Thursday 4 May 2017

” आदिवासी सौन्दर्य ” (कविता) – रोशन यक्सो



Source By: http://hatteri.com
Friday, May 5, 2017
Under Literature, Poem


कवि – रोशन यक्सो



ओ इक्सा !
नलगाऊ बजारिया पेन्सिल हिल
आफ्नो उचाइ बढाउन ।
नठान आफुलाई पुड्की
यो पुड्कोपन नै तिम्रो उचाइ हो ।
थाहा छैन तिमीलाई –
गुराँस पनि त पुड्कै हुन्छ !
तर
उसको उचाइँले के नै फरक पारेको छ र ?
गुराँसको सौन्दर्यमा !
आफु सँगै सुन्दर पारेकै छ सारा पाखा पखेराहरु ।

सुम्निमा हाओ सुम्निमा !
नखोज गाजल र लिप लाईनर हरु ।
थाहा छैन ?
तिम्रै सुन्दरता देखेर
कैलाश पर्वत छोडेर
किराती रुप धारण गरेर
महादेव यस धर्तीमा आएको !
तिम्रै सुरिलो साकेला धुन सुनेर त हो
चराहरु चिर्बिराउन थालेको !

ओ ज्ञानिसरा !
सुन्छु खुब पछी लाग्दै छौ रे प्लास्टिक सर्जरिको ।
नाक र स्तनको सर्जरी गर्ने
भुत सवार भएको छ रे आजकल !
सम्झ त तिम्रै पुस्ट छाती देखेर होईन
माछापुच्छ्रे र अन्नपुर्ण त्यसरि ठिङ्ग उभिन सिकेको ?

ओ पेमा !
ननाच तिमी गङ्नम स्टाइलमा ।
सुहाउछ तिमीलाई तिम्रै स्याब्रु !
चुल्ठोमा गुरास सिउरिएर
चौरिको पछी वन वन नाचेको देखेर त हो
डाफे र मुनालले नाच्न सिकेको ।
तिमीले हासेको देखेर त हो
हिमालले हास्न सिकेको !

ओ डोल्मा !
नेप्टि भन्दा किन रिसाउछौ हो बित्थामा ?
तिम्रो नेप्टो नाकले त होतिमीलाई यती सुहाएको ।
ओ मेरी मैच्याङ !
कुनै म्हेन्दो भन्दा कम छैन तिम्रो सौन्दर्य !
कुनै ‘म्हेन्दो’भन्दा कम छैन आदिबासी सौन्दर्य !!

– रोशन यक्सो

No comments:

Post a Comment