Wednesday, 4 October 2017

काठमाडौंमा भुइँचालोको धक्का

काठमाडौंमा भर्खरै राति २ बजेर ५ मिनेट जाँदा भुइँचालोको धक्का महसुस गरिएको छ।

दुई सेकेन्ड जति हल्लाएको यो धक्का शक्तिशाली भए पनि यसको केन्द्रविन्दु र म्याग्निच्युड खुलेको छैन।

यो २०७२ वैशाख १२ गते गएको ७.६ म्याग्निच्युडको भुइँचालोको परकम्पन हो वा नयाँ भुइँचालो हो भन्ने पनि खुलेको छैन। दुई वर्षअघि गोरखाको बारपाक केन्द्रविन्दु बनाएर गएको भुइँचालोले पारेको क्षति अझै पुनर्निर्माण हुन सकेको छैन। विस्थापितहरु पनि सबै पुनर्स्थापित भइसकेका छैनन्।

साभार: सेतोपाटी

Monday, 2 October 2017

दुई समुदायबीच झडप भएपछि बर्दियामा कर्फ्यु



साभारनलाइनखर
१६ असोज, गुलरिया । जिल्ला प्रशासन कार्यालय बर्दियाले नेपालगञ्ज-गुलरिया सडकखण्ड अन्तर्गत पर्ने लालपुरको एक किलोमिटर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । दुर्गा पूजाको मूर्ति बिसर्जन गर्ने हिन्दु समुदाय र मोहरमको ताजीया बिसर्जन गर्ने मुस्लिम समुदायबीच झडप भएपछि स्थानीय प्रशासनले गुलरिया नगरपालिका ११ लालपुरको ५ सय मिटर वरपरकाे क्षेत्रमा कर्फ्यु लगाएको हो ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले भने, ‘शान्तिसुरक्षा भंग भई तनावग्रस्त स्थिति उत्पन्न भएपछि निषेधाज्ञा जारी गरिएको छ ।’ निषेधाज्ञाको अवधिभर लालपुरमा दुईजना भन्दा बढी ब्यक्ति एक ठाउँमा भेला हुन, सभा सम्मेलन गर्न र विरोध प्रदर्शन गर्न नपाइने प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए ।

हिन्दु समुदायको दुर्गा पूजाको मूर्ति बिर्सजन गर्ने र मुस्लिमको ताजिया बिसर्जन गर्न जाने बाटो एउटै परेपछि दुई पक्षबीच आइतबार साँझ झडप भएको थियो । हिन्दु र मुस्लिम समुदायबीचको झडप रोक्न प्रहरीले दर्जनौं सेल अश्रु ग्यास र हवाइ फायर गरेको थियो । प्रहरी र सर्वसाधारण दुबैतर्फ एक दर्जन बढी घाइते भएका छन् ।

आइतबार साँझ स्थानीय प्रशासनले तत्कालै बल प्रयोग गरी स्थिति नियन्त्रणमा लिए पनि सोमबार बिहान पुनः दुबै पक्षबीच ढुंगा हानाहान भएको थियो । त्यसपछि असहज परिस्थिति थप नबढोस् भनेर स्थानीय प्रशासनले कर्फ्यु लगाएको नेपाल प्रहरीका प्रवक्ता मनोज न्यौपानेले अनलाइनखबरलाई जानकारी दिए ।

कर्फ्यु लगाइएका कारण नेपालगञ्ज-गुलरिया सडक खण्ड पूर्णरुपमा बन्द छ । समस्या समाधानका लागि जिल्ला प्रशासन कार्यालयमा राजनीतिक दल सुरक्षाकर्मी, स्थानीय बुद्धिजिवि लगायतको सर्वदलीय-सर्वपक्षीय बैठक बस्ने तयारी भइरहेको छ ।

– दीपक शर्माबाट२०७४ असोज १६ गते १३:१९ मा प्रकाशित

घरमा श्रीमती छ भनेर ढुक्क नहुनुहोस ।

करुणा कुँवर ,मनोविद

प्रायजसो युवा परिवार र आफन्तलाई केही राम्रो गर्न सकिन्छ कि भनेर विदेश गएका हुन्छन । तर सामाजिक र मनोवैज्ञानिक रुपमा परिवार सुरक्षित छन् छैनन् भन्ने कुरा चाहिँ उनीहरुले ख्याल गरेका हुँदैनन् ।कतिपय भर्खरै विहे गरेर वा साना बालबच्चा भएका श्रीमती छाडेर विदेश जान्छन् । जबकि त्यो बेला महिलाले श्रीमानबाट मनोवैज्ञानिक रसामाजिक सुरक्षा चाहन्छन् । त्यो कुरा नभइदिँदा बिस्तारै ती महिलालाई मलाई सुरक्षा गर्ने मानिस नै रहेनछ भन्ने लाग्न थाल्छ ।सँगसँगै हाम्रा सामाजिक सांस्कृतिक कुराहरु पनि छन् । कतिपय सासु ससुरा र अरु सदस्य भएका संयुक्त परिवारमा नै बस्छन् । परिवारका सदस्यहरुसित मनमुटाव हुनसक्छ । महिलाले विभिन्न लाञ्छनाको सामना गर्नुपर्ने हुन्छ । परिवारले गर्ने भेदभावका कारण परिवार छाडेर हिँड्ने समस्या पनि बढिरहेको छ ।


साथसाथै बुबा घरमा नभएको र आमाले राम्रोसँग हेरबिचार गर्न नसक्दा बालबच्चाले पढाईलाई पनि निरन्तरता दिन सकेका हुँदैनन् । कम उमेरमा विवाह गर्ने समस्या पनि देखिएको छ । महिला र बालबालिका रोगबाट ग्रसित भएको पनि पाइएको छ । त्यस्तो अवस्थामा उपचारका लागि पैसा धेरै खर्च हुन्छ ।विदेशमा भएका श्रीमानले उचित समयमा पैसा नपठाइदिने वा नपठाइदिने समस्या छ । फोनमा पनि कुराकानी नहुने । यस्ता खालका कुराहरुले नेपालमा भएका श्रीमती, बालबच्चा वा घरका अन्य सदस्यलाई पनि समस्या पर्छ ।


बच्चाका लागि आमाबुबा दुवै महत्वपूर्ण हुन्छन् । परदेश जानेले श्रीमती छँदैछे नि भनेर अरु कुरा ख्याल गर्दैनौं । एकजनाले हेरे भइहाल्यो नि भन्ने पनि हुन्छ । तर, घरमा समस्या पर्दा श्रीमानले जति छिटो समस्या समाधान गर्न सक्छ, श्रीमती नगर्न पनि सक्छ मानिसले भौतिक कुराको मात्रै आवश्यकताको आधार बनाएको छ । पैसा वा घर भयो भने सबै सुविधा हुन्छ भन्ने बुझेको हुन्छ । सुख सुविधाका लागि भौतिक अवस्था यौटा पाटो हुनसक्छ । तर मनोवैज्ञानिक रुपमा एकजना मानिसको उपस्थिती पनि उत्तिकै महत्वपूर्ण हुन्छ । एकअर्कालाई दिने समय भनेको पनि धेरै ठूलो लगानी हो ।कोही व्यक्ति विदेशमा छ भने उसले घरपरिवारलाई कहाँ, कति समयका लागि छाड्ने भन्ने ख्याल गर्नुपर्छ । घरपरिवारबाट आउन सक्ने लाञ्छनाका विषयमा पनि सोचबिचार गर्नुपर्छ । यी कुरा घरपरिवारमै बसेर छलफल गर्दा राम्रो हुन्छ । विदेश जानुअघि नै यस्ता कुराको तयारी भयो भने अहिले देखिएका समस्या आधा कम हुन्छन् ।


श्रीमान विदेश गएको गएको छ भने जन्मान्तर हुने नै भयो । विदेशमा काममा नै केन्द्रित हुनुपर्छ । पैसा कमाएर कसलाई पठाउने भन्ने कुरामा पनि अन्योल विदेशमा बस्नेहरुलाई हुन्छ ।५/६ वर्षसम्म विदेश बस्दा समयको अन्तर पनि त हुने भयो । त्यो समयअन्तरले धेरै कुरालाई प्रभाव पारेको हुन्छ । त्यसकारण परिवारमा द्वन्द्व भएको छ । धेरै किसिमका समस्याको सामना पुरुषले पनि गरिरहेका छन् । चिन्ताका कारण प्रगति गर्छु, सम्पत्ति जोड्छु भन्ने कुरा नै पूरा गर्न नसक्ने अवस्था हुन्छ ।


एउटा व्यक्ति अर्को व्यक्तिसित शारीरिक रुपमा नै टाढा रहन्छ भने उसले जीवनमा भएको समस्या या खुशीका कुरा बाँड्न पाइरहेको हुँदैन । उमेर बढिरहेको छ, बालबच्चा हुर्किरहेका छन् । तर एकअर्कामा कुरा बाँड्न नसक्दा आफ्नै श्रीमान वा श्रीमती पनि नौलो हुनसक्छ ।मान्छे नै फरक लागेपछि उसले गरेको कुराकानी पनि फरक जस्तो लाग्न थाल्छ । सँगै हुँदा कुराकानी भएपछि समस्या समाधान हुँदै जान्थ्यो । चारपाँच वर्षपछि सम्बन्ध सुधार गर्न खोजे पनि सुधार हुन मुश्किल हुन्छ । त्यै भएर वैदेशिक रोजगारीसित सम्बन्धित भएका व्यक्तिहरुमा आजकाल धेरै सम्बन्धविच्छेदका घटना भइरहेका छन् ।धेरै वर्षपछि भेट हुँदा आपसमा नौलो लाग्नु स्वभाविकै हो । नौलो हुन थालेपछि मनमुटाव सुरु हुन्छ । मनमुटाव सहित किन सम्बन्धलाई अघि बढाउने भन्ने कुराले पनि सम्बन्धविच्छेद हुने क्रम चाहिँ बढिरहेको छ ।


आत्महत्या विश्वमै जटिल विषय बनेको छ । व्यक्तिलाई दुःख भएको, मेरो जीवन नै के रहेछ र ? भन्ने महसुस हुन थाल्यो भने त्यसपछाडी धेरै कुरा हुन सक्छन् । मानिस निरास हुन थाल्छ । त्यसले आत्महत्याको अवस्थासम्म पुर्‍याउँछ ।यस्तो बेलामा घरपरिवारका सदस्य र साथीभाइले विचार गर्न सक्छन् । आत्महत्या गर्न खोज्ने व्यक्तिले आफूलाई मर्न मन लागेको कुरा कुनै न कुनै रुपमा भनिरहेका हुन्छन् । ह्या बाँचेर के छ र ? मलाई मर्न मन लाग्यो, जीवन के हो र ? भन्ने जस्ता कुराहरु कुराकानीका क्रममा उसले भनिरहेको हुन्छ ।कोही मानिस एक्लै बस्न थाल्यो, खाना राम्ररी खान सकेको छैन भने पनि उसको राम्रोसित ख्याल गर्नुपर्छ । त्यतिबेला विशेषज्ञसित सल्लाह सुझाव लिनुपर्छ । ढिला गर्न हुँदैन ।


विदेशमा बस्नेहरुले घरमा के कस्तो भइरहेको छ भन्ने कुराको विश्लेषण गर्नुपर्छ । कसैको कुरामा लागेर चाहिँ यो सही र उ गलत नभनिदिँदा सहयोग हुनसक्छ । घरका हरेक सदस्यसँग बाक्लो रुपमा कुराकानी गर्नुपर्छ ।छुट्टि मिलाएर चाँडो चाँडो घरपरिवारसित भेटघाटका लागि आउनुपर्छ । घर आएर पैसाको कुरा मात्रै नभएर आमाबाबु, श्रीमती, बालबच्चाका समस्यालाई समाधान गर्न आग्रसर हुनुपपर्छ । घरपरिवारका सदस्यबिचमा मनमुटाव भए मेरो कारणले त होइन भन्ने कुरामा सचेत हुनुपर्छ । सूचना केन्द्र




Wednesday, 27 September 2017

कविता: खोई तिम्रो दशैं - राबत राबत

खोई तिम्रो दशैं ?

मालिकको आँगनमा
शरदको बिहानीले ओछ्याइसक्यो-
मखमली कार्पेट
घाम दौडेर कोठाचोटामा
फिटिसक्यो तास
हानिसक्यो कौडा ।

आम्मा हो ...
रात पनि कति उज्यालो मलिकको घरमा !
दशैं त यस्तो पो हो, साइँला दाइ !
खोई तिम्रो दशैं ?

यस्तो बेलामा पनि
कति फुर्सद तिमीलाई- गिट्टी कुटिरहन
कति फुर्सद तिमीलाई- बालुवा चालिरहन
कति फुर्सद तिमीलाई- भारी बोकिरहन

गैंती र बेल्चा बजाइरहने तिमीलाई
निको लाग्दैन कि क्या हो, मङ्गलधुन ?
एकचोटि
टोपीले पसिना पुछी हेर त,
तिम्रा नानीहरूको औंलामा अड्केको
चङ्गाको धागो हो कि, कट्टुको इँजार ?

यस्तो त हैन नि दशैं, साइँला दाइ !

खोई-
दसैंलाई भनी साचेको रातो भाले ?
जसको खातिर तिमी
ब्वाँसाहरूसँग जोरी खेल्थ्यौ,
खोई-
दसैंलाई भनी साचेको कालो बोको ?
जसको खातिर तिमी
बाघसँग भिड्न तम्सिन्थ्यौ
आज एकाएक
तिम्रो मन र खोर रित्तो पारेर
कसले लग्यो तिम्रो दसैं ?
कसले सुन्दैछ, मङ्गलधुन ?

बाघमाथि सवार देवीलाई सोध, साइँला दाइ !

भाउजूको
बुच्चो नाक र कानको लागि सोध
नानीहरूको
भोको पेट र आङको लागि सोध ।
तिमीले पनि चढउँथ्यौ नि,
देवीको पाउमा फूलभेटी
तर
खोइ तिम्रो दसैं ?

तिम्रो निधार
पसिनाको मुहान मात्र हो र ?
जो सधैं पखालोस् मालिकहरूको बिहान
जो सधैं पखालोस् मालिक गुड्ने सडक
जो सधैं पखालोस् मालिकहरूको भित्ता
र, चम्काओस् सधैं
मालिकहरूकै दसैं ।

जाँड खाएर भन्यो, नभन साइँला दाइ !

कस्सम...!
तिम्रो निधारमा देखिरहेछु
चमचम चम्किरहेको- तेस्रो आँखा ।

हो, त्यही उज्यालोमा उभिएर-
अब
बाघमाथि चढ्नेलाई सोध
सडकमाथि गुड्नेलाई सोध
कुर्चीमाथि बस्नेलाई सोध

`खोई मेरो दशैं ?´

कविता: लाहादाङ्नाको दशैं - के.जी सुब्बाछ

लाहादाङ्नाको दँशै
=============

                     के.जी.सुब्बा

यसपाली पनि
मुन्धुमको कुम्लो बोकेर
लाहादाङ्ना छथरको डाँडै डाँडा
पुरानो फलैचा बाटो हुदै तेर्सै तेर्सो
आँखा बाट ओझेल भइन् ।

यो बिज्ञान मनोबिज्ञानको युगमा
अनेक तरहले सोच्दै लाहादाङ्ना
कहिले तम्बर बनेर बगीन्
कहिले फक्ताङलुङ बनेर हाँसिन्
कहिले सिल्लरी फूल बनेर फूलिन् ।

महान पुर्बजहरुको रगतलाइ
काङलेक्वाको आवाजमा अनुभुत गर्नु
काँसको फुलबाट
आफ्नो बैराज्ञ इतिहास सम्झिनु
सरदको जुनबाट
येहाङको दरबार माथीको बुर्जामा
आफूलाइ महारानी पाउनु
लाहादाङ्नाका
खास र दुर्लभ बिशेषताहरु हुन् ।

एक अजीबकी लाहादाङ्ना
एक भयङकर लाहादाङ्ना
एक दुर्लभ लाहादाङ्ना
एक बिरहि लाहादाङ्ना
प्रत्येक दँशैमा
काली भन्दा अझ क्रुद्व हुन्छिन्
काली भन्दा अझ भयङकर हुन्छिन्
तर पनि
आफ्नो मुन्धुमी राज्यबाट तल ओर्लेर
कहिल्यै आफ्नो औकात भुल्दिनन् ।

यी महिसासुरहरुको ब्रम्हलुट
यी दानबहरुको आतंक
सब बाट मुक्ति पाउन केहि दिन
मुन्धुमको कुम्लो बोकेर
लाहादाङना छथरको डाँडै डाँडा
पुरानो फलैचा बाटो हुँदै तेर्सै तेर्सो
आँखाबाट ओझेल भइन् ।

तथास्तु ।

Tuesday, 19 September 2017

कविता- "उत्कृष्ट संबिधान" कवि- बिबश बेनाम

आज असोज३ गतेको कुकुर कविता-

"उत्कृष्ट संविधान"

उत्कृष्ट संविधानमा...
न गुराँसका रंग भरिए
न त सिम्रिरिक रंग नै कुँदिए-
न आमाका आँसुहरु लेखिए
न त जनताको रगत नै टसाए-

त्यहाँ कुँदिएका छन,
बाँस..एउटै रंगका काला अक्षरहरु-

हाँसोका अक्षरहरु नआटिएको संविधान-
आँसुका अक्षरहरुले लेखिएको संविधान-
लाखौं आमाहरुले सरापेको संविधान-
ताप्लेजुङको सुत्केरी बेथाले छट्पटीएकी
महिलाले,
अन्तिम सासमा सरापेको संविधान-
यो संविधानमा अक्षर मात्र काला होइन,
बिधि र निति पनि कालै छन् ।

खोटाङको रातो अलैंची मात्र देख्ने संविधान-
त्यही प्रसव वेदनामा
तड्पेर मर्ने महिलाको रातो रगत नदेख्ने संविधान ।

डोल्पामा पाइने यार्सागुम्बाको मुल्य देख्ने संविधान-
त्यहाँको उत्पीडित बाहुनले
चामल केजिको रु.३०० हालेर किनेको
नदेख्ने संविधान।

यो संविधान-
कर्णालीको तिरमा बस्ने,
दुखी कुप्रो बज्यैले सरापेको संविधान ।
बिहान-बिहानै तुईनबाट खस्ने
तामाङ बाजेले चर्किएको ह्याकुल्ला छाम्दै
सरापेको संविधान।
बैतडी कञ्चनपुरमा,
सिटामोल खान नपाएर
कुप्रो परेको हजुरबुबाले खोक्दै
सरापेको संविधान ।

परिक्षा आउन लाग्दा पनि
किताब छाम्न नपाएका कलिला हातहरुले
माझी औला देखाउदै सरापेको संविधान ।

हिल्चाबाट चारदिन हिडेर
चिराइतो बेच्न आउने सेर्पा बाजेले
रगताम्ये फुटेको पाइतला छाम्दै,
थुक्क! थुकेको संविधान ।

लाखौं बिदेशी युवाहरुले
बाथरुममा गएर हातको ठेला हेर्दै
भक्कानिएर आँखाबाट आँसु चुहाउदै सरापेको संविधान ।

२१ जना मृत्युदण्ड पर्खेर बसेका
नेपालीहरुको आँसुले रातदिन सरापेको संविधान ।

हे !
बहादुर नेपालीहरु हो-
संविधानका थानहरु मुगु जिल्लामा पठाई देउ-
ब्लाङकेट पर्खेर बसेका
कुप्रीएका बुढाबुढी मासुम बच्चाहरुलाई
आगो ताप्न त काम लाग्छ।

र,
नेपालले बिर्सेका नेपालीहरु हो-
संविधानका थानहरु टोइलेट-टोइलेटमा थन्काईदेउ-
कमसेकम,
पानी नआउने धाराहरुमा
"गु" पुछ्न त काम लाग्छ।

धन्यवाद।

कुकुर कवि- बिबश बेनाम

Thursday, 14 September 2017

मोरङ केराबारीको बाढीपहिरो पीडितलाई राहत तथा पुर्नस्थापनामा अनुपम र अनुकरणीय एकता, सद्भाव र सहकार्य












केराबारी (मोरङ), भदौ १५ गते । बाढीपहिरो पीडितको पहिचान, वस्तुस्थिति, आवश्यकता तथा राहत वितरण तथा पुर्नस्थापनाका निम्ति विभिन्न टिकाटिप्पणी भईरहेको अवस्थामा केराबारी गाउँपालिका वडा नं. ५ याङ्सिलामा भने ठूला तीन दलका तीन नेताहरुको सहकार्य, एकता, सदभावको अनुपम उदाहरणीय एकता देखिएको छ ।
केराबारीको दुर्गम इलाका याङ्सिलामा राजनीतिक ठूला दलका नेपाली कांग्रेस (नवननिर्वाचित वडाअध्यक्ष), नेकपा एमाले र नेकपा माओवादी केन्द्रका तीन नेता (जो चुनावी मैदानमा प्रतिष्पर्धीका रुपमा थिए) को एकता, सहकार्य, समन्वय, सद्भावको अनुपम उदाहरण उक्त स्थानमा देखिएको हो।
मोरङसुनसरी सामाजिक अभियानको टिम बुधबार बाढीपहिरो पीडितको अवस्था, अवाश्यकता र राहत तथा पुर्नस्थापनाको अवस्थाको बारेमा स्थलगत अवलोकनका क्रममा उक्त स्थलमा पुग्दा नेपाली काँग्रेसका तर्फबाट नवनिर्वाचित वडा नं. ५ का वडा अध्यक्ष राम राई, उहाँसँग हालैको स्थानिय तहको निर्वाचनमा प्रतिश्पर्धा गर्नु हुने नेकपा एमालेका अजय सुब्बा र अर्का प्रतिश्पर्धी नेकपा माओवादी केन्द्रका तेजबहादुर लिम्बू दिनको चर्को घामको परवाह नगरी काँधमा काँध र हातमा हात मिलाएर एकताबद्ध ढंगले त्यहाँ वस्तुस्थिति, अवस्था र आवश्यकताको विषयमा छलफलसहित त्यसको निष्कर्षसहित राहत तथा पुर्नस्थापनामा जुटेको देखियो ।
मोरङसुनसरी सामाजिक अभियान अन्तर्गत कुवेत शाखाका महासचिव उमेश फुयाल, कतारका योगेन चौधरी, नेपालका प्रथम उपाध्यक्ष रामनाथ भण्डारी, पूर्व अध्यक्ष तथा केराबारी स्थानीयबासी गोकलबहादुर थापासहितको टोली उक्त स्थानमा पुग्दा ठूला दलका तीन नेताको उक्त स्थानमा अनुपम एकता, सद्भाव र समन्वयको उदहारणीय काम देखिएको हो ।
मोसु अभियानका पूर्व अध्यक्ष गोकुलबहादुर थापाले भने– केराबारी गाउँपालिका वार्ड नं. ५ याङ्शिला मोसु टिम पुग्दा त्यहाँका बाढीपैह्रो पीडितहरुलाई राहत तथा पुनर्स्थापनाका लागि उदाहरणिय रुपमा खटिएका फरक फरक ३ पार्टीका ३ हस्तीहरुलाई देख्दा एउटै पार्टी भित्र पनि बिभिन्न कारणले मतमतान्तर र क्लेश राख्दैसँगै हिंड्न नसक्नेहरुले सिक्नै पर्ने एउटा गतिलो पाठ देखियो । उहाँहरु सँगसँगै खट्दै हुनुहुन्थ्यो,
शारिरिक साथ मात्रै हैन हैन पीडितहरुलाई राहत तथा पुनर्स्थापना गर्ने सम्बन्धमा उहाँहरु बीच समान सोच, चासो र चिन्ता समेत रहेको थियो, जुन यस्तो छ ?
१. प्रकोपित क्षेत्र स्थायी रुपमै बसोबासको लागि जोखिमपूर्ण रहेकाले पीडितहरुलाई कसरी र कुन स्थानमा छिट्टोभन्दा छिट्टो पुनर्स्थापित गर्ने ?
२. हालको अवस्थामा त प्राप्त सहयोग एवं रहतले पीडितहरुको गुजारा भई रहेको छ तर अधिकांस गरी खाने खेतबारी र कूलो बाढीपैह्रोले पुरिएको, भात्किएकोले निकट भविष्यमा पीडितहरुलाई कसरी जिविकोपार्जन गराउने ?
३. पूर्ण रुपमा घर भात्किएकाहरुले ुकु श्रेणीको पीडितमा परी राहत र सहयोग पाई रहेको तर जेनतेन घर बचेँका तर खेतबारी ठूलो क्षती भएकाहरुलाई कसरी तत्कालिन राहत तथा सहयोग जुटाउने ?
४. यस वडाको अधिकाँश क्षेत्र यसपटकको प्राकृतिक प्रकोपमा परेको र सबै तिरका भिरपाखा धराप भएकाले कसरी सरकार, सहयोगी सँघसंस्था, राष्ट्रिय मेडिया आदिको ध्यानाकर्षण गरेर सहयोग जुटाउने ?
५. भविष्यमा गाउँबस्तीलाई कसरी बाढीपैह्रो जोखिमामुक्त बनाउने ?
थापा अगाडि भन्छन– उहाँहरुको यो चिन्तालाई घटाउन र मानविय कल्याणको यो अभियानलाई सफल बनाउन हामी सबैको साथ र सहयोगको अत्यन्तै खाँचो छ र सबैमा सहयोगका लागि विनम्र अपिल छ ?
सबै आग्रह पुर्वाग्रहबाट टाढा रहेर राहत तथा पुनर्स्थापनाको अभियानमा एकमतका साथ जुट्ने राम जी, अजय जी र तेजबहादुर जीलाई हार्दिक धन्यवाद ।
फेसबुकबाट