Monday 11 September 2017

कविता: "खुवालुङ" खुक्सङ खम्बु

यो कविता असाध्यै सुन्दर  गित र कविता लेख्नुहुने कवि गितकार Khuksang Khambu ज्युको यो कविता कवयत्री अन्जना इछमफुल ज्युको फेसबुकबाट साभार गरिएको छ ।

खुवालुङ !                                                                                 – खुक्सङ खम्बु

खुवालुङ ! खुल, खुल, खुल !
नछेकिदेऊ मेरो बाटो
नरोकिदेउ मेरो पाइला
नलागोस् है मलाइ ठेस
चाँडै पुगी हेर्नुछ, किरातीको देश ।

सुनैकोशी पछ्याइ जाने तिलुङ, वाम्बुले
सही बाटो हिँड्दैछन् कि कतै अल्मलिए ?
लिखु खोलै–खोला जाने सुरेल–सुनुवार
लोहरुङ, याम्फु, आठपहरे सबै बराबर
अरुण खोला तरि जाने बान्तावाका सन्तान
कैले भेट्ने होला कठै ! माया लाग्छ झन्
खुवालुङ ! खुल, खुल, खुल !
नरोकिदेऊ/नछेकिदेऊ मेरो बाटो
चाँडै पुगी हेर्नुछ, किरातीको देश ।

दुधैकोशी पछ्याइ जाने बाहिङ, थुलुङहरु
पहिला जस्तै छन् कि अझै ? प्रगती गरे अरु ?
चोमोलुङमा ताकी जाने कुलुङ, खालिङहरु
कहाँ पुगे ? कि कतै अभरमा परे ?
मेरै कोखमा जन्म लिई फैलिएका यी मेरा सन्तान
साह्रै सूर्ता लाग्छ बरै ! शान्त छैन मन
खुवालुङ ! खुल, खुल, खुल !
नरोकिदेऊ/नछेकिदेऊ मेरो बाटो
चाँडै पुगी हेर्नुछ, किरातीकों देश ।

रावाखोला पछ्याइ जान्छु नाछिरिङ, कोयुलाई हेर्न
के–कस्ता छन् ? हतार भयो साम्पाङ, दुमी भेट्न
साप्सुखोला सेरोफेरो चाम्लिङकोमा बास बस्नु पर्ला
त्यहीबेला पुमाको नि दुखम्–सुखम् खबर सोध्नु पर्ला
मेरै काखमा हाँस्दै–खेल्दै हुर्किएका यी मेरा सन्तान
सञ्चो–बिसञ्चो के कसो छ ? अहिले के गर्दैछन् ?
खुवालुङ ! खुल, खुल, खुल !
नरोकिदेऊ/नछेकिदेऊ मेरो बाटो
चाँडै पुगी हेर्नुछ, किरातीको देश ।

खुवालुङ ! ः– मिथक अनुसार किराती राईका सन्तानहरु वर्तमान मैदान चतराबाट नदी पछ्याउँदै उँभो पहाडतिर उक्लँदा बाटै छेकिने गरी बीच बाटोमा ठूलो ढोका देखा प¥यो । यही ढोकालाई खुवालुङ भनिन्छ । मुन्दुम फलाकेर विभिन्न जिव–जन्तुको भोक दिएर आ–आफ्नो शक्तिले खुवालुङ खोली कोही अरुण, कोही लिखु, कोही दुधकोशी, कोही सुनकोशी नदिलाई पछ्याउँदै राईहरु अघि बढे भनिन्छ । अहिले पनि आफूले पछ्याइ गएको नदी आसपासनै उनीहरुको सघन बसोबास रहेको छ ।

No comments:

Post a Comment