Wednesday 10 May 2017

चुनाव छाडेर छुमचौरवासी यार्सा टिप्न लागे पाटनतिर

'भोट हालेर के हामीलाई वर्षभरी खान पुग्ने पैसा दिन्छन् र ?'
- एलपी देवकोटा, छुमचौर (जुम्ला)


यार्सा टिप्न हिँडेका युवाहरु ।तस्बिर : एलपी देवकोटा






वैशाख २७, २०७४- स्थानीय निर्वाचनको समय नजिकिँदै गर्दा जुम्ला पातारासी गाउँपालिका ३, छुमचौरका युवाहरु भने बहुमूल्य जडीबुटी यार्सागुम्बा टिप्नको लागि पाटनतिर लागेका छन् । यार्सागुम्बा टिप्ने सिजन सुरु भएकोले युवाहरु स्थानीय तहको निर्वाचनमा मतदान नगरिकन यार्सा टिप्नका लागि पाटनतिर लागेका हुन् ।

दुई दशकपछि हुन लागेको स्थानीय तहको निर्वाचनका लागि जिल्लाभरीका अधिकांश युवाहरु प्रचार प्रसारका साथै नेतृत्वका लागि खटिएका छन् । तर, छुमचौरका युवाहरु भने निर्वाचनभन्दा पनि पैसा कमाउन जरुरी रहेको भन्दै यार्सा टिप्न पाटन छिरेका छन् । कर्णालीको डोल्पा, मुगु, जुम्ला र हुम्लाको हिमाली भेगमा पाइने यार्सागुम्बाको सिजन वैशाखदेखि असारसम्म भएका कारण युवाहरु धमाधम पाटनतिर लागेका हुन् ।










अहिले पाटनमा नगएपछि यार्सा नपाइने भएकोले निर्वाचनलाई छोडेर हिँडेको पातारासीका मिनबहादुर थापाले बताए । 'निर्वानचनमा भोट हालेर के हामीलाई वर्षभरी खान पुग्ने पैसा दिन्छन् र ?’थापाले भने, 'अहिले दुई महिना दु:ख गरेपछि वर्षभरीलाई ढुक्क भइन्छ त्यसैले निर्वाचनभन्दा हामीलाई यार्सा नै महत्वपूर्ण छ ।’विगतका निर्वाचनहरुमा नेता चुनेर पठाए पनि हालसम्म विकासका नाममा केही दिन नसकेकोले मतदान गर्न आवश्यक नभएको उनीहरुको भनाइ थियो । भोट हालेर नेता बनाए पनि युवाहरुलाई रोजगारीका अवसरहरु दिन नसकेकोले आफूहरु निर्वाचनभन्दा पनि यार्सालाई महत्व दिएर पाटनतिर गएको थापाले बताए । एक पटकको सिजनमा एक लाखदेखि चार लाखसम्म कमाइ हुने गरेको स्थानीय प्रविना रावतले बताइन् । 'हामीले एक पटकको सिजनमा एक लाखदेखि चार लाखसम्म कमाउँछौं,’ उनले भनिन्, 'यहाँ नेतालाई भोट हालेर न विकास दिन न त रोजगारी नै दिने हुन् । अनि पाटन नगएर के खानु ?’

तीन महिनाको कमाइले घरपरिवारलाई वर्षभरीको लागि खानपानको जोहो गर्नुपर्ने भएकोले मुखैमा आएको निर्वाचनलाई छोडेर पाटन जान लागेको पाटारासी गाउँपालिका ३ छुमचौरका युवा रमेश रावतले बताए । 'देशमा जति निर्वाचन भए पनि हामीलाई केही दिने होइनन्,’उनले भने. 'यदि लेकमा गएर यार्सा टिपेन भने हामीले वर्षभरी के खाने, चुनावले रोजीरोटी दिने होइन ।’ युवाहरु ऋण गरेरै पाटनतिर छिरेका छन् ।

एकपटकका लागि यार्सा टिप्न जाँदा ५० हजार बढी ऋण लिएर गएको युवाहरुले बताए । देशमा रोजगारी नभएकोले यार्सा पाइने सिजनमा पाटन नगए आफूहरुको रोजीरोटी नै बन्द हुने अर्का युवा हिक्मत रावतले बताए । उनले भने, 'घरमा कमाउने अर्को कोही नभएकोले बालबच्चा पढाउनका साथै अन्य खर्च जुटाउन जोखिम मोलेरै पाटन जानुपर्ने बाध्यता छ ।'

मुगुको छपुखोला, जुम्लाको पानसय, माझपाटन, हाँक, डोल्पाको पाटनमा युवाहरु यार्सा टिप्नका लागि कर्णाली लगायत अन्य जिल्लाहरुबाट समेत हिँडेका छन् । दुई महिनाको दु:खले वर्षभरीको घरखर्च चलाउनु पर्ने भएकोले यसपटक निर्वाचनलाई छोडेर पनि युवाहरु यार्सा टिप्न हिँडेका छन् । बालबच्चा पाल्नकै लागि पाटन जाने युवाहरु मात्रै छैनन्, युवतीहरु समेत छन् ।

कर्णालीका अधिकांश युवाहरुको कमाई हुने भनेको हिउँदको समयमा भारत जाने र वैशाखदेखि असारसम्म पाटनमा यार्सा टिप्न जाने नै हो । चुनावका लागि भारतबाट आएका युवाहरु समेत यार्साको सिजन भएकोले पाटनमा छिरेका छन् । भारतमा कमाइ गरेर भोट हाल्न घर फर्किएका बुम्रमाडीचौरका हरि बुढा निर्वाचनलाई छोडेर पाटनतिर छिरेका छन् । 'भारतमा राम्रो कमाइ हुन सकेन, कमाइ नभए कसरी पेट पाल्नु,’ उनले भने, 'त्यसैले परिवार पाल्नको लागि निर्वाचन छोडेर भए पनि डोल्पातिर यार्सा टिप्न जान लागेको हुँ ।’जुम्लाका पाटनहरुमा जनुसुकै बेला यार्सा टिप्न पसे पनि मुगु र डोल्पाका पाटनहरुमा भने निश्चित समयावधिका लागि खुल्ने गर्दछ ।


प्रकाशित: वैशाख २७, २०७४

No comments:

Post a Comment