Wednesday 1 March 2017

जीवनको अन्तिम पलसम्म गीत संगीत क्षेत्रमै रहनेछु: कला राई

विजयकुमार राई

वर्तमान नेपाली गीत संगीतको क्षेत्रमा व्यस्त रहने चर्चित गायिकाहरूमध्ये एक गायिका कला राई पनि पर्छिन् । दशकअगाडि पहिलोपटक ‘ए नि लै लै, छोरीको जीवन उडाइलान्छ रेलले’ बोलको गीतबाट आफ्नो सोलो गायनयात्रा सुरूवात गरेकी गायिका राईले आफ्नो चौथो गीती एल्बम् ‘इसारा’ भर्खरै मात्र सार्वजनिक गरेकी छिन् ।
‘पानधारे चौकी माया पो नलगाई, बा मरिन्छ कि’ गीतले एक समय चर्चाको शिखरमा पुगेकी चर्चित गायिका कला राईले आफ्नो चौथो एल्बम् माघ ४ गते दर्शक श्रोतामाझ कोसेली स्वरूप लिएर आएकी हुन् । रिभेन्ज म्युजिक सेन्टरले बजारमा ल्याएको यस एल्बम्मा अशोक राईको शब्द, रचना र संगीतमा ‘विनायो मुर्चुङ्गा’, शिव संगम राईको शब्द, रचना र संगीतमा ‘इसारा’, डी बी गुरूङको शब्द, रचना र शिव अधिकारी को संगीतमा ‘लाग्छ मलाई’ बोलको गीत रहेको छ ।
यसैगरी साजन राईको शब्द, रचना र डाक्टर किरातको संगीतमा ‘धेरै रोए’, दिवाकरथपालियाको शब्द, रचना र याकुव राईको संगीतमा ‘फूल फूल्यो चमेली’, रविन्द्र दिखुप्पाको शब्द, रचना र कनकाइस्ट राईको संगीतमा ‘लिप्चिबुङ शिरमा’ गरेर जम्मा ६ वटा गीतहरू समावेश रहेका छन् ।
भोजपुर जिल्लाको ओख्रे्र गाविस वडा नं. ५ मा बुबा जेबी राई र आमा मालाश्री राईको कोखबाट जन्म लिएकी गायिका राईले उनको पहिलो एल्बम् ‘कला–२०६२’, दोस्रो ‘अफर–२०६६’, तेस्रो ‘लुक्स–२०७१’ एल्बम् बजारमा ल्याएकी थिइन् । सुमधुर स्वरकी धनी गायिका राईले ०५७ सालको देशव्यापी लोकगीत प्रतियोगितामा प्रथम, २०६३ सालको देशव्यापी आधुनिक गीत प्रतियोगितामा दोस्रो स्थानसँगै ‘ब्राइटर तिम्रो सुर मेरो गीत’ मा समेत दोस्रो स्थान हासिल गरेकी थिइन् । नेपाली संगीतको क्षेत्रमा छुट्टै पहिचान बनाइसकेकी गायिका कला अहिले देशविदेशमा आयोजित सांगीतिक कार्यक्रम हरूमा व्यस्त देखिन्छिन् ।
जीवनको सफलता श्रोता दर्शकहरूको मायालाई मान्ने उनी जीवनको अन्तिम पलसम्म गीतसंगीत क्षेत्रमै रहेर जीवन व्यतित गरिरहने उनको भनाइ रहेको छ । यसै सन्दर्भमा उनको व्यक्तिगत जीवनसँगै भर्खरै सार्वजनिक चौथो एल्बम् ‘इसारा’ को बारेमा साप्ताहिक ब्लाष्ट खबरका विजयकुमार राईले गरेको कुराकानीको सम्पादित अंश :
१) तपाई को यो एल्बम् ‘इसारा’ लाई दर्शक श्रोताले कसरी बुझ्ने ?
‘इसारा’ कलाले दर्शक श्रोतालाई दिएको मायाको चिनो हो ।
२) यस एल्बम्मा कस्ता–कस्ता गीत–संगीत समावेश गरिएको छ ?
लोक, पप र आधुनिक सबै उमेरका दर्शक श्रोतालाई समेट्ने गरिको गीत–संगीत समावेश गरेकी छु ।
३) पुराना एल्बम्मध्ये यो इसारा मा नया“ नौलो के पाउनेछन् श्रोताले ?
यो ‘इसारा’ कलालाई माया गर्नुहुने सम्पूर्ण दर्शक श्रोताहरूको लागि हो, ‘इसारा’ ले दर्शक श्रोतालाई मीठा गीत–संगीतको अनुभूति गराउनेछ भन्ने आशा लिएकी छु ।
४) ‘इसारा’ एल्बम् सार्वजनिक गर्नुभएको छ, यसबारे केही बताइदिनुहुन्छ कि ?
संघर्ष गर्दै एल्बम्हरू पब्लिस गर्दै आइरहेको छु, सम्पूर्ण दर्शक श्रोताहरूको सल्लाह सुझावअनुसार नै यो एल्बम् लिएर आएकी छु । यसर्थ सबैले एकपटक फेरि कलाका नयाँ गीतहरू सुनिदिनुहुन आग्रह पनि गर्दछु ।
५) संगीत यात्रा कहिलेदेखि सुरू गर्नु भो ?
भन्नै पर्दा पहिलो एल्बम् २०६२ मा सार्वजनिक गरेकोले २०६२ देखि नै भन्नुपर्ला र अहिले त्यहीँदेखि नै यो यात्राले निरन्तरता पाइरहेको छ ।
६) कसरी सुरू गर्नु भो त ?
स्कुल कलेजका कार्यक्रम अनि अन्य आयोजित कार्यक्रमहरूमा गाउँदागाउँदै संगीत यात्रामा होमिन पुगेँ ।
७) तपाईंको संगीत यात्राले दशक पार गरिसकेको रहेछ, आफ्ना अनुभवहरू सुनाउनु हुन्छ कि ?
उतार–चढाव त धेरै नै भए ! संघर्ष पनि धेरै नै गरियो । फलस्वरूप आज आएर सम्पूर्ण दर्शक श्रोताहरूको माया पाउँदा खुशी पनि लागेको छ ।
८) के माया र खुशीले मात्र जीवन अर्थात् तपाईंको सांगीतिक यात्रा चल्छ र ?
जीवनको बाँच्ने आधार नै ‘माया’ हो नि हैन र ?
९) अहिले के गर्दै हुनुहुन्छ ?
यो एल्बम् सार्वजनिक गरेपछि निमन्त्रणा गरिएका सांगीतिक कार्यक्रमहरूमा आफ्ना नयाँ गीतहरूको प्रस्तुतिमै व्यस्त छु ।
१०) तपाईंको विचारमा जीवन के होला ?
जीवन प्रकृतिको अनुपम उपहार हो ।
११) अनि संगीत चैं ?
सुख–दुःखको साथी हो । यसर्थ जीवनको अन्तिम पलसम्म गीतसंगीत क्षेत्रमै रहने छु ।
१२) कलास“ग गायनवाहेक अन्य के–के कला होलान् ?
कलाले गीत पनि लेख्ने गरेको छ ।
१३) कला कस्ती व्यक्ति हुन् ?
इमानदारीपूर्वक भन्दा कला आम नेपालीजस्तै साधारण, शान्त, सरल स्वभाव भएकी, सबैको विचारलाई बुझ्न सक्ने र सबैको मनमा अट्नसक्ने मिलनसार नेपाली चेली हो ।
१४) अन्त्यमा, केही भन्न चाहनु हुन्छ कि ?
मलाई माया गर्नुहुने सम्पूर्ण दर्शक श्रोताहरूप्रति सधैँ आभारी छु, हुनेछु, भई नै रहनेछु, अनि आफ्ना केही कुरा राख्न मौका दिनुभएकोमा साप्ताहिक ब्लाष्ट खबर परिवारलाई धेरै–धेरै धन्यवाद दिन चाहन्छु ।
SOURCE BY: BLASTKHABAR.COM

No comments:

Post a Comment