । लागत कम भएपनि गाडीमा बसेर यात्रा गर्न मिल्छ ।
‘तीन लाख लागतमा अत्यन्तै राम्रो गाडी बनाउन सकिन्छ ।’ उनले भने– ‘मसंग लगानी गर्ने स्रोत भएको भए, मैले धेरै मेसिनहरु बनाइसक्थेँ । घमण्ड गरेको हैन, म नेपालीलाई उपयोगी हुने धेरै मेसिनहरु बनाउन सक्छु ।’
‘१८ वर्षको उमेरमै बिना तालिम, बिना अध्ययन यस्तो निमार्ण, कसरी ?’ यस्तो प्रश्न उनलाई धेरैले सोध्ने गर्छन । ‘म एकदम धेरै नै सोच्छु । जे बनाउन लागेको हो, त्यसको बारेमा धेरैदिन सोचेपछि स्केच बनाउछु ।’ उनले भने– ‘स्केच बनेपछि समान जम्मा गर्छु र बनाउन थाल्छु ।’
भीमले हेलिकोप्टर र रोबोट प्रत्यक्ष देख्न पाएका थिएनन् । टेलिभिजनमै हेरेको भरमा ती मेसिनहरु बनाए । स्केच र सोचाईमा धेरै डुब्दा उनलाई आफूले बनाउन चाहेको वस्तुको ज्ञान प्राप्त हुने उनी बताउछन् ।
उनले आफूलाई आवश्यक हुने सामानहरु आफैँ संकलन गर्दछन् । अरुले काम नलाग्ने भनेर छोडेका सामान प्रयोग गरेर नयाँ मेसिन बनाउँछन् । ‘मैले बनाउने सामानहरु आफैँले खोज्नुपर्छ । फलामहरु खोजेर के बनाउने हो त्यस्तो आकारमा आफैँले ढाल्नुपर्छ ।’ उनले भने– ‘काठ, फलाम, ब्याट्री लगायत अन्य घरायसी सामानहरुलाई उपयोग गरेर अहिलेसम्म बनाउदै आएको छु ।’
भीमलाई ईन्जिनियरिंग पढ्ने र प्राविधिक ज्ञान सिक्ने धेरै ठूलो धोको छ । उनको बुवाले फर्निचर व्यावसायबाट धेरै थोर सहयोग गरेको कारण यो स्थानसम्म आउन सफल भएको बताउछन् । ‘धेरै पढ्ने, सिक्ने र मेसिनहरु बनाउने लक्ष्य छ । आफ्नो आयस्रोत राम्रो छैन ।’ उनले भने –‘कसले सहयोग गर्ला र मेरो सपना पूरा होला ।’
भीम आफ्नो क्षमताको लागि राज्यले लगानी गर्नुपर्ने बताउछन् । लगानी गर्न नसके बाध्य भएर विदेसिनु बाहेक अर्काे विकल्प नहुने उनको तर्क छ । ‘मेसिन बनाउने प्रतिभाहरु जन्माउन नसके पनि, जन्मेकाहरुलाई राज्यले संरक्षण गर्नुपर्छ । उनले भने– ‘म जे बनाउन चाहन्छु, त्यो बनाएर छाड्छु । त्यसैले हत्तपत्त हार मानेर विदेश चाहीँ गई हाल्दिन ।’
भीम आत्मविश्वासी छन् । धेरै प्रकारका मेसिन बनाउन सक्ने खुबी उनमा छ । जस्तोसुकै अवस्था आएपनि यो कर्मबाट टाडिन चाहदैनन् उनी । आफ्नो सीप आफ्नै मुलुकमा प्रयोग गर्ने उनको ईच्छा छ ।
भीमको योजना कृषि क्षेत्रलाई सहयोग हुने खालका मेसिनहरु बनाउने छ । आगामी दिनमा उनी गहुँ, कोदो, धान, भटमासलाई सरल व्यबस्थापन गर्ने मेसिन बनाउने सोचमा छन् । त्यसको लागि उनलाई सहयोगको जरुरत छ ।
-सागर बुढाथोकी
नेपाल आज अनलाइनबाट ।
२२ फागुन २०७३ मा प्रकाशित

Saturday 4 March 2017

ललितपुरका एक विरामीमा देखियाे स्वाइन फ्लु


ललितपुरका एक विरामीमा देखियाे स्वाइन फ्लु
कल्पना पौडेल        

काठमाडौँ–  गर्मीयामको सुरुआतसँगै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा ज्वरोको उपचार गर्न आएका एक व्यक्तिमा स्वाइन फ्लु देखिएको छ।

अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनले ललितपुरका एक पुरुषमा सो रोगको भाइरस पुष्टि भएको जानकारी दिए।  नेपालमा गत वर्षको बर्खायाममा स्वाइन फ्लुको भाइरस देखिए पनि यस पटक निकै अगाडि सो रोगको भाइरस देखिएको डा पुनले बताए  उनले भने, “दुई हप्ताअघि रुघाखोकी लामो समयसम्म ज्वरो आएर उपचार गर्न आएका ती बिरामीलाई स्वाइनफ्लुको शङ्का लागेर जाँच गर्दा स्वाइन फ्लुको भाइरस भएको पुष्टि भएको हो।

खोकी लागिरहने, घाँटी खस्खसाउने, १० दिनभन्दा बढी समयसम्म कडा ज्वरो आउने, बालबालिकामा ज्वरोसँगै बान्ता हुने पखाला लाग्ने भएमा स्वाइन फ्लु भएको हुन सक्ने भएकाले यस्तो लक्षण देखिनेबित्तिकै जाँच गराउनुपर्ने चिकित्सकको सुझाव छ।

स्वाइन फ्लु सरुवा रोग एकार्कामा छिटो सर्ने भएकाले सार्वजनिक ठाउँमा जाँदा मास्क लगाउने, खोक्दा वा हाच्छ्युँ गर्दा रुमालले मुख छोप्ने, साबुन पानीले हातमुख धुने, झोलिलो खानेकुरा खाने स्वाइन फ्लु शङ्का लागेमा बेलैमा परीक्षण गरी सतर्कता अपनाउन सकिने डा पुनले बताए।

पुनले पछिल्लो अध्ययनले बढी प्रदूषण भएका देश सहरमा यसको भाइरस बढी देखिएको बताउँदै काठमाडौँमा बढ्दै गएको वायु प्रदूषणले पनि सो रोगको जोखिम बढाउन सक्ने भएकाले विशेष सतर्कता अपनाउन आग्रह गरे।  रासस 

Wednesday 1 March 2017

यी हुन् आफ्नो तलब समाजसेवामै खर्चिने प्रहरी जवान

- सीताराम चौधरी

चन्द्रौटा, १८ फागुन । समाजमा अचम्मका मानिस पनि हुँदा रहेछन् । कोही धनकै लागि मरिहत्ते गर्छन् । धनको लागि जे पनि गर्न तयार हुन्छन् । तर कोही भने आफ्नो सर्वस्व समाजसेवामा नै लगाउने गरेको पनि भेटिन्छन् । कपिलवस्तुमा पनि अचम्मका एक प्रहरी जवान छन् । उनी हुन् –राष्ट्रसेवक सुरक्षाकर्मी एवं समाजसेवी डा. दीपक थापा ।
इलाका प्रहरी कार्यालय सुन्दरीडाँडा कपिलवस्तुमा कार्यरत प्रहरी जवान थापा उमेरले भर्खर तीन दशमा पाइला टेकेका छन् । अहिलेसम्म उनी अविवाहित छन् । बिहे नै नगरी जीवनभर सन्त बस्ने पनि उनले प्रण गरेका छन् । नेपाल प्रहरीमा जागिरे भएको पनि १२ वर्षमा टेकेको उनले बताए । तर १२ वर्षको तलबबाट १२ सय रुपैयाँ पनि घरमा नदिएको उनी बताउँछन् ।
उनले समाज सेवामा खर्चिएको रकमले पनि घरमा एक पैसा नदिने गरेको पुष्टि गर्छ । उनी जहाँ कार्यरत हुन्छन्, आफूलाई त्यहीँ नै समाजसेवामा समर्पित समेत गरेका हुन्छन् । जनताले तिरेको कर कुनै पनि हिसाबबाट जनतालाई नै फिर्ता गर्ने सोँचका साथ उनी जागिर सँगसँगै समाजसेवामा लाग्ने गर्छन् । सादा जीवन उच्च विचार, मस्तिष्कमा समझदारी, हृदयमा इमान्दारी भएर काम गरे सफल भइन्छ भन्ने उच्च विचारले समाजसेवामा लागेको थापा बताउँछन् । आफूले पाएको तलब खाइपाइबाट बचेको सामाजिक कार्यमा लगाउने महान लक्ष्य बोकेर उनी अगाडि बढेका छन् । विशेष गरी शिक्षा, स्वास्थ्य, गरीब असहाय, बृद्धवृद्धा, धार्मिकक्षेत्र, पर्यटन, विकास, कला र खेलकूद क्षेत्रमा आफ्नो तलब लगाउँदै आएका छन् ।
२०४२ साल मंसिर ७ गते बुटवल उपमहानगरपालिका–१६, पदमपुरस्थित पिता लीलबहादुर थापा र माता गणेशकुमारी थापाको कोखबाट जन्मिएका उनी बाल्यकालदेखि नै आध्यात्मिक रहेको बताउँछन् । भारतको हरिद्वारमा बालापनदेखि आध्यात्मिक ज्ञान हासिल गरेको उनी बताउँछन् । प्राकृतिक योग शिक्षाशास्त्रमा हालै उनी पीएचडी सम्मको अध्ययन पूरा गरेका छन् । हाल उनी प्रहरी जवान भएपनि डाक्टरको उपाधी पाएका छन् । जागिरको सिलसिलामा पौने दुई वर्षकै अन्तरालमा उनी जिल्लाको विभिन्न क्षेत्रमा आफ्नो तलबबाट लाखौं रकम सहयोग गरिसकेका छन् र सहयोग गर्दै आएका पनि छन् ।
थापा गुल्मीबाट सरुवा भई २०७२ साउन १ गतेदेखि कपिलवस्तुको सुन्दरीडाँडास्थित इलाका प्रहरी कार्यालयमा ड्यूटी खटिए । महिना दिनपछि भदौमा जिल्लाको बनियाभारमा आयोजित जिल्लास्तरीय नकाउट फूटबल प्रतियोगितामा उनी प्रमुख प्रायोजक बने । उनले साउन महिनाको तलबबाट १५ हजार रुपैयाँ खेलकूदमा सहयोग गरे । सोही वर्षको माघेसंक्रान्तिको अवसरमा विजगौरीमा आयोजित फुटवल प्रतियोगितामा समेत २० हजार नगद सहयोग गरी राष्ट्रसेवक थापा मुख्य प्रायोजक भएका थिए । दोस्रो चन्द्रौटा महोत्सवमा उनले डान्स आइडलमा मुख्य प्रायोजक भई झण्डै एक लाख खर्चेका थिए । सडक खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रममा ३५ हजार सहयोग गरी सहप्रायोजक भएको उनी बताउँछन् ।
चन्द्रौटामा आयोजित जिल्ला स्तरीय तीजगीत प्रतियोगितामा प्रथम द्वितीय र तृतीयका लागि मुख्य प्रायोजकको रुपमा २० हजार सौजन्य गरे । अनाथ बालबालिकाका लागि चौवन्नपुरमा भएको दशैं विशेष सांस्कृतिक कार्यक्रममा ५० हजार, २०७३ को माघी खिचडी महोत्सवमा १ लाख सौजन्य गरी मुख्य प्रायोजक भएका थिए । यतिमात्र नभई उनले सुन्दरीडाँडामा मन्दिर निर्माणमा ११ हजार १सय ११ रुपैयाँ दान गरेका थिए । सोही बराबर रकम उनले रमवादहमा मन्दिर निर्माण र शिवगढी मन्दिरमा पनि सहयोग गरेका थिए । यस्तै बालापुरमा शिवजीको मन्दिर निर्माणमा २० हजार रुपैयाँ र बालापुरमै दुर्गा मन्दिर निर्माणका लागि १२ हजार सहयोग गरेको उनी बताउँछन् ।
राष्ट्रसेवक कर्मचारी भएर पनि आफूले महिनाभरि मिहिनेत गरी पाएको तलबबाट खर्च कटाएर बचेको सम्पूर्ण रकम समाजसेवामा लगाउने गरेका छन् । उनले त्रिपालनगरमा प्रतिक्षालय निर्माणमा ५ हजार, नेपाल आदर्श बहुमुखी क्याम्पसमा डिग्री संचालनका लागि आयोजित महायज्ञमा १० हजार रुपैयाँ, शिवगढीमा रहेको क्लब एवं संघसंस्थालाई २५ हजार सहयोग गरेका छन् । सरस्वती निमावि शिवपुरलाई ३२ हजार रकम बराबरको ८ ओटा ह््वाइट बोर्ड सौजन्य गरेका छन् । बालबालिकाको अध्ययन अध्यापनमा सहयोग पु-याउन विभिन्न विद्यालयमा झण्डै २५ हजार बराबरको १० ओटा पंखा सहयोग गरेको बताएका छन् । त्यतिमात्र नभई उनले बाटोघाटो, खानेपानी, विजुलीबत्ती लगायतमा समेत सहयोग गरेका छन् । दुःखी, गरीब, विपन्न, असहाय, अपांगता भएका व्यक्तिहरुको दुःखलाई उनी देख्न सहँदैनन् । त्यस्ता मानिस देखेभने उनको मनमा दया जागिहाल्छ र आफूले सकेको आर्थिक सहयोग गर्दै आएका छन् ।
त्यतिमात्र होइन उनी गुल्मी जिल्ला प्रहरी कार्यालयमा रहँदा समेत विभिन्न विद्यालयमा अक्षयकोष, धार्मिक एवं पर्यटन प्रवद्र्धन, खेलकूद, स्वास्थ्य, शिक्षा तथा विपन्न, दुःखी गरीबको औषधिउपचार, एम्बुलेन्स खरीद लगायतमा आफ्नो तलबबाट दशौं लाख रुपैयाँ सहयोग गरेका छन् । त्यसका अलावा आर्थिक अभावकका कारण उपचार पाउन नसकेका र भोका नाङ्गाहरुलाई परेको आर्थिक सहयोगका विवरण त लेखी साध्य छैन । गत बैशाख १२ गतेको भूकम्पबाट पीडित बनेका देशभरका नेपालीहरुलाई सहयाग गर्न प्रहरी जवान थापाले प्रधानमन्त्री राहत कोषमा डेढ लाख रुपैयाँ पठाएका थिए । त्यस्तै काठमाडौंमा रहेको तीन वटा वृद्धाश्रमका वृद्धवृद्धाहरुलाई प्रहरी जवान थापाले तीन लाख सहयोग गरे ।
“१२ वर्ष जागिर भयो, पाएको तलबबाट आफूले साधारण सिभिल ड्रेस, बुट पोलिस लगायतको नित्यकर्ममा खर्च गर्छु, बचेको सब सामाजिक क्षेत्रमा खर्चेको छु” –थापाले भने । थापाका अनुसार बाबाले २० वर्षसम्म भारतमा बैंकको जागिर गरे । अहिले त्यसको पेन्सन आउँछ । पाँच तले पक्की घर छ । तीनवटा तलामा रहेका कोठाहरु भाडामा दिएका छन् । जमिन पनि अरुलाई गर्न दिएको उनी बताउँछन् । बुवाको पेन्सन, घरभाडा र खेतीपातीबाट आएको अन्न सजिलै घर खर्च चलेको छ । –थापा भन्छन् । “म घरको एक मात्र सन्तान हुँ । बाल ब्रम्हचारी भएकाले मेरो भोलिको सन्ततिका बारेमा सोच्ने कुरा पनि भएन ।” –उनले भने ।
२०६१ साल पुस ५ गते बुटवल तालिम केन्द्रबाट नेपाल प्रहरीमा प्रवेश गरेका उनी तालिम सकेर लुम्बिनी अञ्चल अस्पताल खटिए । लगत्तै त्यसै तालिम केन्द्रमा आए । त्यसपछि जिल्ला प्रहरी कार्यालय नवलपरासीमा ५ वर्षसम्म बसे । त्यहाँ छँदा जिल्ला अस्पताल खटिए । त्यस अस्पतालले स्वास्थ्य विभागबाट प्रहरी जवान थापालाई महापुरुष को उपाधीको प्रमाण पत्र सहित सम्मान गरेको थियो । भने जिल्ला प्रहरी कार्यालय गुल्मीले पनि त्यहाँ छँदा उत्कृष्ट कार्य गरे बापत उनलाई पुरस्कृत गरेको थियो ।
माछा, मासु, मदिरा र सूर्तिजन्य पदार्थ केही खाँदैनन् उनी । सामान्य पहिरनमा हिँड्ने, नियमित मन्दिरमा पूजा गर्ने र रातो टीका लगाउने गर्छन् उनले । बढी मात्रामा उनी रक्षक, कार्यालय व्यवस्थापनको काम र स्वास्थ्य क्षेत्रको ड्यूटीमा अनुभवी छन् । उनी प्रहरीभित्रको विकृति विसंगति अन्त्य गर्न सकिन्छ कि भनेर प्रहरी सेवामा प्रवेश गरेको बताउँछन् ।
भ्रष्टचार त प्रहरीमा मात्र होइन जताततै छ । त्यसको अन्त्य गर्न त न सकुँला तर प्रहरी जहाँ पुग्यो त्यहीं श्रीमती बनाउने विकृतिका विरुद्ध जनचेतना छर्ने प्रयासमा जुटेको उनी बताउँछन् । जो रक्षक उही भक्षक भन्ने भनाईलाई चिर्नका लागि आफू प्रहरीमा जागिर खाएको उनको भनाई छ । उनले जबसम्म प्रहरीमा रहन्छु, तबसम्म पाएको तलब समाजसेवामै लगाउँछु भनेका छन् । जनताको करबाट पाएको तलब जनतालाई नै फर्काउने म नै एक मात्र प्रहरी हुँ भनेर विश्वलाई चिनाउनु छ मैले । थापा ले भने – “जन्मेर यो धर्तीमा आईसकेपछि आफू मात्र होइन, सबजना मिलेर बाँडेर बाँचौं भन्ने भावनाको विकास हुन सके न देशमा भ्रष्टचार हुन्छ न कुनै कुरामा लडाईं झगडा नै ।” मैले पाएको तलब घरमा नलगेर समाजसेवामा लगाएर पनि भएकै छ भने म जस्तै जागिरेहरुले त्यही तलबले जति पुग्छ त्यतिले घर चलाउन सके भने किन लोभ लालच र भ्रष्टचार गर्नु पर्दथ्यो ? उनले यस्तै प्रति प्रश्न गरे ।
स्कूले जीवनदेखि अहिले प्रहरीको १२ वर्ष अवधिसम्म तपाईलाई कुनै युवतीले प्रेम प्रस्ताव राखेका छैनन् भन्ने प्रश्नमा उनले आफ्नो मन सकारात्मक भएकोले अहिलेसम्म कसैले प्रस्ताव नगरेको बताए । बाबुआमाका एक मात्र सन्तान रहेका उनी सन्त बनेर गृहस्थी जीवन नजिएपछि वंशज नै सकिने होला नि भन्ने जिज्ञासामा उनले आफूलाई त्यसको चिन्ता नभएको बताए । “बाबुआमालाई पहिला वंशजको चिन्ता थियो तर पछि समाजसेवामा मैले गरेको काम र मेरो शुद्ध व्यवहार देखेर उनीहरु पनि सन्तुष्ट छन् र घरखर्चबाट बचेको पैसाबाट उनीहरुले पनि मैले जस्तै समाजसेवा गर्छन् ।” थापाले भने ।
गुल्मीबाट विदाई हुँदा जनसमुदायबाटै भव्य औपचारिक कार्यक्रमका बीच बिदाई भएका थापा जस्ता प्रहरी नेपालमा मात्र होइन विश्वमै भेटिन गाह्रो छ । अरुले आफ्नो र परिवारका लागि जागिर खान्छन् तर प्रहरी जवान थापा अरुको सेवाका लागि प्रहरीको जागिर खाइरहेका छन् । उनको अनुशरण अरुले गर्न सके यो देशमा भ्रष्टचार हुने नै थिएन । उनलाई नजिकबाट चिन्ने सबैले संसारमै अनौठो स्वभाव र उदाहरणीय समाजसेवी भएको बताउने गरेका छन् ।

बेलायतमा आजबाट सवारी चालकलाई कडा नियम गाडी हाँकेको बेला फोनमा कुरा गरिरहेको भेटिए लाइसेन्स नै रद्द

http://assets-cdn.ekantipur.com/images/third-party/miscellaneous/UK-driver-01032017071908-1000x0.jpgफाल्गुन १८, २०७३- इंग्ल्याण्ड, स्कटल्याण्ड वेल्समा सवारी चालकका लागि मार्च, २०१७ देखि नयाँ कडा नियम लागू भएको नयाँ नियमअनुसार गाडी हाँकेको बेला फोनमा कुरा गरिरहेको भेटिए लाइसेन्स नै रद्द हुन सक्नेछ
ड्राइभिङ टेष्ट पास गरेको दुई वर्षभन्दा कम समय भएकालाई मोवाइल फोन प्रयोग गरिरहेको अवस्थामा समातिए लाइसेन्स रद्द हुनेछ अन्य चालकहरुलाई मोटर हाँकेको बेला फोनमा बोलेको भेटिए दुईसय पाउण्ड जरिवाना दोब्बर पोइन्ट आउने बीबीसीले जनाएको

नयाँ ड्राइभरले वा बढि पोइन्ट पाए उसले पुन: प्राक्टिकल थ्योरी जाँच दुवै दिनु पर्नेछ तीन वर्षमा १२ पोइन्ट पाए ड्राइभरलाई मोटर
हाँक्न प्रतिवन्ध समेत लगाइने नयाँ नियममा

ट्राफिक बत्तिमा रोकिएको बेला सामाजिक सञ्जाल वा टेक्स्ट म्यासेज हेर्न पनि नमिल्ने नियममा ब्लु टुथ जोडेर फोनबाट गीत संगीत बजाउन सकिने भएपनि फोन हयाण्डस फ्रिमा हुनुपर्नेछ
सन् २०१५ मा फोन प्रयोग गरेकै कारण २२ जनाको मृत्यु ९९ जना गम्भीर घाइते भएका थिए प्रहरीले सवारी हाँकेको बेला फोनमा कुरा नगर्न सचेत गराउँदै त्यसलाई नियन्त्रण गर्न साताव्यापी कारवाही शुरु गरेको
यातायात विभागले गत २३ देखि २९ जनवरीसम्म करिब ३६ हजार चालकलाई जरिवाना तिराएको थियो यातायात मन्त्री क्रिस ग्रेलिङले फोन प्रयोग गर्दा आफ्नो अरु निर्दोषको समेत ज्यान जोखिममा पर्ने जनाउँदै दोब्बर जरिवानाले चालकहरुलाई त्यस्तो नगर्न प्रोत्साहित गर्ने विश्वास व्यक्त गरे
प्रकाशित: फाल्गुन १८, २०७३