Wednesday 27 September 2017

कविता: खोई तिम्रो दशैं - राबत राबत

खोई तिम्रो दशैं ?

मालिकको आँगनमा
शरदको बिहानीले ओछ्याइसक्यो-
मखमली कार्पेट
घाम दौडेर कोठाचोटामा
फिटिसक्यो तास
हानिसक्यो कौडा ।

आम्मा हो ...
रात पनि कति उज्यालो मलिकको घरमा !
दशैं त यस्तो पो हो, साइँला दाइ !
खोई तिम्रो दशैं ?

यस्तो बेलामा पनि
कति फुर्सद तिमीलाई- गिट्टी कुटिरहन
कति फुर्सद तिमीलाई- बालुवा चालिरहन
कति फुर्सद तिमीलाई- भारी बोकिरहन

गैंती र बेल्चा बजाइरहने तिमीलाई
निको लाग्दैन कि क्या हो, मङ्गलधुन ?
एकचोटि
टोपीले पसिना पुछी हेर त,
तिम्रा नानीहरूको औंलामा अड्केको
चङ्गाको धागो हो कि, कट्टुको इँजार ?

यस्तो त हैन नि दशैं, साइँला दाइ !

खोई-
दसैंलाई भनी साचेको रातो भाले ?
जसको खातिर तिमी
ब्वाँसाहरूसँग जोरी खेल्थ्यौ,
खोई-
दसैंलाई भनी साचेको कालो बोको ?
जसको खातिर तिमी
बाघसँग भिड्न तम्सिन्थ्यौ
आज एकाएक
तिम्रो मन र खोर रित्तो पारेर
कसले लग्यो तिम्रो दसैं ?
कसले सुन्दैछ, मङ्गलधुन ?

बाघमाथि सवार देवीलाई सोध, साइँला दाइ !

भाउजूको
बुच्चो नाक र कानको लागि सोध
नानीहरूको
भोको पेट र आङको लागि सोध ।
तिमीले पनि चढउँथ्यौ नि,
देवीको पाउमा फूलभेटी
तर
खोइ तिम्रो दसैं ?

तिम्रो निधार
पसिनाको मुहान मात्र हो र ?
जो सधैं पखालोस् मालिकहरूको बिहान
जो सधैं पखालोस् मालिक गुड्ने सडक
जो सधैं पखालोस् मालिकहरूको भित्ता
र, चम्काओस् सधैं
मालिकहरूकै दसैं ।

जाँड खाएर भन्यो, नभन साइँला दाइ !

कस्सम...!
तिम्रो निधारमा देखिरहेछु
चमचम चम्किरहेको- तेस्रो आँखा ।

हो, त्यही उज्यालोमा उभिएर-
अब
बाघमाथि चढ्नेलाई सोध
सडकमाथि गुड्नेलाई सोध
कुर्चीमाथि बस्नेलाई सोध

`खोई मेरो दशैं ?´

No comments:

Post a Comment