Sunday 10 September 2017

आफ्नै हिरोको खोजीमा छन् तामाङहरु - अमृत योन्जन तामाङ

लेखक- अमृत योन्जन तामाङ


प्रत्येक आइडल प्रतियोगितामा किन तामाङले जित्छ? यसपाली पनि तामाङ आइडल बुद्ध लामाले जित्छ नै। किन ? यसको एउटै कारण छ - उनीहरु आफ्नै हिरोको खोजीमा छन्। त्यस्तो हिरो जो तामाङ समुदायको लागि उच्च आदर्श बनोस्।

अहिलेसम्म नेपालका १६ लाख तामाङहरु माझ न कुनै सामाजिक-सांस्कृतिक हिरो छ, न राजनीतिक हिरो नै, न ऐतिहासिक हिरो, न त साहित्यिक नै। नेपाली राज्यसत्ताले तिनीहरुका हिरोहरुको पत्ता साफ गरिसकेका छन्। राणाकालमा उनीहरुले दुइपल्ट राज्यविद्रोह गरे। नेपालमा राज्यविद्रोह गरेको इतिहास बोक्ने जाति नेपालमा तामाङ मात्र हो तर उनीहरुको इतिहास मिटाइदिए- पत्तासाफ।

सात साल होस् वा सत्रसाल, छत्तीस होस् वा छयालीस वा १० वर्षे युद्धकालमा नै किन होस् तामाङ जातिको बलीदानीको सूची लामो छ, ९६४ जना भन्दा धेरै। तर नेपालको नश्लवादी सत्ताले उनीहरुको बलिदानीलाई कहिल्यै कदर गरेन। कुनै तामाङलाई सहिद घोषणा गरेन। बरु  नमोनिसान मेटाउन प्रयत्नरत् रह्यो।  त्यसैले उनीहरु जहिले पनि आफ्नो हिरोको खोजीमा हुन्छन् र खोजीमा छन्।

तामाङले तन मन धनले नेपाल आइडल जिताउँने छ। जिताउँदै आएको पनि छ। उसले प्रशान्त तामाङ लगायतलाई जिताइसकेको छ। वर्तमान इतिहास साक्षी छ।

कुनै जज वा राज्य सत्ताको हातमा अधिकार भएसम्म तामाङहरु चलमलाउँदैनन्। उनीहरुबाट कुनै न्यायको आसा नै गर्दैनन् । पिर मर्का खपेर बस्छन् । र अहिले आइडल छान्ने अधिकार जजहरुको हातबाट दर्शकको हातमा गइसकेको छ। त्यसैले उनीहरु बेजोडले चलमलाउन थालेका छन्।  

विश्वमा ६२ हजार सदस्यहरुको  सञ्जाल रहेको दावी गर्ने  एक तामाङ संस्था "तामाङ डेटाबेस" Tamang Database ले सूचना जारी गरी आफ्ना सदस्यहरुलाई भोट हाल्न आग्रह गरिसकेको छ। उसले ९ बुँदामा सत्तासिन जातिले के कस्ता भ्रमहरु फैलाउन सक्छन् र कसरी सतर्क रहने भनी होसियारी पनि गराइसकेका छन्। यसपटक पनि देशबिदेशमा पैसा उठाउने कार्यको थालनी भइसकेको छ। ठाउँठाउँमा, कुनाकुनामा, घरबारमा पैसा जम्मा गर्न पनि थालिसकेका छन् ।

के बुद्ध साँच्ची कै योग्य छ ? के ऊ जित्ने लायकको छ ? तामाङहरुसँग उत्तर छ- अहिलेसम्म योग्यहुनेहरुले के नापेको छ र ? जान्नेहरुले के गरेका छन् र ! सातसालदेखि यताको ६० वर्षका अवधिमा कतिलाई जितायो जितायो ? कतिलाई हिरो बनायो बनायो- बिपिदेखि प्रचण्डसम्म। खै के पायो तामाङहरुले- हेपिएको शाब्दिक झटारो भोटे र हिन्दी डायलग- "लातके लोग बात नही समझते है" न हो।

हो, बुद्ध लामाले अहिलेसम्म न तामाङ पहिचान झल्काउने पहिरन लगाएको छ, न तामाङ गीत गाएको छ, न तामाङ संस्कृतिको बारेमा एक शब्द नै बोलेको छ। उल्टै नश्लबादको चपेटामा परेकी दिदीको वयानले तामाङ जातिको मन कुडाएको छ। केहीले रिस पोखेर हटात डेन्जर जोनमा पनि पुर्याइदिए। तर पनि उनीहरु यो नश्नवादीको षड्यन्त्र हो भनेर भोट हाल्न लागि राखे। उनलाई टप थ्रिमा पुर्याइछाडे।

हालसम्म जितिसकेका आइडलहरुले नै पो के गरे र ? प्रशान्त तामाङ गायनमा फल्प भएर नाचेर हिडन थाले। झन् एक जना आइडलले त जितिसके पछि सरकारी पत्रिका "युवा मञ्च"को पृष्ठभरि तामाङ विरुद्ध वमन नै गरे। त्यो उसले गरे वा गराए। त्यसतर्फ तामाङहरुको कुनै चासो छैन, रहेन। उनीहरुको मूख्य काम सत्तासीन जातिलाई बल्ड्याङ खुवाउनु हो। अहिले पनि ऊ सत्तासिन जातिका प्रतियोगीलाई "थुस्क्याना लाबा" अर्थात् लडाएर माटो सुघाउन चाहन्छ। बस!

किनकि तामाङहरुलाई २५० वर्षदेखि नेपाली नश्लवादी सत्ताले दलेको तुष छ। उनीहरुको भूमि लुटेको कथा छ। उनीहरुको स्रोतसाधानका दोहन गरेको व्यथा छ। ऐतिहासिक भरिया बनाएको  इतिहास छ। उनीहरुका पूर्खालाई यिनीहरुकै पुर्खाले पिपा ढोके, छाते, हुक्के बनाएको तुष छ, छोरीचेलीलाई धाइआमा बनाएर लुटेको, मोजमस्ती गरेको, भाषा, संस्कृति, परम्परा कुल्चेको, हालसम्म पनि शिक्षामा जातिहत्या (जेनोसाइड) गरिरहेको अत्यासपूर्ण चित्रण छ। यस तुषलाई रामकृष्ण ढकालले जानी वा नजानी बल्झाइदिदा उनीहरु झनै आक्रोसित बनेका छन्। यसै कारणले बुद्धलाई ११ लाख मत दिएर माथि उकासे।  

नेपाल आइडलका वुद्ध लामा सुयोग्य व्यक्तित्व होइनन्। तामाङलाई त्यो हो होइन आवश्यक पनि छैन। अनलाइन शब्दकोशले आइडलको अर्थ यसरी दिएको रहेछ ༙Idol - some one who is adored blindly and excessively ! तामाङहरु यिनै शव्दवली भने जस्तै अन्धभक्त हुन्। उसलाई जिताउँदा आतुर छन्।

अर्को कुरा, अमेरिकामा किन काला जातिका नागरिकहरु गीत-सङ्गीत र खेलकुदमा अगाडि छन्? गुदी कुरा के हो भने अोबामा लगायतका एक दुइलाई छाडेर उनीहरुलाई मुलधारको राजनीतिबाट अलग्याएका छन्। सत्ताले बेलामौकामा अपराधीको सूचीमा पनि राख्ने गर्दछन्। सत्ताका स्वाद चाखेकाहरुले यसता कठीन काम गर्नै सक्दैनन्। यसर्थ उनीहरुको विकल्प नै रिस्की खेल वा गायन मार्फत् हिरो हुनु हो। ती गोराहरुलाई गरी देखाउने मनोविज्ञान हो।

नेपालमा पनि मूलधारले ऐतिहासिक कालदेखि राजनीति, शिक्षा, स्वास्थ्य, रोजगारी आदिमा तामाङहरुलाई रैतीको जस्तै व्यवहार गर्न थालेपछि र उनीहरुलाई अनागरिक ठाने पछि, सत्ताले आफ्नै सन्तानलाई मात्र पोष्ने गरेपछि र कहिलेकाही नेपाली नश्लवादी सत्ताले अपाराधीको सूचीमा पनि उनीहरुलाई राख्ने गरेपछि नश्लवादी सोच र चिन्तनको विरुद्ध तामाङहरु ज्यान छोडेर लागि परेका हुन् र हाललाई योभन्दा अर्को विकल्प उनीहरुले फेला पार्न सकेका पनि छैनन्। तर अमेरिकाको काला नागरिक र नेपालका तामाङमा के फरक छ भने काला जातिलाई उनीहरुका मुलुकबाट चोरेर अमेरिकामा कठोर श्रमका लागि ल्याइएका हुन् भने तामाङहरु यही माटोका अधिकार सम्पन्न धर्तीपुत्र हुन्। उल्लेखनीय कुरा के हो भने यस पटकको स्थानीय चुनाउमा प्रदेश नम्वर ३ मा २८ प्रतिशत अोगटेका तामाङहरुले २७ प्रतिशत स्थान ओगटन सफल भए। केन्द्रमा ५.५ प्रतिशत रहेता पनि २.५ प्रतिशत भन्दामाथि कहिल्यै स्थान हासिल गर्न सकेका छैनन्।

यसर्थ "वुद्ध राम्रो पनि हो र हाम्रो पनि हो" भनेर उसलाई आइडलमा जिताउन तामाङहरु धुमधामसँग लागि परेका छन्। विश्वका कुना कुनामा रोजगारीको क्रममा रहका तामाङहरुले दिलोज्यानले कोष जोहो गरेर भोट हाल्न तम्तयार छन्। बुद्ध जस्ताहरुले तामाङ पहिचानलाई बोके पनि नबोके पनि आइडलको प्रतिस्प्रधि मार्फत् तामाङ एकता झन् बलियो भइरहेको छ। भोलिको तामाङ भूमि निर्माणमा यस्ता आइडल प्रतियोगीताहरुले तामाङलाई एकसूत्रमा बाँध्न मद्दत पुर्याइरहेने छन्। पाइला नचाले सगरमाथा पुग्न सकिन्न भने झै एक दिन साँच्चिकै तामाङ समुदायले तामाङ माटो र पहिचानलाई माया गर्ने "आदर्श हिरो" पाउनेछ।

राणाकालदेखि नै तामाङ समुदायको उच्च आकांक्षा रहेको छ - "म्हेला स्या थेन म्ह्लाला कान, खाइमा धे ताला म्हान्बाराङ" (गोरोको मासु धानको भात, कहिले पो होला सत्तासाथ)। त्यो दिन अब धेरै टाडो छैन। ल्हास्सो ! सबैमा शुभकामना !
साभार- Amrit Yonjan-Tamang

No comments:

Post a Comment