Saturday 2 March 2019

माङ्गेन्ना हेरिसकेपछी - खगेन्द्र पंधाक लिम्बू


Nepal International Theatre Festival 2019(INTF) को ‘माङ्गेना’ को एक दृश्य


यो हप्ता नाटक महोत्सव चलिरहेको छ । नायिका तथा रङ्कगर्मी सिर्जना सुब्बा लगायत धेरै रङ्गकर्मीहरूले निम्तो दिरहनु भएको हो । तर व्यस्तताको वाबजुद नियमित नाटक हेर्न सकिरहेको छैन ।
तर, माङ्गेना चार कारणले हेरियो । पहिलो कारण –आफू पनि रङ्गकर्मबाट चलचित्रसम्मको यात्रामा निस्किएको । दोस्रो– मलाई नाटक हेर्न खुब मन पर्छ । तेस्रो माङ्गेनाका लेखक मेरो भतिज साहित्यकार जितेन पन्धाकको अनुरोध र चौथो– मोफसलको नाटक काठमाडौमा हेर्ने उत्कट चाहना । नाटक ६ः०० बजे साँझ चल्ने भनिएता पनि झण्डै ६ः३० मात्र अन्तिम घण्टी बज्यो । घण्टी बजाएर नाटक सुरु गर्ने मण्डला थिएटरको आफ्नै शैली हो । हलको आयतन लगभग १२० जनाको हुनुपर्छ । खाली सिट देखिएन । स्वयमसेवकहरू उभिरहेका थिए ।

लेखक

नाटक चल्नुभन्दा अगाडि दिईने ब्रिफिङ सुनियो । प्रायः सबैले फोन साईलेन्ट मोडमा राखे र हल्ला न्युनिकरण भयो । हल अँध्यारोले छायो । नाटक सुरु भयो । यतिन्जेल टिकटसँग दिइएको ब्राउस पढिभ्याएको थिएँ । साथमा नायिका सुमी लिम्बू हुनुहुन्थ्यो । २–३ जना विदेशी दर्शक पनि देखें । चलचित्रका दर्शकभन्दा अलि फरक गेटअपमा दर्शक देखें । कपाल लामो पालेका, जुङ्गा चुस्स पालेका सामान्य लाग्ने पुरुष र साधारण गेटअपमा महिलाहरू ! नेपालको वर्तमान नाटकका एक नक्षत्र सुनिल पोख्रेल पनि सधैंभन्दा चिटिक्क र गजक्क भई बसिरहेका ।
नाटक सुरु भयो । प्रायः हरेक दृष्यमा लिम्बू सांस्कृतिपरक सजावट । लिम्बू संस्कृतिपरक आँगन, घर, अनुहार, भेषभुषा र लवज । आधा लिम्बू भाषा र आधा खस नेपाली भाषा । आधा उपलब्ध प्रोपर्टीको प्रयोग र आधा साङ्केतिक ।
लिम्बूहरूको सांस्कृतिक दर्शनको पक्षबाट सोचिएको, लेखिएको, निर्माण गरिएको र अभिनय गरिएको माङ्गेन्ना म लिम्बू स्वयमलाई पनि रमाईलो त लाग्यो नै । अन्य जाति–भाषीलाई यसको यो नविनतम पक्ष रमाईलो नहुने कुरै भएन ।
नाटक सुरु हुनपूर्व नै माङ्गेनाको अर्थ सोचिरहेथें । केहि कुरा ब्राउसर पनि उल्लेख थियो नै । र, मलाई थाहा थियो– माङ्गेना विशेषतः लिम्बू नारीहरूको ढलेको शीर (अपमान)लाई उठाउने कृतज्ञपूर्ण क्षमा माग पनि हो ।


माङ्गेनामा च्याब्रुङ, पालाम, याराक (धाननाच), हाक्पारे, ख्यालीसम्म सुन्न देख्न पाईन्छ । अझ, थेबा–युमाहरूले बजाउने काँसको थालको आवाजसम्म सुन्न पाईन्छ । नाटक हेर्न बाँकी हुनेहरूलाई ध्यानमा राखेर यहाँ कथा र यसको सम्पूर्ण बेली बिस्तार म लेख्दिनँ । मात्र केहि नाटकका बारेमा अपडेट राख्छु ।

नाटक जीवन अभिव्यक्तिको लय हो । लयसँग ताल र सुर हुन्छ । मिठासपन हुन्छ । भाईब्रेसन हुन्छ । गति हुन्छ । सौन्दर्य हुन्छ । दर्शन हुन्छ । कला हुन्छ । जो म खोजिरहेथें नाटकभर !
लिम्बूहरू सङ्गीतसँग नजिक छन् । पालाम, ख्याली, हाक्पारे, लवज आदि यिनिहरूको मूख्य लय हो । यि लयहरूको भरपूर प्रयोग छ नाटकमा । लयसँग ताल हुन्छ । यति–गति हुन्छ । च्याब्रुङ बजेको छ । कासको थाल बजेको छ । बोल्दा–हिँड्दा, उठ्डा–बस्दा, काम गर्दा, खाँदा–पिउँदा सबैमा यति–गतिको तालमेल छ ।
नाटक मोफसलका रङ्गकर्मीहरुको प्रस्तुति भए पनि केन्द्रको भन्दा कमसल लाग्दैन । अभिनय, विषयवस्तु, प्रस्तुति, सम्वाद सबै सशक्त छ । केहि कमजोरी पनि छन् । जस्तो कि पालाम गाउन सुरु गर्दा पुरुष र नारीले एकै चोटी म्युजिक ट्र्याकमा गीत उठाए जस्तो एकैचोटी सुरु हुँदैन । अर्को विषयवस्तुमा सिधै प्रवेष नगरी अन्त्यतिर मात्र माङ्गेनाको विषयमा केन्द्रित छ । धेरै गायन चरित्रसँग सम्बन्धित हुनाले गायनसँग सुमधुर गला–कला भएका कलाकार सामेल पनि भए अझ राम्रो हुनेथियो । थिएटरको समस्याले पनि होला, दृष्य परिवर्तनमा समय लाग्ने र भने जस्तो सज्जावट नपुगेको भान हुन्छ ।
नाटकले सत्तेहाङपन्थीको विषयको पनि उठान गरेको छ । सत्तेहाङपन्थीहरूले गर्दा वास्तविक लिम्बू संस्कारमा धक्का पर्छ । मगनी जाँदा सत्तेहाङपन्थीको तरिकाले गरिएको कारण मगनी गरिएकी लिम्बूनीको माईतीलाई अपमानाभाष हुन्छ र उसले ठेट लिम्बू संस्कृतिको सुर्केपङ नदेखेपछि रिसाएर खेदाउँछ । यसरी चेलीहरूको मगनीमा आएका पाहुनाहरूलाई खेदाउनु चेलीहरूको अपमान हो भन्ने लिम्बू संस्कृतिमा व्याप्त मान्यता छ । र, चेलीको झुकेको शीरलाई उठाउन माईतीले फेरि माङ्गेना गरेपछि नाटक सकिन्छ । यो लिम्बूहरूको महान दर्शन हो । नारीवादी कृतज्ञता हो ।
अर्कोतर्फ, लिम्बूनीहरूले स्वेच्छाले अरु जात–धर्मकासँग बिहे गरे पनि माईतीहरूले स्वीकार्ने दर्शनलाई पनि झल्क्याईएको छ । सहनाई बजाउने दमाईसँग भागेर जाने चेलीलाई समेत सईज्जत खोजेर मनाउने–मान्ने आशय नाटकले दिएकोछ ।
यो सालाखाला टिपोट मात्र हो । बसेरै हेर्दा नाटकमा हुने रस रिभ्यूबाट प्राप्त गर्न सम्भव हुँदैन । ईलामको दक्षिण भेगका चुलाचुली थिएटरका निर्देशक चेतन आङथुपोले ५० मिनेटको नाटकमा आफ्ना कलाकारलाई सफलपूर्वक उभ्याएका छन् । नाटकको प्राण लेखन हो, जो सफल छ । जसलाई सबैले सजीव बनाएका छन् ।
साभार: नयाँ अनलाईन डटकम  

No comments:

Post a Comment