Monday, 3 December 2018

जसले मुखले लेखेर डिग्री गरे, खोलामा गाड्न सल्लाह दिने छिमेकी भन्छन् : छोरा होस् त तिम्रो जस्तो

निर्मला खडायत

+

unn.prixa.net

छोरा जन्मिएको खुसीयालीमा छरछिमेक, आफन्त, नातागोतालाई बोलाएर भोजभतेर गर्ने चलन थियो । तर उहाँ जन्मिदा घरमा कुनै खुसीयाली आएन । बरु आमाबुवा चिन्तित भए । छरछिमेकले परिवारलाई जिउँदै गाड्न सुझाए । कारण थियो, जन्मजात शारीरिक अपाङ्गता ।
उहाँ अर्थात नन्दराज भट्ट । जन्मजात दुवै हातखुट्टा नभएको । शरीरमा हात र खुट्टाको कुहिनोसम्मको आकार मात्र थियो । त्यसैले त उहाँका आमाबुवालाई आफन्त र छरछिमेकले त्यस्तो सन्तान पालेर के गर्छौ, खोलामा गाड भन्नेसम्मको सल्लाह दिए । 
जन्मिदा धेरैको हेयको पात्र बन्नु भएका तिनै नन्दराज अहिले भने अपाङ्गता भएकाहरुका लागि मात्र होइन, सपाङ्गहरुका लागि पनि प्रेरणाको स्रोत बन्न सफल हुनुभएको छ । कारण हो, दुवै हातखुट्टा नभएर पनि उहाँले गरिरहेको संघर्ष र प्राप्त सफलता ।
२०४५ सालमा बैतडीको सुर्नया गाउँपालिका–३, मा दुवै हातखुट्टाविहीन भएर जन्मिएका नन्दराजले शारीरिक अपाङ्ता हुँदैमा मानिस असफल हुँदैन भन्ने बलियो उदाहरण बनेर प्रमाणित गर्नुभएको छ । हातखुट्टा नभए पनि स्नातकोत्तर तहसम्मको शिक्षा हासिल गर्न सफल भएका उहाँ अपाङ्गता भएका व्यक्तिको हकअधिकारको क्षेत्रमा क्रियाशील हुनुहुन्छ । उहाको सक्रिय जीवनशैली हेर्दा लाग्छ, उहाँमा कुनै शारीरिक अपाङ्गता छैन । त्यसैले त उहाँ सबलाङ्ग व्यक्तिका लागि पनि प्रेरणाको स्रोत बन्नु भएको छ । 
आफू जन्मेको केही दिनसम्म त गाउँमा अनौठो बालक जन्मियो भनेर हेर्नेहरुको घुइँचो नै लागेको उहाँले निकै पछि थाहा पाउनुभयो । ‘हेर्न आएकामध्ये कतिले आमाबुवालाई अपाङ्ग सन्तान पालेर के गर्छौ, कतै लगेर फालिदेउ भन्ने सुझाव समेत दिएछन्’ नन्दराज भन्नुहुन्छ, ‘तर आमाबुवाको मन हो, आफैले जन्माएको सन्तानलाई कसरी जिउँदै मार्न सकून् ।’ 
परिवारकै सहयोगका कारण आफू यो अवस्थासम्म आइपुगेको उहाँले बताउनुभयो । आइपर्ने हरेक समस्यालाई कमजोरी होइन, चुनौतीका रुपमा लिएर अघि बढ्नु पर्ने धारणा छ उहाँको ।
दुवै हातखुट्टा नभएर पनि स्नातकोत्तर तहसम्मको शिक्षा हासिल, अपाङ्गताको हक अधिकारका लागि क्रियाशीलता र अपाङ्गता भएका व्यक्तिमा जीवन उत्प्रेरणा जगाउने कार्यमा सक्रिय नन्दराजले सामाजिक रुपमा पनि आफ्नो छुट्टै पहिचान बनाउन थाल्नु भएको छ । यो सफलता प्राप्तिका लागि उहाँले जीवनदेखि हार नमानी कठिन संघर्ष गर्नु भएको छ, चुनौतीका पहाडहरु छिचोल्नु भएको छ । दुवै हातखुट्टा नहुँदा शारीरिक कठिनाई त छँदै थियो । कतिपय आफन्त, साथीभाइले हेयको रुपमा हेरे । तर उहाँले जीवनदेखि हार मान्नु भएन, बरु शारीरिक चुनौतीलाई स्वीकार गरी पढाईसँगसँगै अन्य कार्यहरुलाई निरन्तरता दिनुभयो ।
‘शारीरिक अपाङ्गताका कारण सुरुका वर्षहरुमा अध्ययनलाई अगाडि बढाउन निकै समस्या भयो’, उहाँ सम्झनुहुन्छ, ‘हात नभएकाले लेख्न मात्र होइन, विद्यालय जान र कक्षाकोठामा बस्न पनि समस्या थियो ।’ समाजले जे भने पनि परिवारले पनि साथ दिएको उहाँ बताउँनुहुन्छ । परिवारको आर्थिक अवस्था कमजोर थियो । तर पनि परिवारले ३ कक्षासम्म घरमै अध्ययनको व्यवस्था गर्‍यो । त्यसपछि उहा बैतडीको वीरेन्द्र उच्च माविमा भर्ना हुनुभयो र उच्च माविसम्मको शिक्षा त्यहीँबाट हासिल गर्नुभयो ।
सजिलो थिएन यहाँसम्मको यात्रा
सानो छँदा पहाडमा उकाली–ओराली गर्न उहाँलाई सहज थिएन । आमा बुवाले नै काँधमा बोकेर विद्यालय पुर्‍याउने, ल्याउने काम गर्नुभयो । बीरेन्द्र माविबाट एसएलसी उत्तीर्ण गरेपछि उहाँ उच्च शिक्षा हासिल गर्न कैलाली झर्नुभयो । समथर भौगोलिक बनावट र यातायातका साधनको सुगमताले तुलनात्मक रुपमा उहाँलाई सहज भयो । तर शारीरिक अवस्थाले अध्ययनमा कठिनाई त छँदै थियो । धनगढी आएपछि उच्च शिक्षा आर्जन गर्न शारीरिक अपाङ्गताकै कारण भर्ना पाउन पनि उहाँले कठिनाइ झेल्नु पर्‍यो । अपाङ्गमैत्री भवन नभएको भन्दै धेरै कलेजहरुले भर्ना लिन नमानेको विगत अहिले पनि उहाँको स्मरणमा ताजा छ ।
नन्दराजको बौद्धिक क्षमता नबुझी शारीरिक अपाङ्गता देखेर धेरै कलेजले भर्ना लिन मानेनन् । तर समाजसेवी घनबहादुर शाहको मद्दतले कैलाली बहुमुखी क्याम्पसमा उहाले भर्ना पाउनुभयो । भर्ना पाइसकेपछि पनि उहाँलाई आफ्नो अध्ययन अगाडि बढाउन त्यति सहज भने भएन । उहाले विगत सम्झिनुभयो, ‘सबै सपाङ्ग विद्यार्थीको बीचमा म एक्लो अपाङ्ग थिएँ । साथीहरुले जिस्काउँथे । त्यतिबेला मन अमिलो हुन्थ्यो । तर मैले  हरेश खाइनँ ।’
हात र खुट्टा दुवै नभएका भट्टले सुरुवाति समयमा मुखले लेख्ने प्रयास गर्नुभयो । ‘मुखले लेख्दा घाँटी दुख्न थालेपछि दुवै हातका कुहिना जोडेर लेख्न थालेँ’, उहाँले सम्झनुभयो, ‘कक्षा ५ सम्म पुग्दा मुख र खुट्टाले नै लेख्थेँ ।’  खुट्टाले लेख्दा कापी फोहोर हुन थालेपछि भने कुहिनाले लेख्ने प्रयास थालेको उहाँ बताउनुहुन्छ । उहाँ अहिले मुख, कुहिना र खुट्टा तीनै अङ्गको सहारामा कलम चलाउन सक्नुहुन्छ । हिँड्ने, लेख्ने, पढ्ने मात्र होइन, मोबाइल चलाउने, आफ्नो दारी खरौनेसम्मका काम आफैं गर्न सक्नुहुन्छ ।  
हिजो घृणा गर्नेहरुबाट नै आज प्रशंसा
‘हातखुट्टा भएर पनि केही गर्न नसक्नेहरु बरु अपाङ्ग हुन्’ उहाँ भन्नुहुन्छ, ‘यो समाजले अपाङ्गताको सही अर्थ नबुझेका कारण हामीहरुलाई गाह्रो भएको हो ।’ जीवनमा सफल हुन सपाङ्ग भएर मात्रै हुँदैन । सफलताका लागि त्यो भन्दा पनि महत्वपूर्ण कुरा दृढ इच्छा र संकल्प रहेछ भन्ने कुरा नन्दराजले प्रमाणित गर्नुभएको छ । 
‘म जन्मदा मेरा आमाबुवालाई अपाङ्ग छोरा पालेर के गर्छौ, कतै लगेर फालिदेउ भन्नेहरु हिजोआज मेरो प्रशंसा गर्न थालेका छन् । मेरा लागि सबैभन्दा ठूलो खुसी पनि यही हो । म गाउँ गए भने वरिपरिका मलाई भेट्न आउँछन् र मेरा आमाबुवालाई भन्छन्, छोरा होस् त तिम्रो जस्तो’ अनुहारमा खुशी छर्दै नन्दराजले भन्नुभयो ।
कम्युटरमा पनि डिप्लोमा कोर्स पूरा गरिसकेका उहाँ ओठ र नाकको सहायताले मोबाइल र कम्प्युटर पनि सजिलैसँग चलाउनुहुन्छ । कपडा धुन भने उहाँलाई श्रीमतीले सघाउनुहुन्छ । २०७१ सालमा प्रेम विवाह गर्नु भएका नन्दराजकी एक छोरी छिन् ।  
उहाँ अहिले अपाङ्गता भएका व्यक्तिलाई सामाजिक समायोजन गराउने काममा सक्रिय हुनुहुन्छ । अपाङ्गता भएका व्यक्तिहरूलाई सामाजिक समायोजनको क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याएको भन्दै संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) द्वारा ‘राष्ट्रिय स्वयंसेवक अवार्ड २०१६’ बाट उहाँ सम्मानित पनि हुनुभयो । नेपाली साहित्यका विद्यार्थी उहाँ साहित्य क्षेत्रमा पनि रुचि राख्नुहुन्छ । जीवनका भोगाइहरुलाई शब्दहरुमा उतार्ने कोशिस गर्ने गरेको उहाँ बताउनुहुन्छ । आफैले कोरेका गजलका केही हरफ उहाँले सुनाउनुभयो–
बेहाल छ जीवन, कथा म लेखुँ कसरी ?
बादलभित्रको चन्द्रमा म देखुँ कसरी ?
आँसुले भिजेको परेली बिझाइरहन्छ कताकता
तिमी नै भनिदेऊ त्यो परेली म सेकुँ कसरी ?
कहिलेकाहीँ समसामयिक विषयमा पनि कलम चलाउने भट्ट अपाङ्गताको सवाललाई समेटेर लेखरचनाहरु पनि कोर्ने गर्नुहुन्छ । उहाँले ‘बेलाको बोली’ विचार संग्रह प्रकाशन पनि गर्नुभएको छ । अहिले आफ्नै जीवन चरितार्थ पुस्तक प्रकाशित गर्ने तयारीमा रहेको उहाँले बताउनुभयो । ‘हातले, मुखले र खुट्टाले लेखेर आफ्नो जीवन कथा आधी जति लेख्न भ्याएको छु । छिटै प्रकाशित गर्ने सोच छ’, उहाँले भन्नुभयो । 
अपाङ्ग भएकोमा कुनै अफसोच र दुःख आफूलाई नरहेको उहाँको भनाइ छ । नन्दराज भन्नुहुन्छ, ‘म अपाङ्ग हुनुमा मलाई कुनै दुःख छैन । बरु गर्व लाग्छ, मभित्र सबलाङ्ग व्यक्तिमा भन्दा फरक क्षमता छ ।’ 
(यो प्रेरणादायक लेख उज्यालो अनलाइन डटकमबाट साभार गरीएको छ)

निर्मला खडायत

उज्यालाेका कैलाली सहकर्मी खडायतलार्इ फेसबुकमा भेट्न सकिन्छ ।

Friday, 16 November 2018

पोर्चुगलमा नेपाली सुकुम्बासी बस्ती



पछिल्लो समयमा कृषि रोजगारको मुख्य आकर्षण बन्दै आईरहेको छ पोर्तुगलमा।कृषि क्षेत्रमा मुख्यतयाः नेपालीहरु काम गर्दछन र बस्दछन्। पोर्तुगलका प्रतिष्ठित नेपालीहरु र धेरैको व्यवसायको आकर्षण पनि कृषि बनिरहेको अवस्थामा
कृषिक्षेत्रमा हुने श्रम शोषण र मानब तस्करी पोर्तुगल सरकारको टाउको दुखाईको बिषय बनेको छ।ब्रिजोस क्यार संरक्षण क्षेत्र र मि गुएइरा दि बाइसो क्षेत्रमा पोर्तुगलको अध्यागमन प्रहरी सेफको चेकजाचको क्रममा नेपालीहरु रोहिंगा शैलीमा पोर्तुगलको आरक्षण क्षेत्रमा जस्ताको टहरो बनाएर बस्दै आईरहेको भेटेको छ। जीवनका लागि न्युनतम सुविधाहरु पानी, बिजुली र शौचालय पनि नभएको र सो क्षेत्रमा बसोबास गर्नु नै गैरकानुनी भएको सेफले जनाएको छ।
पछिल्लो समयमा युरोपमा मानब तस्करीहरुको केन्द्र नै पोर्तुगल बन्दै आईरहेको छ। यहाँ विभिन्न समाज र संस्था गठन गरेर ठगी, दलाली र मानब तस्करी गर्ने नेपालीहरुको जमात पनि पढ्दो छ। बिशेषत कृषिमा सरकारी कोटामा कामदारहरु ल्याएर करीब एक लाख २० हजार सरकारी दस्तुरका अतिरिक्त मानब तस्करीहरु संगको सेटिङ्मा १२-१२ लाख भन्दा बढी असुल्ने कृषि
ब्यवासीहरु मालामाल हुने र श्रमिकहरुको जीवन बेहालभएका तथ्यहरु बारम्बार पोर्तुगिज मिडियाहरुमा पनि आईरहनुले पुष्टी गर्छ।पोर्तुगलको अध्यागमन प्रहरी सेफले सबैभन्दा बढी निरीक्षण र निगरानी गर्ने क्षेत्र नै कृषी हो। सेफले बिगतका महिनाहरुमा मात्रै २०० भन्दा बढीलाई कृषी क्षेत्रमा निरीक्षण र पक्राउ गरेको थियो। कृषि मजदुरसंग भएका कामका करारहरु कानुनसंगत नभएको र नक्कली भएको आशंकामा अझै पनि सेफको अनुसन्धानको धेरामा छन्।
दशौ बर्षदेखी पोर्तुगलमा ब्यासाय गर्दै आयका एक नेपाली भन्छन् ” कृषि क्षेत्रमा हुने गरेको श्रम शोषण र मानब तस्करीका घटनाहरुबढ्दै जानु र श्रमिकहरुको उजुरीहरु सेफमा धेरै संख्यामा आउन थालेपछि सेफको कडा निगरानी रहेको कृषि व्यवसाय धेरै नेपालीहरुले छोडेका छन् भने कयौले कानुनी झमेलाबाट बच्न अरुको नै नाममा आफ्नो व्यवसाय गलत तरिकाले गर्दै आएका छन्, जुनदिन कानुनको नजरमा पर्छन, मालिक त बच्लान तर जसको नाममा व्यवसाय छ, उनीहरु फस्ने निश्चित छ। ”
नेपालीहरुबाट नै नेपालीहरु मानब तस्करी र चरम श्रम शोषण गरेको अभियोगमा यसअघि पनि २ जना नेपाली र एक पोर्तुगिज नागरिकलाई पोर्तुगलको अदालतले १४ र १३ बर्षको जेल सजाय सुनाईसकेको छ जसमा २३ जना नेपालीहरु आरक्षण क्षेत्रमा टहरोमा एकदमै निम्न जीवनस्तरमा बस्दै आएको र चरम श्रम शोषण र मानब तस्करी पिडित भन्दै सेफले उद्धार गरेको थियो।
हालै मात्र अल्सेसर दो सालको बारुण नियन्त्रण शाखाले एक रिपोर्ट प्रस्तुत गर्दै त्यस क्षेत्रबाट सबै टहराहरु हटाउन भनेको छ। पोर्तुगलको वातावरण मन्त्रालयले ब्रिजोस क्यार संरक्षण क्षेत्र र मि गुएइरा दि बाइसो क्षेत्रमा अनुशन्धान गर्दै त्यसक्षेत्रमा जस्ताका टहराहरु बनाएर बसेका नेपालीहरुले जताततै दिशापिसाब गेरको, फोहोर गरेको र आठ मिटरसम्म रुखहरुको हालत खराब गेरको एक रिपोर्ट निकालेको छ
यहाँको सर्कार्क्ले निर्माण र खेतीमा काम गर्ने उनीहरु मानव तस्करहरुमार्फत ल्याइएको आशंका गरेको छ । गाह्रो र खतरनाक काम भएपनि उनीहरुले प्रतिघन्टा ३ युरोभन्दा थोरै पैसामा काम गरेको बताएका छन् । जो अन्य कामको तुलनामा एकदमै कम हो |एक पोर्तुगिस टेलिभिजनका अनुसार उनीहरु अपमानजनक तवरले न्युनतम मापदण्ड पनि नभएको ठाउमा बसेको जनाएको छ । नेपालमा सुकुम्बासीहरुको टहराजस्ता छाप्रामा उनीहरु बस्ने गरेको देखाइएको छ ।
दयनीय अवस्थाबारे टिप्पणी गरे पनि टेलिभिजनले उनीहरुको कानुनी वैधता वा यस्तो अवस्थाबारे केही खुलाएको छैन ।यहाँका सुरक्षा अधिकारीले र वातावरण मन्त्रालयले ३० दिनभित्र सो क्षेत्र खाली गराउन र सरसफाई गरी वृक्षारोपण गर्न सम्बन्धित निकायहरुलाई निर्देशन समेत दिईसकेको छ। -यादव देवकोटा / पोर्तुगल.. तामाङ अनलाइन बाट तस्विर – गुगलबाट लिइएको सुकुम्बासी बस्ती ( यो सचामार ताजा सन्देश डटकम बाट साभार गरीएको छ) 

Tuesday, 6 November 2018

बाथका बिरामीले खान नहुने यी ५ चिज

साभार: स्वास्थ्यखबरमा प्रकाशित 



सामान्यतः बाथको समस्या बढी महिलालाई देखिन्छ भने पुरुष पनि यसका शिकार हुन्छन् । बाथ हुँदा जोर्नी दुख्छ र सुन्निन्छ । यसका लागि उपचार र पेनकिलर्स दिइन्छ । तर अनुसन्धानहरुबाट के देखिएको छ भने यदि बाथ बढाउने खालका खाना खाइएको छै भने यसलाई नियन्त्रण गर्न सकिन्छ । बाथ धेरै प्रकारका हुन्छन् । तिनमा ओष्टियो बाथ र रुमाटाइड बाथ बढी भएको पाइन्छ । 

ओष्टियो बाथ औंला, घुँडा तथा हिपमा हुन्छ भने रुमाटाइड बाथ खुट्टाको जोर्नीमा हुन्छ । यसले ती अंग चलाउन पनि गा¥हो हुन्छ । परिवारमा पहिला कसैलाई बाथ भएको छ भने यसको चपेटामा पर्ने सम्भावना बढी हुन्छ । 
बाथको लक्षण
जोर्नी दुख्ने
सुन्निने
अंगले काम गर्न समस्या हुने
रातो हुने
के गर्ने ? 
आराम गर्ने
चिसो या तातोले सेक्ने
तौल कम गर्ने
शारीरिक अभ्यासमा जोड दिने
जोर्नी प्रत्यारोपणको उपचार
यसका अलावा बाथका रोगीले यी खाना खानबाट बँच्नुपर्छ 
फ्राइ गरेको या प्याकेटको खाना
अनुसन्धानकर्ताहरुका अनुसार बाथका रोगीले फ्राइ गरेको या प्याकेजिङ गरेको जस्तै, फ्राइड मिट, चिस्याइएका तरकारीहरु खानुहुन्न । यसको ठाउँमा ताजा फलफूल तथा तरकारी खाएमा सुन्निने समस्या र दुखाई कम हुनमा सहयोग गर्छ । 
बढी तताइएको खाना
सन् २००९ मा गरिएको एक अध्ययनले बाथका रोगीहरुले बढी तताइएको खाना खान नहुने तथ्य पत्ता लगाएको थियो । यस्ता खानाले पनि बाथको समस्या बढाउँन सक्छ । 
चिनी
आवश्यकताभन्दा बढी खानाले जुनसुकै खाद्यपदार्थले पनि असर गर्न सक्छन्, चाहे त्यो नुन होस् या चिनी । गुलियो पदार्थ बढी खानाले बाथ प्रभावित अंग सुन्निन सक्छ । यसैले आफ्नो डाइटमा केक, सोडा, चकलेट, मैदाजन्य पदार्थ समावेश गर्नुहुन्न ।
दुग्धजन्यपदार्थ
दूध दही शरीरका लागि फाइदाजनक हुन्छ । यसबाट भरपूर क्याल्सियम पाइन्छ । तर बाथका रोगीहरुका लागि दुग्धजन्य पदार्थ बिलकुल हानिकारक मानिन्छ । अनुसन्धानका अनुसार दुग्धजन्य पदार्थमा त्यस्तो प्रोटिन पाइन्छ, जसले जोर्नीको दुखाईलाई झन् बढाउँछ । यस्तो अवस्थामा शरीरमा प्रोटिनको कमी हुन नदिन पालुंगो, तोफु, सीमी, दाल बढी खानुपर्छ । 
मदिरा र सूर्तिजन्य पदार्थ
मदिरा र सूर्तिजन्य पदार्थ शरीरका लागि हानिकारक हुन्छ । झन् बाथका रोगीले त यसलाई छुनै हुन्न । यसले जोर्नी दुख्ने क्रम बढी पार्छ । साथै शरीरमा खतरनाक रोगलाई निम्त्याउँछ । 

Sunday, 4 November 2018

कागती पानी पिउनाले हाम्रो शरीरमा हुने फाइदा र बेफाइदा

अनलाइनखबरमा

lemon
कागती भिटामिन सी, पोटासियम तथा फाइबर लगायतका पौष्टिक तत्वहरुको भण्डार हो । यो मानव स्वास्थ्यका लागि निकै लाभदायी छ ।
कागतीलाई विभिन्न स्वरुप र प्रकारमा खाइन्छ । चाहे पानीमा हालेर होस् वा चियामा, अनि तरकारी वा खानामा र अचार बनाएर ।
सरीरको वजन कम गर्ने वा सरीरबाट विषाक्त पदार्थ निष्कासन गर्नमा सहयोग गर्ने हुनाले कागती पानी अर्थात हट लेमन खाने बानी धेरैको हुन्छ । कतिपयले अलिक बढि नै कागती पानी पिउने गरेको पाइन्छ र जति धेरै खायो उति नै फाइदा हुन्छ भन्ने मानसिकता रहेको पनि पाइन्छ । तर धेरै खाएमा गुड पनि तितो हुन्छ भन्ने उखान झैँ कागतीपानीको अत्यधिक सेवन स्वास्थ्यका लागि फाइदाजनक हुँदैन । धेरै कागतीपानी खानुका बेफाइदा यस्ता छन् :
१. कागतीमा साइटि्रक एसिड पाइन्छ । धेरै कागतीपानीको सेवनले यो अम्लले दाँतसँग रासायनिक प्रतिक्रिया गरी दाँतलाई कमजोर बनाउने वा खियाउने गर्दछ । त्यसैले कागतीपानी पिउँदा बढि तातो बनाएर नपिउने र मुखमा धेरैबेर नराख्ने अर्थात् सर्लक्कै निल्ने गर्नुपर्छ ।
२. यदि तपाइँमा एसिडिटीको समस्या छ भने कागतीको सेवन एकदमै कम गर्नुहोस् । यसले छाति तथा पेट पोल्ने तथा एसिडिटी बढाउने समस्या पैदा गरिदिन्छ ।
३. कतिपय मानिसहरु खाना खाइसकेपछि खानेकुरा पचाउने भन्दै कागतीको सेवन गर्दछन् । तर भरिएको पेटमा कागती खानाले असर गर्नसक्छ र यसले पाचन क्रियामा गडबडी उत्पन्न गराउन सक्छ । त्यसबाट अपच, झाडापखला जस्ता समस्या हुनसक्छन् । त्यसैले खाइ खाइसकेपछि होइन की खानासँगै कागती खानुपर्छ ।
४. कागतीमा अम्ल हुनुका साथै अक्जालेट तत्व पनि हुन्छ । यसको अत्यधिक सेवनले सरीरमा क्रिस्टल बन्न सक्छ । जुन स्क्रिटल अक्जालेटका कारण मृगौला तथा पित्तथैलीमा पत्थरी पर्नसक्छ ।
५. कागतीपानी पिउँदा पटक पटक पिसाब लाग्दछ । यसका कारण सरीरमा डिहाइड्रेसन अर्थात् जलवियोजनको खतरा पनि हुनसक्छ । त्यसैले कागती पानी सँगै सामान्य पानी पनि पर्याप्त पिउनुपर्छ । यदि दिनमा अरु पानी पर्याप्त पिउन नपाउने अवस्था छ भने कागती पानी नपिउनु राम्रो हुन्छ ।

Friday, 2 November 2018

पर्यटक पर्खिरहेको याङशिला(फोटो फिचर)



धरान :  साविक याङशिला गाविस(हाल केराबारी गाउँपालिका ४ र ५) क्षेत्र प्राकृतिक सौन्दर्यले भरिपुर्ण छ । ग्रामिण पर्यटनको प्रचुर सम्भावना बोकेको भएपनि उचित प्रचारप्रसार एवं प्रर्वद्धन अभावले याङशिलाको सुन्दरता ओझेलमा छ ।
याङशिला पदयात्रा, साइक्लिङ र मोटर यात्राको लागि आकर्षक गन्तव्य बन्नसक्छ । याङशिला जाने ४ वटा रुट छन् । धरानबाट पानमारा, सतिसाले हुदै जान सकिन्छ भने केराबारी बजार हुदै खदम खोला निस्केर पनि जान सकिन्छ । यस्तै, मोरङ र धनुकटाको सिमानामा अवस्थित ओख्रे हुदै र अर्को रुट धरानको वडा ४ स्थित हर्दिया, सुमनटार हुदै पनि पुग्न सकिन्छ । प्रकृति, ग्रामिण परिवेश एवं वातावरणसँग रमाउदै पदयात्रा गर्नु, साइक्लिङ वा मोटरमा गुड्नु स्वर्गिय आनन्दको अनभूति हुन्छ ।
याङशिलामा पर्ने धुस्कुटे गाउँ, पिङ डाँडाबाट देखिने सुर्योदय, खोल्याङ गाउँ, चनौटेस्थित गुम्बा र तोप थुम्की डाँडाले पर्यटकीय आकर्षण हो । यस्तै, मिनि भेडेटारको उपमा पाएको चिउरी भञ्ज्याङ र नजिकैको सप्तकन्या गुफा यहाँको प्रमुख पर्यकटीय गन्तव्य हुन् । चर्चित ओख्रे टावर पनि मोरङ( याङशिला )पटि नै पर्छ । याङशिला घुम्नको लागि अहिले उपयुक्त समय हो । जाने होइन त तपाईहरु पनि याङशिला घुम्न ?

यो प्रचार सामाग्री कपुरी न्युज डटकम बाट साभार गरीएको छ
तस्बिरहरु: सनम तामाङ
_DSC0036-01-01DSC_1133-01-01 1DSC_0090-02-02DSC_1217-01-01-01 1IMG_2385-02 1DSC_0097-03-01

Sunday, 14 October 2018

ढाका कपडा पहिचानको उद्यम, - सुम्निमा चाम्लिङ







ढाका कपडा पहिचानको उद्यम
–सुम्निमा चाम्लिङ

धरानः व्यापार, व्यवसाय तथा उद्यम गर्नेहरु धेरैको उदेश्य केवल मुनाफा कमाउने र सम्पती जोड्ने मात्र हुनसक्छ । यसक्षेत्रका थोरैले मात्र आफ्नो समुदाय र मुलुकको मौलिक पहिचान लाई उद्यमको रुप दिएर त्यस्लाई देश, विदेशमा फैल्याउने र त्यसैबाट आम्दामी पनि गर्ने फराकिलो उदेश्य राखेका हुन्छन् । उद्यमी र व्यवसायीका भिडमा त्यस्ता सोच भएकाहरु छुट्याउन गाह्रै हुन्छ । यसैविचमा यमुना तुम्सा लिम्बु (२८) ले उनको उद्यममा आउनेहरु विच वेग्लै उद्यमी महिलाको परिचय बनाएकी छिन् ।
 धरान–१२ चतरा लाइनमा चौविसे सम्यक ढाका वुटिक सञ्चालन गर्दै आएकी धनकुटा चौविसेकी यमुनाको सोच फराकिले छ । उनि आफुले सञ्चालन गर्दै आएको उद्यम लाई नेपालको पहिचान मान्छिन् । ढाका उद्योग संचालन गरेर मौलिकता संरक्षण गर्ने काम गरिहेकी मान्छिन् । आफ्नौ समुदायले परापूर्वकाल देखी मौलिक पहिरनको रुपमा लगाउँदै आएको ढाका आफै बुन्ने परम्परा लाई आफुले व्यवासय बनाएकोले समुदायको पहिचानका लागि पनि केही गरिरहेकी छु भन्नेमा उनलाई गर्व छ । ढाका कपडाको लोकप्रियता फैलदैं गएर यस्को अन्तर्राष्ट्रिय बजार बढ्ने र त्यस्लो मुलुकको अर्थतन्त्रमा समेत योगदान पु¥याउने कुरामा सचेत छिन् । भन्छिन् ‘त्यसैले सबै भन्दा राम्रो उद्यम र व्यवसाय     यही लाग्न थालेको छ ।’ उनले मौलिक ढाकाको उत्पादनलाई प्रर्वद्धन गर्ने भनि गएको वर्ष देखी धरान १२ चतरालाईनमा चौबिसे सम्यक ढाका बुटिक संचालन गरेकी हुन् । आफ्नो मौलिक संस्कार सस्कृति र पहिचानलाई जोगाउनुपर्दछ भन्ने मान्यता राख्ने उनले ढाका उद्योग स्थापना गर्छु भन्ने सोचेकी भने थिइनन् । ढाका उद्योग संचालन गर्नुअघि उनी स्नातकोत्तर डिग्री अध्ययन गर्दै थिइन् ।


करिब दुई वर्ष अघि किरात लिम्बु जातीको महान चाड चासोक तङनामको समयमा लिम्बु जातीको मौलिक पहिरन मेख्ली लगाउने उनको इच्छा अधुरो रह्यो । पुर्वको विभिन्न शहरमा ढाकाको मेख्ली बनाउने स्थान खोजेपनी नपाएपछी नै उनी व्यवसायी बनेकी हुन् । ढाका कपडाको अभावलाई थोरै भएपनी पुरा गर्ने उदेश्यले उनी करिब तिन महिना ढाका बुन्ने तालीम सिकीन् । सीप आर्जन गरेपछी उनले ढाका उद्योग स्थापना गरेकी हुन् । कक्षा १२ सकाएपछी रिजल्ट आउने समयमा उनले हेन्डीक्राफ्ट अन्तर्गत कुरुसले बनेको सामानहरु र टेलरको ज्ञान हासील गरेको हुनाले उनलाई ढाका बुन्ने काम पनी सजिलो गरी सिकेको उनले बताईन् । आधारभुत ज्ञान पाएपछी विभिन्न बुटाहरु बनाउन सकिने उनको अनुभव रहेको छ ।अहिले त उनी  झारपात,फुल,हरेक चिजमा बुटाहरु देख्ने गरेको उनी सुनाउछीन् ।मास्टर्स डिग्री सकाएकी उनले विभिन्न ठाउंमा जागिर खाने सक्थिन् तर उनले भने हराउदै गएको मौलीकतालाई जोगाउदै आर्थीक उपार्जन गर्ने अठोट गरीन् । आफु संगै कयौ महिलाहरुलाई स्वावलम्बी बनाउने काम समेत गरेकी छिन् । ढाका उद्योगलाई आधुनीकीकरण गरेर उत्पादन गर्न सके युवाहरुलाई आर्कषण गर्न सकिने उनको बुझाई छ ।
उनको उद्योगमा ढाका साडी, रुमाल, टाई, चप्पल, ब्याग, गलबन्दी, टोपी, लिम्बु जातीको पहिरन (मेख्ली, तागाबा दौरा सुरुवाल, सिलामसाक्मा साथै लिम्बु गरगहना) लगायत अर्डर अनुसारको सामानहरु उत्पादन हुने गरेको छ । उनको उद्योगमा न्युनतम ५० रुपैयादेखी २५ हजार रुपैयाको सामाानहरु रहेको छ । काठ वा बाँसको तानको प्रयोग गरेर बनाईएको ढाका मौलिकतासँगै जोडिएका कारण पनि यसको माग बढ्दै गएको उनको भनाई छ । १ लाख रुपैया लगानीमा दुई वटा तान,धागो र एउटा मेशिन खरिद गरी सुरु गरेको व्यवसाय अहिले २० लाखको लगानी बढाउन सफल भएकी छिन् । उद्योग संचालन संगै तालीम समेत प्रदान गर्दै आएकी छिन् । सोचेको भन्दा राम्रो आम्दानी गर्दै आएको उनले सुनाईन् । अर्डरहरु धेरै आउने हुनाले काम थेग्न मुस्किल समेत हुने गरेको उनी बताउछीन् । माग अनुसारको उत्पादन र्पुयाउन नसक्दा व्यवसायीले सोचेजति आम्दानीसमेत गर्न नसकेको उनको अनुभव छ ।


स्वदेशमा मात्र नभएर विदेशमा समेत उत्पादीत सामान निर्यात गर्दै आएकी छिन् । ढाका उत्पादनबाट उनले अहिले मासिक लाखौ आम्दानी गर्दै आएकी छिन् । ढाका कपडा उत्पादन गर्ने महिलाहरुले न्यूनतम ६ हजारदेखि १५ हजार रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् । उद्योगमा सिकेका महिलाहरुले अहिले आफ्नै घरमा तान बुनेर मासिक आम्दानी गर्दै आएका छन् । उनीहरुले बुनेको तानलाई उद्योगले खरिद गरीदिने गरेको लिम्बुले बताईन् । पछिल्लो समय युवतीहरुदेखी महिलाहरु समेतको यो क्षेत्रमा आर्कषण बढ्दै गएको छ । उद्योगको व्यवसायीक रुपमा प्रचारप्रसार नगरेपनी यो उद्योगमा स्वत ग्राहकहरु भने बढ्दै गएको उनले बताईन् । पछिल्लो समय भने उनले सामाजीक संचालको माध्यमबाट आफेनो प्रचारप्रसार गरिरहेकी छिन् । यस मार्फत देश तथा विदेशबाट माग आउने गरेकोले उनी निकै उत्साहीत छिन् । पढाई संगै व्यवसायलाई लान सकेकाले थप सहज भएको उनले सुनाईन् ।

ढाकाको माग उच्च भएपनी आवश्यक कच्चा पदार्थ पुर्वमा नपाइने भएकाले राजधानी पुग्नुपर्ने बाध्यता भने रहेको छ । आवश्यक कच्चा पदार्थको अभाव हुदा अर्डर अनुसारको काम गर्न अप्ठ्यारो हुने गरेको छ । ढाकाको कपडा बनाउन सजिलो नहुने भएकाले जनशक्तीको भने अभाव रहेको छ । हातले बुन्नुपर्ने हुनाले ढाकाको सामान थोरै मूल्य बढी हुने गरेको छ । स्नातकोत्तर तह अध्ययन गरेकाले पनी ढाका उद्योग संचालन गरेकोमा उनलाई धेरैले हौसला प्रदान गरेकाले अझ उत्साहीत छन् । महिलाहरु घरको कामसंगै आर्थीक रुपमा समेत सक्षम हुन जरुरी रहेको उनी बताउछीन् । विपन्न महिला,एकल महिलाहरुलाई शुल्कमा विशेष छुट प्रदान गरी यस क्षेत्रमा प्रोत्साहन गर्दै आएको उनले बताईन् । गत साउनमा हङकङमा लिम्बु जातीको फेसन प्रतियोगीतामा उनले बनाएको पहिरन उत्कृष्ट समेत भएको थियो । यसले उनलाई थप उचाईमा पुर्याउने काम भएको छ । यस पेशाले उनलाई देश तथा अन्तराष्ट्रिय स्तरसम्म महिला उद्यामीको रुपमा चिनीने गरेको छ ।
मौलीक भेषभुषा संरक्षण संगै आर्थीक रुपमा समेत सबल हुन पाएकोमा गर्व गर्छीन् । आगामी दिनमा थप उत्पादन बढाउने र प्रचारप्रचार गर्दै यो क्षेत्रलाई निरन्तरता दिने उनको योजना छ । देशको मौलीक पहिचान रहेको ढाकालाई संरक्षण र प्रर्वद्धन गर्न सकनुपर्दछ । राज्यले ढाका कपडा उद्योगका लागी प्रोत्साहन स्वरुप अनुदान तथा क्रणहरु सहज रुपमा उपलब्ध गराए यस क्षेत्रमा आउन प्रोत्साहन मिल्ने थियो । ढाका कपडामा आधुनीकरण गर्दै युवा पुस्तामा आर्कषण बढाउन सक्नुपर्दछ ।

समाचार साभार: Morningtimes Daily

Tuesday, 26 June 2018

लिम्बू जातिले मान्ने मुन्धुम "थुतुरी वेद" हो । मुन्धुम संगीत बारे - झुमा लिम्बु

लिम्बु मुन्धुम संगीत खोजकर्ता - झुमा वनेम लिम्बु
उम्दा मुन्धुमी संगीतकार झुमा लिम्बुको "मुन्धुमी संगीत बिचार" चिन्तन र मनन गरौ । मलाई चित बुझेका केही पंक्तिहरु यहा उल्लेख गरेको छु ।

• नेपालमा शास्त्रीय संगीतको भरपर्दो आधार नभएकोले हाम्रो संगीतको पहिलो आधार "लोक वा रैथाने संगीत नै हो" भन्ने बुझे पर्यान्त म लोक - सांस्कृतिक अन्तर्गतको संगीतमा केन्द्रित छु।

• लिम्बू जातिले मान्ने मुन्धुम "थुतुरी वेद" हो। फेदाङमा,येबा,साम्बा,तुम्याहाङ र बुढापाकाले उहिलेका कुरा नयाँ पुस्तालाई सुनाउने चलन थियो जो अहिले पनि छ। यसरी सुनाउने चलन श्रुति परम्परा हो। लिम्बू जातिको मुन्धुम यहि श्रुति परम्परामा जिवित छ।

• संगीत त धेरथोर मिहिनेत गर्दा जसले पनि बनाउन सक्छ।तर नेपालकै जरामा भिजेको संगीत बनाउन संस्कृति बुझ्न अपरिहार्य छ।भाषाको ज्ञानबिना संस्कृति बुझ्न असम्भवप्राय छ।

• मुन्धुममा जन्मदेखी मृत्यु संस्कार सम्मको जीवन - चक्रलाई समेट्ने संगीत छ।अझ हामिकहाँ गर्भवती हुँदादेखी मृत्यु संस्कारसम्मको कुरा समेट्ने संगीत अभ्यासमा छ ।

• अझै पनि मुलतः श्रुति परम्परामा बाँचेको हाम्रो संगीतको इतिहासलाई श्रव्यदृश्य माध्यमद्वारा दस्तावेजमा संग्रह गर्न नसक्दा यसबारे बौद्धिक बिमर्श छेड्न सकेको छैन ।

• बाजा कसरी बन्छ भन्ने बुझेपछि बल्ल पर्फमेन्सको कुरा आउँछ।पर्फमेन्सबाट एक हिसाबले संगीतबारे बुझ्ने आधार दिन्छ । तर फर्फमेन्स भैसकेपछी पनि सोच्नुपर्ने कुरा संगीत त समाजमा जोडिएको हुन्छ । कस्तो समाजबाट कस्तो संगीत उठ्छ त? कस्ले कसरी बजाइरहेका छन् ?जो संगीतको पेशामा लागेका छन,तिनले त्यसको प्रयोग गरेका छन कि छैनन् ? हामीले हाम्रै गाउ-ठाउबाट उठेको संगीत प्रयोग गरेका छौ कि छैनौ?  माननीय मुख्य कुरा यहि हो।

• भाषा फरक हुँदा संस्कृति पनि स्वभावतः बेग्लै बन्छ। फरक भासाले जन्माउने "टोन" नै फरक हुन्छ। भुगोलले पनि फरक पारिहाल्छ।

• हाम्रा गाँउघरमा गाइने "लोरी" बच्चालाई सुताउन प्रयोगमा आउने संगीत हो।

- कोसेली २०७५/असार /९
यो लेख बिबश बेनाम  ज्युको फेसबुकबाट साभार गरीएको हो ।

Wednesday, 13 June 2018

लिम्बुवान राज्य प्राप्तिको आन्दोलन जायज छ – मुख्यमन्त्री शेरधन राई






Source by Federal Nepal in समाचार



बिराटनगर, लिम्बुवानबाट अशोक चेम्जोङ, जेठ २६ गते/अरुण पूर्वका नौ जिल्लालाई लिम्बुवान प्रदेश नामाकरणको निमित्त गम्भीर ध्यानाकर्षण गराउन संयुक्त लिम्बुवान संघर्ष समितिले प्रदेश नम्बर १ का प्रदेश प्रमुख, मुख्यमन्त्री लगायत विभिन्न दलका नेतालाई हिजो निजहरुकै कार्यालयमा ज्ञापनपत्र बुझायो।


प्रदेश प्रमुख गोबिन्द तुम्बाहाङ, मुख्यमन्त्री शेरधन राई, नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइराला, संघीय समाजवादी फोरम संसदीय दलका नेता जयराम यादव, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी सांसद बिष्णु तुम्बाहाम्फे र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालकी इन्दिरा राईलाई ज्ञापनपत्र बुझाइएको थियो।


ज्ञापनपत्र लिंदै मुख्यमन्त्री राईले भने, ‘लिम्बुवान राज्य प्राप्तिको आन्दोलन जायज छ।’ अरुण, संखुवा खोला, सप्तकोशी पूर्वका लिम्बुवान भनेर एक दसक भन्दा बढी समयदेखि आन्दोलित दलहरु एक भएर बुझाएको लिम्बुवान राज्य प्राप्तिको एजेन्डालाई बाईपास गर्न नसकिने, संविधान संशोधनको लागि संघीय सरकार समक्ष गम्भीर गरि कुरा राख्ने समेत मुख्यमन्त्री राईले बताए।


ज्ञापन पत्रमा के छ?


संघर्ष समितिले बुझाएको ३ बुँदे ज्ञापनपत्रमा भनिएको छ –

१. अरुण, सप्तकोशी, संखुवा खोला पूर्व नौ जिल्ला लिम्बुवान स्वायत्त राज्य स्थापना गरियोस्।

२. अरुण पूर्व लिम्बुवानभित्र लिम्बु भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गरियोस्। यस क्षेत्रका अन्य ऐतिहासिक थातथलो खुलेका आदिवासीहरु (अल्पसंख्यक) याम्फु, लोहरुङ, याक्खा, आठपहरिया, राजवंशी, थारु, लेप्चा, मेचे, कोचे, किसान, गन्गाई, वालुङ, धिमाल, सुनुवार आदिको विशेष स्वायत्त क्षेत्र निर्धारण गरी उक्त क्षेत्रहरुमा ती आदिवासीहरुका भाषाहरुलाई सरकारी भाषाको रुपमा प्रयोग गरियोस्

३. लिम्बुवान क्षेत्रभित्रका ऐतिहासिक धरोहरहरु, सम्पदाहरुको सुरक्षा, सम्वद्र्धन तथा कोष खडा गरी विकास र निर्माण गरियोस्।


किरात याक्थुङ चुम्लुङका लिम्बुवान संयोजक ध्रुव सुब्बा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन ‘मिराक’, लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष मुक्साम मेन्याङबो, संघीय समाजवादी फोरम लिम्बुवान प्रदेश समितिका मुख्य सचिव लोकसागर साँबा, अखिल नेपाल लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष केबी फुदोङ, लिम्बु विद्यार्थी मञ्चका अध्यक्ष फिपराज बेघा, याम्फु स्वायत्त समाजका संयोजक नन्द याम्फु र याक्थुङ युवा मञ्चका अध्यक्ष भूपेन्द्र खुदाङको हस्ताक्षर रहेको छ। ज्ञापनपत्रमार्फत माग पूरा नभए शान्तिपूर्ण र सशक्त आन्दोलन गर्ने समेत चेतावनी दिइएको छ।


ज्ञापन पत्र कसले बुझायो?

लिम्बुवान आन्दोलनको समन्वय किरात याक्थङ चुम्लुङ प्रदेश समितिले गरिरहेको छ। ज्ञापनपत्र बुझाउन कियाचु लिम्बुवान संयोजक प्राध्यापक धु्रव सुब्बाको संयोजकत्वमा संघीय लिम्बुवान मञ्च नेपालबाट महासचिव अशोक चेम्जोङ, उपमहासचिव भविराज तुम्सा, पहिचान सदस्य टार्जन तुम्बाहाम्फे, संसफो लिम्बुवान प्रदेश समितिका मुख्यसचिव लोकसागर साँबा, लिम्बुवान रास्ट्रिय मुक्ति मोर्चा बरिस्ठ उपाध्यक्ष कमल चोङबाङ, अखिल लिम्बुवान रास्ट्रिय मुक्तिमोर्चा उपाध्यक्ष पारस जबेगु, लिवि मञ्च अध्यक्ष फिपराज बेघा, संघीय लिम्बुवान याम्फु स्वायत्त मञ्च अध्यक्ष नन्द याम्फु र याक्थुङ युवा मञ्चका प्रतिनिधि थिए।




Related Articles



लिम्बुवानी आन्दोलन सक्रिय गराउने सामुहिक निर्णय


by Federal Nepal May 08 2018



‘राज्यसँग आफ्नो अधिकारको लागि संघर्ष गरौं’ – अध्यक्ष कुमार लिङ्देन


by Federal Nepal May 06 2018

मञ्चबारे


संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च लिम्बुवान, किरात खम्बुवान, शेर्पा, तामाङसालिङ, नेवा:, तमुवान, मगरात, खसान, मगरात, मधेश र शिल्पी (दलित) वा १०+१ प्रान्त र त्यसभित्र सिमान्तकृत आदिवासीहरुको विशेष स्वायत्त क्षेत्रसहितको पूर्ण संघात्मक शासन व्यवस्था स्थापना गर्न २०६२ सालमा निर्माण भएको राजनैतिक दल हो। यो मञ्चले लिम्बुवानलाई आफ्नो आधार क्षेत्रको रुपमा विकसित गर्दै समग्र नेपालमा ऐतिहासिक पृष्ठभूमि एवं पहिचानको आधारमा संघीय आन्दोलन चर्काउन ठूलो योगदान गरेको छ। २०६४ सालमा अन्य पहिचानवादी दलहरुसँग मिलेर १८ दिने सशक्त आन्दोलन चर्काएर सोही आन्दोलनको बलमा २०६४ साल फागुन १८ गते सरकारसँग लिम्बुवान, खम्बुवान, थरुहट, तामाङसालिङलगायतका प्रान्तहरु स्थापना हुने भन्ने ५ बुँदे सहमति पत्रमा हस्ताक्षर गरी पहिलो संविधान सभाको चुनावमा सहभागी भई दुई जना सभासद पनि पठाएको थियो।

सम्पर्क


सिनामंगल, काठमाण्डौ

FOLLOW US ON TWITTER

Monday, 11 June 2018

आत्मविश्वास र शिक्षासेवीहरुको सहयोग नै सफल हुने आधार - प्रअ देवमान लिम्बु




साविकको याङ्शिला गा.वि.स.हालको केराबारी गाउँपालिका – ५ मा अवस्थित श्री सावित्री मा.वि. मा यो वर्षदेखि कक्षा ११÷१२ सञ्चालन हुँदैछ । यसका लागि आर्थिक संकलन समिति बनाएर आर्थिक संकलनलाई तिब्र बनाइरहेका छन् । यसै विषयमा सो विद्यालयका प्रधानाध्यापक एवम आर्थिक संकलन समितिका सदस्य सचिव देवमान लिम्बुसँग गरिएको कुराकानीको अंश ।

आजकल केमा व्यस्त हुनुहुन्छ ?
आजभोलि यस विद्यालयमा ११/१२ सञ्चालन गर्नका लागि बुद्धिजिवीहरुसँग सल्लाह, परामर्श गर्दै रणनीतिहरु तयार गर्दै देश विदेशमा रहनुहुने भु.पु विद्यार्थीहरुसँग आर्थिक सहयोगका लागि पहल गरिदैछ ।

यो विद्यालय आसपासमा पनि प्रशस्तै ११/१२ का कक्षाहरु छन् , फेरि यहाँ पनि किन ?
आसपासमा उल्लेखित कक्षाहरु चलिरहेको अवस्था भए पनि हाम्रा विद्यालयबाट उत्पादित विद्यार्थीहरुलाई योस्तरको शिक्षा हासिल गर्न टाढा जान नपरोस, आºनै घर पायकका विद्यालयमा शिक्षा हासिल गरुन् भनेर हामी लागि परेका हौं ।

यो भन्दा अघि पहल नभएर कि किन यति ढिलो भयो यी कक्षाहरु सञ्चालन गर्न ?
यो भन्दा पहिले पनि सोच त पक्कै बनाउनु भो होला तर पहल चाहीं नभएको होला र हाल चैं नेपाल सरकारको नीति पनि मा.वि हुँदा ११/१२ अनिवार्य जस्तै भएको हुँदा पनि हामीले जोड गरेका हौं ।

११/१२ कक्षा सञ्चालन हुने आधारहरु के के देख्नुहुन्छ ?
पहिलो त हाम्रो आत्मविश्वास हो । त्यसपछि तपाईहरु जस्तो बुद्धिजिवी तथा पत्रकारहरुको सहयोग, गाउँपालिकाको सहयोग, वडा समितिहरुको सहयोग, भु.पु विद्यार्थीहरुको सहयोग सुरु भै सकेको छ । यस्तै स्थानिय बासिन्दाहरु तथा समाजसेवीहरुको सहयोग नै हाम्रो सबै भन्दा ठुला आधारहरु हुन् ।

सो कक्षाहरु सञ्चान भैरहँदा कुन–कुन संकायहरु अध्यापन गराउने सोचमा हुनुहुन्छ ?
हामी तत्काल चाहीं शिक्षा र व्यबस्थापन संकाय सञ्चालन गर्ने सोचमा छौं । पछि अन्य संकायलाई पनि बिस्तार गर्ने सोचमा छौं ।

अन्त्यमा केही भन्नुहुन्छ की ?
अन्त्यमा हाम्रो यो अभियानमा तपा्ईं पत्रकारहरुको यो सहयोगको निम्ति आभारी छौं । हामी याङ्शिलाबासीहरु यो बेला शिक्षाको हकमा ऐतिहासिक क्षणमा छौं । हामीले यो कक्षा ११÷१२ सञ्चालन गर्ने सोच गरेसँगै लगभग ४५ लाख जति रकम आवश्यक पर्दैछ । यो एक्लै सम्भव छैन । यसको लागि हामी समिति बनाएर आर्थिक संकलनमा छौं । यो कार्यमा सहयोग गरिदिनहुन केराबारी गाउँपालिका, यसका वडा कार्यालयहरु लगायत आम शिक्षासेवी, समाजसेवी, भु.पु विद्यार्थीहरु स्थानिय बासिन्दा, विभिन्न संघ संस्थाहरुमा हार्दिक हार्दिक अनुरोध गर्दछु ।

प्रस्तुतिः प्रकाश दिप्साली
साभार नयाँ अनलाइन डटकम

Wednesday, 6 June 2018

सतिसालेको सावित्री मा.वि.मा उच्च शिक्षा सञ्चालन हुने




प्रकाश दिप्साली राई
बराहक्षेत्र, नडाहा

मोरङको केराबारी गाउँपालिका वार्ड नं. ५, सतिसालेमा रहेको सावित्री मा.वि.मा यसै वर्षदेखि उच्च शिक्षा सञ्चालन हुने भएको छ ।

साविकको याङ्शिला गा.वि.स. वर्डा नम्बर ८ सतिसालेमा रहेको २०३० सलमा स्थापित सो विद्यालय हालसम्म माध्यमिक तह सम्म सञ्चालन हुँदै आएका थियो । गत वैसाख २१ गते बसेको आमभेलाले यही वर्षदेखि कक्षा ११–१२ सञ्चालन गर्ने निर्णय गरेको थियो । सो आमभेलाले व्यबस्थापन र शिक्षा संकाय अध्यापन गराउने निर्णयलाई कार्यान्वयन गर्न स्थानियबासी, बुद्धिजिबी, शिक्षासेवी, समाजसेवी तथा सरोकारवालाहरु एकसाथ जुटेका छन् । । यो निर्णयलाई प्रभावकारी रुपमा अघि बढाउन समिति समेत गठन गरिएको छ ।

विद्यालय व्यबस्थापन समितिका अध्यक्ष विमल राईको अध्यक्षतामा २५ सदस्यीय आर्थिक संकलन समिति गठन गरिएको छ । सो समितिले उच्च शिक्षा सञ्चालनका निम्ति आवश्यकिय रकम संकलनन गर्नुकासाथै विविध पुर्वाधारहरुको समेत व्यबस्थापन गर्नेछ । उक्त येजना सफल पार्नका निम्ति सो समितिले सहयोगको समेत अपिल गरेको छ ।

समितिका संयोजक बिमल राईका अनुसार केराबारी गाउँपालिका, गाउँपालिकाका वडाहरुले सहयोग गर्ने प्रतिबद्धता जनाइसकेका छन् । यस्तै स्थानिय, समाजसेवी, पूर्व विद्यार्थीहरु अनि प्रवासमा रहेका शुभेच्छुक, शुभचिन्तकहरुमा समेत सहयोगको निम्ति आह्वान गरिएको छ । सहयोग गर्ने क्रम पनि सुरु भइसकेको उनको भनाई छ । सहयोगको श्रीगणेश सोही विद्यालयका पूर्व विद्यार्थी कुमार बस्नेतले गरेको पनि उनले बताए । समितिका सदस्य सचिव तथा विद्यचालयका प्रधानाध्यापक देवमान लिम्बुका अनुसार सो कार्य सम्पन्न गर्न करिब ४५ लाखको हाराहारीमा बजेट चाहिने छ साथै उच्च शिक्षाका लागि भौतिक संरचना भने निर्माण गर्न थालिसकिएको बताए । साथै सहयोग गर्ने सहयोगीदाताहरुलाई विभिन्न तहमा राखेर शिलान्यास कार्यक्रमका दिन सम्मान गर्ने पनि उनले बताए ।

कुनै बेला उच्च शिक्षा हासिल गर्नका निम्ति धरान, केराबारी तथा इटहरी सम्म पुग्नु पथ्र्यो । वर्षाको समयमा खोला बाढीको कारणले कैयौंले पढाई छुटाउनु पथ्र्यो । तर अब त्यो समस्याबाट मुक्त भएको स्थानियहरुको बुझाई रहेको छ । विद्यार्थीहरु पनि आफ्नै विद्यालयमा उच्च शिक्षा हासिल गर्न पाउने भए पछि अत्यन्तै खुशी रहेको पूर्व विद्यार्थी एवम विद्यालयका सहयोगी कर्मचारी टंकबहादुर श्रेष्ठले बताए ।

यो समाचार नयाँ अनलाइन डटकम बाट साभार गरीएको छ ।


Tuesday, 1 May 2018

चण्डी नाच की साकेला सिलि ? उधौली/उभौली पर्व की साकेला चाड ? - तेज बान्तवा राई




साकेलाको सन्दर्भमा निक्कै बहसहरु भैसकेको अवस्थामा पनि धेरै जना मित्रहरुले फेसबुकमा "साकेला पर्व" वा "चण्डी नाच" भनेर आज पनि शुभ कामना बाँड्नु भएको वा प्रसंगहरु लेख्नु भएको पाईयो । त्यसै गरी ठूला समाचार हाउस र अन्लाईन मिडियाहरुमा पनि "उभौली पर्व" र "चन्डी नाच" भनेरै प्रयोग भएको पाइयो । आज हामी किरातहरुको महान चाड दोङ्दावा (उभौली) साकेलाको अवसरमा एउटा सानो जानकारी बाँड्न चाहन्छु ।

साकेला उभौली/उधौली

परापूर्व कालमा जब कुनै तिथी-मितिको विकास भएको थिएन, त्यस बेला खेती लगाउने ठीक समय भने जनावर, चरा-चुरुङी, माछा आदीको व्यवहारको आधार बाट थाहा पाउने गरिन्थ्यो । तराईमा गर्मी बढ्ने र हिमाल/लेकमा जाडो घट्ने साथै हिउँ पग्लिएर हरियो घाँस-पात उम्रिने भएको हुनाले जनावर, चरा-चुरुङी तथा माछाहरु तराई बाट हिमाल/लेक अर्थात उँभो यात्रा गर्ने क्रमलाई हेरेर खेती गर्न सुरु गर्ने समय थाहा पाउने गरिन्थ्यो । त्यसमा आकाश ढाकेर उडेको देखिने कार्याङ-कुरुङ चराहरुको जत्था मुख्य रुपमा मान्न सकिन्छ । अहिले पनि गाउँघरमा, "कर्याङ-कुरुङ लेक तिर गएको देख्दा काँक्रा-फर्सी रोपे धेरै फल्छ" भन्ने मान्यता राखिन्छ । (कर्याङ-कुरुङ (Goose) को जत्था दक्षिण भारत र अफ्रिकाको गर्मी छल्दै बच्चा कोरल्न तिब्बत वा साइबेरियाको घाँसे मैदान सम्म पुग्ने गर्दछन ।) यसरी जनावर, चरा-चुरुङी, माछा आदी उँभो जाने क्रमलाई "उभौली" भनिएको हो । यसलाई "दोङदावा साकेला" (खेती-पातीको समय सुरु भएको) को रुपमा मनाउने गरिन्छ ।

त्यसरी नै ॠतु परिवर्तन पछी हिमालमा हिउँ पर्ने साथै तराईमा न्यानो हुने भएकोले जनावर, चरा-चुरुङी र माछाहरु फेरि हिमाल/लेक बाट तराई/औंल अर्थात उँधो तिर झर्ने क्रमलाई "उँधौली" भनिएको हो । यसलाई दोङवाङा (नयाँ साल लागेको) अवसरको सकेलाको रुपमा मनाउने गरिन्छ । (६ महिना सम्म कर्याङ-कुरुङको जत्थाले एक छिमल बच्चा कोरलेर पुन: दक्षिण भारत वा अफ्रिका फर्किने क्रममा फेरि आकाशमा देख्न सकिन्छ ।)

चण्डी की सकेला ?

किराती समुदायमा यसरी बर्षको दुई चोटी उभौली/दोङवाङा (खेती गर्ने बेलामा) र उधौली/दोङदावा (खेती-पाती उठाई सकेपछि) उल्लासमय उत्सवको रुपमा साकेला मनाउने गरिन्छ । पात्रोको बिकास भईसके पछि बिक्रम संवत पात्रो अनुसार साकेला उभौली (दोङवाङा साकेला) चाहीँ बैसाख पूर्णिमा अर्थात बुद्ध जयन्तीको दिन देखि मनाउन थालियो भने साकेला उधौली (दोङदावा साकेला) चाहीँ मंसिर पूर्णिमा देखि मनाउन थालियो । यस मध्येमा बैसाख पूर्णिमालाई "चण्डी पूर्णिमा" पनि भनिने भएको हुनाले "साकेला सिलि"लाई "चण्डी नाच" पनि भन्न थालिएको हो । तर "चण्डी" भन्ने बित्तिकै "हिन्दुहरुकी आराध्य देवी दुर्गा"लाई जनाउने गर्दछ भने धार्मिक ग्रन्थ "चन्डी भएकोले साकेला सँग चण्डीको कुनै सम्बन्ध जोडिएको पाईंदैन । तल दिएको गुगल सर्चको फोटोले पनि यस कुराको स्पष्ट पारेको देख्न सकिन्छ । यसबाट स्पष्ट भन्न सकिन्छ की, सकेला र चन्डी फरक-फरक हुन । त्यसैले "साकेला सिली" लाई "चन्डी नाच" भन्नु ठीक होइन ।

उधौली/उभौली पर्व की चाड ?



अधिकांस नेपाली पात्रोहरुमा "उधौली पर्व" वा "उधौली पर्व" भनेर लेख्ने गरिएको देखिन्छ, जुन गलत छ । नेपाली र हिन्दी (संस्कृत ) भाषामा "पर्व" भन्नाले "उत्सव" भन्ने त जनाउछ तर कुनै न कुनै नरसंहारको स्मृतिमा मनाइने उत्सवको रुपमा प्रयोग गर्ने गरिन्छ । उदाहरणको लागि दसैंँ (दुर्गा भवानी द्वारा शुम्भ-निशुम्भको संहार गरिएको तिथी), होली (प्रल्हाद द्वारा होलीकाको बध गरिएको तिथी), कोत पर्व (जंग बहादुर राणाले कोतको पाटनगिनीमा मच्याएको हत्याकाण्ड) भण्डारखाल पर्व (जंगबहादुर राणालाई मार्न तैयार गरिएको षड्यन्त्रमा उल्टै उनी द्वारा आफ्नो २३ जना सत्रुहरु काटेको दिन) आदी । त्यसै गरी महाभारतमा पनि १८ प्रमुख हत्या काण्डहरु छन जसलाई "१८ पर्वहरु" उल्लेख गरिएको छ । यस् हिसाबले साकेला कुनै हत्या-काण्डबाट नभएर "ऋतु परिवर्तन"को तिथीमा मनाइने उत्सव भएको हुनाले साकेलालाई "पर्व" भन्नु बिल्कुलै गलत हुने प्रष्ट छ र यसलाई हामीले नै "चाड" को रुपमा स्थापित गर्नु जरुरी छ, ताकी भविश्यमा कुनै पर्व/काण्डहरु संग जबर्जस्ती नजोडीयोस ।

अन्तमा किरात चाड "साकेला दोङ्दावा - ५०७८" को अवसरमा संपूर्ण किरात दाजु-भाई, दिदी-बहिनी, आफन्त, साथी-भाईहरुमा हार्दिक शुभ कामना !! यस् बर्ष पनि अघिल्लो सालहरु जस्तै बाढी-पहिरो, आँधी-बेहेरी, भुकम्प नआवोस, खेती योग्य मौसम रहोस् र हरेक जीव-जन्तुको लागि उपयुक्त मौसम रहोस् भनी हेन्खामा-निनाम्मा सँग प्रार्थना गर्दछु ।

(चित्त नबुझे कमेन्टमा सुझाव पाउँ, चित्त बुझे शेयर गरेर शेयर गरेर सबैको नजरमा पुऱ्याऔं ।)चण्डी नाच की साकेला सिलि ?
उधौली/उभौली पर्व की साकेला चाड ?

साकेलाको सन्दर्भमा निक्कै बहसहरु भैसकेको अवस्थामा पनि धेरै जना मित्रहरुले फेसबुकमा "साकेला पर्व" वा "चण्डी नाच" भनेर आज पनि शुभ कामना बाँड्नु भएको वा प्रसंगहरु लेख्नु भएको पाईयो । त्यसै गरी ठूला समाचार हाउस र अन्लाईन मिडियाहरुमा पनि "उभौली पर्व" र "चन्डी नाच" भनेरै प्रयोग भएको पाइयो । आज हामी किरातहरुको महान चाड दोङ्दावा (उभौली) साकेलाको अवसरमा एउटा सानो जानकारी बाँड्न चाहन्छु ।

साकेला उभौली/उधौली


परापूर्व कालमा जब कुनै तिथी-मितिको विकास भएको थिएन, त्यस बेला खेती लगाउने ठीक समय भने जनावर, चरा-चुरुङी, माछा आदीको व्यवहारको आधार बाट थाहा पाउने गरिन्थ्यो । तराईमा गर्मी बढ्ने र हिमाल/लेकमा जाडो घट्ने साथै हिउँ पग्लिएर हरियो घाँस-पात उम्रिने भएको हुनाले जनावर, चरा-चुरुङी तथा माछाहरु तराई बाट हिमाल/लेक अर्थात उँभो यात्रा गर्ने क्रमलाई हेरेर खेती गर्न सुरु गर्ने समय थाहा पाउने गरिन्थ्यो । त्यसमा आकाश ढाकेर उडेको देखिने कार्याङ-कुरुङ चराहरुको जत्था मुख्य रुपमा मान्न सकिन्छ । अहिले पनि गाउँघरमा, "कर्याङ-कुरुङ लेक तिर गएको देख्दा काँक्रा-फर्सी रोपे धेरै फल्छ" भन्ने मान्यता राखिन्छ । (कर्याङ-कुरुङ (Goose) को जत्था दक्षिण भारत र अफ्रिकाको गर्मी छल्दै बच्चा कोरल्न तिब्बत वा साइबेरियाको घाँसे मैदान सम्म पुग्ने गर्दछन ।) यसरी जनावर, चरा-चुरुङी, माछा आदी उँभो जाने क्रमलाई "उभौली" भनिएको हो । यसलाई "दोङदावा साकेला" (खेती-पातीको समय सुरु भएको) को रुपमा मनाउने गरिन्छ ।

त्यसरी नै ॠतु परिवर्तन पछी हिमालमा हिउँ पर्ने साथै तराईमा न्यानो हुने भएकोले जनावर, चरा-चुरुङी र माछाहरु फेरि हिमाल/लेक बाट तराई/औंल अर्थात उँधो तिर झर्ने क्रमलाई "उँधौली" भनिएको हो । यसलाई दोङवाङा (नयाँ साल लागेको) अवसरको सकेलाको रुपमा मनाउने गरिन्छ । (६ महिना सम्म कर्याङ-कुरुङको जत्थाले एक छिमल बच्चा कोरलेर पुन: दक्षिण भारत वा अफ्रिका फर्किने क्रममा फेरि आकाशमा देख्न सकिन्छ ।)

चण्डी की सकेला ?


किराती समुदायमा यसरी बर्षको दुई चोटी उभौली/दोङवाङा (खेती गर्ने बेलामा) र उधौली/दोङदावा (खेती-पाती उठाई सकेपछि) उल्लासमय उत्सवको रुपमा साकेला मनाउने गरिन्छ । पात्रोको बिकास भईसके पछि बिक्रम संवत पात्रो अनुसार साकेला उभौली (दोङवाङा साकेला) चाहीँ बैसाख पूर्णिमा अर्थात बुद्ध जयन्तीको दिन देखि मनाउन थालियो भने साकेला उधौली (दोङदावा साकेला) चाहीँ मंसिर पूर्णिमा देखि मनाउन थालियो । यस मध्येमा बैसाख पूर्णिमालाई "चण्डी पूर्णिमा" पनि भनिने भएको हुनाले "साकेला सिलि"लाई "चण्डी नाच" पनि भन्न थालिएको हो । तर "चण्डी" भन्ने बित्तिकै "हिन्दुहरुकी आराध्य देवी दुर्गा"लाई जनाउने गर्दछ भने धार्मिक ग्रन्थ "चन्डी भएकोले साकेला सँग चण्डीको कुनै सम्बन्ध जोडिएको पाईंदैन । तल दिएको गुगल सर्चको फोटोले पनि यस कुराको स्पष्ट पारेको देख्न सकिन्छ । यसबाट स्पष्ट भन्न सकिन्छ की, सकेला र चन्डी फरक-फरक हुन । त्यसैले "साकेला सिली" लाई "चन्डी नाच" भन्नु ठीक होइन ।

उधौली/उभौली पर्व की चाड ?

अधिकांस नेपाली पात्रोहरुमा "उधौली पर्व" वा "उधौली पर्व" भनेर लेख्ने गरिएको देखिन्छ, जुन गलत छ । नेपाली र हिन्दी (संस्कृत ) भाषामा "पर्व" भन्नाले "उत्सव" भन्ने त जनाउछ तर कुनै न कुनै नरसंहारको स्मृतिमा मनाइने उत्सवको रुपमा प्रयोग गर्ने गरिन्छ । उदाहरणको लागि दसैंँ (दुर्गा भवानी द्वारा शुम्भ-निशुम्भको संहार गरिएको तिथी), होली (प्रल्हाद द्वारा होलीकाको बध गरिएको तिथी), कोत पर्व (जंग बहादुर राणाले कोतको पाटनगिनीमा मच्याएको हत्याकाण्ड) भण्डारखाल पर्व (जंगबहादुर राणालाई मार्न तैयार गरिएको षड्यन्त्रमा उल्टै उनी द्वारा आफ्नो २३ जना सत्रुहरु काटेको दिन) आदी । त्यसै गरी महाभारतमा पनि १८ प्रमुख हत्या काण्डहरु छन जसलाई "१८ पर्वहरु" उल्लेख गरिएको छ । यस् हिसाबले साकेला कुनै हत्या-काण्डबाट नभएर "ऋतु परिवर्तन"को तिथीमा मनाइने उत्सव भएको हुनाले साकेलालाई "पर्व" भन्नु बिल्कुलै गलत हुने प्रष्ट छ र यसलाई हामीले नै "चाड" को रुपमा स्थापित गर्नु जरुरी छ, ताकी भविश्यमा कुनै पर्व/काण्डहरु संग जबर्जस्ती नजोडीयोस ।

अन्तमा किरात चाड "साकेला दोङ्दावा - ५०७८" को अवसरमा संपूर्ण किरात दाजु-भाई, दिदी-बहिनी, आफन्त, साथी-भाईहरुमा हार्दिक शुभ कामना !! यस् बर्ष पनि अघिल्लो सालहरु जस्तै बाढी-पहिरो, आँधी-बेहेरी, भुकम्प नआवोस, खेती योग्य मौसम रहोस् र हरेक जीव-जन्तुको लागि उपयुक्त मौसम रहोस् भनी हेन्खामा-निनाम्मा सँग प्रार्थना गर्दछु ।

(चित्त नबुझे कमेन्टमा सुझाव पाउँ, चित्त बुझे शेयर गरेर शेयर गरेर सबैको नजरमा पुऱ्याऔं ।)

यो लेख तेज बान्तवा राई ज्युको फेसबुकबाट साभार गरीएको हो ।