Sunday 23 April 2017

चुनावमा जाने सहमति भएको छैन : मधेसी नेता

कुमार लुइँटेल आइतवार, बैशाख १०, २०७४





विराटनगर : मधेसी मोर्चा सम्बद्ध नेताले चुनावमा जान सरकारसँग कुनै सम्झौता नभएको स्पष्ट गरेका छन्।
मोर्चा र संघीय गठबन्धनले आइतबार विराटनगरमा आयोजना गरेको विरोध सभामा सहभागी केन्द्रीय नेताले सरकारसँग कुनै सहमति नभएको स्पष्ट गर्दै संविधान संशोधन नभए चुनावमा नजाने बताउनुभएको हो।
संघीय समाजवादी फोरमका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले मिडियाले सहमति भयो भनेर आंतक मच्चाएको आरोप लगाउँदै भन्नुभयो, ‘हाम्रा साथीले प्रधानमन्त्रीलाई यो संविधान संशोधन गर्नुहोस्। मधेसी, आदिवासी, दिलत, थारु, सीमान्तकृत, मधेशी समुदायलगायतका मुद्दा सम्बोधन गर्नुहोस भनेको हो। सहमति गरेको होइन।’ यादवले ‘विकृतिले भरिएको’ संविधान संशोधन गर्नुहोस भनेको तर त्यो नहुञ्जेल चुनावको कुरै नहुने बताउनु भयो।
विगतमा भएको जनयुद्ध, जनआन्दोलन, मधेस विद्रोह र जनजातिका आन्दोलनको भावनलाई समेट्न नसकेको संविधानमा संघीयता, गणतन्त्र, राष्ट्रिय पहिचानको मान्यता, विभेदको अन्त्य, समानुपातिक समावेशीता, समाजिक न्याय र पहिचान सहितको संघीय राज्यको निर्माण गरी गल्ती सच्याउन सुझाव दिएको तर सम्झौता नगरेको यादवले बताउनु भयो।
‘संविधान संशोधन र हामीले राखेका मागको सम्बोधन नहुञ्जेल चुनावमा सहभागी हुँदैनौं,’यादवले भन्नुभयो, ‘चुनाव यो मुलुकमा हुँदैन, हामी सहभागी हुँदैनौं।’ चुनावमा हामफाल्ने लोभीपापीको आफूहरुलाई चिन्ता नभएको यावदले बताउनु भयो। राज्यले सहमतिको अफवाह फैलाएको आरोप लगाउनु भयो।
लिम्बुवानी नेता कुमार लिङ्देनले मधेशका मधेशी र पहाडका जनजातिलाई राज्यले चरम विभेदको सिकार बनाएको बताउँदै मधेशी र जनजातिको संयुक्त आन्दोलनले मात्र वास्तविक संघीयता तथा गणतन्त्र संस्थागत हुने बताउनु भयो।
नयाँ पार्टी पुरानै झन्डा
विराटनगरमा आइतबार आयोजना भएको विरोध सभामा मधेशी मोर्चा सम्बद्ध एकीकृत भएका दलका कार्यकर्ताहरु पुरानै झन्डा लिएर कार्यक्रममा सहभागी भएका थिए।
रंगेलीबाट आएका सद्भावना पार्टी सम्बद्ध धेरै कार्यकर्ताले तीर चुनाव चिन्ह भएको झन्डा बोकेका थिए। सहभागी कार्यकर्ताले आफूहरुलाई पार्टी एकीकरणको जानकारी मिडियाबाट भएपनि नयाँ झन्डा परिवर्तन गर्नेलगायत विषयमा परिपत्र नभएको बताए। विरोध सभामा महिला उपस्थिति पनि उल्लेख्य थियो।

No comments:

Post a Comment