Sunday 2 July 2017

कविता "टाउकाे तातिएपछि" - बलदीप राई





______________ बलदीप राई / Baldeep Rai लेखक "जातियमुक्ती र लोकतन्त्र" अनुवादक - "क्रुसमा नमरेका बौद्धमार्गी जिसस क्राइष्ट" सचिब - राष्ट्रिय जनमुक्ति पार्टी

नबुझेकाे कुरा बुझियाे
बुझेपछि टाउकाे तातियाे ।


टाउकाे तातिएपछि
यी खुट्टाहरू
पछ्याउन हाेइन, हिड्न खाेज्छन्,
टेक्न हाेइन, कुल्चिन खाेज्छन्,
अडिन हाेइन, पुग्न खाेज्छन् ।
तसर्थ
आयतन बढाएर राख, हे मैले हिड्ने भर्जिन बाटाेहरू हाे !
कात्राे बाँधेर राख, हे मैले कुल्चिने नश्लीय टाउकाेहरू हाे !
मैले पुग्नैपर्नेहुन्छ त्याे "अपहरित गन्तव्य "।

टाउकाे तातिएपछि
यी आँखाहरू
हेर्न हाेइन, नियाल्न खाेज्छन्,
देख्न हाेइन, निगरानी गर्न खाेज्छन्,
आँशु हाेइन, तेजाब ओकल्न खाेज्छन् ,
तसर्थ
परिक्षणमा छन् :
जनताकाे भाग्य टाेक्ने काेखाका दाह्राहरू,
देशकाे ईमेज धमिल्याउने जडसुत्रवादीहरू,
तेजाबले पखालिनुपर्ने ऐंजेरू टुसाएका सनातनी अनुहारहरू ।

टाउकाे तातिएपछि
यी हातहरू
सलाम हाेइन, मुक्का बन्न खाेज्छन्,
सिरानी हाेइन, औजार बन्न खाेज्छन्
तसर्थ
केही राउण्डमै नकआउट हुनेछन्
न्यायविनाकाे विधिकाे घेरा हाल्नेहरू,
ध्वंस, निर्माण र मर्मत हुनेछन्
देश नअटाउने थाेत्रे संरचनाहरू ।

टाउकाे तातिएपछि
याे मुख
बाेल्न हाेइन, गर्जन खाेज्छन्,
गाउन हाेइन, सम्बाेधन गर्न खाेज्छन्,
गीत त आखिर जेलभित्रकाे कैदीले पनि गाउँछन्,
भजन त आखिर वधशालाकाे जल्लादले पनि गाउँछन्।

टाउकाे तातिएपछि
याे प्रजनन अंग
"दास" हाेइन, "छाेरा" जन्माउन खाेज्छन्,
"साधन" हाेइन, "छाेरी" जन्माउन खाेज्छन् ।

टाउकाे तातिएपछि
याे सिंगाे ज्यान
पिछलग्गु हाेइन, समकक्षी बन्न खाेज्छन्,
संञ्चालित हाेइन, स्वचालित बन्न खाेज्छन् ।

नबुझेकाे कुरा बुझियाे
बुझेपछि टाउकाे तातियाे ।

No comments:

Post a Comment