Wednesday, 27 September 2017

कविता: लाहादाङ्नाको दशैं - के.जी सुब्बाछ

लाहादाङ्नाको दँशै
=============

                     के.जी.सुब्बा

यसपाली पनि
मुन्धुमको कुम्लो बोकेर
लाहादाङ्ना छथरको डाँडै डाँडा
पुरानो फलैचा बाटो हुदै तेर्सै तेर्सो
आँखा बाट ओझेल भइन् ।

यो बिज्ञान मनोबिज्ञानको युगमा
अनेक तरहले सोच्दै लाहादाङ्ना
कहिले तम्बर बनेर बगीन्
कहिले फक्ताङलुङ बनेर हाँसिन्
कहिले सिल्लरी फूल बनेर फूलिन् ।

महान पुर्बजहरुको रगतलाइ
काङलेक्वाको आवाजमा अनुभुत गर्नु
काँसको फुलबाट
आफ्नो बैराज्ञ इतिहास सम्झिनु
सरदको जुनबाट
येहाङको दरबार माथीको बुर्जामा
आफूलाइ महारानी पाउनु
लाहादाङ्नाका
खास र दुर्लभ बिशेषताहरु हुन् ।

एक अजीबकी लाहादाङ्ना
एक भयङकर लाहादाङ्ना
एक दुर्लभ लाहादाङ्ना
एक बिरहि लाहादाङ्ना
प्रत्येक दँशैमा
काली भन्दा अझ क्रुद्व हुन्छिन्
काली भन्दा अझ भयङकर हुन्छिन्
तर पनि
आफ्नो मुन्धुमी राज्यबाट तल ओर्लेर
कहिल्यै आफ्नो औकात भुल्दिनन् ।

यी महिसासुरहरुको ब्रम्हलुट
यी दानबहरुको आतंक
सब बाट मुक्ति पाउन केहि दिन
मुन्धुमको कुम्लो बोकेर
लाहादाङना छथरको डाँडै डाँडा
पुरानो फलैचा बाटो हुँदै तेर्सै तेर्सो
आँखाबाट ओझेल भइन् ।

तथास्तु ।

No comments:

Post a Comment