Sunday 18 June 2017

यो Linguicide भनेको के हो? -Bikram Subba


(दार्जिलिङमा चलिरहेको वंगाली भाषा लाद्ने सरकारी नीतिको विरुद्ध चलिरहेको भाषा आन्दोलनमा ऐक्यवद्धता जनाउँदै -)
आज फुटानी चोकमा एकजना भाषा शास्त्रीलाई जिज्ञासुले सोध्यो – ‘यो Linguicide भनेको के हो?’ भनेर सोध्यो । जसको जवाफमा भाषाशास्त्री बोल्यो –
भाषा शास्त्रका अध्येताहरू अनुसार “जब कुनै एक भाषा बोल्ने अन्तिम व्यक्तीको पनि मृत्यू हुन्छ तब एउटा भाषाको मृत्यू हुन्छ ।“ भारतको कुरा गरौँ; हालैको सर्भे अनुसार अहिले पनि करीव ९०० भाषाहरू भारतमा ज्युँदैछन् । भारतका २२० भाषाहरू बिगत सिरिफ ५० वर्षमा मरेर गएछन् । आगामी ५० वर्षमा भारतका थप १५० भाषाहरू मरेर जानेछन् भनेर प्रक्षेपण गरिएकोछ । भारतमै बोलिने अन्य १०० भाषाहरूलाई अल्पसंख्यकले बोल्ने भनेर गणना नै गरिन्न ।
नेपालमा गएको ५० वर्षमा कति जनजातिका भाषाहरू मरेर गए कति भाषा मर्ने अवस्थामा छन्? कुनै व्यक्ती वा कुनै सँस्थाले अध्ययन गरेको छैन वा जरुरी ठानिएको पनि छैन । सरकार त अरु सबै भाषाहरू मरेर गए खस भाषाको राज चल्ने थियो भनेर खुशी हुने किसिमको छ । मानिस मार्नु मात्र हत्या होइन कुनै जातिको भाषा-सँस्कृतिको नाश गर्नु झन ठुलो हत्यारो कार्य हो ।
भाषाहरू कसरी मर्छन या मारिन्छन्?: कुनै भाषा समुहका मानिस जब अर्को ठाउँमा बसाइँ सर्छन् वा सारिन्छन् तब उनिहरूको भाषालाई उनको आफ्नै गाउँघर-वासस्थानमा जस्तै सहज रुपमा बचाएर राख्न कठिन हुन्छ; परम्परागत प्रविधीमा बाँचेका मानिस अब नयाँ प्रविधीतिर लागे भने पनि भाषा मर्न थाल्छ । जस्तैः अहिले बिजुलीले चल्ने जाँतो (Grinder) आएपछि नेपालगंजका पत्थरकट्टाहरूले बनाउँने ढुंगाको जाँतो, सिलौटा-लोहरा बनाउँनेहरू त्यो काम छोडेर रिक्सा चलाउँन थालेपछि नयाँ पेसा र प्रविधीले नयाँ-नौला भाषा बोल्नेहरूसँग उठबस गराउँन थाल्यो र उनले बिस्तारै आफ्नो भाषाहरू बोल्न छोडे वा छोड्दैछन् । उनका नयाँ पुस्ताले आफ्नो भाषा झनै बिर्सनेछन् । यसरी भाषा २-३ पुस्तामा मर्छ ।
बृटिश-भारतका बेला एउटा खुँखार the Criminal Tribes Act, 1871 (Rescinded in 1952) कानुन बनेको थियो जुन कानुनले धेरै घुमन्ते जनजातिहरूलाई “जन्मँदै अपराधी (Criminal) को दर्जा” दिन्थ्यो । यो कानुनबाट बच्नको निम्ती धेरै जनजातिले आफ्नो जात फेरे, आफ्नो भाषा बोल्न छोडे, नयाँ भाषा सिक्न थाले । यसरी सरकारले कानुन बनाएर पनि भाषाहरूको हत्या गर्छन् जसलाई भाषा-संहार (Linguicide) भनिन्छ ।
भनिन्छ पपुवान्यूगिनीमा ११०० भाषाहरु बोलिन्छन् । ईन्डोनेशियामा ८०० भाषाहरू बोलिन्छन् । नाईजेरियामा ३५० भाषाहरू बोलिन्छन् । किन यस्तो संभव भयो? किनभने त्यहाँ सरकारले नै भाषाहरूको संरक्षण गर्ने काम गर्दछन् । किन सरकारहरूले भाषाहरूको संरक्षण गर्दछन्? किनभने ती भाषाहरूलाई हाम्रो मुलुक चिनाउँने पहिचानका तत्व भनेर महत्व दिएकाछन् ।
ईतिहासमा धेरै समृध्द भाषाहरू पनि मरेर गएकाछन् । जस्तैः सँस्कृत भाषा, ग्रीक भाषा, आदि । कुनै भाषा समृध्द भएर पनि मर्छन् । भारतमा कुनै कुनै भाषागत राज्य (Linguistic states)हरू बनाइए । जस्तैः बंगली भाषा बोलिने भएकोले (पश्चिम) बंगाल, पंजाबी भाषा बोलिने भएकोले पंजाब, कन्नड बोलिने कर्नाटक, आदि । तर कतिपय राज्यमा एकभन्दा बढी भाषा पनि बोलिन्छ । जस्तै: बिहारमा मैथली र भोजपुरी । आसाममा खसीया र बंगाली, आसामी र बोडो । पश्चिम बंगालमा बंगाली, सन्थाल, मुण्डा, ओराओ, भूमिज, लोधा, कोल, टोटो र (खस) नेपाली, आदि । तथापि राज्यमा बोलिने पहिलो भाषाले दोस्रो वा तेस्रो प्रगतिशील भाषालाई सेपमा पार्दो रहेछ । जस्तै: भोजपुरी भाषा धेरै प्रगती गरिरहेको भाषा थियो तर भोजपुरा (छुट्टै) राज्य नहुँदा राज्यबाट भोजपुरी भाषाले प्रोत्साहन नपाउँने भयो र खुईलिँदै जान बाध्य भयो । जस्ले गर्दा, नयाँ उपाए नगरिए, भोजपुरी भाषा कालान्तरमा (१००-२०० वर्षमा) मरेर जान सक्छ । जानिजानि कसैले भोजपुरी भाषा मार्न खोजेको होइन भनिएला तर ऐतिहासिक रुपमा राजनैतिक विकास क्रमका अनेक कारणले गर्दा उत्तर प्रदेशमा भोजपुरी भाषा नबाँच्ने अवस्था सृजना हुन सक्दैन भन्न सकिन्न ।
ठीक यही कुरा नेपालमा हुन लागेकोछ । नेपालका राज्यहरूको नाम लिम्बुवान, खम्बुवान, ताम्सालिङ, नेवा, तमुवान, मगरात, खसान, थारुवान, मिथला, भोजपुरा, अवध नराखेपछि यी सबै भाषाका वक्ताले गौरव गुमाउँछन्, प्रचलनमा ल्याउँन नपरेपछि सरकारी भाषाले पेल्दै लैजान्छ । गौरव गुमाएको भाषा ख्याउटे भएर, कुपोषित भएर केही सताब्दी बाँच्लान तर मर्दा नेपालकै पहिचानको एक अंग पनि आफुसँगै लैजानेछन् । नेपालमा बिभिन्न जनजातिका भाषाहरू मार्न पाए हुन्थ्यो भन्नेहरूले त्यसो भए "खस" भाषा अघि बढ्छ र १ नंबर बनाउँछौँ भन्ने सोचाई राख्ने पनि होलान् तर उनिहरूले के बुझिरहेका छैनन् भने "खस" भाषालाई "हिन्दी" र "अंग्रेजी" (अहिले आएर) "कोरियन", "हिब्रु", "चाईनिज" भाषाहरुले घेरिसकेकाछन् । नेपालका अन्य भाषाहरूलाई निमिट्यान्न पार्ने सिध्दान्त अनुसार चल्नेले आफ्नो "खस" भाषालाई अरुले खाँदैजाँदा पनि चुपचाप सहने स्थिती आउँदै गईरहेकोछ ।
खस भाषामाथि ‘खतरा’को छनक अहिले नै देखिँदैछ । धेरै खस भाषाका वक्ताहरू आर्थिक रुपले (तुलनात्मक रुपमा) सम्पन्न छन् । उनले आफ्ना छोरा-छोरी राम्रो र महंगो अंग्रेजी, स्वदेशी-विदेशी, स्कुलमाहरू पढाएकाछन् र पढाईरहेछन् । अहिले नै ती बालबालिकाहरू भेट्दा आपसमा अंग्रेजीमा बोल्दा आफु स्टेण्डर्डको भएकोजस्तो गौरब ठान्छन् र अंग्रेजी नबुझ्ने जोतिष बाहुनलाई ‘कोदे’ भनेर हेला गर्छन्, उडाउँछन् । त्यो भनेको अंग्रेजी भाषा प्रति (नजाँनिँदो किसिमले) भक्ती र "खस" भाषाप्रति (नजानिँदो किसिमले) तुच्छ ठान्ने ‘दासत्व’ भावनाको सृजना हो । दाशले के गर्छ? आफुभन्दा बलियोको गुलामी गर्छ र आफुभन्दा कमजोरलाई गुलाम बनाउँन चाहन्छ । यो क्रम अब ५० वर्ष नेपालमा चल्ने हो भने "खस" भाषाको नै बेहाल होला । अर्थात, "लिम्बु, राई, शेर्पा, तामाङ, नेवार, गुरुङ, मगर, मैथिली, भोजपुरी, थारु, आदि भाषालाई मार्छु आफु मात्र बाँच्छु" भन्ने हुँदैन । अरुका भाषालाई हेप्ने “अवधारणा” भनेको प्रकारान्तरले "आफ्नै भाषा"लाई पनि हेप्ने अवधारणा हो । अरुको आमालाई हेप्नेले विस्तारै आफ्नै आमालाई हेप्ने सँस्कार आफुभित्र विकास गर्छ र कुनै दिन आफ्नै आमालाई बलात्का गर्दा पनि समान्य ठान्ने वा आमालाई नै घरबाट निकालिदिने कामलाई पनि सामान्य ठान्ने सम्बेदनहीन पशु हुन पुग्छ ।
तेस्तै, भाषाकै कुरा गर्दा - चोरहरूको भाषा, हिजडाहरुको भाषा, भ्रष्ठहरूको भाषा, डाकाहरूको भाषा, काला बजारीयाहरूको भाषा, घुस्याहाको भाषा, मसाज पार्लरवालाका भाषा, सिआईडीका भाषा, युध्दका बेला सेनाका भाषा (Code words), क्रान्तीका बेला क्रान्तिकारीका भाषा(Code words), खातेका भाषा, ड्राइबर-खलासिका भाषा, बहिराका भाषा, कोठी र वेश्याहरूका भाषा, पिम्पहरूका भाषा, जुवाडेका भाषा, जँड्याहाका भाषा, बोडरमा स्मगलिङ गर्नेका भाषा फरक हुँदा रहेछन् । शब्द त तिनले पनि त्यही प्रयोग गरिरहेका हुन्छन् तर तेसको अर्थ उनिहरूको सन्दर्भमा फरक हुँदा रहेछन् । यी फरक-फरक पेशागत भाषाहरु विस्तारै मानक (Standard) बन्छन् र शब्दकोशमा पसेर एउटा मुलुकको भाषालाई धनी वा मुल्यवान बनाईरहेका हुन्छन् । जसरी हिन्दी भाषाका वरिपरि १२६ भाषाहरू बोलिन्छन् जुन भाषाहरूले हिन्दी शब्दकोशको ढुकुटी भर्ने Feeder languages को काम गर्छन् । यदि अन्य भाषाको ढुकुटीहरू सबै रित्तो हुने हो भने हिन्दी भाषाको ढुकुटी पनि बिस्तारै खोक्रो र गरीब हुन्छ ।
नेपालका अनेक भाषा र खस भाषाको संबन्ध पनि, अनेक कारणले, चाहेर होस वा नचाहेर यस्तै रहेकोछ । जस्तै: राजाको दरवारको नाम नै "नारायण हिटी" राखियो । "हिटी" शब्द त नेवारी शब्द ढुकुटीबाट आयो । "नारायण" शब्द सँस्कृत हुँदै खास भाषाबाट आयो । यसरी एकले अर्को भाषा सँस्कृतीलाई समृद्ध गर्ने काम गरिराखेको देखिन्छ । अंग्रेजी भाषामा पनि “लाठी चार्ज” शब्दलाई हेर्ने हो भने अंग्रेजीको “चार्ज”मा हिन्दी Feeder language बनेर “लाठी” शब्द सप्लाई गरिदिएकोछ । एउटा जंगलमा सिरिफ एउटा रुख मात्र काट्दा वा रोपेर हुर्काउँदा जंगलको Eco-system मा परिवर्तन आउँन थाल्छ भन्ने कुरा बुझ्नेले भाषाहरूले पनि एकापसलाई पोषिरहेका हुन्छन् ।
तसर्थ, मुलुकका सबै भाषाको संरक्षण गर्नु भनेको राष्ट्रिय निकुंजहरूको संरक्षण गर्नु जस्तै हो - बनजंगल र जनावरका स्पेसिजहरू समाजमा मास्सिएर सिध्दिएभने राष्ट्रिय निकुन्जबाट फेरि लिएर आएर मानिसको हितको निम्ती डोमेष्टिकेट गरौँला । जस्तै केही वर्ष अघिसम्म "बँदेल" र "हरिण" पाल्नु गैर कानुनी थियो तर अब जनताको आयआर्जनको निम्ती "बँदेल" र "हरिण" Income generation का निम्ती पाल्न पाईने कानुन बन्यो । राष्ट्रिय निकुन्जमा बँदेलै नहुने वा हरिणै नहुने अवस्था सृजना गर्नु भनेको त सबै भाषाहरुलाई मार्ने नीति लिनु जस्तै हो । जंगलै मासेपछि त कुनै दिन जडिबुटी कहाँबाट ल्याउँने? मकैको पुरानो जात नष्ट भए नयाँ जात कहाँबाट ल्याउँने? धानको पुरानो जात नष्ट भए नयाँ जातको धान कहाँबाट ल्याउँने? भयानक र डरलाग्दो क्राईसिस हुनेछ । सभ्यताको मरुभूमिकरण हुनेछ ।
भनिन्छ, अमेरिकामा धेरै बर्षदेखि GMO खाँदै आएकोले अहिले तेहाँका कैयौँ महिला र पुरुषहरू बच्चा जन्माउँन अक्षम (Infertile) भईसके । परिणाम स्वरुप अन्य मुलुकबाट प्रजनन् शक्ती भएका मानिस (DV कार्यक्रम मार्फत) आयात गर्ने काम गरेर अमेरिकालाई मानव-मरुभूमिकरण हुनबाट देशलाई जोगिई रहेकोछ । तर सन्सारभरिकै मानिस बच्चा जन्माउँन नसक्ने (Infertility) भए हालत के होला?
अर्थात, नेपालका राज्यहरूको नाम लिम्बुवान, खम्बुवान, ताम्सालिङ, नेवा, तमुवान, मगरात, खसान, थारुवान, मिथला, भोजपुरा, अवध राखे आकाश खस्ने थिएन बरु यी सबै भाषाहरुको गौरवमय विकस हुँदै जाने र ती प्रकृयाले सिंगो नेपालकै पहिचानमा थप्ने काम गर्नेथिए । Feeder identity हरू भएनन् भने नेपालको identity नै कुपोषित हुने पक्काछ । अर्थात, अरुको पहिचान नष्ट गर्नेले आफ्नो पहिचानलाई पनि मरन्च्याँसे बनाउँनेछ । नेपाल र भारतको दार्जिलिङ लगायत अनेक राज्यहरूमा एउटा (सरकारी) भाषाले अर्को भाषालाई नष्ट गर्ने (Linguicide) चलिरहेछ । तर, ‘माया बाँड्नेले माया नै पाउँनेछ’ भनेजस्तै अरुको भाषाको हत्या गर्ने कर्म गर्नेले पनि उसको भाषाको हत्या भएको देख्नु, भुग्नु पर्नेछ । सबैलाई पेल्न खोज्नेलाई कुनै दिन “सबै”ले मिलेर “पेले” भने समाजमा अशान्तिको जड “पेल्न” थाल्ने पक्ष नै हुनेछ । यही हो देशद्रोह नत्र देशद्रोहीको अनौठो सिङ-पुच्छर हुँदैन ।
साभार:

No comments:

Post a Comment