Wednesday 3 January 2018


यसरी बनाइन्छ ‘वाचिपा’



लोकल कुखुराको तिते

भोजपुर — लोकल कुखुराको तिते जति स्वादिलो हुन्छ, तयार पार्न पनि एकदमै सजिलो छ । पहिलोपल्ट थाहा पाउँदै हुनुहुन्छ भने अनौठो पनि लाग्न सक्छ । स्थानीयहरुका अनुसार कुखुराको प्वाँख डढाएको धूलोमा सफा गरेको आन्द्राभुँडी, मुटु, कलेजो, पखेटा, खुट्टा मिलाएर पकाइन्छ ।
आवश्यकताअनुसार नुन, तेल र मसला प्रयोग गर्नैपर्छ। कुखुरा काटेपछिको रगत मिसाउँदा अझ स्वादिलो हुन्छ। कतिपयले प्वाँख डढाएको धूलोमा रगत र भात पनि मुछेर सफा गरेको आन्द्राभुँडी, मुटु, कलेजो, पखेटा, खुट्टासँगै पकाउने चलन पनि छ। यसलाई स्थानीय भाषामा ‘वाचिपा’ भन्ने गरिन्छ। वाचिपा बनाउन कुखुराको भाले भए काइदा हुन्छ। नहुँदा धेरै प्वाँख भएको कुखुरा भए पनि हुन्छ। प्वाख डढाउनलाई दाउरा बालेको आगोको ज्वाला चाहिन्छ। पकाउँदा पनि दाउराको आगो नै प्रयोग गर्दा झनै स्वादिष्ट हुन्छ। यो खाना सामान्य त तितो हुने भए पनि छुट्टै स्वादको हुन्छ। स्थानीय र अर्गानिक खाना भएकाले पकाउँदा पनि अर्गानिक सामग्री नै प्रयोग हुन्छ। कम खर्चिलो पनि हुन्छ। पकाउनलाई २० देखि ३० मिनेट समय भए पुग्छ।
जुनसुकै मौसममा घुम्न आउनेले यसको स्वाद लिन सक्छ। भोजपुर आदिवासी किरात राई समुदायको बाहुल्य रहेको जिल्ला पनि हो। प्राय: घरमा वाचिपा पाक्छ। चाडवाड अर्थात् अन्य जुनसुकै बेला घरमा कुखुरा काटेको बेला तिते बनाएन भने मासु खाएजस्तै नहुने भन्दै कुखुरा काटेपछि अनिवार्य वाचिपा बनाउँछन्। यो उनीहरुको संस्कारसँग जोडिएको खानेकुरा पनि हो। पित्रि पुज्दा वाचिपा पकाएर चढाउने परम्परा नै छ। अतिथि सत्कार गर्नपरे यही खाना पकाएर चखाउने गर्छन्। गैरकिरात आदिवासीहरुले पनि पकाएर खाने गर्छन्। अर्को नाम ‘आदिवासी खाना’ पनि हो। यसलाई औषधिका रुपमा पनि लिइन्छ। एकोहोरो तथा गाह्रो कामको थकान भएर जिउ दुखेको छ अर्थात् रुघाखोकी, चिसोले छोएको छ भने वाचिपा खाँदा निको हुन्छ।
कान्तिपुरमा प्रकाशित : मंसिर २६, २०७४ १७:५९

No comments:

Post a Comment