Sunday 23 April 2017

परिमार्जनसहितको संशोधन प्रस्ताव सरकारले भोलि संसद्‍मा दर्ता गर्ने

गोविन्द परियार आइतवार, बैशाख १०, २०७४ 





काठमाडौंः काठमाडौंः सरकारले परिमार्जनसहितको संविधान संशोधन प्रस्ताव भोलि संसदमा दर्ता गर्ने भएको छ।
सिंहदरबारमा आइतबार बसेको मन्त्रिपरिषदको बैठकले मधेसवादी दलहरुसँग भएको सहमति अनुसार परिमार्जनसहितको संविधान संशोधन प्रस्ताव भोलि सोमबार संसदमा दर्ता गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो।
बैठकले पहिलो चरण वैशाख ३१ मा प्रदेश नम्बर ३, ४ र ६ मा स्थानीय तहको निर्वाचन गराउने र १,२, ५ र ७ नम्बर प्रदेशमा जेठ ३१ मा चुनाव गर्ने निर्णय गरेको मन्त्री कार्कीले बताउनु भयो। उहाँले निर्वाचनको कार्यतालिका सार्न सोही अनुरुपको व्यवस्था गर्न पनि निर्वाचन आयोगलाई लिखित आग्रह गर्ने निर्णय गरेको बताउनुभयो। उहाँका अनुसार उम्मेदवारको मनोनयन पत्र दर्ताका लागि तोकिएको १६ गतेको समय २० गतेका लागि सार्न पनि निर्वाचन आयोगलाई अनुरोध गरिनेछ।
यस्तै संविधान संशोधन प्रस्ताव पारित भएपछि सीमांकन आयोग गठन गर्ने निर्णय मन्त्रिपरिषदको बैठकले गरेको छ। बैठकले सीमांकन आयोगको नाम परिवर्तन गरेर समावेशी, समानुपातिक सीमांकन आयोग राख्ने पनि निर्णय गरेको कार्कीले बताउनुभयो।
बैैठकले परिमार्जन गरिएको संविधान संशोधन प्रस्तावमा प्रदेशको सीमांकनको हेरफेर सम्बन्धित प्रदेशको परामर्शमा मात्रै गर्न सकिने व्यवस्था गरिएको छ। यस्तै भाषा सम्बन्धि धाराको उपधारा ३ लाई उपधारा ४ मा सार्ने र उपधारा ३ लाई उपधारा ४ मा सार्ने निर्णय पनि मन्त्रिपरिषदले पास गरेको संशोधन प्रस्तावमा उल्लेख छ।
बैठकले सरकारले दर्ता गर्ने परिमार्जनसहितको संशोधन प्रस्तावका पक्षमा मतदान गर्न प्रमुख प्रतिपक्षी दल एमालेसहितका दलहरुलाई आग्रह गरेको छ। मन्त्री कार्कीका अनुसार सरकारले स्थानीय तहको संख्या बढाउन यसअघि गठन गरिएको उपप्रधान तथा स्थानीय विकासमन्त्री कमल थापाको संयोजकत्वमा गठित समितिको कार्यविधि बढाइएको छ। उक्त समितिमा मधेसवादी लगायत अन्य राजनीतिक दलका प्रतिनिधिहरुलाई पनि राखिने छ।

No comments:

Post a Comment